फाइल फोटो
काठमाडौं : ऊर्जा मन्त्रालय र चिनियाँ सरकारबीच सिंहदरबारभित्र सौर्य ऊर्जा (सोलार) निर्माणका लागि सोमबार सम्झौता भएको छ । सिंहदरबारभित्रका छतहरूको उपयोग गरी सोलारबाट एक मेगावाट उत्पादन गर्ने गरी सम्झौता भएको हो ।
ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र चिनियाँ राजदूतावासका इकोनोमिक काउन्सिलर वाइ पिङबीच आगामी १३ महिनाभित्र निर्माण सम्पन्न हुने गरी हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ ।
“आगामी डिसेम्बरमा निर्माण सुरु गरी १३ महिनाभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको छ,” सहसचिव घिमिरेले भने । मन्त्रालयका अनुसार, अनुमानित ६० करोड लागत रहेको सोलार प्लान्टबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा जोडिने छ ।
५ वर्षअघि ५ मेगावाटको सोलार उत्पादन गर्ने गरी अध्ययन अघि बढाए पनि सिंहदरबारभित्रका अधिकांश छतहरू अयोग्य देखिएपछि एक मेगावाट मात्र उत्पादन हुने भएको हो ।
सिंहदरबार र यस वरिपरि रहेका करिब चार दर्जन भवनमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालयसहित १७ भवन मात्र सोलार उत्पादनका लागि योग्य देखिएको छ ।
आधुनिक प्रविधिको उपयोग गरेर निर्माण हुने ग्रिड कनेक्टेट सोलारबाट सिंहदरबारभित्रको बिजुली आवश्यकता पूर्ति गर्नका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
http://www.karobardaily.com/%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9%E0%A4%A6%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A4%AD%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A5%AC%E0%A5%A6-%E0%A4%95%E0%A4%B0%E0%A5%8B%E0%A4%A1%E0%A4%95%E0%A5%8B-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%A4%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A5%8B%E0%A4%B2%E0%A4%BE%E0%A4%B0-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3-%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%A8%E0%A5%87-%E0%A4%9A%E0%A5%80%E0%A4%A8%E0%A4%B8%E0%A4%81%E0%A4%97-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%9D%E0%A5%8C%E0%A4%A4%E0%A4%BE
No comments:
Post a Comment