Wednesday, October 4, 2017

अरुण तेस्रो शिलान्यास हुँदै

     भीम गौतम    0 + -

समाचार प्रतिनिधि तस्विर

भारतीय प्रधानमन्त्री मोदी आउने

काठमाडौः मुलुकको जलविद्युत् इतिहासकै सर्वाधिक विवादित र राजनीतिक कोपभाजनमा परेको अरुण तेस्रो जलविद्युत् आयोजना अन्ततः निर्माण सुरु हुने भएको छ । भारतीय लगानीमा निर्माण हुने सबैभन्दा ठूलो यो परियोजनाको जडित क्षमता ९ सय मेगावाट रहनेछ । आयोजना निर्माणको शिलान्यास प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले गर्ने कार्यक्रम तय भएको छ । 
भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेबीएन)को लगानी रहेको कम्पनी एसजेबीएन अरुण तेस्रो हाइड्रोपावर डेभलमेन्ट कम्पनीद्वारा निर्माण हुने अरुण तेस्रोको शिलान्यास दुवै मुलुकका प्रधानमन्त्रीबाट हुने पक्कापक्की भएको आयोजना स्रोतले जनाएको छ ।
२०४३ सालदेखि निर्माण प्रक्रिया सुरु भए पनि २०५१ कात्तिकमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले विवादित आयोजना भन्दै रद्द गर्न विश्व बैकलाई पत्र लेखेपछि विकसित अन्योलका कारण बैकले २०५२ असारमा अरुण तेस्रोबाट हात झिकेको थियो । अरुण तेस्रोबाट हात झिक्नुलाई नेपालको जलविद्युत् विकासका लागि दुःखद घटनाको रूपमा लिइन्छ ।
यही परियोजना ९ वर्षअघि अर्थात सन् २००८ मा सतलज कम्पनीले विश्वस्तरीय प्रतिस्पर्धामार्फत अरुण तेस्रोको अनुमतिपत्र लिएको थियो भने सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । आयोजना निर्माणका लागि सरकारले उपलब्ध गराउने वन क्षेत्र गत भदौ पहिलो साता वन मन्त्रालयले जग्गा उपलब्ध गराएपछि आगामी मंसीरदेखि निर्माण सुरु गर्ने लक्ष्य राखेको आयोजनाको शिलान्याश ढिलो गरी बल्ल हुन लागेको हो । 
आयोजनाको शिलान्यासका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने निश्चित भएको छ तर मिति तय भइसकेको छैन । सरकारले आगामी असोज २८, २९ र ३० का लागि भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको प्रस्ताव गरिसकेको छ । प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले अरुण तेस्रोको शिलान्यासका लागि भारतीय प्रधानमन्त्री आउने भएपनि मिति तय हुन बाँकी रहेको बताए ।
“भदौमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री मोदीलाई शिलान्याशका लागि औपचारिक रूपमा निमन्त्रणा गरिएको छ,” उनले भने, “त्यही निमन्त्रणाको बखत उहाँ आउने सुनिश्चित भए पनि मिति भने अझै निश्चित भइसकेको छैन ।” यस्तै, सतलज कम्पनीका नेपाल प्रतिनिधि हरिराम सुवेदीले पनि परराष्ट्र मन्त्रालयमार्फत यसका लागि पहल भइरहेको र समय निश्चित भइनसकेको बताए ।
प्रधानमन्त्री मोदी प्रस्तावित मितिमा नेपाल भ्रमण आएमा १६ अक्टोबर अर्थात ३० असोजमा आयोजना शिलान्यास गर्ने तालिका तय गरिएको छ । भ्रमणकै क्रममा मोदीले धार्मिक स्थलहरू मुक्तिनाथ, जनकपुर र लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तालिका समेत तय गरिएको छ । 
छिमेकी राष्ट्र भारतका दुई कम्पनी सतलजले अरुण तेस्रो र जीएमआरले ९ सय मेगावाटकै माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गरिरहेकोमा विदेशी लगानीकर्ताले भने यी दुई आयोजनाको निर्माणलाई चासोका साथ हेरिरहेका छन् । नेपालमा लगानी गर्न चाहेर पर्ख र हेर रणनीतिमा रहेका ठूला लगानीकर्ताका लागि अरुण तेस्रोको शिलान्याशले सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।
१ खर्ब ४ अर्ब कुल लागत अनुमान गरिएको आयोजनाको लागि वित्तीय व्यवस्थापन भइसकेको छ । भारतीय सरकारी कम्पनीद्वारा निर्माणाधीन सो आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रूपैयाँ बजेट उपलब्ध गराइएको छ । पीडीएअनुसार भारत निर्यात हुने आयोजना निर्माण भएपछि नेपालले २१.९ प्रतिशत निःशुल्क ऊर्जा पाउनेछ । यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुलीसँगै करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रूपैयाँ लाभ पाउने लगानी बोर्डले जनाएको छ । 
 

No comments: