Monday, October 23, 2017

विद्युत््को उच्चतम माग १५०८ मेगावाट

      भीम गौतम   http://www.karobardaily.com/news/82914 0 + -

वर्षकै सबैभन्दा बढी विद्युत्् माग हुने लक्ष्मीपूजाको दिन विद्युत्को माग १ हजार ५ सय ८ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गतवर्ष लक्ष्मीपूजाकै दिन विद्युत् माग १ हजार ४ सय ४४ मेगावाट पुगेको थियो । उपभोक्ताले लोडसेडिङको चरम समस्या भोगिरहेको बेला गत वर्षको लक्ष्मीपूजादेखि काठमाडांै उपत्यकालाई र चैतदेखि मुलुकभरलाई लोडसेडिङमुक्त बनाइएको घोषणा गरिएको छ । प्राधिकरण र यसका कार्यकारी निर्देशक कुलमान घिसिङको यसमा उच्च प्रशंशा भए पनि उपत्यकाबाहिर भने बारम्बार विद्युत् कटौती हुने समस्याका कारण उनी आलोचित छन् । 
सामान्यतया लक्ष्मीपूजाको दिन सबैभन्दा बढी माग हुने र सो दिन व्यवस्थापन गर्न नसके फेरि लोडसेडिङ सुरु हुने कारण लक्ष्मीपूजालाई बेञ्चमार्ककका रूपमा लिइन्छ । यस वर्ष पनि घिसिङ  आफैंले नेतृत्व गरेर भारप्रेषण केन्द्रमा पुगी  लक्ष्मीपूजालाई लोडसेडिङमुक्त बनाउन सफल भएको छन् । “यस वर्ष लक्ष्मीपूजाको दिन विद्युत्को माग १५०८ मेगावाट पुगेको छ, सम्भवतः यो वर्षकै उच्च हुन सक्छ,” भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले भने, “गत वर्षको लक्ष्मीपूजाको दिनमा माग नै उच्च थियो, यस वर्ष विद्युत्को माग केही घटेकोले पुसमा योभन्दा बढी माग हुन पनि सक्छ ।” उनका अनुसार, लक्ष्मीपूजाको दिनदेखि नै प्राधिकरण लोड व्यवस्थापनमा सफल भएको छ । सो दिन प्राधिकरणमार्फत उत्पादन भएको ४ सय ४० मेगावाट, निजी क्षेत्रको ३ सय ५६ र भारतबाट आयात ३ सय ५५ मेगावाटको विद्युत् आयात भई आपूर्ति व्यवस्थापन गरिएको थियो । 
प्राधिकरणले विद्युत्को माग प्रत्येक वर्ष ८ प्रतिशतले बढ्ने जनाएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी अपेक्षा गरेभन्दा एक सय मेगावाट माग घटी देखिएको बताए । “उपभोक्तामा पुगेको चेतनाको कारण तथा होटेल व्यवसायीहरूले लक्ष्मीपूजाको दिनमा लोड कम गर्न गरेको सहयोग तथा गत वर्ष इन्भर्टर चार्ज उपभोक्ताले गरेकोमा त्यसको लोड नभएको लगायतको कारण अपेक्षाभन्दा करिब एक सय मेगावाट विद्युत्को माग घटेको हो,” उनले भने, “लक्ष्मीपूजाको दिनमा लोड व्यवस्थापन गर्न सकियो भने अन्य समयमा अझै सहज हुन्छ ।” होटेल व्यवसायीहरूले बढी पिक लोड हुने समयमा जेनेरेटर चलाएको कारण काठमाडौंको माग ३ सय २५ मेगावाट अनुमान गरेकोमा ३ सय १ मेगावाट भएको प्राधिकरणले जनाएको छ ।

No comments: