Tuesday, October 24, 2017

सडक व्यवस्थापनमा दीर्घकालीन रणनीति नै छैन

      0 + -

आशिष गजुरेल यातायात तथा ट्राफिक इन्जिनियर
आशिष गजुरेल सिन्धुलीको ढुंग्रेबासका ३७ वर्षीय युवा हुन्, तर उनी ट्रान्सपोर्टेसन इन्जिनियरिङ गर्ने नेपालका कम व्यक्तिमध्ये एक हुन् । जर्मनीको टेक्निकल युनिभर्सिटी युनिकबाट ट्रान्सपोर्टेसन इन्जिनियरिङमा स्नातकोत्तर गरेका गजुरेल हाल लगानी बोर्डमा यातायात क्षेत्र हेर्ने परामर्शदाताका रूपमा काम गर्छन् ।
जर्मनीको आफूले पढेकै विश्वविद्यालयमा रिसर्च एसिसटेन्स भएर काम गरेका उनीसँग पुल्चोक इन्जिनियरिङ कलेजमा प्राध्यापनको अनुभव पनि छ । सडक सुरक्षा र यातायातमा विशेष दक्खल राख्ने गजुरेल यातायात तथा ट्राफिक इन्जिनियरका रूपमा परिचित छन् ।
काठमाडौं उपत्यकालगायत मुख्य सहरहरूमा यातायात व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएको छ, तर सरकारसँग यसको समाधानका लागि स्पष्ट नीति तथा योजना छैन । अस्तव्यस्त बन्दै गरेको यातायात व्यवस्थापन, यसका लागि पूर्वाधार निर्माण र अहिलेको अवस्था, सडक सुरक्षा, गुणस्तरका साथै भावी कदमलगायतबारे कारोबारकर्मी भीम गौतमले गजुरेलसँग गरेको कुराकानीको सार ः 
नेपालको अहिलेको यातायात व्यवस्थापनलाई कसरी विश्लेषण गर्नुहुन्छ ? 
अहिले यातायात क्षेत्रलाई हेर्ने हो भने समस्यै समस्या छ । नयाँ कुरा केही भएको छैन । दीर्घकालीनभन्दा अहिले तत्काल चाहिएको कुरालाई मात्र सम्बोधन भइरहेको छ । सडकको कुरा हेर्ने हो भने पछि फराकिलो सडक चाहिन्छ भनेर अहिले सोचेकै छैनौं । अहिले जति आवश्यक छ, त्यसका आधारमा मात्र बनाइरहेका छौं । हाम्रो अर्को ध्यान सबै जिल्लालाई जोड्नतिर मात्र बढी केन्द्रित छ । यसमै बढी ध्यान गयो, सडक सुरक्षातर्फ कहिल्यै ध्यान दिएनौं । डिजाइनलाई कहिल्यै प्राथमिकता दिएनौं ।
अर्को कुरा, सार्वजनिक यातायातको विकास गर्नुपर्छ भन्नेतिर पनि लागेनौं । अहिले सवारी साधनको अवस्था यति बढिसकेको छ कि काठमाडौंमा मात्र मोटरसाइकल ९० को लटमा गइसक्यो । गाडी पनि १९ लटमा गइसक्यो । रजिस्ट्रेसन भएका सवारी साधन नै ११ लाख पुगिसक्यो । यति सानो काठमाडौंभित्र ११ लाख सवारी साधन हुनु भनेको एकदम बढी हो । ठूला सार्वजनिक यातायातको संख्या एकदम कम छ । हरेक दृष्टिकोणले यातायातको व्यवस्थापन होस्, सडक सुरक्षाको कुरा होस्, सबैमा चुनौती नै चुनौती छ । कुनै पनि क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सकिएको छैन । 
सडक अस्तव्यस्तताको अहिलेको जुन अवस्था छ, यो तथ्यलाई कसरी हेर्न सकिन्छ ? 
हुन त सडक दुर्घटनालाई हेर्ने हो भने एउटा कुराले मात्र त हुँदैन । संरचनाले मात्र सडक दुर्घटना हुँदैन । दुर्घटना हुनुको कारण त सडक संरचनासहित सवारी साधनको अवस्था, सडक प्रयोगकर्ताको व्यवहार, सवारी चालकको सीप, ज्ञान, प्रवृत्तिलगायत हो ।
सवारी चालकमा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने दायित्व मेरो भन्ने बोध पनि हुनु आवश्यक छ । यो बोध भयो भने उसले मादक पदार्थ सेवन पनि गर्दैन । एकदम सचेत भएर गाडी चलाउँछ । हाम्रो नियम, कानुन कस्तो छ र कतिले पालना गर्छन् भन्नेले पनि यसमा फरक पार्छ । यी चारवटा कुराले सडक सुरक्षाको मापदण्ड तयार गर्छ । नेपालमा ट्राफिक प्रहरीले अधिकांश दोष चालकहरूलाई दिन्छन् ।
७० देखि ८० प्रतिशत सवारी चालकका कारणले दुर्घटना हुने गरेको उनीहरूको भनाइ छ । मलाई लाग्छ, यो सही होइन । दुर्घटना हुनुको मुख्य कारण सडकको अवस्था हो । जबसम्म सडक राम्रो हुँदैन, सामान्य लापरवाहीले पनि सडक दुर्घटना हुन सक्छ । सबैभन्दा पहिले त सडक संरचनामै सुधार गर्नुपर्छ । नेपालमा धेरै डाँडाकाँडा भएकाले सवारी साधन खस्यो भने १६ सय मिटरसम्म तल खस्न सक्छ । यातायातको अवस्था अस्तव्यस्त नै छ । 
कति अस्तव्यस्त छन् त नेपालका सडक ? 
धेरै अस्तव्यस्त छन् । यसलाई सुधार्न लाग्दै लागेनौं । हाम्रो सडक व्यवस्थापनबारे दीर्घकालीन रणनीति पनि छैन । पाँच वर्षसम्म के गर्छौं, दस वर्षसम्म के गर्छौं भन्ने । हामीले सुनेकै हो, सन् २०१२ मै काठमाडौंमा मेट्रो रेल बनाउने भनेर सम्भाव्यता अध्ययन गरिएको थियो ।
२०१७ सम्म आइपुग्दा पनि कहिले बन्ने, कसरी अघि बढ्ने भन्ने टुंगो छैन । नेपाली जनताले कहिले रेल चढ्न पाउने भन्ने टुंगो छैन । यसको कुनै योजना छैन । कति अस्तव्यस्त होला ? सडक सुरक्षाको रणनीति पनि अहिलेसम्म बनेकै छैन । सार्वजनिक यातायातको कुनै भिजन छैन ।
ठूला सार्वजनिक यातायात सुरु गर्ने भनिएको छ, साझाले अलि–अलि सुरु गरेको छ । वर्षमा कतिवटा सवारी साधन काठमाडांैमा ल्याउन दिने भन्ने स्पष्ट छैन । सिंगापुरमा हेर्ने हो भने वर्षको कतिवटा निजी सवारी साधन किन्ने भनेर पहिल्यै निश्चित गरेको हुन्छ । त्योभन्दा बढी किन्न पाइँदैन । उनीहरूले यसरी व्यवस्थापन गरिरहेका छन्, तर नेपालमा त अस्तव्यस्त नै छ । 
नेपालको सडक व्यवस्थापन हावादारी रूपमै चलेको छ त ?
हामी एकदम हावादारी रूपमै चलेका छौं । नाफा हुन्छ जस्तो लाग्यो भने मात्र सार्वजनिक बस हाल्ने गरिएको छ । सरकारले पनि बस हाल्न दिन्छ । कुन रुटमा कति हाल्ने भन्ने स्पष्ट छैन । एसियाली विकास बंैक (एडीबी) ले सन् २०१२/०१३ देखि नै दिगो यातायात परियोजना भनेर सुरु गरेको थियो ।
एडीबीले पहिलो, दोस्रो र तेस्रो सडक भनेर वर्गीकरण गरेको छ । पहिलोमा ठूला, दोस्रोमा त्योभन्दा सानो र तेस्रोमा एकदम सानो सवारी साधन भनेर प्रतिवेदन दिएको धेरै भइसक्यो, त्यो पनि लागू गर्न सकेका छैनौं । यद्यपि यो अध्ययनको अन्तिम प्रतिवेदन पनि आइसकेको छैन । यति अस्तव्यस्त भयो कि अब के गर्ने भन्ने कसैलाई थाहा छैन । सबैलाई काठमाडौंमा ट्राफिक जाम बढ्यो, दुर्घटना बढ्यो भन्ने थाहा छ । दुर्घटनाबाट मात्र वर्षको २ हजारको मृत्यु हुने गरेको छ । यसलाई कसरी घटाउने भनेर गम्भीर रूपमा लागेका छैनौं ।
अझ एक जिल्लामा सडक जोडिएको छैन भनेर बढी कुदिरहेका छौं । बीपी राजमार्गकै कुरा गरौं । यो जापानले बनाइदियो । त्यसमै कति कमी–कमजोरी छन् । सडकको चौडा ४.५÷५.५ मिटर छ, तर नेपालको कानुनअनुसार यहाँ दोहोरो सवारी कुद्न पाउँदैन । दोहोरो गुड्न कम्तीमा ७ मिटर हुनुपर्छ । त्यो छैन, तर लागू गरिरहेका छौं । जापानमा भए यस्तो सडकमा सवारी साधन गुडाउन पाइँदैन । यस्तोमा गाडी झर्यो भने दुर्घटना होला भनेर स्टिलको बार लगाउने गरिन्छ, त्यो पनि गरिएको छैन । अहिले सवारी साधन खस्यो भने सुनकोसीमा पुग्ने अवस्था छ । नाल पनि छोपिएको छैन ।
हामीले मोडल राजमार्ग भन्नेमै कति हेलचेक्र्याइँ छ । साधारण प्राविधिक विश्लेषण गर्दा पनि यसमा कमी–कमजोरी देखिन्छ । यसले ठूला–ठूला दुर्घटना निम्त्याउन सक्छ र निम्त्याइरहेको पनि छ । जापानले बनाइदियो । हामी खुसी छौं । यहाँ भएका कमी–कमजोरी नहटाईकन सडक हस्तान्तरण भयो । नालाहरू खुला छन् । नहतारिएको भए यसमा सुधार गर्न बाध्य हुन्थ्यो । यही अवस्थामा जापानमा भए गाडी चलाउन दिन्थ्यो होला त ? दिँदनथ्यो, तर हाम्रो देशमा त हस्तान्तरण गरिदियो ।
यो त हाम्रो कमी–कमजोरी हो नि । हामीले भन्नुपर्ने हो नि । यसमा सुरक्षाका लागि सबै पूर्वाधारहरू बनाइदे भन्न सक्नुपर्यो । सामान्यतया सडक बनाउँदा पहाड काटेर, कतै खाल्डो भए पुरेर बनाउँछौं । तर, बीपी राजमार्गमा जाली लगाएर माथि उठाइएको छ । जालीले कति लोडसम्म थेग्ने हो ? यो त सानो गाडीलाई मात्र बनाएको हो । हामी ठूला गाडी चलाइरहेका छौं । बीपी राजमार्गको डिजाइनमा यति फल्ट छ कि हामीले डिजाइन र सुरक्षालाई ध्यान दिनै सकेका छैनौं ।
मोडल भनेको बीपी राजमार्गको अवस्था त यस्तो छ । के उसो भए नेपालमा कुनै सुरक्षित सडक नै छैन त ? 
नेपालमा कुनै सडक सुरक्षित छ भनेर भन्न सकिने अवस्था नै छैन । मोडल रोड, सबैभन्दा राम्रो त यही बीपी राजमार्ग हो । यो सडकमा छैन भने अरूमा कहाँ छ र ? सबै अस्तव्यस्त नै छ । यसलाई सुधार्नु जरुरी छ ।
सडक व्यवस्थापनलाई प्रभावकारी बनाउने मन्त्रालय र यस मातहतमा विभिन्न निकाय तथा संरचना त छन् नि ! यी निकाय हाँक्ने मन्त्रीदेखि सचिवलगायतका पदाधिकारी छन्, उनीहरूले के गर्छन् त ? 
 धेरै संरचना भए पनि तिनीहरूको काम स्पष्ट छैन । सडक सुरक्षा हेर्ने निकायकै कुरा गर्ने हो भने सडक विभाग र मन्त्रालयमा छुट्टै विभाग छ । ट्राफिकतिर पनि छ । यातायात व्यवस्था विभागमा पनि छ । यसमा पनि धेरै स्पष्टता छैन । सडक सुरक्षाको कुरा प्राथमिकतामै परेन नि !
हाम्रो प्राथमिकता कनेक्टिभिटीमै बढी पर्यो । अहिले भएको मुख्य सडकमध्ये एकतिहाई सडक बनाएको छ भने बाँकी दुईतिहाई डोलिडारले बनाएको छ । विभागले केही हदसम्म इन्जिनियरिङ डिजाइन गरेर बनाएको छ, तर डोलिडारले बनाएको त अधिकांश कनेक्टिभिटीका लागि बनाइएको छ । यसमा डिजाइन र सुरक्षामा खास जोड दिइएको छैन । यसबाट स्पष्ट हुन्छ, हामी सडक सुरक्षामा कति कमजोर छौं भन्ने ! 
यातायात मन्त्रालय, विभागले त जहिले पनि गुणस्तर सडक भनिरहेको छ त ? 
दुईतिहाइ त डोलिडारले सडक बनाएको छ । यो त यातायात मन्त्रालयअन्तर्गत परेन, स्थानीय विकास मन्त्रालयअन्तर्गत पर्यो । यी सडकमा त इन्जिनियरिङ स्यान्डर्डता छैन । गाडी त मज्जाले गुडिरहेको छ । 
यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन नीति, योजना र कार्यान्वयन, कहाँनेर कमजोर भयो र यस्तो अवस्थामा पुग्यौं ? 
नीति, योजना र कार्यान्वयन सबैमा कमजोर छौं । सडक सुरक्षा चौबीसै घण्टा हेर्ने निकाय हुनुपर्यो । अमेरिका, जर्मनी, श्रीलंकाका साथै अफ्रिकन मुलुकहरूमा यस्तो व्यवस्था छ । यहाँ विज्ञहरूको टोली हुन्छ, उनीहरूको काम चौबीसै घण्टा सडक सुरक्षा हेर्ने हुन्छ ।
यो भनेको सडक सुरक्षालाई प्राथमिकतामा राखिएको हो । तर, हाम्रो देशमा कसरी परियोजना ल्याउने, त्यसका लागि स्रोत जुटाउने भन्नेमै बढी केन्द्रित छ, सुरक्षामा छैन । सडक विभागको काम पनि सडक बनाउने, मर्मत गर्नेमै केन्द्रित छ । गुणस्तर सडक बनाउनेतिर पनि ध्यान छैन । 
गुणस्तर सडकको कुरा गर्दा निर्माण गरेको छोटो समयमै भत्किने गरेको कुरा आउँछ । यसको प्राविधिक लेखापरीक्षण र अन्तर–प्रमाणीकरण (क्रस भेरिफिकेसन) हुने गरेको छैन । यसमा लोभ–लालच र कमिसनको कुरा आउने गरेको छ । यो किन हुन्छ ? 
नेपालमा सडक निर्माण वा मर्मत सम्भारमा जति खर्च लाग्नुपर्ने हो, त्योभन्दा ३०/४० प्रतिशत कममा काम भइरहेको छ । टेन्डरमा जसले कम लागतमा हाल्छ, उसलाई छनोट गरिन्छ । कममा ठेक्का लिएपछि गुणस्तर काम नहुने त पक्का भयो । सस्तोमा काम गर्दा कसरी गुणस्तरीय काम हुन सक्छ र ? जति लागत लाग्छ, त्योभन्दा कम टेन्डर हाल्नेलाई छनोट नै गर्नु भएन । यो सबैभन्दा कमजोर पक्ष हो । मन्त्रालय, विभागलाई त यो सडक बनाउन कति पैसा लाग्छ भन्ने स्पष्ट छ नि ! 
प्रतिस्पर्धामा टेन्डर लिए पनि टेन्डर गर्दाको सर्तअनुसार नै सडक बनाउनुपर्यो नि ! किन कमजोर बनाउँछन् र यसमा किन नियन्त्रण हुँदैन ? 
ठेकेदारले कमसल सामग्री प्रयोग गर्छ । तर, यसको क्रस भेरिफिकेसन हुने गरेको छैन । यसकारण त समस्या छ । ठेक्का दिने, निरीक्षण गर्ने र यसको प्रमाणीकरण, तीनवटै काम एउटै निकायले गर्ने भएकाले समस्या देखिएको हो ।
अविकसित राष्ट्रहरूमा यस्तो समस्या छ तर विकसित राष्ट्रहरूमा अनुशासन बढी हुन्छ । त्यहाँ भ्रष्टाचारको स्तर पनि सानो हुन्छ । मान्छे आफैं अनुशासित भएपछि गुणस्तरीय काम हुन्छ । उनीहरूको निरीक्षण एकदम कडा हुन्छ । नेपालको सडकको कुरा गर्दा त टाढा जानै पर्दैन, बानेश्वरको स्ट्यान्डर्ड चार्टर्ड बैंकअगाडि भर्खरै बनाएको सडक अहिले नै भत्किसक्यो । कसले हेर्ने ? यसमा त कारबाही हुनुपर्ने हो, तर हुँदैन । यसकारण हामीले सम्झौतालाई पनि परिमार्जन गर्नुपर्ने आवश्यकता छ । विदेशका कतिपय मुलुकले कार्य सम्पादनमा आधारित सम्झौता सुरु गरेका छन् ।
यो सम्झौता गरेपछि पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनी नै जिम्मेवार हुन्छ । पाँच वर्षसम्म सडकमा केही समस्या आए, त्यसको समाधान गर्ने सबै जिम्मा उसैको हुन्छ । यसकारण उसले त गुणस्तरीय सामग्री प्रयोग गरेर सडक बनाउँछ । बनाएन भने त उसको बढी खर्च हुन्छ । यसकारण नेपालको सम्झौता कार्यविधि पनि परिवर्तन गर्नुपर्छ । नेपालमा सडकको ठेक्का पारेर निरीक्षणमा पास भएपछि जान्छ, त्यसपछि पैसा दिइन्छ, उसको दायित्व र जिम्मेवारी खासै हुँदैन । 
के कमिसनको चक्करले सडकमा यस्तो बेथिति देखिएको हो त ? 
म सम्बन्धित निकायमा नभएकाले यसबारे विस्तृत थाहा छैन । तर, गुणस्तरीय सडक नबनेको भने निश्चित हो । उदाहरणका लागि हेरौं न, भक्तपुरको सडक कति वर्ष भइसक्यो, बिग्रिएको थाहा छैन । उही भूकम्पले एकपटक बिग्रेको थाहा भयो । गुणस्तर बनाए टिक्ने रहेछ भन्ने प्रस्ट छ नि ! नेपालमा त कतिपय सडक बनाएको एक–दुई महिनामा बिग्रिहाल्छ ।
 
समग्रमा सुरक्षित र भरपर्दोदेखि नेपालमा सडकको पहुँचसम्म पुर्याउनका लागि अहिले भएको अवस्थामा के के सुधार गर्नु आवश्यक छ ? 
सबैभन्दा त यातायात व्यवस्थापनको स्पष्ट भिजन हुनुपर्यो । पाँच/दस/पन्ध्र वर्षभित्र सडक व्यवस्थापनलाई सुधार्न के–के गर्नुपर्ने हो, यसको स्पष्ट खाका र रणनीति हुनुपर्छ । सडक सञ्जाल कहाँ–कहाँसम्म कसरी पुर्याउने हो ?
यसको स्तरको मापन कसरी गर्ने हो ? कसरी सुरक्षित र भरपर्दो बनाउने हो ? एक÷दुई÷तीन लेन अर्थात् कति लेनको बनाउने हो । निक्र्योल गर्नुपर्यो । पहुँचसँगै सडक सुरक्षा सबैभन्दा महŒवपूर्ण हो भनेर जोड दिनुपर्यो । सडक बनाउँदा डिजाइनमा एकदम ध्यान दिनुपर्यो । सबै सडकले इन्जिनियरिङ मापदण्ड पुरा गर्नैपर्ने बनाउनुपर्यो ।
मापदण्ड स्पष्ट पार्न राष्ट्रिय नीति बनाउनुपर्यो । सवारी साधनको गति कति हुने हो, स्पष्ट बनाउनुपर्यो । सबै सडकमा रेलिङ लगाइदिनुपर्यो । धेरै सवारी साधन तल खसे । सबै प्राविधिक मापदण्ड बनाउनुपर्यो । यसको कार्यान्वयन कुन निकायले कसरी गर्ने हो, स्पष्ट पार्नुपर्यो । यसको ठेक्का र जरिवाना गर्ने व्यवस्था पनि स्पष्ट बनाउनुपर्यो । सडक विभागले बनाओस्, डोलिडारले बनाओस् ।
एउटा इन्जिनियरिङ मापदण्ड तयार गरेर । यसै अनुसार काम अघि बढोस् । कार्य सम्पादन सम्झौतामा आधारित भएर ठेक्का प्रक्रिया अघि बढाउनुपर्छ । समग्र रूपमा यातायात व्यवस्थापनका लागि एउटा निश्चित प्रणालीको विकास गर्नुपर्छ । गुणस्तरहीन सडक बनाउनेलाई जरिवाना गरेको समाचार सार्वजनिक गर्नुपर्यो । यसले गुणस्तरीय विकासमा जोड दिन्छ ।
नेपालमा रेलमार्ग, सुरुङ मार्गको चर्चा भएको वर्षौं बित्यो, तर बन्न सकेनन् । द्रुत मार्गहरूको त खाँचो थियो, किन नेपालमा बन्न सकेनन् त ? 
सबैभन्दा पहिलो त क्षमता विकासकै कुरा हो । हामीसँग यस्ता मार्ग बनाउने जनशक्ति छैनन् । जसले यो प्रणाली बुझेको होस् । नबुझेको कुरा गर्न गाह्रो छ । सन् २०१२ देखि हामी काठमाडौंमा मेट्रो रेल बनाउने कुरा गरिरहेका छौं तर बनेको छैन ।
यो बनाउन पनि एकदम जरुरी छ । काठमाडौं ५० लाख जनसंख्या भएको सहर हो । अब रेल नभई सडक व्यवस्थापन गर्न सकिँदैन । रेल भए आफ्नै लाइन हुन्छ, ट्राफिक जाम हुँदैन । सुरक्षित र भरपर्दो पनि भयो । हाम्रो देशमा रेल, टनेल नबन्नुको मुख्य कारण नै हाम्रो क्षमता नभएरै हो । 
प्रधानमन्त्री, मन्त्री, सचिवको मुख–मुखमा मात्र होइन, प्रत्येक वर्षका बजेट र सरकारका योजनाहरूमा पनि रेलमार्ग समेटिएको छ । किन कार्यान्वयन हुन नसकेको होला ? यसमा कसको कमजोरी छ ? 
मुख्य त तत्परता नभएरै हो । पहिले प्रणाली बुझ्नुपर्यो अनि बोल्ड डिसिजन गर्नुपर्यो । निर्णय गर्नकै लागि सबैभन्दा बढी समस्या छ । नेतृत्वतहमा रहनेले यति वर्षभित्र रेल जसरी पनि बनाउनुपर्छ, तुरुन्तै कार्ययोजना ल्याउनु भनेर तत्परता मात्र लिएको भए पनि हामी एक ठाउँमा पुग्थ्यौ नि ! 
काठमाडौं महानगरपालिकाको मेयरकै कुरा गर्ने हो भने दुई÷तीन वर्षभित्र मोनोरेल बनाउने कुरा गर्नुभएको थियो । महानगरपालिकाभित्र जनशक्ति नभएको भए पनि उहाँले देशभित्रका, योसँग सम्बन्धित बाहिर देशमा भएका वा नभए विदेशी जनशक्ति ल्याएर भए पनि यो योजना अघि बढाउन सक्नुहुँदैनथ्यो नि । दुबईमा रेलमार्ग बनाउँदा जर्मनी, जापान, अमेरिका, अस्ट्रेलियालगायतका देशबाट ल्याएर बनाएको हो नि । 
काठमाडौंले पनि यो वर्षभित्र यो बनाइसक्ने भनेर स्पष्ट मार्गचित्र ल्याएर बनाउन चाहेको भए बन्थ्यो नि । त्यो पनि छैन । सन् २०१२ देखि मेट्रो रेलको अध्ययन अघि बढ्न सकेको छैन । सुरुङ मार्गको अवस्था पनि त्यस्तै छ । परियोजनाहरू त कति छन् कति ! दु्रतमार्गकै कुरा गर्ने हो भने भारतीय कम्पनीलाई दिइएको थियो । पछि नेपाल आफैंले गर्ने भनेर फिर्ता गरियो । 
स्वदेशी लगानीमा बनाउँछु भन्नु त राम्रो थियो, होइन र ? 
नेपाल आफैंले बनाउनु त एकदम राम्रो हो तर बनाउनुपर्यो नि । त्यो दिएर अरू धेरै परियोजना नेपालले बनाउनुपर्ने छ, बनाएको भए हुन्थ्यो । त्यसबाट नेपाली जनशक्तिको क्षमता बढ्थ्यो । यस्ता त नेपालमा हजारौं परियोजना चाहिएको छ । जबसम्म नेपालमा एउटा रेलवे, एउटा सुरुङमार्ग बनाउँदैनौं, बनाउँछु भन्नु गफ मात्र हुन्छ । एउटा बनेपछि दोस्रो, तेस्रो, चौथो बनाउन कुनै समस्या हुँदैन ।
 
ठूला–ठूला पूर्वाधार बनाउनका लागि सहजीकरण गर्ने उद्देश्यले लगानी बोर्ड गठन भएको हो, तपाईं लगानी बोर्डमा पनि हुनुहुन्छ, बोर्डले चाहिँ के–के गरिरहेको छ त ? 

बोर्डले पनि यातायात क्षेत्रका पूर्वाधारहरू बनाउनका लागि प्रयास गरिरहेको छ । फास्टट्र्याकमा पनि बोर्डले केही काम गर्यो, तर बोर्ड गठन गर्नुअघि नै मन्त्रालयबाट यसको टेन्डर प्रक्रिया अघि बढिसकेको थियो । 
लगानी बोर्डले धेरै काम गरेन । बोर्डले अघि बढाएको भनेको काठमाडौं मेट्रो रेल परियोजना हो । राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको नेतृत्वमा रहेको समूहले यसको अन्तिम प्रतिवेदन तयार गरेको छ । मार्गचित्र तयार पारिएको छ । प्रतिवेदन अब बोर्डमा पेस हुन्छ ।

मोनोरेलको विस्तृत अध्ययन एक वर्षभित्र

      भीम गौतम   http://www.karobardaily.com/news/82971 0 + -

–रिङरोडभित्र २८ किलोमिटर बनाइने
–एक वर्षभित्र डीपीआर र चार वर्षभित्र निर्माण
–८० अर्ब लागत अनुमान
–डीपीआरमा सरकारलाई आर्थिक भार नपर्ने
 
काठमाडौंको चक्रपथभित्र निर्माण गर्ने योजना रहेको मोनोरेलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउनका लागि काठमाडौ–मोनोरेल कम्पनीलाई जिम्मा दिइने भएको छ । लगानी बोर्डद्वारा राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजकत्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका सहसचिव लगायत रहेको समितिले दिएको प्रतिवेदनको आधारमा सो कम्पनीलाई जिम्मा दिइने भएको हो ।
मलेसियाली र नेपालीको संयुक्त सो कम्पनीले २०१६ जुलाईमा सरकारलाई भार नपर्ने गरी डीपीआर गर्ने प्रस्ताव गरेको थियो । २४ पुस २०७३ मा बसेको लगानी बोर्डको २५ औ बैठकले काठमाडौ रेलमार्ग र मोनोरेल परियोजना प्रदान गर्नका लागि गरिनुपर्ने निम्न परिपूर्ति कोष (भायविलीटी ग्याप) र परियोजना विकासका लागि उपयुक्त तरिकाबारे विद्यमान सार्वजनिक निजी साझेदारी (पीपीपी) नीति समेतलाई आधार मानी उपयुक्त सुझाव पेश गर्न आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य हितेन्द्रमान प्रधानको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले दिएको प्रतिवेदनको आधारमा सो कम्पनीलाई डीपीआरको जिम्मा दिन  लागिएको बोर्डले जनाएको छ । “मोनोरेलको डीपीआरका लागि नेपाल र मलेसियाली कम्पनीलाई दिनेबारे लगानी बोर्डबाट प्रतिवेदन पारित गरेपछि काम अघि बढ्छ,” बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले भने, “प्रतिवेदनमा सो कम्पनीलाई दिनका लागि सुझाव प्राप्त भएको छ ।”
वर्षौंदेखि काठमाडौमा मोनोरेलको चर्चा चलेपछि यसको विस्तृत अध्ययन भने हुन सकेको थिएन ।  स्थानीय निकायको पूर्वसन्ध्यामा काठमाडौं महानगरपालिकाका मेयरको उम्मेदवार भएर विजयी भएका विद्यासुन्दर शाक्यले पनि काठमाडौं मोनोरेलको नारा दिएका थिए । तर, निर्वाचित भएपछि यसबारे खासै अध्ययन अघि बढेको छैन । यस्तो बेला लगानी बोर्डले नै विस्तृत अध्ययन अध्ययन अघि बढाउन लागेको हो । बोर्डका अनुसार संयुक्त कम्पनीलाई एक वर्षभित्र रिङरोडभित्रको २८ किलोमिटर मोनोरेलको डीपीआर सम्पन्न गर्ने गरी दिन प्रस्ताव गरिएको छ । “सरकारलाई कुनै आर्थिक दायित्व र भार नपर्ने गरी डीपीआरका प्रस्ताव आएकोले प्रतिवेदनलाई सो संयुक्त कम्पनीलाई दिन सुझाव दिइएको छ,” बोर्डका परामर्शदाता आशिष गजुरेलले भने, “एक वर्षभित्र कम्पनीले मोनोरेलको सम्भावना, लागत र यसको प्रभावबारे विस्तृत रूपमा अध्ययन गर्नेछ ।” सो संयुक्त कम्पनीले नै पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन गरेको थियो । बोर्डले दुवै अध्ययनमा चित्त नबुझाएपछि डीपीआर गर्नुपर्ने निष्कर्षमा पुगेको हो । सम्भाव्यता अध्ययनमा मोनोरेलका लागि ८० अर्ब लागत पर्ने र मोनोरेल बनेपछि दैनिक एक लाख यात्रुले मोनोरेलमा यात्रा गर्न पाइने उल्लेख छ । अध्ययन प्रतिवेदनमा चार वर्षभित्र मोनोरेल निर्माण सम्पन्न गर्न सकिने उल्लेख छ । 

Monday, October 23, 2017

विद्युत््को उच्चतम माग १५०८ मेगावाट

      भीम गौतम   http://www.karobardaily.com/news/82914 0 + -

वर्षकै सबैभन्दा बढी विद्युत्् माग हुने लक्ष्मीपूजाको दिन विद्युत्को माग १ हजार ५ सय ८ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गतवर्ष लक्ष्मीपूजाकै दिन विद्युत् माग १ हजार ४ सय ४४ मेगावाट पुगेको थियो । उपभोक्ताले लोडसेडिङको चरम समस्या भोगिरहेको बेला गत वर्षको लक्ष्मीपूजादेखि काठमाडांै उपत्यकालाई र चैतदेखि मुलुकभरलाई लोडसेडिङमुक्त बनाइएको घोषणा गरिएको छ । प्राधिकरण र यसका कार्यकारी निर्देशक कुलमान घिसिङको यसमा उच्च प्रशंशा भए पनि उपत्यकाबाहिर भने बारम्बार विद्युत् कटौती हुने समस्याका कारण उनी आलोचित छन् । 
सामान्यतया लक्ष्मीपूजाको दिन सबैभन्दा बढी माग हुने र सो दिन व्यवस्थापन गर्न नसके फेरि लोडसेडिङ सुरु हुने कारण लक्ष्मीपूजालाई बेञ्चमार्ककका रूपमा लिइन्छ । यस वर्ष पनि घिसिङ  आफैंले नेतृत्व गरेर भारप्रेषण केन्द्रमा पुगी  लक्ष्मीपूजालाई लोडसेडिङमुक्त बनाउन सफल भएको छन् । “यस वर्ष लक्ष्मीपूजाको दिन विद्युत्को माग १५०८ मेगावाट पुगेको छ, सम्भवतः यो वर्षकै उच्च हुन सक्छ,” भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले भने, “गत वर्षको लक्ष्मीपूजाको दिनमा माग नै उच्च थियो, यस वर्ष विद्युत्को माग केही घटेकोले पुसमा योभन्दा बढी माग हुन पनि सक्छ ।” उनका अनुसार, लक्ष्मीपूजाको दिनदेखि नै प्राधिकरण लोड व्यवस्थापनमा सफल भएको छ । सो दिन प्राधिकरणमार्फत उत्पादन भएको ४ सय ४० मेगावाट, निजी क्षेत्रको ३ सय ५६ र भारतबाट आयात ३ सय ५५ मेगावाटको विद्युत् आयात भई आपूर्ति व्यवस्थापन गरिएको थियो । 
प्राधिकरणले विद्युत्को माग प्रत्येक वर्ष ८ प्रतिशतले बढ्ने जनाएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी अपेक्षा गरेभन्दा एक सय मेगावाट माग घटी देखिएको बताए । “उपभोक्तामा पुगेको चेतनाको कारण तथा होटेल व्यवसायीहरूले लक्ष्मीपूजाको दिनमा लोड कम गर्न गरेको सहयोग तथा गत वर्ष इन्भर्टर चार्ज उपभोक्ताले गरेकोमा त्यसको लोड नभएको लगायतको कारण अपेक्षाभन्दा करिब एक सय मेगावाट विद्युत्को माग घटेको हो,” उनले भने, “लक्ष्मीपूजाको दिनमा लोड व्यवस्थापन गर्न सकियो भने अन्य समयमा अझै सहज हुन्छ ।” होटेल व्यवसायीहरूले बढी पिक लोड हुने समयमा जेनेरेटर चलाएको कारण काठमाडौंको माग ३ सय २५ मेगावाट अनुमान गरेकोमा ३ सय १ मेगावाट भएको प्राधिकरणले जनाएको छ ।

Sunday, October 15, 2017

चमेलियामा ढिलाइले राज्यलाई १६ अर्ब घाटा

    भीम गौतम   http://www.karobardaily.com/news/82826 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं : तोकिएको समयमा निर्माण नहुँदा ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाबाट मात्र मुलुकले १६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ । २०६४ सालमा निर्माण सुरु भएर २०६८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा ढिलाई हुँदा यति धेरै रकम मुलुकले घाटा बेहोर्नुपरेको हो ।
उचित विस्तृत अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्णय नगर्दा चमेलियाले भने खराब जलविद्युत् आयोजनाको रूपमा पहिचान बनाएको छ । यसलाई नेपालको जलविद्युत् क्षेत्रको असफल आयोजनाको रूपमा समेत चित्रण गर्ने गरिएको छ ।
सुरुको लागत ८ अर्ब ३४ करोड रहेको आयोजनाले लागत बढेर सम्पन्न हुने लक्ष्य राखिएको आगामी डिसेम्बरसम्ममा १५ अर्ब ९९ करोड पुगेको छ । समयमै नबन्दा ७ अर्ब ६५ करोड लागत बढेको आयोजना सम्पन्न नभएर विद्युत् उत्पादन नहुँदा ६ वर्षमा ८ अर्ब ४७ करोड रुपैयाँ गुमाएको छ ।
चमेलिया जलविद्युत् आयोजनाको प्रक्षेपणअनुसार वार्षिक रूपमा १ सय ८४ दशमलब २१ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । सुरुको सम्पन्न गर्ने मिति २०११ डिसेम्बर भए पनि समयमै सम्पन्न नभएर हाल सम्पन्न गर्ने अन्तिम लक्ष्य २०१७ डिसेम्बरलाई मानिएको छ ।
  • ६ वर्ष निर्माणमा ढिलाइ
  • लागत ७ अर्ब ६५ करोड बढ्यो
  • ८ अर्ब ४७ करोडको बिजुली खेर
चमेलिया जलविद्युत् आयोजनाका प्रमुख अजय दाहाल सिभिलको काम सकिएको र डिसेम्बर २८ देखि सुरुङको परीक्षण लगायतका काम सकिने भएकोले डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको बताए । “आगामी डिसेम्बरसम्ममा आयोजनाको परीक्षण लगायतका काम सकेर उत्पादन गर्ने लक्ष्य छ, समयमै सकिने कुरामा विश्वस्त छौं,” उनले भने । 
सन् २००७ मा सुरु गरेर २०११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ६ आयोजना ६ वर्ष ढिला हुँदा प्रत्येक वर्ष १८४.२१ गिगावाट आवर विजुली विद्युत् प्राधिकरणले चरम लोडसेडिङको बेला गुमाउनुपरेको थियो । विद्युत् प्राधिकरणको औसत विक्री मूल्य सन् २०१७ मा प्रतियुनिट ९.८५ पैसा थियो ।
यसको आधारमा सो वर्ष १ अर्ब ८१ करोड ४४ लाख, सन् २०१६ को औसत मूल्य प्रतियुनिट ८.२७ को आधारमा  १ अर्ब ५२ करोड ३४ लाख र सन् २०१५ को औसत मूल्य ७.२८ रुपैयाँको आधारमा १ अर्ब ३४ करोड १० लाख बराबरको विजुली समयमै सम्पन्न नहुँदा गुमाउनु परेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
त्यसैगरी प्रतियुनिट ७.१३ औसत मूल्य भएको सन् २०१४  मा १ अर्ब ३१ करोड ३४ लाख, प्रतियुनिट औसत मूल्य ६.९० भएको सन् २०१३ मा १ अर्ब २७ करोड १० लाख र प्रतियुनिट ६.५७ रुपैयाँ औसत बिक्री मूल्य भएको बेला सन् २०१२  मा १ अर्ब २१ करोड २ लाख रुपैयाँ बराबरको विजुली समयमै नबन्दा खेर गएको थियो । 
विज्ञहरूले आयोजना सुरु हुनुपूर्वको तयारी कमजोर, विस्तृत रूपमा अध्ययन हुन नसक्नु र चमेलियाले अनावश्यक र महँगा सवारी साधन किनेर ठूला नेताहरूलाई दिनेजस्ता कारणले आयोजना महँगो भएको बताइएको छ । आयोजना समयमै नबन्दा लागत बढेको र त्यसको कारण उत्पादन नभएर प्राधिकरणले घाटा बेहोर्नुपरेको भने विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्वीकारे ।
“आयोजना निर्माणको क्रममा सुरुङ खुम्चिएको, ठेक्कापट्टामा आएको समस्या लगायतको कारणले आयोजना निर्माणमा ढिलाइ भयो,” उनले भने, “आयोजना ढिलाईको कारण लागत त बढ्यो नै, समयमै विद्युत् उत्पादन नहुँदा यसले पनि असर ग¥यो, अब छिट्टै निर्माण हुने अवस्थामा पुगेको छ ।” आयोजना निर्माणपछि ६ घण्टा पिकिङ क्षमता समेत भएको आयोजनाले आगामी हिउँदमा लोडसेडिङ न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 
ऊर्जा मन्त्रालयमा लामो समय काम गरेका पूर्वसचिव श्रीरञ्जन लाकौलको अनुभवमा चमेलिया जलविद्युत् आयोजना खराब बन्नुमा समयमै प्रशासनिक र प्राविधिक निर्णय नहुनुलाई लिन्छन् । “समयमै निर्णय भएनन्, सुरुङ खुम्चिने लगायतका समस्या देखियो, भेरिएसनमा पपिन धेरै विवाद भयो, यसकारण ढिलाइ भयो,” उनले भने, “समयमै बनाउन नसकेर असफल जस्तै बनेको चमेलिया जलविद्युत्बाट पाठ सिकेर आगामी आयोजनाहरूको कार्यान्वयन क्षमता बढाउनैपर्छ ।”  
    

Wednesday, October 11, 2017

प्रत्येक स्थानीय तहमा ऊर्जा उत्पादन योजना

     भीम गौतम   http://www.karobardaily.com/news/82735 0 + -

राष्ट्रिय योजना आयोगले प्रत्येक स्थानीय निकायमा ऊर्जा उत्पादन गर्ने योजना अघि सारेको छ । सन् २०३० भित्र सबैलाई ऊर्जा पु¥याउने सहश्राब्दी विकास लक्ष्य पूरा गर्न र ऊर्जा संकटलाई न्यूनीकरण गर्ने उद्देश्यले ७ सय ५३ स्थानीय निकायमै ऊर्जा उत्पादन गर्ने योजना अघि सारेको हो । यसअघि पहिचान भइसकेका जलविद्युत् आयोजनाहरूबाहेक ५ वर्षभित्र करिब ४ सय मेगावाट बराबरका ऊर्जा उत्पादनका आयोजनाहरू अघि बढाउने जनाएको छ । 
५ सय किलोवाटदेखि एक मेगावाटसम्मका ऊर्जा उत्पादनका आयोजनाहरू अघि बढाउने लक्ष्यसहित अध्ययन अघि बढेको आयोगका सदस्य डा. अरविन्दकुमार मिश्रले जानकारी दिए । “पर्याप्त ऊर्जा अभाव, वितरण र प्रसारणमा समस्या तथा विद्युत् पहुँच नपुगेका क्षेत्रहरूमा विद्युत् पु¥याउनका लागि आयोगले योजना अघि बढाउन लागेको हो,” उनले भने । उनका अनुसार  हिमाल, पहाड र तराईका स्थानीय निकायमा क्षेत्र अनुसार प्राकृतिक स्रोतहरू जलविद्युत्, सोलार (सौर्य ऊर्जा), वायु र बायोमासका उपयुक्त प्रविधि छनोट गरी योजना अघि बढाउनका लागि आयोग र नेपाल विद्युत् प्राधिकरणको सहायक इन्जिनियरिङ परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ । सम्झौता अनुसार प्राधिकरणले तीन महिनाभित्र प्रत्येक स्थानीय निकायमा उपयुक्त हुने ऊर्जाको स्रोत, त्यसको क्षमता, ग्रीड कनेक्सन हुने क्षेत्र र नहुने क्षेत्रमा कसरी गर्ने स्पष्ट खाका र लागतको व्यवस्थापन लगायतबारे इन्जिनियरिङ कम्पनीले प्रतिवेदन बुझाउनेछन् । 
प्रतिवेदनको आधारमा प्रत्येक स्थानीय निकायमा ऊर्जा उत्पादनका आयोजनाहरू अघि बढाउनका लागि आयोग, ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अधिकारीहरू बसेर स्पष्ट कार्यान्वयन कार्यविधि बनाई दातृ निकायहरूको समेत सहयोगमा अघि बढाइने आयोगले जनाएको छ । “मंसिर अन्तिमसम्ममा प्रतिवेदन आएपछि सरोकारवाला निकायहरूले त्यसको कार्यान्वयन कार्यविधि बनाई आवश्यकताको आधारमा दाृत निकायहरूको समेत सहयोगमा पाँच बर्षभित्र सबै योजनाहरू सम्पन्न गर्ने लक्ष्य राखिएको छ,” आयोगका सदस्य मिश्रले भने । स्थानीय निकायले कम लागत र केन्द्रबाट बढी अनुदान दिई अघि बढाइने योजनाहरू सम्पन्न भएपछि स्थानीय निकायलाई नै हस्तान्तरण गरिने आयोगले जनाएको छ । 
पहाड र हिमालमा जलविद्युत्, सोलार र वायु तथा तराईमा सोलार, वायु र वायोमासमार्फत ऊर्जा उत्पादनको सम्भावना रहेकोले आयोगले चार ऊर्जा प्रविधिलाई समेटेर योजना बनाएको जनाएको छ । आयोगले प्रत्येक स्थानीय निकायमा ऊर्जा उत्पादनका योजनाहरू अघि बढाएपछि विद्युत्को पहुँच नपुगेका सर्वसाधारणमा आधुनिक ऊर्जाको पहुँच पुग्ने, प्रसारण र वितरण लाइनको समस्या न्यूनीकरण हुनुका साथै अहिले देखिएको बढ्दो चुहावट कम हुने र ऊर्जाका योजनाहरू स्थानीय निकायको सहभागितामा बनाउन लागिएको अपनत्व बढ्ने लगायतका प्रत्यक्ष फाइदा हुने जनाएको छ । अति सानो योजनाहरू बनाउँदा भरपर्दो र दिगो नहुने भएकोले बढी लागत र क्षमताका आर्थिक रूपमा धान्न नसक्ने योजनाहरूको सट्टा स्थानीय मागलाई आपूर्ति गर्न सक्ने खालका ५ सयदेखि एक मेगावाटसम्मका योजनाहरूमा छनोट गर्ने लक्ष्य राखिएको आयोगले जनाएको छ । सबै आयोजनाहरूलाई ग्रीडसँग जोड्ने गरी योजना अघि बढाउन लागिएको सदस्य डा. मिश्रले जानकारी दिए । 
प्राधिकरणले जलविद्युत्, सोलार, वायु र वायोमासमध्ये उपयुक्त ऊर्जा प्रतिविधिको छनोटसहित आयोजनाहरूको लागत, ग्रीड कनेक्सन क्षेत्र र ग्रीड नपुगेको क्षेत्रमा ग्रीड पु¥याउने योजना लगायतले ऊर्जा संकटलाई न्यूनीकरण र सबै जनतालाई ऊर्जाको पहुँच पुर्याउनका लागि सहज हुने अपेक्षा आयोगको छ । प्राधिकरणले लागत समेत तय गर्ने कारण सरकारले कति अनुदान दिने र स्थानीय निकायले कति त्यसमा लगानी गर्ने स्पष्ट खाका समेत आउने आयोगले जनाएको छ । यी आयोजनाहरू निर्माण गर्दा सरकारले बढी रकम दिने र स्थानीय निकायले कम लगानी गर्ने गरी अघि बढाउने लक्ष्य राखिएको छ ।

Tuesday, October 10, 2017

भूकम्पपीडितलाई धितो जमानीबाटै ऋण

     कारोबार संवाददाता   http://www.karobardaily.com/news/827260 + -

भूकम्पपीडितले अब धितो जमानीबाटै ऋण पाउने भएका छन् । यसअघि सामूहिक धितो जमानीमा मात्र ऋण पाउने व्यवस्था संशोधन भएसँगै उनीहरूले अब व्यक्तिगत धितो जमानीबाटै ऋण पाउने व्यवस्था गरिएको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितका घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ । 
सामुहिक जमानीमा निब्र्याजी ऋण दिने व्यवस्थालाई कारण देखाएर बैंकहरूले भूकम्पपीडितलाई कर्जा प्रवाह गर्न आनाकानी गरिरहेको बेला यो व्यवस्थासँगै प्रभावितले निर्माण गर्न लागेको घर नै राखेर निव्र्याजी ऋण पाउने भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा सरकारले उक्त कार्यविधिलाई संशोधन गरी बन्दै गरेको घरसमेत धितो राखेर निब्र्याजी ऋण दिने नयाँ प्रावधान लागू गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेलले बताए । “सरकारले दिने तीन लाख रूपैयाँ अनुदानले घर बनाउन समस्या भएका लाभग्राहीलाई निब्र्याजी ऋण दिने व्यवस्थाका लागि मन्त्रिपरिषद्ले पारित गरेको छ,” उनले भने, “यो कार्यान्वयनमा आएसँगै निजी आवास पुनर्निर्माणमा ठूलो सहयोग पुग्नेछ र गति पनि लिनेछ ।”
संशोधित कार्यविधिअनुसार अवदेखि इजाजत प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सामूहिक जमानी वा बन्दै गरेको घर धितो राखेर लाभग्राही सूचिमा परेका भूकम्प पीडितहरूले अधिकतम तीन लाख रूपैयाँ बिनाब्याज ऋण दिनुपर्नेछ । बैंक तथा वित्तिय संस्थाहरूको संचालन लागतमा दुई प्रतिशत बिन्दु थप गरी व्याजदर कायम गरिनेछ । यस्तो ब्याज रकम, बिमा वा सुरक्षण शुल्क बंैक तथा वित्तीय संस्थाबाट माग भइ आएमा नेपाल राष्ट्र बैंक, बैकिङ कार्यालयले त्रैमासिक रूपमा उक्त कोष खर्च गरी सम्बन्धित बैंक वा वित्तीय संस्थाहरूलाई उपलव्ध गराउने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।  
निब्र्याजी रूपमा प्रदान गरी उक्त कर्जाको भुक्तानी लाभग्राहीले बढीमा ५ वर्षसम्ममा तिरिसक्नु पर्नेछ ।  यस्तो ऋण उपलव्ध गराउने सम्बन्धमा जानकारी एवं गुनासो सुन्नका लागि सम्बन्धित बैंक वा वित्तिय संस्थाले छुट्टै सम्पर्क अधिकृत तोक्नुपर्ने व्यवस्था गरिएको छ । निब्र्याजी ऋण नपाएर पनि १ लाख ३० हजार बढी लाभग्राहीले घर पुनर्निर्माण गरिरहेका छन् भने ५० हजार २ सय ५१ घर निर्माण सम्पन्न भइसकेको तथ्यांक प्राधिकरणको सूचना प्रणालीमा समाविष्ट भइसकेको छ । हालसम्म ६ लाख ४० हजार भुकम्पपीडितले अनुदान सम्झौता गरिसकेका छन् भने त्यो मध्ये ६ लाख ९ हजारले पहिलो किस्ताको, ७९ हजारले दोस्रो किस्ताको र ७९ सयले मात्र तेस्रो किस्ताको रकम पाएका छन् । 

प्रभावितलाई अग्रिम रूपमा तेस्रो किस्ता
दोस्रो किस्ताका लागि योग्य लाभग्राहीहरूले गाउँपालिका÷नगरपालिकाको सिफारिसमा अग्रिम रूपमा तेस्रो किस्ता पाउने भएका छन् । स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने सर्तमा तेस्रो किस्ता आवास अनुदान अग्रिम रूपमा पाउने भएका हुन् ।
निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रिम रूपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको हो । प्राधिकरणको प्रस्तावलाई अर्थ मन्त्रालयले सहमति दिएसँगै यो प्रक्रिया अघि बढेको प्राधिकरणका प्रवक्ता भुसालले जानकारी दिए । 

पश्चिम सेतीमा चिनियाँ कम्पनीका फेरि नयाँ सर्त

    भीम गौतम   http://www.karobardaily.com/news/82727 0 + -

चार सर्तहरू : पहिले भएका खर्चको पुँजीकरण, स्पष्ट महसुल नीति, स्थानीय सेयरको व्यवस्थापन, ऋण लगानीका लागि ग्यारेण्टी

चिनियाँ कम्पनीले पश्चिम सेती जलाशययुक्त विद्युत्् आयोजनाको संयुक्त विकास उपक्रम (जेभीए) अनुमोदन पछि फेरि नयाँ सर्त अघि सारेको छ । सम्झौताभन्दा चार वर्षपछि गत माघको पहिलो साता जेभीए भए पनि ६ महिनापछि बल्ल बोर्डबाट अनुमोदन गरेको प्रवद्र्धक चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनले फेरि चार सर्त अघि सारेको हो । 
२०६८ फागुनमा ऊर्जा मन्त्रालय र कर्पोरेसनबीच भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एक वर्षभित्र जेभीए गरी नेपाल विद्युत्् प्राधिकरण र कर्पोरेसनले संयुक्त रुपमा कम्पनी स्थापना गर्ने उल्लेख छ तर गत माघमा मात्र प्राधिकरण र कर्पोरेसनबीच भएको थियो । जेभीएलाई दुवै प्रवद्र्धकले अनुमोदन गर्नुपर्नेमा प्राधिकरणले गत माघमै गरेको थियो भने कर्पोरेसनले हालै मात्र गरेको थियो । जेभीए अनुमोदनसँगै कर्पोरेसनले लगानी बोर्ड र विद्युत् प्राधिकरणलाई पठाएको पत्रमा पहिला भएका खर्चको पुँजीकरण, यसको महशुल नीति, स्थानीय सेयरको वित्तीय व्यवस्थापनको प्रक्रिया र ऋण लगानीका लागि ग्यारेण्टीलगायत सर्तहरू राख्दै यसमा यसमा थप स्पष्टता खोजेको छ । नेपाल राष्ट्र बैंकले कर्पोरेसनले हालसम्म भएको खर्च पुँजीकरण गर्ने सहमति दिएपछि संयुक्त कम्पनी स्थापना गर्ने उल्लेख रहेकोमा राष्ट्र बैकले निकालेको सूचनामा पुर्व सर्तहरू पर्याप्त नभएको भन्दै थप छलफल गर्नुपर्ने सर्त अघि सारेको छ । त्यसैगरी आयोजनाबाट उत्पादित विजुलीको महशुल स्पष्ट नभएको, आयोजनामा एक्जिम बैक अफ चीनले ऋण लगानी गर्न प्राधिकरण र कर्पोरेसन दुवै ग्यारेण्टी बस्नुपर्नेबारे स्पष्ट नभएको उल्लेख छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले केही कुरामा थप स्पष्ट हुनुपर्ने भन्दै कर्पोरेसनले पत्र पठाएकोले आगामी २३ देखि २५ तारिखभित्रको समय उपयुक्त हुने गरी प्रत्युत्तर पठाइएको जानकारी दिए । “कर्पोरेसनले केही कुरामा रिजर्भेसन राखेको छ, त्यो कुरामा कर्पोरेसन स्पष्ट भएमा अब हुने बैठकमा संयुक्त कम्पनी निर्माण हुन सक्छ,” उनले भने । 
संयुक्त कम्पनी स्थापना गरेर तीन वर्षअघि वित्तीय व्यवस्थापन गरी सोही वर्ष सुरु गरेर २०७६ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पश्चिम सेतीको हालसम्म संयुक्त कम्पनी निर्माण हुन सकेको छैन । संयुक्त रुपमा गठन हुने वेष्ट सेती हाइड्रोपावर डेलभमेन्ट कम्पनीमा कर्पोरेसनको ७५ र विद्युत् प्राधिकरणको २५ प्रतिशत सेयर रहने उल्लेख छ । 

Sunday, October 8, 2017

‘जलाशययुक्त’ जलविद्युत संरक्षणमा सरकारको बेवास्ता

    भीम गौतम   http://www.karobardaily.com/news/82700 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौ: समन्वयको अभावमा ठूला पूर्वाधार निर्माणका आयोजनाहरू निर्माण हुने भएर जोखिममा परेका ठूला जलाशययुक्त आयोजनाहरूको संरक्षणमा सरकारले बेवास्ता गरेको छ । 
झन्डै डेढ महिना अघि राष्ट्रिय योजना आयोगले जथाभावी भइरहेका निर्माणलाई रोके जलाशययुक्त आयोजनाहरूको संरक्षणका लागि जलाशययुक्त आयोजना क्षेत्रभित्र पर्ने अन्य पूर्वाधार विकास आयोजनाहरू सञ्चालनसम्बन्धी मापदण्ड–२०७४ तयार पेस गरे पनि मन्त्रिपरिषद्ले बेवास्ता गरेको हो ।
हाल समन्वय नहुँदा अन्य सरकारी निकायहरूबाटै ती क्षेत्रमा सडक, पुल, सहर, मठमन्दिर, गुम्बा, चैत्य जस्ता पूर्वाधार निर्माण भइरहेको र यो क्रम जारी रहे पनि ६० हजार मेगावाटभन्दा बढी जलविद्युत् क्षमता जोखिममा पर्न सक्ने देखिएको छ । नेपालको आर्थिक समृद्धिको बलियो आधारमा रूपमा जलविद्युत् क्षेत्रलाई लिइरहेको जलाशययुक्त जलविद्युत् आयोजनाको संरक्षणलाई महŒवपूर्ण रूपमा हेरिएको छ ।
ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद्मा पेस भएर यसबारे छलफल भइरहेको र निर्णय भइनसकेको बताए । “मन्त्रिपरिषद्मा अन्य मन्त्रालयहरूले विशेष गरी मापदण्ड पारित भएमा भौतिक पूर्वाधार निर्माणमा समस्या पर्ने भएको भन्दै छलफल गरिरहनुभएको छ ।” उनले भने–“मापदण्ड पारित नभए पनि ऊर्जा मन्त्रालयको तर्फबाट सम्भावित जलाशययुक्त आयोजनाहरू भएको क्षेत्रमा अन्य ठूला पूर्वाधारहरू नबनाउनका लागि सम्बन्धित निकायहरूमा निर्देशन भने दिइसकेका छौं ।”
समन्वय अभावले बीपी राजमार्ग सुनकोशी नदी किनारामा बनाउँदा १ हजार १ सय १० मेगावाटको सुनकोशी दोस्रो, अरनिको राजमार्गको कारण ५ सय ३६ मेगावाटको सुनकोशी तेस्रो, चैनपुरमा बस्ती बसाउने योजनाको कारण ४ सय ५४ मेगावाटको चैनपुर सेती लगायतका ठूला आयोजनाहरू निर्माणमा समस्या परेपछि ऊर्जा मन्त्रालयले यसबारे प्रक्रिया अघि बढाएको थियो ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय समस्या समाधान विकास समितिमा मन्त्रालयले जलाशययुक्त आयोजनाहरूमा देखिएको समस्याबारे छलफल गरेपछि योजना आयोगमार्फत यसबारे अध्ययन गर्ने गरी समिति निर्माण गरिएको थियो ।    आयोगका सदस्य डा. अरविन्दकुमार मिश्रको संयोजकत्वमा गठित समितिले तयार पारेर निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गरेको मापदण्डमा ६ किसिमका जलाशययुक्त आयोजनाहरूको पहिचान तथा प्राथमिकीकरण गरेको छ ।
आयोग सदस्य डा. मिश्रले ठूला जलाशययुक्त आयोजना निर्माण हुने क्षेत्रहरूलाई प्राथमिकीकरण गरेर अन्य ठूला पूर्वाधारहरू निर्माणमा रोक लगाउने गरी मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको बताए । “मन्त्रिपरिषद्मा पठाएर छलफलको चरणमा छ, यो पारित भएपछि ठूला जलाशययुक्त आयोजनाहरूमा पछिल्लो समयमा देखिएको जोखिम कम हुनेछ ।” तर आयोगका एक अधिकारीले भने मुलुकको समृद्धिसँग जोडिएका जलाशययुक्त आयोजनाहरूको संरक्षण गर्ने गरी तयार पारेको मापदण्डलाई मन्त्रिपरिषद्ले बेवास्ता गर्दा त्यस्ता आयोजनाहरूमा जोखिम बढ्दै गएकाले तुरुन्तै पारित गर्नुपर्ने बताउँछन् । 
  मापदण्डले ६० हजार मेगावाटभन्दा बढी क्षमताका ५७ जलाशययुक्त आयोजनाहरूलाई वर्गीकरण गरेर प्राथमिकीकरण गरेको छ । मापदण्डमा अध्ययन पूरा भई निर्माणमा प्रवेश गरेका १९ हजार ५ सय ९७ मेगावाटका ७ तथा आगामी १० वर्षभित्र निर्माण जाने गरी विस्तृत सम्भाव्यता सम्पन्न गरेका र हुँदै गरेका ३२ हजार ९ सय ९८ मेगावाटका ३२ जलाशयुक्त आयोजनाहरूलाई पहिलो र दोस्रो प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी १० वर्षपश्चात् निर्माणमा जाने गरी विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भएका वा हुँदै गरेका १ हजार ६ सय ५३ मेगावाटका ५ र नदी बेसिन गुरुयोजना तथा अध्ययनबाट पहिचान मात्र भएका ६ हजार ९ सय ३८ मेगावाटका ५ जलाशययुक्त आयोजनाहरूलाई तेस्रो र चौथो प्राथमिकतामा राखिएको छ । त्यसैगरी कर्णाली चिसापानी, पञ्चेश्वर तथा सप्तकोशी बहुउद्देश्यीय जस्ता द्विपक्षीय वा बहुपक्षीय तथा भविष्यमा पहिचान हुने जलाशययुक्त आयोजनाहरूलाई समेत प्राथमिकतामा राखिएको छ । 
अध्ययन पूरा भई निर्माणमा चरणमा रहेका, १० वर्षभित्र निर्माण जाने, द्विपक्षीय र वहुपक्षीय रूपमा अघि बढाउन लागिएका  र नदी बेसिन तथा अध्ययनहरूबाट पहिचान भएका जलाशययुक्त आयोजनाहरूको हकमा कुन कुन पूर्वाधारहरू निर्माण गर्न मिल्ने, नमिल्नेबारे मापदण्ड स्पष्ट तोकेको छ । 

२ सय मेगावाट सोलारलाई लाइसेन्स

    भीम गौतम   http://www.karobardaily.com/news/82683 0 + -

समाचार प्रतिनिधि तस्विर

पीपीए भने शून्य

काठमाडौः सौर्य ऊर्जा (सोलार)मार्फत विद्युत् उत्पादनका लागि २ सय मेगावाट बराबरका आयोजनाहरूले अनुमतिपत्र (लाइसेन्स) लिएका छन् ।
२०७२ फागुनमा सरकारले १० वर्षभित्र १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा संकलकाल कार्ययोजनामा ल्याएपछि सोलारमार्फत विद्युत् उत्पादनका लागि लाइसेन्स लिने बढेका हुन् । १० बर्षमा १० हजार मेगावाटमध्ये १० प्रतिशत सोलार र वायु ऊर्जामार्फत उत्पादन गर्ने उल्लेख छ । 
सरकारले जलविद्युत्सँगै नवीकरणीय ऊर्जाका प्रविधिमार्फत उत्पादित बिजुली उपयोग गरेर ऊर्जा उत्पादन बढाउने लक्ष्य लिएको छ । विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह सरकारले मिश्रित ऊर्जा प्रणालीलाई अंगीकार गरेपछि सोलारको लाइसेन्स लिने बढेको बताउँछन् ।
‘१० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार १० प्रतिशत सौर्य र वायु ऊर्जामार्फत उपयोग गरी मिश्रित ऊर्जा प्रणालीमा जाने गरी कार्ययोजना बनाएको छ,” उनी भन्छन्, “यही आधारमा पछिल्लो समयमा सोलारमार्फत विजुली उत्पादनका लागि लाइसेन्स लिने बढेका हुन् ।”
कार्ययोजनाका अनुसार आगामी १० वर्षमा २ सय मेगावाट सोलार र वायु ऊर्जामार्फत मात्र उत्पादन गर्ने लक्ष्य राखेको छ । हालसम्म २ सय मेगावाट बराबरका सोलार आयोजनाले अनुमतिपत्र लिइसकेका छन् ।
कार्ययोजना आएपछि मात्र ३० सोलार परियोजनाले सर्भे लाइसेन्स लिएको विभागले जनाएको छ । केटीएम इनर्जी कम्पनीले विराटनगरको रानी, रंगेली र टंकिसिनवारीमा १०÷१० मेगावाटका साथै विद्युत् प्राधिकरणले २५ मेगावाटको सोलारको लाइसेन्स लिएको छ । एपीआई पावर कम्पनी लिमीटेड र यससँग आवद्ध विभिन्न कम्पनीले मात्र २५ मेगावाटभन्दा बढी क्षमता बराबरको सोलार आयोजनाको लाइसेन्स लिएको छ ।  
प्राधिकरणले प्रतियुनिट ९.६० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) तय गरिसकेको छ तर हालसम्म एक मेगावाटको पनि यो दरमा पीपीए भएको छैन । प्राधिकरणका अनुसार, सबस्टेशन नजिकबाट सोलारमार्फत विद्युत् उत्पादनका लागि आह्वान भएकोमा ६५ मेगावाट सोलार आयोजना पीपीए चरणमा रहेको विद्युत् प्राधिकरणले जनाएको छ । उत्साहका साथ सौर्य ऊर्जामार्फत बिजुली उत्पादनका लागि कस्सिएका प्रवद्र्धक समेत अहिले पीपीए हुन ढिलाइ भएपछि निराश छन् । 
केन्द्रीय ग्रीडसँग नजोडिएका ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत २० मेगावाट विद्युत् उत्पादन भएपनि केन्द्रीय ग्रीडमा जोडिने सोलार भने हालसम्म तीन मेगावाटभन्दा कम छ ।
काठमाडौं खानेपानी लिमीटेडले निर्माण गरेको ६ सय ८० किलोवाटको सोलार विजुली विद्युत् प्राधिकरणको केन्द्रीय ग्रीडमा जोड्न सुरु भएपछि नवलपरासीमा एक मेगावाट, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भवनमा रहेको सोलारमार्फत ३ सय तथा अन्य दुई निकायबाट करिब ३ सय १५ किलोवाट मात्र विद्युत् उत्पादन भई केन्द्रीय ग्रीडमा जोडिएको छ । 
हालसम्म सोलारमार्फत उत्पादन गर्न चाहाने प्रवद्र्धकहरूलाई पीपीएमा देखिएको समस्या लगायतका कारणले सोलार आयोजना अघि बढ्न सकेको छैन । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल सोलारलाई केन्द्रीय ग्रीडमा जोड्ने प्रक्रियाले सोलार आयोजनामा सहजता आएको दावी गर्छन् ।
“मिश्रित ऊर्जा प्रणालीमा जाने भनेपछि सोलार आयोजनाहरू अघि बढ्का छन् तर पीपीए हुने प्रक्रियामा रहेकोले हालसम्म कुनै पनि पूरा हुन सकेका छैनन्,” उनले भने । 

Wednesday, October 4, 2017

सबस्टेसन निर्माणमा अन्यौल

    कारोबार संवाददाता   http://www.karobardaily.com/news/82641 0 + -

समाचार प्रतिनिधि तस्विर

विशेष निर्णय नभए विद्युत् आयातमा समस्या

कारोबार संवाददाता
काठमाडौं: भारतबाट विद्युत् आयातका लागि महत्वपूर्ण मानिएको ढल्केबरसहित तीन सबस्टेसनको निर्माणका लागि चिनियाँ कम्पनीसँग भएको ठेक्का तोडेपछि निर्माणमा अन्यौल बढेको छ । 
नेपाल विद्युत् प्राधिकरणले ठेकेदार चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी) सँग २ सय २० केभीका ढल्केबर, हेटौंडा र इनरुवा सबस्टेसन निर्माणको लागि भएको ठेक्का तोडेपछि निर्माणमा अन्यौल बढेको हो । समयमै काम नगरी अनावश्यक शर्त ल्याएर ढिलाइ गरेपछि भदौ अन्तिम साता प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ कम्पनीसँगको सम्झौता तोड्ने निर्णय गरेका थिए ।
ठेक्का तोडिएसँगै चिनियाँ कम्पनीले राखेको धरौटी र विद्युत प्राधिकरणले दिएको ९ करोड ८५ लाखसमेत जफत गरिएको नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना प्रमुख राधेशरण महतोले जानकारी दिए  । “समयमै काम गर्न नसकेपछि र काममा ढिलाइ गर्दै गएपछि सम्झौता तोडिएको हो ।”उनले भने । 
तुरुन्तै निर्माण गर्नुपर्ने सबस्टेसनको ठेक्का तोडिएपछि अब कसरी अघि बढ्ने भन्ने टुंगो लागिसकेको छैन । पुनः टेन्डर आह्वान गरेर सबस्टेसनको काम अघि बढाउँदा लामो प्रकृया पूरा गर्नुपर्ने भएकाले यसबारे प्राधिकरणभित्र छलफल अघि बढेको छ । 
आगामी मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ढल्केबर सबस्टेसन निर्माण नहुने भएपछि भारतबाट थप बिजुली ल्याउन समस्या देखिएको छ । हाल एक सय केभीका दुई अस्थायी ट्रान्सफर्मर राखेर १ सय ४५ मेगावाटसम्म विद्युत् आयात गरेकामा मंसिरसम्म सबस्टेसन चार्ज गरेर भारतबाट २ सय ५० मेगावाटसम्म ल्याउने योजना प्राधिकरणको थियो ।
सरकारले विशेष निर्णय गरेर छोटो समयमा ठेक्का दिने प्रकृया अघि बढाउनुपर्ने तर्क प्राधिकरणका अधिकारीहरूको छ । “छोटो समयमा पहिला ठेक्कामा सहभागी भएका कम्पनीलाई त्यो बेलाको निर्णय र सम्पन्न भएको कामको भुक्तानी कटाएर ठेक्का दिन सकिने, राम्रा कम्पनीहरू आह्वान गरेर पनि ठेक्का दिने लगायतका केही विकल्पहरू छन् ।”
–प्राधिकरणका एक अधिकारीले भने– “प्राधिकरणस्तरबाट यस्तो निर्णय हुन सक्दैन, सरकारले यसमा विशेष निर्णय गर्नुपर्छ, नत्र भारतबाट थप बिजुली ल्याउन समस्या पर्छ, यसले हिउँदमा लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिने प्राधिकरणको योजना असफल बनाउन सक्छ ।”
    प्राधिकरणका एक अधिकारीका अनुसार, चिनियाँ कम्पनीले ढल्केबर सबस्टेसन समयमै बनाउने तर अन्य दुई सबस्टेसनबाट हात झिक्ने लगायतका अनावश्यक शर्त राखेपछि र निर्माण ढिलाइ गरेपछि ठेक्का तोडिएको हो ।
अघिल्लो वर्षको भदौमा तत्कालीन ऊर्जा मन्त्री जर्नादन शर्माले चिनिया कम्पनीलाई मंसिरभित्र सम्पन्न गर्ने सम्झौतामा हस्ताक्षर गरे पनि हालसम्म निर्माण सम्पन्न भएको छैन । ढल्केबर सबस्टेसन निर्माणको कार्य ९० प्रतिशत पूरा भएको छ भने अन्य दुई सबस्टेसनको प्रगति धेरै कम छ । 

अरुण तेस्रो शिलान्यास हुँदै

     भीम गौतम    0 + -

समाचार प्रतिनिधि तस्विर

भारतीय प्रधानमन्त्री मोदी आउने

काठमाडौः मुलुकको जलविद्युत् इतिहासकै सर्वाधिक विवादित र राजनीतिक कोपभाजनमा परेको अरुण तेस्रो जलविद्युत् आयोजना अन्ततः निर्माण सुरु हुने भएको छ । भारतीय लगानीमा निर्माण हुने सबैभन्दा ठूलो यो परियोजनाको जडित क्षमता ९ सय मेगावाट रहनेछ । आयोजना निर्माणको शिलान्यास प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले गर्ने कार्यक्रम तय भएको छ । 
भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेबीएन)को लगानी रहेको कम्पनी एसजेबीएन अरुण तेस्रो हाइड्रोपावर डेभलमेन्ट कम्पनीद्वारा निर्माण हुने अरुण तेस्रोको शिलान्यास दुवै मुलुकका प्रधानमन्त्रीबाट हुने पक्कापक्की भएको आयोजना स्रोतले जनाएको छ ।
२०४३ सालदेखि निर्माण प्रक्रिया सुरु भए पनि २०५१ कात्तिकमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले विवादित आयोजना भन्दै रद्द गर्न विश्व बैकलाई पत्र लेखेपछि विकसित अन्योलका कारण बैकले २०५२ असारमा अरुण तेस्रोबाट हात झिकेको थियो । अरुण तेस्रोबाट हात झिक्नुलाई नेपालको जलविद्युत् विकासका लागि दुःखद घटनाको रूपमा लिइन्छ ।
यही परियोजना ९ वर्षअघि अर्थात सन् २००८ मा सतलज कम्पनीले विश्वस्तरीय प्रतिस्पर्धामार्फत अरुण तेस्रोको अनुमतिपत्र लिएको थियो भने सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । आयोजना निर्माणका लागि सरकारले उपलब्ध गराउने वन क्षेत्र गत भदौ पहिलो साता वन मन्त्रालयले जग्गा उपलब्ध गराएपछि आगामी मंसीरदेखि निर्माण सुरु गर्ने लक्ष्य राखेको आयोजनाको शिलान्याश ढिलो गरी बल्ल हुन लागेको हो । 
आयोजनाको शिलान्यासका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने निश्चित भएको छ तर मिति तय भइसकेको छैन । सरकारले आगामी असोज २८, २९ र ३० का लागि भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको प्रस्ताव गरिसकेको छ । प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले अरुण तेस्रोको शिलान्यासका लागि भारतीय प्रधानमन्त्री आउने भएपनि मिति तय हुन बाँकी रहेको बताए ।
“भदौमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री मोदीलाई शिलान्याशका लागि औपचारिक रूपमा निमन्त्रणा गरिएको छ,” उनले भने, “त्यही निमन्त्रणाको बखत उहाँ आउने सुनिश्चित भए पनि मिति भने अझै निश्चित भइसकेको छैन ।” यस्तै, सतलज कम्पनीका नेपाल प्रतिनिधि हरिराम सुवेदीले पनि परराष्ट्र मन्त्रालयमार्फत यसका लागि पहल भइरहेको र समय निश्चित भइनसकेको बताए ।
प्रधानमन्त्री मोदी प्रस्तावित मितिमा नेपाल भ्रमण आएमा १६ अक्टोबर अर्थात ३० असोजमा आयोजना शिलान्यास गर्ने तालिका तय गरिएको छ । भ्रमणकै क्रममा मोदीले धार्मिक स्थलहरू मुक्तिनाथ, जनकपुर र लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तालिका समेत तय गरिएको छ । 
छिमेकी राष्ट्र भारतका दुई कम्पनी सतलजले अरुण तेस्रो र जीएमआरले ९ सय मेगावाटकै माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गरिरहेकोमा विदेशी लगानीकर्ताले भने यी दुई आयोजनाको निर्माणलाई चासोका साथ हेरिरहेका छन् । नेपालमा लगानी गर्न चाहेर पर्ख र हेर रणनीतिमा रहेका ठूला लगानीकर्ताका लागि अरुण तेस्रोको शिलान्याशले सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।
१ खर्ब ४ अर्ब कुल लागत अनुमान गरिएको आयोजनाको लागि वित्तीय व्यवस्थापन भइसकेको छ । भारतीय सरकारी कम्पनीद्वारा निर्माणाधीन सो आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रूपैयाँ बजेट उपलब्ध गराइएको छ । पीडीएअनुसार भारत निर्यात हुने आयोजना निर्माण भएपछि नेपालले २१.९ प्रतिशत निःशुल्क ऊर्जा पाउनेछ । यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुलीसँगै करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रूपैयाँ लाभ पाउने लगानी बोर्डले जनाएको छ । 
 

Tuesday, October 3, 2017

बूढीगण्डकीको सम्झौता खारेज

     कारोबार संवाददाता   http://www.karobardaily.com/news/82609

print 0 + -
फाइल फोटो
संसद्को कृषि तथा जलस्रोत र अर्थ समितिको सोमबार सिंहदरबारमा बसेको संयुक्त बैठकले २० जेठ २०७४ मा तत्कालीन सरकारले चिनियाँ कम्पनी चाइना गेजुवा गु्रप कर्पोरेसन (सीजीजीसी) सँग गरेको सम्झौतालाई खारेज गर्न निर्देशन दिएको छ । बूढीगण्डकी चिनियाँ कम्पनीलाई गलत तरिकाले दिएको भन्दै आलोचना भइरहेको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिइसकेपछि तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले चिनियाँ कम्पनीसँग सम्झौता गरेका थिए । सम्झौता गलत भएको भन्दै संसद्को कृषि र अर्थका साथै सार्वजनिक लेखा समितिमा सांसदहरूले आलोचनासमेत गरिरहेका छन् । यसबारे संसद्को लेखा समितिले आगामी बैठकमा प्रधानमन्त्री, ऊर्जामन्त्री, मुख्यसचिव, ऊर्जा सचिवलगायतलाई बोलाउने निर्णय गरेको केही दिनपछि कृषि र अर्थ समितिले संयुक्त रूपमा बसेको बैठकले सम्झौता नै खारेज गर्न निर्देशन दिएको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा अघि बढेको, पूर्वप्रधानमन्त्री दाहालको पालामा सम्झौता भएको र अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा मन्त्रिपरिषद्बाट अनुमोदन भएको बूढीगण्डकी सम्झौतामा प्रमुख दलका प्रमुख नेताहरू मौन रहेको आरोप लागिरहेको छ, तर संसद्का विभिन्न समितिमा रहेका ती पार्टी निकटका सांसदहरू भने खुलेरै यसको विरोधमा छन् ।
सोमबारको कृषि तथा जलस्रोत र अर्थ समितिका केही सांसद तथा सार्वजनिक लेखा समितिका सांसदहरूको विचारलगायतलाई समेटेर कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार ः
 
स्वदेशी पुजीमै निर्माण सम्भव
मोहन बराल
सभापति, कृषि तथा जलस्रोत समिति 

बूढीगण्डकी जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णयको पृष्ठभूमि हेर्ने हो भने सकारात्मक छैन । स्थानीय तहको चुनावको समय पारेर र सरोकारवालाहरूसँग व्यापक छलफल गरी चिनियाँ कम्पनीलाई दिइएको छ ।
हाम्रो समितिसँग पनि यसबारे खास छलफल गरिएको छैन । यो सम्झौता हचुवा तालकै देखियो । प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि यो सम्झौता भएको छ । यसले अवाञ्छित तरिकाले सम्झौता भएको देखाएको छ । यदि यो आयोजना बनेन भने सरकारबाट जानेबित्तिक्कै पनि तत्तत् व्यक्तिलाई जिम्मेवार बनाउने अवस्था नरहेसम्म यस्तै भैरहन्छ । उनीहरूलाई जिम्मेवार बनाउनुपर्छ । 
जुन कम्पनीलाई दिइएको छ, त्यो कम्पनीले समयमा आयोजना नबनाएबापत आयोजनाको लागत र समय दोब्बर भएका उदाहरण हाम्रै देशमा छन् । साना आयोजनाको अवस्था त यस्तो छ । समयमै आयोजना नबने के हुने भन्ने पनि छैन । जहाँसम्म समझदारीमा एक वर्षभित्र उसले गरेका अध्ययन र लागत सरकारलाई स्वीकार्य भयो भने गेजुवा कम्पनीलाई दिन सकिनेछ भनिएको छ ।
यो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गरेर ट्र्याक वेल कम्पनीले जुन २ खर्ब ५९ अर्ब बराबरको लागत तय गरेको छ । लागतमा पनि अहिले दिएको कम्पनीले पुनर्विचार गर्न सकिने गरी सम्झौता गरिएको छ । जहाँ इन्जिनियरिङ, लागत, वित्तीय, खरिदलगायतका सबै अधिकार दिइएको छ । यो स्वच्छन्द मोडल हो । अहिले प्रतिस्पर्धाका आधारमा गर्न सकिने अवस्था रहेकोमा यसमा सर्वथा गडबड देखिएको छ ।
यसकारण आज (सोमबार) भएको कृषि तथा जलस्रोत र अर्थ समितिको बैठकले रोक्नुपर्छ भन्ने निर्णय गरेका हौं । दुवै समितिका कोही एक जना सदस्यले पनि यो मोडलबाट जान सकिन्छ भनेर चर्चा गर्नु भएन । यद्यपि हामीलाई के लागेको थियो भने ऊर्जाको विकास गर्नका लागि केही दुःख खपेर केही महँगो भए पनि कुनै आयोजनाहरू बढाउनुपर्छ, त्यसका लागि अवरोध शून्य अवस्थामा अगाडी बढाइदिऊँ भन्ने लागेको हो, तर विवादित आयोजनालाई एकाएक दिएपछि यसमा भएको समझदारी तत्काल खारेज गर्नुपर्छ भनेका थियौं ।
अब यसलाई प्रतिस्पर्धात्मक माध्यमबाट अघि बढाउनुपर्छ । यसका लागि वार्षिक रूपमा कति बजेट आवश्यक पर्छ, सरकारले निर्णय गरोस् । जनताको सहभागितामा बूढीगण्डकी बनाओस् । बैठकमा अर्थ मन्त्रालयलगायतका सरकारका प्रतिनिधिले बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि आवश्यक लागतको ५० प्रतिशत बजेट व्यवस्था गर्न सकिने बताइरहेका छन् । बाँकी प्रतिशत निजी र सहकारी, स्थानीय बासिन्दालगायतबाट पनि जुटाउन सकिन्छ । स्वदेशी पुँजीमै बूढीगण्डकी निर्माण सम्भव छ । सैनिक कल्याणकारी कोष, सञ्चय कोषलगायतसँग पनि रकम छ । यसलाई पनि बूढीगण्डकी आयोजना निर्माणमा उपयोग गर्न सक्नुपर्छ । 
सबैसामु स्पष्ट पार्नुपर्छ

अमृतकुमार बोहोरा
सांसद

बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नुपर्छ । कृषि तथा जलस्रोत समितिले पटक–पटक बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा बनाउनुपर्छ भनेर छलफल गरेको थियो । स्वदेशी पुँजीमै बनाउन सकिन्छ भन्ने आधारहरू पनि धेरै छन् । तर, एक्कासि विधि प्रक्रियालाई बिलकुलै ख्याल नगरीकन विदेशी कम्पनी दिइँदा किन र केका लागि दिइयो भन्ने प्रश्न उठेको छ ।
नेपालमा पृष्ठभूमि राम्रो नभएको र विभिन्न बेलामा कालोसूचीमा राखिएको विवादास्पद कम्पनीलाई किन दिइयो ? अझ राजीनामा दिइसकेको कामचलाउ सरकारले यसरी दिनु रहस्यमय नै छ । यो संसदीय समिति, संसद् मात्र होइन, सार्वजनिक क्षेत्रमा समेत गम्भीर रूपमा उठेको विषय हो । 
राजीनामा दिइसकेको कामचलाउ सरकारले जाने बेलामा के कारणले विवादास्पद कम्पनीलाई दिनुपर्ने अवस्था आयो, यसबारे स्पष्ट पार्नुपर्छ ।
ऊर्जा मन्त्रीले यसबारे सबैसामु स्पष्ट पार्नुपर्छ । प्रधानमन्त्रीले समेत बूढीगण्डकी जलविद्युत् आयोजनाको चिनियाँ कम्पनीलाई किन दिएको भनेर स्पष्ट रूपमा जानकारी दिनुपर्छ । १० लाखभन्दा बढी कारोबार गर्दा सार्वजनिक खरिद ऐनअन्तर्गत अघि बढ्नुपर्नेमा यति ठूलो परियोजना, २ खर्ब ५९ अर्बको आयोजनालाई प्रतिस्पर्धा नगराई किन दिइयो ? जाँदाजाँदैको सरकारले ऐन–कानुन मिचेर किन गरियो ?
एक वर्षपछि दिइएको कम्पनीलाई मूल्यांकन गरेर मात्र आयोजना अघि बढाउने भन्ने जुन कुरा आएको छ, यसले पनि धेरै शंका निम्त्याइएको छ । जुन कम्पनीलाई दिइएको छ, त्यो कम्पनीको विगतको कुरा मात्र हेरिएको भए पनि धेरै थाहा हुन्थ्यो । त्यसकारण यो अति गम्भीर कुरा हो, यसले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा समेत शंका उब्जाएको छ ।
जुन सम्झौता भएको छ, यसलाई सच्याउनुपर्छ । जुन प्रक्रियालाई दिइएको छ, यसलाई रोक्नुपर्छ । सार्वजनिक रूपमा आह्वान गरेर प्रतिस्पर्धात्मक माध्यमबाट यो आयोजना निर्माण गर्नु जरुरी छ । मुआब्जा वितरणलाई पनि व्यवस्थित बनाउनुपर्छ । आयोजना छिटोभन्दा छिटो बनाउनुपर्छ । जुन ओगट्ने प्रवृत्ति छ, यसको अन्त्य गर्नुपर्छ । स्वदेशी लगानीमा आयोजना निर्माण गर्न सकिने भएकाले स्वदेशी लगानीमै बनाउनका लागि पहल गर्नुपर्छ । 
ठीक तरिकाले दिइएन

गगन थापा
सांसद एवं पूर्वसभापति, कृषि तथा जलस्रोत समिति

कृषि तथा जलस्रोत समितिको सभापतिका रूपमा काम गरिसकेको र बूढीगण्डकी जलाशययुक्त आयोजनाबारे आफ्नै छुट्टै धारणा पनि छ । बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमै बनाउन सकिन्छ भनेर मैले यही विकास समितिको बैठकमा प्रस्तुतीकरण पनि गरेको थिएँ ।
इथियोपियामा जलविद्युत् निर्माण गरेको मोडलबारे अध्ययन गरेर त्यो मोडलमा आयोजना अघि बढाउन सकिन्छ कि भनेर प्रयास गरिएको थियो । टेलिफोनमा निश्चित रकम बढाएर त्यो जनताको सेयरका रूपमा लगानी गर्ने मोडल अघि बढाउन सकिन्छ भन्ने कुरा पनि सारिएको थियो । पेट्रोलमा कर लगाएर त्यसमार्फत पुँजी निर्माण गरी आयोजना अघि बढाउने तयारी पनि भएको छ । यो पनि सकारात्मक कुरा हो । 
जलविद्युत् क्षेत्रमा विदेशी लगानी आउनु हुँदैन भन्ने होइन । आउनुपर्छ तर कुन ठूला जलाशययुक्त आयोजना विदेशीलाई दिने, कुन स्वदेशीलाई दिने भन्ने स्पष्ट हुनुपर्छ । जुन अहिले प्रस्ताव गरिएको इपीसीएफ मोडल छ, त्यसमा जलविद्युत् आयोजना बनाउनु हुँदैन भन्ने पनि होइन । बनाउनुपर्छ भन्नेमा कसैको विमति छैन । अहिलेको प्रश्न भनेको बूढीगण्डकी कसरी दिइयो भन्ने हो । जसरी जाने अघिल्लो दिन पुष्पकमल दाहाल सरकारको पालामा सम्झौता गरियो, त्योभन्दा अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जाने बेलामा अर्थमन्त्रालयलाई पत्र नै लेखेर चिनियाँ कम्पनीसँग सम्झौता गर्न दबाब दिएका थिए ।
त्यो बेला हामीले थाहा पाएर प्रक्रिया अघि नबढाउन र तत्काल रोक्न भनेका पनि थियौं । जुन तरिकाले बूढीगण्डकी दिइयो, यो तरिका ठीक भएन । अहिले जुन कम्पनीलाई दिइएको छ, त्यो कम्पनीको विगतको भूमिका हे¥यो भने सबै दलका प्रमुखहरूलाई छुट्टाछुट्टै एक ठाउँमा ल्याउन सकेको देखिएको छ । सबैको अभूतपूर्व सहमति पनि देखिन्छ । आयोजना समयमै सम्पन्न गर्ने नियतका साथ सबै एक ठाउँमा आएको भए असल कुरा हुन्थ्यो । यहाँ त प्रतिपक्ष पनि कोही बोलेन ।
त्यो कम्पनीको सबैलाई एक ठाउँमा ल्याउन सक्ने क्षमता भएकाले यो बनाउने भन्दा पनि ओगट्ने नियतिले आएको जस्तो देखिन्छ । अहिलेको अवस्था हेर्दा यथास्थितिमा बन्न सक्दैन भन्ने देखिएको छ । 
हावादारी भरमा दिनु हुँदैनथ्यो 

रामहरि खतिवडा
सांसद

राष्ट्रको समृद्धिका लागि राम्रो आयोजनाका रूपमा हेरिएको बूढीगण्डकी जलविद्युत् आयोजना जुन हचुवाको भरमा दिइयो, यो गलत तरिकाले दिइयो । यो समझदारी अवैधानिक पनि हो । यसमा राष्ट्रघात भएको छ । तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिएपछि मन्त्रीले गएर सम्झौता गर्नु गलत छ । यसबारे मैले संसद्मा पनि आवाज उठाएको छु । यो औचित्यहीन र आधारहीन सम्झौतालाई खारेज गर्नुपर्छ ।
यस्तो ठूलो परियोजना हावादारी भरमा दिनु हुँदैनथ्यो । जुन कम्पनीले चमेलिया जलविद्युत् आयोजनाको लागत प्रतिमेगावाट ६० लाख रुपैयाँ लगेको छ । अरू आयोजना प्रतिमेगावाट १०÷१२ करोडमा बनिरहेका बेला यति महँगो बनाउने कम्पनीलाई यति ठूलो परियोजनाको जिम्मेवारी दिनु गलत छ । सत्ता–प्रतिपक्ष जसले पनि राष्ट्रको समृद्धिलाई हेर्नुप¥यो नि ! चिनियाँ कम्पनीहरूद्वारा भैरहवा र पोखरा विमानस्थलमा समेत काम भइरहेको छैन । ठूला परियोजनाहरू अधिकांश यस्तै समस्यामा जेलिएका छन् ।
अझ बूढीगण्डकी आयोजना बनाउन त पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ कर लगाइएको छ । यसबाट पनि जलविद्युत् आयोजना निर्माणका लागि रकम संकलन हुन्छ । स्वदेशी लगानीमै आयोजना निर्माणको सम्भावना हुँदाहुँदै आयोजना बनाउन नसक्ने कुनै कम्पनीलाई दिनु हुँदैनथ्यो । अब यसलाई खारेज गरेर स्वदेशी लगानी बनाउनुपर्छ । स्वदेशी लगानीमा आयोजना निर्माण सम्भव छ । 
मन्त्रिपरिषद्ले समेत अनुमोदन गरिसकेको छ

दिनेशकुमार घिमिरे
निमित्त सचिव
ऊर्जा मन्त्रालय

२०७२ साल चैत ७ गतेदेखि १४ गतेसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएको छलफलका आधारमा चिनियाँ कम्पनीलाई दिनका लागि प्रक्रिया अघि बढेको हो । कम्पनीले आयोजनालाई इन्जिनियरिङ, खरिद, निर्माण र लगानी (इपीसीएफ) मोडलमा काम गर्ने इच्छा देखाएर ऊर्जा मन्त्रालयमा प्रस्तावसमेत गरेको थियो ।
त्यसपछि कम्पनीबारे बुझेर र उसले अन्तर्राष्ट्रिय प्रावधिक अनुभव र केही विदेशी वित्तीय निकायहरूले पनि लगानी गर्ने आशयपत्र दिएपछि यो प्रक्रिया अघि बढेको थियो । यसकै सार्वजनिक खरिद ऐनमा ईपीसीएफ मोडलबारे उल्लेख नभएकाले यो मोडल तथा चिनियाँ कम्पनीसँग भएको छलफलका आधारमा तयार मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेकोमा २०७४ जेठ ९ गते मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृतिसमेत दिएको थियो । त्यसपछि २०७४ जेठ २० गते चिनियाँ कम्पनीसँग सम्झौता भएको हो । यसलाई गत साउन ३१ गतेको मन्त्रिपरिषद्ले समेत अनुमोदन गरिसकेको छ । 
ठूलो लगानी भएका कारण नेपाल सरकार आफैँले बनाउन नसक्ने अवस्था देखिएकाले यो मोडलमा समझदारी गर्नुपरेको हो । एक वर्षसम्म यो चिनियाँ कम्पनीले अध्ययन गरेर उसले तयार गरेको मोडलमा नेपाल सरकारलाई मान्य भएमा मात्र उसले आयोजनाको काम अगाडि बढाउन पाउँछ । उसले तयार गर्ने मोडलमा चित्त बुझेमा अनि आयोजना विकास सम्झौता हुन्छ ।