Tuesday, October 10, 2017

भूकम्पपीडितलाई धितो जमानीबाटै ऋण

     कारोबार संवाददाता   http://www.karobardaily.com/news/827260 + -

भूकम्पपीडितले अब धितो जमानीबाटै ऋण पाउने भएका छन् । यसअघि सामूहिक धितो जमानीमा मात्र ऋण पाउने व्यवस्था संशोधन भएसँगै उनीहरूले अब व्यक्तिगत धितो जमानीबाटै ऋण पाउने व्यवस्था गरिएको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितका घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ । 
सामुहिक जमानीमा निब्र्याजी ऋण दिने व्यवस्थालाई कारण देखाएर बैंकहरूले भूकम्पपीडितलाई कर्जा प्रवाह गर्न आनाकानी गरिरहेको बेला यो व्यवस्थासँगै प्रभावितले निर्माण गर्न लागेको घर नै राखेर निव्र्याजी ऋण पाउने भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा सरकारले उक्त कार्यविधिलाई संशोधन गरी बन्दै गरेको घरसमेत धितो राखेर निब्र्याजी ऋण दिने नयाँ प्रावधान लागू गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेलले बताए । “सरकारले दिने तीन लाख रूपैयाँ अनुदानले घर बनाउन समस्या भएका लाभग्राहीलाई निब्र्याजी ऋण दिने व्यवस्थाका लागि मन्त्रिपरिषद्ले पारित गरेको छ,” उनले भने, “यो कार्यान्वयनमा आएसँगै निजी आवास पुनर्निर्माणमा ठूलो सहयोग पुग्नेछ र गति पनि लिनेछ ।”
संशोधित कार्यविधिअनुसार अवदेखि इजाजत प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सामूहिक जमानी वा बन्दै गरेको घर धितो राखेर लाभग्राही सूचिमा परेका भूकम्प पीडितहरूले अधिकतम तीन लाख रूपैयाँ बिनाब्याज ऋण दिनुपर्नेछ । बैंक तथा वित्तिय संस्थाहरूको संचालन लागतमा दुई प्रतिशत बिन्दु थप गरी व्याजदर कायम गरिनेछ । यस्तो ब्याज रकम, बिमा वा सुरक्षण शुल्क बंैक तथा वित्तीय संस्थाबाट माग भइ आएमा नेपाल राष्ट्र बैंक, बैकिङ कार्यालयले त्रैमासिक रूपमा उक्त कोष खर्च गरी सम्बन्धित बैंक वा वित्तीय संस्थाहरूलाई उपलव्ध गराउने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।  
निब्र्याजी रूपमा प्रदान गरी उक्त कर्जाको भुक्तानी लाभग्राहीले बढीमा ५ वर्षसम्ममा तिरिसक्नु पर्नेछ ।  यस्तो ऋण उपलव्ध गराउने सम्बन्धमा जानकारी एवं गुनासो सुन्नका लागि सम्बन्धित बैंक वा वित्तिय संस्थाले छुट्टै सम्पर्क अधिकृत तोक्नुपर्ने व्यवस्था गरिएको छ । निब्र्याजी ऋण नपाएर पनि १ लाख ३० हजार बढी लाभग्राहीले घर पुनर्निर्माण गरिरहेका छन् भने ५० हजार २ सय ५१ घर निर्माण सम्पन्न भइसकेको तथ्यांक प्राधिकरणको सूचना प्रणालीमा समाविष्ट भइसकेको छ । हालसम्म ६ लाख ४० हजार भुकम्पपीडितले अनुदान सम्झौता गरिसकेका छन् भने त्यो मध्ये ६ लाख ९ हजारले पहिलो किस्ताको, ७९ हजारले दोस्रो किस्ताको र ७९ सयले मात्र तेस्रो किस्ताको रकम पाएका छन् । 

प्रभावितलाई अग्रिम रूपमा तेस्रो किस्ता
दोस्रो किस्ताका लागि योग्य लाभग्राहीहरूले गाउँपालिका÷नगरपालिकाको सिफारिसमा अग्रिम रूपमा तेस्रो किस्ता पाउने भएका छन् । स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने सर्तमा तेस्रो किस्ता आवास अनुदान अग्रिम रूपमा पाउने भएका हुन् ।
निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रिम रूपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको हो । प्राधिकरणको प्रस्तावलाई अर्थ मन्त्रालयले सहमति दिएसँगै यो प्रक्रिया अघि बढेको प्राधिकरणका प्रवक्ता भुसालले जानकारी दिए । 

No comments: