Thursday, January 30, 2020

खिम्तीको स्वामित्व प्राधिकरणमा ल्याउने प्रक्रियामै ढिलाइ

बिहिवार, माघ १६, २०७६
अबको पाँच महिना १० दिनभित्र ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा आएर नयाँ प्रावधानसहित ६० मेगावाटको खिम्ती जलविद्युत् विद्युत् गृह सञ्चालन भइसक्नुपर्छ । तर, हालसम्म यसका लागि गर्नुपर्ने पूर्व सर्त कुनै पनि पूरा भएको छैनन् ।  अबको पाँच महिना १० दिनभित्र ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा आएर नयाँ प्रावधानसहित ६० मेगावाटको खिम्ती जलविद्युत् विद्युत् गृह सञ्चालन भइसक्नुपर्छ । तर, हालसम्म यसका लागि गर्नुपर्ने पूर्व सर्त कुनै पनि पूरा भएको छैनन् ।  नेपाल सरकार र  प्रवद्र्धकबीच भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार सन् २०२० को जुलाई १० भित्र स्वामित्व हस्तान्तरण भएर प्रवद्र्धक र प्राधिकरण दुवैको ५०-५० प्रतिशतको साझेदारीमा चल्नुपर्ने भएपनि यसको पूर्व सर्तहरूको काममा ढिलाइ भएको छ ।
हाल प्रवद्र्धक हिमाल पावर कम्पनीको नाममा शत प्रतिशत सेयर छ । आयोजनाको सम्पूर्ण सम्पत्तिको प्रमाणीकरण, सेयर बाँडफाँड, विद्युत् खरिद सम्झौता (पीपीए) को टुंगो, संयुक्त नाममा अनुमतिपत्र (लाइसेन्स), नयाा सञ्चालक समितिको बोर्ड निर्धारण, हाल कार्यरत कर्मचारीहरूको समायोजन, हस्तान्तरण गर्दाको कर निर्धारण र तिर्ने सहित ज्वाइन्ट भेन्चर कम्पनी (जेभीसीं) गठन गरिसक्नुपर्छ तर हालसम्म कुनै पनि काम सकिएको छैन । आगामी असार २६ गतेदेखि स्वत पीपीए रद्ध हुने भएकोले जसरी पनि त्यसअघि टुंग्याउनैपर्ने बाध्यात्मक स्थिति छ तर कुनै पनि काम टुंगिसकेको छैन । “सबै सरकारी प्रक्रिया पु-याउन नेपालमा धेरै समय लाग्छ, यसका लागि धेरै ढिलाई भइसकेको छ,” प्राधिकरणका एक अधिकारीले भने, “वैशाखअघि सम्पत्ति, सेयर, पीपीए लगायत सबै टुंग्याएर जेभीसी गठन गरिसक्नुपर्छ, हस्तान्तरण गर्न कानुन अन्र्तगत कम्तीमा तीन महिना लाग्छ ।”
स्वामित्व हस्तान्तरणका लागि पुर्व तयारीका लागि उद्योग, वाणिज्य आपुर्ति मन्त्रालयको कम्पनी रजिष्टार कार्यालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग, प्राधिकरण बोर्ड हुँदै मन्त्री परिषदसम्म जानुपर्ने भएकोले यसका लागि लामो प्रकृया लाग्ने उनको भनाइ छ । प्रवद्र्धक कम्पनीमा दुई नर्वेजियन कम्पनीका साथै बुटबल पावर कम्पनी (बीपीसी) को पनि सेयर छ । तीन सेयर कम्पनीका साथै नेपाल सरकारका विभिन्न निकायसँग सबै प्रकृया पूरा गर्न धेरै समय लाग्ने भएकोले कामको गति धेरै ढिलाई भएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले सह–सचिव प्रवीण अर्यालको संयोजकत्वमा यसको प्रकृया अघि बढाउन समिति गठन गरेको छ भने विद्युत् प्राधिकरणमा सम्पत्तिको प्रमाणलीकरणका लागि निर्देशक डिल्लीरमण दाहाल, जीभीसीका लागि निर्देशक बेलप्रसाद शर्मा र पीपीएका लागि निर्देशक प्रवलराज अधिकारीको संयोजकत्वमा समिति भने गठन गरिसकेको छ ।
 जग्गादेखि हिमाल पावरका सबै सम्पत्तिको मुल्यांकन सकिएपछि यसको बल्ल आर्थिक विश्लेषण सुरु हुन्छ, त्यसपछि बल्ल पीपीएको कुरा आउँछ । “असारभित्र सबै काम पूरा गर्नुपर्ने भएकोले छिटो गर्नुपर्ने अवस्थामा हामी छौ तर यसका लागि प्राधिकरण र मन्त्रालयको समितिले काम गरिरहेको छ,” मन्त्रालयका सह–सचिव अर्याल भन्छन् । प्राधिकरणका प्रवक्ता समेत रहेका निर्देशक अधिकारी यसका लागि प्राधिकरणका सबै समितिले दु्रतगतिमा काम अघि बढाएको बताउँछन् । हालै मन्त्रालयमा भएको छलफलमा ऊर्जा मन्त्रीले सबै प्रक्रिया चार महिनाभित्र टुंग्याउन निर्देशन दिएका थिए तर डेडीकेटेड रूपमा नलाग्दा सबै काम पूरा गर्न सकिने अवस्था भने नदेखिएको प्राधिकरणकै अधिकारीहरू बताउँछन् । “मन्त्रालय र प्राधिकरणको अन्य जिम्मेवारीहरू समेत पूरा गर्दै यो काम गर्दा कम्तीमा ६-७ महिना अघि सकिदैन, दुवैले डेडीकेटेडमा लाग्नुपर्छ सक्नका लागि,” उनी भन्छन् । ५० वर्षका लागि हिमाल पावर कम्पनीले लिएको सो आयोजनाको २० बर्षमा आधा स्वामित्व प्राधिकरणलाई जाने व्यवस्था रहेको थियो । यसका लागि पुर्व तयारी एक बर्ष अघिदेखि सुरु गर्नुपर्ने भएपनि बल्ल डेड महिना अघि मन्त्रालय र प्राधिकरण तातेको थियो । हिमाल पावर कम्पनीले आयोजनाको क्षमता बढाउनका लागि गरेको चलखेलको कारण पनि यसको प्रक्रियामा ढिलाइ भएको प्राधिकरण स्रोतले जनाएको छ ।
 डलरमा पीपीए गरिएको आयोजनाबाट उत्पादित विद्युत् प्रति युनिट २१ रूपैयाँसम्म प्राधिकरणले किनिरहेको छ । यसको कारण खिम्तीले वार्षिक करिब ५ अर्ब रुपैयाँ कमाउँदा प्राधिकरणले झण्डै दुई अर्ब रूपैयाँ नोक्सान बेहोरिरहेको छ । नयाँ पीपीए नेपाली मुद्रामै गर्ने कारण अब भने दुई अर्ब मात्र आम्दानी हुनेछ  भने यसबाट प्राधिकरणे तीन अर्ब जोगिनेछ । यसको सरकारलाई तिर्नुपर्ने वार्षिक ४० करोड रूपैयाँ रोयल्टी पनि प्राधिकरण आफैँले तिरिरहेकोमा त्यो पनि अब हट्नेछ । 

Wednesday, January 29, 2020

विदेशी लगानी भित्र्याउने वातावरण निर्माण गर्न सकेनौ

 बुधवार, माघ १५, २०७६
राधेश पन्त, लगानी बोर्डका पहिलो प्रमुख कार्यकारी अधिकृत हुन् । २०६८ सालमा गठन भएको लगानी बोर्ड विदेशी लगानी भित्र्याउनका लागि सहजीकरण गर्ने निकायका रूपमा स्थापना भएको थियो, तर अहिले लगानी बोर्डको भूमिका विस्तार नै परिवर्तन हुन थालेको छ । लगानी बोर्ड ऐन नै संशोधन गरेर ६ अर्बभन्दा बढीका स्वदेशी तथा विदेशी लगानीकर्ताको स्वीकृति यसै निकायले गर्न थालेको छ । लगानी बोर्डलाई झन् शक्तिशाली बनाइएको हो कि विदेशी लगानीकर्तालाई कम महत्व दिएर अन्यमा बढी सक्रिय हुन थालेको भन्ने बहसको विषय छ, तर लगानी बोर्ड वैदेशिक लगानी भित्र्याउने निकायमात्र रहेन । पछिल्लो समयमा लगानी बोर्डले लगानी सम्मेलन गरेर लगानी भित्र्याउने प्रयास भने गरिरहेको छ, तर पूर्णरूपमा वातावरण नबनेको टिप्पणी हुन छोडेको छैन । ४० वर्षदेखि ठूला परियोजनामा वैदेशिक लगानी भित्र्याउन प्रयास भए पनि हालसम्म कुनै सम्पन्न भइसकेको छैन । नेपालमा लगानी भित्र्याउनका लागि भएका प्रयास, नेपालले बनाउन नसकेको वातावरण, बोर्डको भूमिका लगायतबारे बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत पन्तसँग कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :
तपाईं लगानी बोर्डको पहिलो प्रमुख कार्यकारी अधिकृतका रूपमा यसको स्थापनादेखि अहिलेसम्मको यात्रालाई विश्लेषण गर्दा संस्थाको स्थापनाको उद्देश्य र अहिलेको अवस्थाबीच कस्तो फरक पाउनुहुन्छ ?
लगानी बोर्ड स्थापना हुँदाको अवस्थामा यो निष्पक्ष, गैरराजनीतिक, पारदर्शी र सुशासन भएको संस्था हुन्छ भन्ने थियो । जो निजी क्षेत्रको लगानी ल्याउने कुरामा नेपाल सरकारको फेस (अनुहार) हुन्छ । पारदर्शी नभई लगानीकर्ता आउँदैनन् । निश्चित रूपमा भनेका काम हुनुप-यो । यसमा प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चस्तरको समिति छ । काम गर्ने क्षमता पनि हुनुप-यो भन्ने थियो । परियोजननाको पहिचान, विश्लेषण, लगानी ल्याउन सहयोग गर्ने लगायत हो भन्ने मैले बुझेको थिएँ । यो देशका निम्ती एकदम चाहिएको पनि छ । गैरराजनीतिक रूपमा बोर्डलाई लाँदा यसले फड्को मार्छ भनेर म यसमा सहभागी भएको थिएँ । त्यसै आधारमा धेरै विज्ञलाई राखेका थियौं । भइरहेको व्यापार र लगानी अर्थात् सरकारी प्रक्रियाअनुसार चलेर हुँदैन, लगानीका लागि यो एकद्वार प्रणाली हुन्छ भन्ने थियो । आयोजनाहरू सहज तरिकाले कार्यान्वयनमा जान्छन्, यो एउटा निजी क्षेत्रसँगको साझेदारी पनि हो भन्ने थियो । निजी क्षेत्रसँगको सहकार्य गरेर यसले देशको विकास गर्छ भन्ने थियो । विभिन्न कारणले गर्दा ९-१० महिनाको सरकार आउने, ५-६ वटा सरकारसँग काम गरियो । यसले सोचेअनुसार अघि बढाउन गाह्रो भयो । अहिले पनि म के भन्छु भने पहिला जुन उद्देश्यका साथ अघि बढाउन लागिएको थियो, त्योअनुसार अघि बढाउनुपर्छ । गैरराजनीति बनाउनुपर्छ । संस्था जुन निष्पक्ष हुनुपर्ने, कुनै पार्टीमा लाग्नु नपर्ने खालको हुनुपर्छ । सरकार परिवर्तन भएपछि आफ्नो मान्छेलाई ल्याउने, कुनै पार्टीमा लागेन भने त कुनै अवसर नै नभएको जस्तो अवस्था सिर्जना हुँदैछ । यसले गर्दा समस्या हुँदैछ । हामी हुँदा २-४ वटा आयोजना विकास सम्झौता (पीडीए) पनि गरियो । अहिलेको अवस्थाको नयाँ कानुन मैले हेरें । लगानी बोर्ड अर्को सरकारी निकाय बनिसकेको छ । कर्मचारीतन्त्रको हिजोको जुन प्रक्रिया थियो, अहिले त्यही छ । संस्था आफैं सक्षम हुन गाह्रो हुन्छ जस्तो देखिएको छ ।
सुरुमा विदेशी लगानी (एफडीआई) भित्र्याउने र निजी क्षेत्रलाई सहजीकरण गर्ने निकायका रूपमा लगानी बोर्डलाई अघि बढाउने कुरा थियो तर अहिले त यसको भूमिका फरक बनाउँदै लगेको देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
यसलाई मैले नजिकबाट नियालेको छु । हामीले जति परियोजनाहरूमा सही गरे पनि निजी क्षेत्रको मन नजितेसम्म विदेशी लगानी आउँदैन । स्वदेशी र विदेशी दुवै निजी क्षेत्रको मन जित्नुपर्छ । उनीहरूको मन जित्न सजिलो छैन । उनीहरूलाई हामीले कानुन, नियम बनाइदिएका छौं भन्ने अर्कातिर निजी क्षेत्रलाई पेल्ने काम भयो भने कोही पनि आउँदैन । समस्या हाम्रो के भयो भने लगानी भित्र्याउनका लागि हामी भाषणमै केन्द्रित भयौं । १ खर्बभन्दा बढी ठूला परियोजना लगानी गर्नेले देशको अवस्था सबै बुझिहाल्छ । सरकारको भित्र, बाहिरको अवस्था नबुझी ऊ आउँदैन । देशभित्र यो कम्पनीलाई यसो ग-यो, अर्को कम्पनीलाई यसो ग-यो भन्नेबित्तिकै उनीहरू नेपाल आएर जोखिम मोल्न चाहँदैनन् । ऊ बरु म्यानमार जान्छ, जहाँ रेड कार्पेट बिछ्याइएको छ । भनेको कुरा सबै हुन्छ । हाम्रो काम गराइमै पूर्ण रूपमा परिवर्तन गर्नुप-यो । कानुन संशोधन गरिदिन्छांै, कर घटाइदिन्छौं भनेर हुँदैन । गर्ने भनेको कुरा सात दिनभित्र नगरे स्वतः पाएसरह हुने व्यवस्था भए पो पत्याउँछ त । नेपालमा लगानीका लागि त्यस्तो अवस्था ल्याउन सक्नुप-यो कि विदेशीसँग प्रतिस्पर्धा गर्न सकियोस् । लगानी भनेकै प्रतिस्पर्धी हुनु हो । हामीले नेपाल सुन्दर छ, विश्वको सर्वोच्च शिखर सगरमाथा छ, सुन्दर रारा ताल छ भनेको त २०औं वर्ष भइसक्यो । आज पनि त्यही भन्दैछौं । हामी निजी क्षेत्रलाई भनौं न, रारालाई उच्च गन्तव्य कसरी बनाउँछौं भनेर । यसका लागि के के गर्नुपर्छ, कस कसको चासो हुन्छ भनेर पो गर्ने हो । भिजिट नेपाल–२०२० भनेर नेपालभित्रै बजारीकरण गरेर त भएन नि । सबै पूर्वाधार तयार भएपछि पो गर्नुपर्छ । भिजिट नेपालमा यो–यो क्षेत्र समेट्छौं, यसका लागि सबै पूर्वाधारहरू तयार गर्छौं अनि यी नयाँ गन्तव्यहरूमा आउनुहोस्, यो यो सुविधा छ भनेर भनौं ।
हालसम्म पनि नेपालले वैदेशिक लगानी भित्र्याउनका लागि विश्वासकै वातावरण बनाउन नसकेको हो ?
हालसम्म विदेशी लगानी भित्र्याउनका लागि हामीले विश्वासको वातावरण निर्माण गर्न नै सकेका छैनौं । कानुन ल्याएर मात्र लगानीको वातावरण बन्दैन । कानुन त हाम्रो पुरानो लगानी बोर्डको पनि ठीक थियो, अहिलेको पनि ठीक होला । खराब त छैन । हामी कार्यान्वयनमा ल्याउन सक्दैनौं । लगानीका लागि विश्वास दिलाउन सक्दैनौं । प्रतिबद्धता पूरा गर्न सक्दैनौं । एउटा मन्त्री आएर एउटा भन्छ, अर्को आएर अर्कै भन्छ । लगानीकर्ताहरू काम नभएर यहाँ लगानी गर्न आउने होइन नि ।
सरकारले स्थिर कानुन, सरकार र सबै किसिमको वातावरण छ, लगानीका लागि भनेर त भनिरहेको छ नि, तपाईं कसरी छैन भन्नुहुन्छ ?
लगानीको मुख्य बाधक नै प्रतिबद्धताअनुसार सरकारले कार्यान्वयन नगर्नु हो । कुनै पनि सम्झौतामा यो यो गर्ने हो भनेर विभिन्न प्रावधान राखिएको हुन्छ । त्यसको कार्यान्वयन हुनुप-यो । यसमा टिप्पणी उठाउने, अर्को वन, अर्थ, कानुनलाई सोध्नुपर्ने, काम नहुने । सरकारलाई पनि आनन्द छ, एकदिन काम नभएर केही फरक पर्दैन । लगानीकर्तासँग त त्यो समय छैन । उनीहरूको एक दिन ढिला हुँदा कति घाटा हुन्छ भनेर उनीहरूले गणना गरिरहेका हुन्छन् । हामीले भाषण गरेर, कानुन संशोधन गरेर वातावरण बन्ने वाला छैन । हामीले त एक–दुई परियोजना बनाएर देखाउन सक्नुप-यो ।
लगानी ल्याउने पक्षमा त सबै छन्, यसको कार्यान्वयन नहुनुको मुख्य कारण के हो जस्तो लाग्छ ?
नेपालमा अहिलेसम्म लगानीबारे पूर्ण बुझाइ छ । लगानीकर्ता आएर साप पार्छ भन्ने बुझाइ छ । साप पार्न नदिन हामीले अनुगमन गर्नुपर्छ भन्ने छैन । आफूले काम नगरिकन अरूले सित्तैं काम काम गरिदिनेवाला छैनन्, यो संसारमा । लगानीकर्तालाई भित्र्याउने, लगानी गराउने, अघि बढाउने । यसमा अनुगमन गर्नुप-यो । हाम्रोमा काम गर्ने हुति छैन । पछि तलमाथि भयो भने यसले बिगा-यो, उसले बिगा-यो भन्ने हुन्छ । यसमा अनेकौं काम गर्छौं । विवाद बढी हुन्छन् ।
पछिल्लो समयमा वैदेशिक लगानी भएका आयोजनाहरूमा बम विस्फोट लगायतका घटनाहरू भइरहेका छन् । विदेशी लगानीबारे विवास्पद अभिव्यक्तिहरू र बहस हुन थालेका छन् । यस्तो के कारणले भइरहेको जस्तो लाग्छ ?
यो पार्टीको नेतृत्वको कमजोरीका कारणले आएको हो । वैदेशिक लगानी भएका आयोजनाहरूमाथि हुने आक्रमणलाई सरकारले रोक्नुपर्छ । लगानीकर्ताहरूप्रतिको दायित्व सरकारले पूरा गर्नुपर्छ । दुईतिहाइ सरकार आएपछि त धेरै काम होला भन्ने थियो । दुईतिहाइभित्र अर्को दुईतिहाइ, अर्को अर्को हुने रहेछ । विवाद बढी हुने । यो पार्टीकै कमजोरीको कारण हो । पार्टीलाई एकै मन बनाएर अघि बढाउनुपर्छ । यो संसारमा भएका कुरा हुन् । कि पार्टी छाड्नुप-यो, कि एक मन बनाउनुप-यो ।
लगानी भित्र्याउने कुरा भएको लामो समय बित्दा पनि यसबारे अझै साझा बुझाइ हुन नसकेको हो ? के भन्नुहुन्छ ?
हो, यसमा अझै समस्या छ । लगानी बोर्डमा म हुँदा मेरो बुझाइ के छ भने हामी दुर्गम क्षेत्रमा जान्थ्यौं । सबै कुरालाई राजनीति बनाइदिने परिपाटी देखिन्थ्यो । परियोजनाबाट फाइदै हुँदैन भन्ने । बुझ्दै नबुझी परियोजना बन्यो भने त गाई, बाख्रा मर्छन् जस्तो असत्य, भ्रामक कुरा फैल्याउने । यसको फाइदा त्यस्तो व्यक्तिहरूलाई के रहेछ भने काम नगरी पैसा खान पाइयो । खालि मान्छेको मानसिकता परिवर्तन गरिदिने । देशको विकास भएन भने, सबै अनपढ रहिरहे भने त शोषण गर्न सकियो, अनेकौं गर्न सकियो । कुनै पनि परियोजना सफल हुन, सबैभन्दा पहिला त स्थानीयवासीलाई आफैं गएर यसको फाइदा बुझाउनुपर्छ । रोजगारी हुन्छ, बढी मूल्य भएको ठाउँमा जग्गा उपलब्ध गराउँछौं लगायतका उनीहरूले पाउने फाइदा बताउन सक्नुपर्छ ।
सरकारले आर्थिक समृद्धिको कुरा परियोजना विकासको कुरा त गरिरहेको हुन्छ, तर जनतालाई बुझाएर परियोजना सहज ढंगले अघि बढाउन किन प्रयास नगरेको होला ?
सरकार सरकार त हामी भन्छौं, तर विडम्बना तल्लो तहसम्म सरकारको संयन्त्र नै छैन । भाषण मात्र छ । खास अहिले पनि परिवर्तन भए जस्तो मलाई लाग्दैन । अहिले पनि यो समिट भन्या छ, त्यो समिट भन्या छ । सबै समिट गर्न दौडिरहेका छन् । एउटा परियोजना तयार छैन, समिट गरेर के गर्ने ? उही मान्छे, उही विज्ञ हुन् । ३०-४० वर्षदेखि ठूलो परियोजनामा लगानी किन भइरहेको छैन भनेर यसमा सोच्नुपर्छ । म त के भन्छु भने हामी कानुन बनाउने भन्छौं, कानुन बनाउनै दुई वर्ष लगाइदिन्छौं । आफ्नो स्वार्थ मिलेन भने त्यसको गर्दैनौं भन्छौं । लगानी अड्काउने कुरा कानुनमा राखिदिन्छौं । यस्तो तरिकाले भएन । मेरो भनाई के हो भने साँच्चिकै लाग्नु-यो । धेरै देशले गरेका छन् । बंगलादेश कहाँबाट कहाँ पुगिसक्यो, भारत कहाँ पुगिसक्यो । अस्तिको बर्मा हाम्रोभन्दा कति धेरै विकसित भइसक्यो । लगानी कति आउँछ, बाटो घाटो कति राम्रो छ । कम्बोडिया, भियतनाम धेरै माथि पुगिसक्यो । यी मुलुकभन्दा हामी कति गरिब–गरिब ।
ती देशहरूमा के थियो र लगानी आयो, हामीकहाँ के छैन र आएन ?
हामीसँग लगानी गर्नका लागि सबै कुरा छ तर त्यसलाई कार्यान्वयन गर्ने क्षमता भएन । कार्यान्वयन गर्नेतिर हाम्रो मुलुक गएन । खालि हामी लडबडिएर बस्यौं । एउटाले भनेको अर्कोले नटेर्ने, अर्कोले भनेको अर्कोले नटेर्ने अवस्था रहिरह्यो । कर्मचारीतन्त्रको प्रक्रिया उही रहिरह्यो । ड्राइभरको सिटमा बस्नेले ठीक पार्नुपर्ने हो । राजनीतिज्ञहरू पनि उस्तै रहिरहे ।

के लगानी भित्र्याउन सक्ने नेतृत्व नै आएन भन्न खोज्नुभएको हो ? के कारणले भिजन भएको नेता आएनन् ?
लगानी भित्र्याउन सक्ने नेतृत्व नै आएन । हामी जनताको कारण पनि यो नआएको हो जस्तो लाग्छ । अरू देशहरूमा ३०-४० वर्षसम्म यस्तो अवस्था रहेको भए परिवर्तनका लागि जनतानै बाहिर आउँथे । हुन त आन्दोलन भए तर यसले गति पक्डन सकेन । हाम्रो संस्कृति पनि कस्तो भयो भने दिनभर यो भएन, ऊ भएन भन्यो, राति घर गएर सुत्यो । त्यसका लागि कुनै पहलकदमी हुन सकेन । बाहिर हामी आउन सकेनौं । प्रायः युवा वर्ग देशबाहिर भएकाले उनीहरूलाई यो गर्न फुर्सद पनि भएन । यदि ती नेपाली युवा फर्किए भने ठूलो द्वन्द्व हुन्छ जस्तो मलाई लाग्छ ।
पछिल्लो समयमा नेपालमा लगानी आउने परियोजनाबाट हुने फाइदाभन्दा पनि कुन देशबाट आयो भनेर समर्थन, विरोधका स्वर सुनिन थालिएको छ, यसले के संकेत गर्छ ?
यो गलत राजनीति हो । यसमा अरू देशहरूको खेल पनि हुन सक्छ । राजनीति गर्ने थलो परियोजना बनाउनु हुँदैन । परियोजनामा राजनीति भए विदेशी लगानी आउँदैन र बन्दैन पनि । लगानी आउने भए पनि त्यसबाट हुने फाइदामा केन्द्रित भयो भने मात्र परियोजना बन्ने हो । नेपाललाई यति फाइदा हुन्छ, जनतालाई यति फाइदा हुन्छ भनेर हामीले जनतालाई बुझाउन सक्नुपर्छ । हामी त परियोजनाको सम्झौता राम्रो बनाऊ भन्नेतिरै गएनौं, राम्रो अनुगमन गरौं भन्नेतिरै गएनौं । आफ्नो वरिपरि को छ, समझदारी फाल्दे भन्नेतिर लाग्यौं । आजसम्म नेपालमा समझदारी (एमओयू) गरेर कुनै परियोजना बनेको छैन । ठूलो ठूलो परियोजना निर्माणको कुरा गर्न थालेको त ४० वर्ष भईसक्यो । परियोजनाको फाइदाबारे बताउने कोही छैन, गलत कुरा गर्नेहरू छन् । अनि आयोजना भड्काइदिने काम हुन्छ । आफ्नो राजनीति, आर्थिक स्वार्थका निम्ति विज्ञदेखि सबै भड्काउन लाग्छन् । विज्ञहरूले परियोजनाहरूको वास्तविक रूपमा विश्लेषण नगरी स्वार्थको आधारमा बोलिदिन्छन् । लेख र किताब लेख्नमा हामीलाई फुर्सद छैन धेरैलाई । कति विकासका किताब आइसक्या छन् तर कार्यान्वयनको अवस्था उही छ । लगानी भित्र्याएर, प्रशासन, सञ्चालन बलियो बनाएर दुई-तीन परियोजना बनाऔं । बनाएको देखेपछि परियोजनाको नाममा राजनीति गर्नेहरू पनि अर्कातिर लाग्छन् । समस्या के हो भने जनताले पनि परियोजना देखेका छैन, यसबाट लिने फाइदा चाख्न पाएका छैनन् । कतिपय अवस्थामा अरूले के भन्यो, प्रचार ग-यो, त्यतातिर जनता पनि पछि दर्गुछन् । म लगानी बोर्ड हुँदा प्रत्येक परियोजनाबाट देश र जनतालाई के–के लाभ हुन्छ भनेर भन्ने गरेका थियौं । सबै सरोकारवालालाई सुसूचित गरेका थियौं । हामीले युवास्तरका नेता गगन थापा, रवीन्द्र अधिकारी, मध्यमस्तरका नेता भनेर डा. रामशरण महत, भीम रावललगायतको टिम बनाएर छलफल गथ्र्याैं । उच्चस्तरका नेताहरूलाई बुझाउन त म आफैं जान्थे । २१ दिन लगाएर दुर्गम गाउँका हरेक बस्ती पुगेका थियौं । अरुण तेस्रो त्यत्तिकै अघि बढेको होइन नि । सबै प्रभावित र सरोकारवालालाई परियोजनाबारे जानकारी दिन सकिएमा यसले दुवै पक्षको जितको अनुभूति दिलाउँछ ।
केही परियोजनाहरू अघि बढाउने कुरा अघि बढेको छ, के हामीले अहिलेसम्म केही भएन भनेर निराश नै हुनुपर्ने अवस्था छ र ?
पूरै निराशाजनक अवस्था त छैन तर धेरै गर्न सक्थ्यौं । गरिरहेका छैनौं । नेतृत्वबाट बलियो निर्देशन हुनुपर्छ । त्यो मैले पाइरहेको छैन ।
यदि विदेशी लगानी ल्याउने हो भने के–केको सम्भावना तपाईं देख्नुहुन्छ ?
सबै क्षेत्रमा विदेशी लगानीको सम्भावना देख्छु म । पर्यटनमा छ । विदेशीलाई ल्याएर सार्वजनिक निजी साझेदारी (पीपीपी) मा लगानी गराउन सकिन्छ । पूर्वाधार क्षेत्रमा धेरै लगानी ल्याउन सकिन्छ । आजसम्म देशमा रेल छैन । बनाउने कुरा गरेका छौं । यसमा निजी क्षेत्र ल्याउन सक्छौं । विमानस्थल पीपीपीमा बनाउन सक्छौं । जलविद्युत्मा त्यस्तै सम्भावना छ । निजी क्षेत्रलाई अध्ययनकै चरणमा सहभागी गराउन सक्यौं भने डिजाइनमा पनि उनीहरूको इनपुट हुन्छ । उनीहरू पनि लगानी गर्न तयार हुन्छन् । निर्माण गरेर सञ्चालनका लागि दिने भन्दा त राम्रा लगानीकर्ता त आउँदैनन् । त्यहाँ उनीहरूले त्रुटि देख्छन् । परियोजना दिँदा मुख्य कुरा त राजनीति गर्नु भएन ।
हामी पारदर्शिताको कुरा गरिरहँदा पछिल्लो समयमा बिनाप्रतिस्पर्धा सीधै कुनै लगानीकर्ता कम्पनीलाई दिन थालिएको छ ? यसले देशले लाभ लिन सक्छ कि सक्दैन ?
जिओ पोलिटिक्सको आधारमा हेर्ने हो भने नेपालले सबै देशबाट लगानी ल्याउनुपर्छ । चीन, भारत, अमेरिका, जापानबाट ल्याउनुपर्छ । पारदर्शी ढंगले ल्याउने हो भने सबैको वा देशको स्वार्थ पूर्ति हुन्छ । कुनै पनि लगानीकर्ताले मन्त्री वा कुनैलाई चिनेको भरमा परियोजना पाउन थाल्यो भने त राम्रा कम्पनी कहिले आउने ? यसरी परियोजना दिँदा गणस्तरीय काम त हुँदैन । जनताले दुःख पाउँछन् । हामी त मानौं एउटा जलविद्युत्बाट कति फाइदा हुन्छ भनेर विश्लेषण पो गर्नतिर लाग्नुप-यो । आयोजना दिनलाई हतारिएर भएन नि ! किन हतार ग-या भन्ने सबैले बुझेकै हुनुपर्छ । लगानीकर्ता र देश दुवैलाई फाइदा पुग्ने गरी सौदाबाजी (नेगोसेटेड) गरौं न । अनि त्यो अनुसार बोलपत्र निकालौं । पारदर्शी ढंगले गयो भने राम्रा लगानीकर्ता आउँछन् पनि । हालै एउटा अमेरिकन कम्पनीले अफ्रिकामा भ्रष्टाचार गर्ने नियतले काम गरेपछि अमेरिकाको प्रमुख कार्यकारी अधिकृतलाई फायर ग-यो ।
एजेन्टको स्वार्थमा ठूला ठूला परियोजना दिने प्रवृत्ति पछिल्लो समयमा हामी हुन थालेको भनिन्छ नि, उनीहरू बढी शक्तिशाली हुन थालेका छन्, यसलाई के भन्नुहुन्छ ?
साँच्चै त्यस्तो अवस्था हुँदैछ । हाम्रा राजनीतिज्ञले उनीहरूलाई शक्तिशाली बनाएका छन् । अरू देशहरूमा पनि केही प्रयास हुन्छन् तर त्यहाँ कम्तीमा काम हुन्छ तर नेपालमा हुँदैन ।
लगानी सम्मेलन गरेर पछिल्लो समयमा लगानी बोर्डले केही ठूला परियोजना त अघि बढाएको छ, यसलाई के भन्नुहुन्छ ?
परियोजनाहरू बन्नु त राम्रो हुन्छ तर मैले लगानी बोर्डमा हुँदा बनाएको भिजन भनेको परियोजना दिने मात्र होइन । यसबाट अधिकतम फाइदा लिने गरी बनाउन सक्नुपर्छ । ५० वटा परियोजना मात्र राखेर हुँदैन, उत्कृष्ट पाँच भन्न सक्नुपर्छ । यो नम्बर १ परियोजना भनेर सरकारले भन्नुपर्छ । यसको बहुपक्षीय फाइदाबारे विश्लेषण गर्नुपर्छ । हाम्रो देशमा त फाइदाभन्दा राजनीतिज्ञको स्वार्थ बलवान् हुन्छ । हाम्रो त विधि पनि बनाउन सकेनौं । लगानीकर्तालाई आकर्षण गर्न सक्ने गरी कुनै व्यक्ति शक्तिशाली पनि भएन । चिन्नु न जान्नुका लगानीकर्ता आएर समझदारी गरेर जाने प्रवृत्ति बढ्यो । हात मिलाएर परियोजना दिने परिपाटी अन्त्य गर्नुपर्छ ।

ग्यासभन्दा विद्युतीय चुल्होको खाना सस्तो

बुधवार, माघ १५, २०७६
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्र्तगतको सेन्टर फर इनर्जीमा कार्यरत प्राध्यापक डा. जगन्नाथ श्रेष्ठले गरेको अध्ययनले ग्यासभन्दा इण्डक्सनमा खाना पकाउँदा सस्तो हुने देखायो । चार जनाका लागि आधा केजी चामल ग्यासबाट पकाउँदा ऊर्जाको लागत २.४६५ रुपैयाँ र विद्युत्बाट पकाउँदा १.४१९ रुपैयाँ पर्ने प्राध्यापक श्रेष्ठको अध्ययनले देखाएको हो । यतिमात्र होइन, अध्ययनले ग्यासबाट खाना पकाउँदा ११.१८ मिनेट र इडक्सनबाट पकाउँदा ७.८२ मिनेट लाग्ने देखाएको छ । उनले प्रतियुनिट विद्युत्को १० रुपैयाँ र प्रति १४.२ केजी ग्यासको १४ सय रुपैयाँलाई आधार मानेर यस्तो विश्लेषण गरेका थिए ।
 एकातिर सरकारले वार्षिक रूपमा झण्डै ४० अर्ब रुपैयाँ बराबरको ग्यासको कारण आयात घटेको र अर्कोतिर आगामी बर्षादेखि विद्युत् खेर जाने भनेर चिन्ता गरिरहेको बेला प्राध्यापक श्रेष्ठले गरेको यो अध्ययनले खाना पकाउनका लागि मात्र पनि विद्युत् उपयोग गरेरमा विद्युत्को माग बढाउन सक्ने देखिएको छ । “२३ नोभेम्बर २०१९ मा ललितपुरमा प्रयोगात्मक रूपमा गरिएको परीक्षणले खाना पकाउँदा एलपीजीबाट ११५२.५ किलोजुल अर्थात ०.३२० किलोवाट आवर तथा विद्युत्बाट ५१०.९७८ किलोजुल अर्थात ०.१४२ किलोवाट आवर चाहिने देखिएको छ,” प्राध्यापक श्रेष्ठ भन्छन्, “यसले एकपटक विद्युत्बाट खाना पकाउँदा ग्यासभन्दा विद्युत् एक रुपैयाँ सस्तो हुने देखिन्छ, स्वदेशी उत्पादनको विद्युत् ग्यासको तुलनामा घरघरका लागि वातावरणमैत्री पनि छ ।”विद्युत् प्राधिकरणका केन्द्रीय प्रसारण लागेको पुगेको संख्या ४५ लाख घरधुरी नाघेको छ तर विद्युत्बाट खाना पकाउनेको संख्या एकदम कम छ । विज्ञहरूका अनुसार, तत्काल ग्यासलाई पूर्ण रूपमा विष्थापित गर्न सकिदैन तर पूर्ण विस्थापित गरेमा झण्डै ५ हजार मेगावाट बराबर थप विद्युत् आवश्यक छ । अहिले त अधिकांशले इण्डक्सन चुल्होका लागि आवश्यकभन्दा कम क्षमता अर्थात ५ एम्पेयर मिटरको विद्युत् लिएका छन्, यस्तो संख्या घरायसी ग्राहकमध्ये ७० प्रतिशत भन्दा बढी छ । पहिला त सबैले यसको क्षमता बढाएपनि मात्र विद्युत्मार्फत खाना पकाउन सक्छन् । 
इडक्सन प्रयोग गर्नेको संख्या शून्य भने छैन । नाकाबन्दीपछि इण्डक्सनको उपयोग बढ्न थालेको हो तर अझै आम समुदायसम्म पुग्न सकेको छैन । सरकारको तथ्यांकले भन्सारबाट भने ४ लाख २५ हजार इडक्सन चुल्हो भित्रिएको देखाएको छ, चीनले मात्र १० हजार इण्डक्सन चुल्हो अनुदानको रूपमा दिएपनि हालसम्म तीन हजारभन्दा बढी विक्री हुन सकेको छैन । सबै इडक्सन चुल्हो उपयोग नहुनुमा विद्युत्को गुणस्तर सबैभन्दा चुनौती देखिएको छ । लोडसेडिङ अन्त्य भएपनि भोल्टेज अफ डाउन, बेला बेलामा लोडसेडिङ हुने लगायतका समस्या अझै छन् । अधिकांश ट्रान्सफर्मर एकदम टाढा रहेको कारण बत्तीको आपुर्ति एकदम कमजोर छ ।
प्राध्यापक श्रेष्ठ उच्च गुणस्तरको विद्युत्को आपुर्ति, सहज र सस्तो मुल्यमा इण्डक्सन चुल्हो ल्याउने अवस्था तथा आम समुदायमाझ पु-याउनका लागि विद्युत्को महशुलमा कम्तीमा १० प्रतिशत घटाउनुपर्ने बताउँछन् । ग्यासलाई विस्थापन गरेर विद्युतीय चुल्हो उपयोगका लागि सरकारी र गैरसरकारी निकायबाट अभियान भने सुरु भएका छन् । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले सार्वजनिक गरेको श्वेतपत्रमा प्रत्येक घरमा विद्युतीय चुल्होको अवधारणा अघि सारेको छ भने मन्त्रालय अन्र्तगतकै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि यसलाई अभियानकै रूपमा अघि बढाएको छ । 
विद्युतीय चुल्हो राष्ट्रिय अभियानका लागि अजम्बर फाउण्डेसन तथा सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालले अभियान एक बर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा केन्द्रका बरिष्ठ अधिकृत मुकेश घिमिरेले दिएको जानकारी अनुसार, केन्द्रले पाँच बर्षभित्र दश लाख घरधुरीमा पु-याउने गरी अघि बढाउन लागिएको प्रस्तावित परियोजनामा ग्रिन क्लाइमेट फण्डको सहयोगमा क्लिन कुकिङ अन्र्तगत ५ लाख घरधुरीमा विद्युतीय चुल्हो पु-याउने योजना बनाइएको छ भने पाँच वर्षभित्रै विश्व बैक र ईएसएमएपीको सहायतामा ७ लाख घरधुरीमा इलेक्ट्रिक कुकिङ अघि बढाउने योजना छ । केन्द्रले आगामी वर्ष एक लाख घरधुरीमा इण्डक्सन चुल्हो वितरणका लागि सरकारलाई प्रस्तावसमेत गर्न लागेको छ । “विद्युतीय चुल्हो प्रवद्र्धनका लागि केन्द्रले विभिन्न परियोजना बनाएर अघि बढेको छ, यसका लागि सरकार र दातृ निकायहरू छलफलमा छौं,” केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले भने ।
अभियानअन्तर्गत काभ्रेको तिमाल लगायतबाट विद्युतीय चुल्हो प्रवद्र्धनका लागि अभियान सुरु गरिसकेको महासंघका अध्यक्ष नारायण ज्ञवालीले जानकारी दिए । कार्यक्रममा पहिलो वर्ष अनुदान दिएर १० हजार विद्युतीय चुलो प्रवद्र्धन गरिने योजना बनाएको ऊर्जामन्त्री वर्षमान पुनले बताए । “ऊर्जा सुरक्षालाई दृष्टिगत गरी जलविद्युत् र नवीकरणीय ऊर्जाको विकाससँगै विद्युतीय चुल्हो प्रवद्र्धनलाई सरकारले अभियानकै रूपमा अघि बढाउन लागेको छ,” उनले भने, “विद्युत्बाट खाना पकाउनका लागि विद्युत्को महशुल घटाउने गरी छलफल अघि बढाएका छौं ।” बढी विद्युत् खपत गर्ने उपभोक्ताको महसुल दर कम बनाउन विद्युत् महसुल समायोजन गर्ने प्रस्ताव विद्युत् नियमन आयोगमा पठाएको र आन्तरिक विद्युत् खपत बढाउन उपभोक्ताको हित हुने गरी महसुल समायोजन हुने उनको भनाइ छ । 
ऊर्जासचिव दिनेश घिमिरेले विद्युत्को गुणस्तर वृद्धिका लागि विद्युत्को उपलब्धता लागि उत्पादनमा वृद्धि र वितरण प्रणालीलाई बलियो बनाउन सरकार लागेको बताए । 

घरायसी र डेडिकेटेड विद्युत् महशुल घटाउन प्रस्ताव 214 Shares

मंगलबार, माघ १४, २०७६
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले घरायसी र डेडिकेटेड फिडर लिने ग्राहकको विद्युत् महशुल घटाउने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले विद्युत् नियमन आयोग सक्षम विद्युत् महशुलका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैठकले १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई डिमाण्ड शुल्क न्यूनतम ३० रुपैयाँ लिने तर इनर्जी शुल्क निःशुल्क गर्ने निर्णय गरेको छ । इनर्जी शुल्क प्रति युनिट ३ रुपैयाँ छ । १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको संख्या करिब ८ लाख रहेको विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले गरेको प्रस्ताव गर्न लागेको महशुल दर अनुसार, चार सय युनिटभन्दा बढी खपत गर्ने ग्राहकले बढी विद्युत् खपत गरेमा भने पहिलाको भन्दा मुल्य घट्ने छ । पहिला प्रति युनिट १३ रुपैयाँसम्म रहेकोमा अब ११.५० रुपैयाँ तिरे पुग्नेछ ।
डेडिकेटेड फिडर लिने ग्राहकले अन्य औद्योगिक ग्राहकले लिनेभन्दा करिब ७५ प्रतिशत बढी रहेकोमा त्यसमा करिब ४२ प्रतिशत घटाइएको छ । अब औद्योगिक ग्राहकको भन्दा १५ प्रतिशत बढी तिरेमा औद्योगिक ग्राहकले डेडिकेटेड फिडर पाउनेछन् । औद्योगिक ग्राहकको भने पहिलाभन्दा करिब १२ प्रतिशत वृद्धि गर्ने प्रस्ताव गर्ने निर्णय पनि प्राधिकरणले गरेको छ ।
प्राधिकरणले खानेपानी तथा यातायाततर्फका ग्राहकलाई पनि केही घटाउने प्रस्ताव गरेको छ । प्राधिकरणको प्रस्ताव अनुसार, समग्रमा औद्योगिक ग्राहकको विद्युत् महशुल ८ प्रतिशत बढ्नेछ भने समग्रमा ४ प्रतिशत मात्र बढ्नेछ । विद्युत् प्राधिकरणको निर्णय अनुसार विद्युत् महशुल दर कायम गर्नका लागि विद्युत् नियमन आयोगलाई पठाइने प्राधिकरणले जनाएको छ ।

Sunday, January 26, 2020

आधुनिक ऊर्जामा परनिर्भता

आइतवार, माघ १२, २०७६
नेपाल विद्युत् प्राधिकरणका अनुसार मंगलबारको विद्युत्को माग २२ हजार ३३७ मेगावाट आवर माग रहेकोमा भारतबाट मात्र ९३१६ मेगावाट आवर आयात भयो । प्रतिशतको आधारमा यो ४० प्रतिशतभन्दा बढी हो । आर्थिक वर्ष २०७५-७६ मा १३२०.२८ गिगावाट आवर विद्युत् खपत भएकोमा ४९१.१२ गिगावाट आवर भारतबाट मात्र आयात भएको थियो ।
प्रतिशतको आधारमा यो ३३ प्रतिशतभन्दा बढी हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार  १३०१ मेगावाट विद्युत्मध्ये भारतबाट ५०६ मेगावाट आयात भएको छ भने बाँकी स्वदेशबाट खपत भएको छ । “माथिल्लो तामाकोसी निर्माण भएपछि हामी वर्षा मौसममा भने आत्मनिर्भर हुन्छौं, तर पूर्ण रूपमा आत्मनिर्भर हुन अर्को ६ वर्ष लाग्छ,” उनी भन्छन्, “ठूला जलाशययुक्त आयोजना निर्माण भएपछि स्वदेशी उत्पादनबाट पूर्ण आत्मनिर्भर हुन सक्ने अवस्था छ ।”सन् २०१७ को तथ्यांकले ७ प्रतिशत कोलसहित नवीकरणीय ऊर्जा ४ प्रतिशत, विद्युत् ३ प्रतिशत र १४ प्रतिशत इन्धन ऊर्जाको रूपमा उपयोग हुन्छ भने बाँकी परम्परागत ऊर्जा उपयोग नेपालमा गरिन्छ । कुल ऊर्जाको ३ प्रतिशतमात्र विद्युत्बाट उत्पादन गर्न सकेको नेपालमा त्यमध्ये पनि ६६ प्रतिशत मात्र स्वदेशी उत्पादनबाट आपुर्ति भएको छ भने बाँकी भारतकै भर पर्नुपर्ने अवस्था छ ।
 दक्षिण एसियामै जलविद्युत्का लागि धनी देश र विश्वकै १९ राष्ट्रमा पर्ने नेपालमा कुल ऊर्जामध्ये ३ प्रतिशत मात्र विद्युत् उपयोग हुनु आफैमा लाजमर्दो छ, त्यसमाथि पनि पूर्ण रूपमा उत्पादन हुन सकेको छैन । अझ इन्धनमा त नेपाल पूर्ण रूपमा परनिर्भतर हुनुर्पे अवस्था छ । आर्थिक वर्ष २०७५-७६ को तथ्यांक हेर्ने हो भने डिजेलमात्र १७ लाख १७ हजार ५१७ किलोलिटर, पेट्रोल ५ लाख ६६ हजार ८६६ किलोलिटर, मटितेल २४ हजार ९३२ किलोलिटर, हवाई इन्धन २ लाख ११२ किलोलिटर तथा ग्यास ४ लाख २९ हजार ५०३ टन आयात गरिएको थियो । दक्षिण एसियाली सहयोग संगठन (सार्क) ऊर्जा केन्द्रको तथ्यांकअनुसार यस क्षेत्रमा ७७.९७ प्रतिशत व्यापारिक र २२.०३ प्रतिशत परम्परागत ऊर्जा खपत हुन्छ भने यसमा कोलको ५०.७६ प्रतिशत कोल र ३६.१९ प्रतिशत पेट्रोलियमको हिस्सा छ । हालै सार्क इनर्जी सेन्टरले आयोजना गरेको सार्क क्षेत्रको इन्धनबारेको सम्मेलनमा दिइएको जानकारी अनुसार पेट्रोल, आयल र लुब्रिक्यान्टमा सार्क राष्ट्रमध्ये नेपाल, अफगानिस्तान, भुटान र माल्दिभ्स शतप्रतिशत परनिर्भर छ ।
सन् २०१७-०१८ को तथ्यांकले भारतमा २०४९२२ हजार टन ग्रोस डिमाण्ड रहेकोमा घरेलु आपूर्ति २ लाख ५२ हजार ८३९ हजार टन छ भने बंगलादेशको ६ हजार ३८४ हजार टन ग्रस डिमाण्ड रहेकोमा आपूर्ति १ हजार १६६ हजार टन, पाकिस्तानको माग २९ हजार ३७ हजार टन रहेकोमा १० हजार ७४१ मात्र घरेलु तथा श्रीलंकाको ५ हजार १६८ हजार टन ग्रस डिमाण्ड रहेकोमा १ हजार ८६७ हजार टन डोमेस्टिक आपूर्ति छ । सार्क इनर्जी केन्द्रको तथ्यांकले सन् २०३० मा पेट्रोलियम पदार्थको रूपमा मात्र माग नेपालको ५ हजार ९८२ हजार टन पुगेपनि उत्पादन शून्य हुने तथा डिजेलतर्फ पनि ३ हजार ५४७ हजार टन माग पुगे पनि उत्पादन भने शून्य हुने देखाएको छ । नेपालको दैलेखमा इन्धन उत्पादनको सम्भाव्यता रहेको भन्दै चीन सरकारको सहयोगमा अध्ययन भइरहे पनि हालसम्म पूर्ण रूपमा परनिर्भर हुनुपर्ने अवस्था छ । अझै १० वर्ष इन्धनमा नेपाल पूर्ण रूपमा परनिर्भर हुने प्रक्षेपण सार्क केन्द्रले गरेको छ । 
 
क्षेत्र परनिर्भता प्रतिशत
विद्युत् ३३
डिजेल १००
पेट्रोल १००
मट्टितेल १००
ग्यास १००
हवाई इन्धन १००

चेपाङ बालबालिकाको शिक्षाको ढोका

आइतवार, माघ १२, २०७६
  ११ वर्षअघिसम्म विष्णु गौतमसँग सबै चीज थियो– काठमाडौंमा घर, गाडी अनि कमाउने उमेरका दुई लक्का जवान छोरा । एक छोरा र एक छोरी सानै उमेरको भए पनि एउटा छोरा नेपालमै ट्राभल एजेन्सी चलाउँथे अनि अर्को छोरा अमेरिकामा पढ्दै थिए । छोरा कुमारले चलाएको ट्राभल एजेन्सी सन् २००८ मा देशमा सबैभन्दा बढी पर्यटक भित्र्याउने कम्पनी थियो ।
अर्को छोरा बलरामले त अमेरिकाको ओक्लोहामा युनिभर्सिटीमा गणितमा टप गरेर आउटस्याण्डिङ अवार्ड नै पाएका थिए । तर ०६५ पुस १२ घर फर्कंदै गर्दा सवारी दुर्घटनामा जेठो छोरा कुमार र त्यसको नौ महिना पछि नै ०६६ असोज १७ मा माइलो छोरा बलरामले ज्यान गुमाए । दुवै छोराको दुर्घटनामा निधन भएपछि उनको सुखी परिवारमा ठूलो बज्रपात आइलाग्यो । बज्रपातको औषधीको खोजी गर्दा विष्णुले सामूहिक आत्महत्याको समेत योजना बनाए । तर, त्यो योजनाभन्दा ठूलो शक्तिशाली औषधी बन्यो, समाजसेवा । दुई छोराको नाममा लक्ष्मी प्रतिष्ठान गठन गरेर उनी अहिले समाजसेवामा जुटेका छन् । पीडाले छटपटिएको बेला विष्णुले चितवनको कान्दामा विषालु च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको र ७४ वर्षीय हजुरआमा र १८ महिनाको बालक मात्रै च्याउ नखाएको कारण बच्न सफल समाचार पढे । समाचारले उनलाई भावुक बनायो । उनी लगायतले सल्लाह गरे खाद्यान्न बोकेर चितवनको कान्दा जाने र त्यो परिवारलाई सहयोग गर्ने र्निाय गरे । तर जब उनीहरु कान्दा पुगे चेपाङहरुको पीडा झन् दर्दनाक थियो । अधिकांश अर्धवस्त्र, घर पनि एकदम झुप्रा, ओढ्ने ओछ्याउने पनि छैन, खाने कुरा पनि छैन, कति त अझै ओडारमा बस्ने ।
बाटो र बिजुली त धेरै टाढाको कुरा । उनीहरुले तत्कालका लागि खाद्यान्न र कपडा बाँडे । गाउँमा कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालय थियो, विद्यार्थी पनि एक सयभन्दा बढी भर्ना भएका थिए तर विद्यालय आउने १० जना पनि हुँदैनथे । चेपाङहरुको पीडाभित्र छिर्दै गएपछि लक्ष्मी प्रतिष्ठानले योजना बनायो– कान्दा रुपान्तरण अभियान । कपडा र खाद्यान्न बाँडेपनि बस्ने बास थिएन । उनीहरुको लागि बास निर्माण सुरु गरे र हालसम्म करिब ७० जनालाई बनाइसकेका छन् । प्रतिष्ठानले कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण पनि गरिदियो तर विद्यार्थी नआउनुको कारण विद्यालय टाढा भएर पनि थियो । चार घण्टासम्म लगाएर विद्यालय आउनुपर्ने वाध्यता थियो । प्रतिष्ठानले सबै चेपाङ बालबालिकाहरुलाई विद्यालयमा टिकाईरहन कुमार बलराम स्मृति छात्राबास निर्माण गरे । अहिले यही छात्राबासमा बसेर १३० भन्दा बढी चेपाङ बालकालिकाले पढिरहेका छन् ।
प्रतिष्ठानले विद्यालयका लागि शिक्षक मात्र व्यवस्था गरेको छैन, बिहान बेलुका पढाउने र खेलाउने व्यवस्था पनि गरेको छ । कक्षा ५ उतीर्ण गरेपछि चरम गरिबीको रेखामुनि रहेका चेपाङ बालबालिकाले बाहिर गएर माथिल्लो कक्षामा पढ्ने अवस्था छैन । चेपाङको वास्तविक पीडा बुझेका विष्णुले अर्को योजना बनाए– ‘जसरी हुन्छ, ती बालबालिकालाई उच्च शिक्षासम्म पढाउने ।’ त्यही अनुसार उनले काभ्रेको चौंरीदेउराली–४ स्थित कुमार बलराम स्मृति छात्रावास बनाए । उच्च शिक्षा अध्ययन गर्न चाहने चेपाङ बालबालिकाका अभिभावकलाई उनले अनुरोध गरे र इच्छुकले आफ्ना बालबालिकालाई पढाउन चाहेमा छात्राबासदेखि सम्पूर्ण पढ्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । चितवनको कान्दाबाट अभिभावक आएर आएर स्थानीय सरस्वती माविमा ३१ जना बालबालिकालाई भर्ना गरिदिए, ती बालबालिकाको पढाइ खर्चदेखि सबै त्यही प्रतिष्ठानले बेहोर्दै आएको छ । “समाजसेवा गर्छु भन्ने मनदेखि त आयो तर नगद पैसा थिएन । रिसोर्ट चलाउनका लागि अनेकोटमा रहेको ४० रोपनी जग्गा २ करोड ३४ लाखमा बेचेँ । कम्पनी बेचेर आएको २२ लाख र आफूसँग रहेको ४९ लाख पैसा पनि संस्थाकै लागि खर्च गरेँ,” प्रतिष्ठानका अध्यक्ष गौतम भन्छन्, “पहिला आफ्नो सम्पत्ति बेचेर समाजसेवा सुरु गरेपछि अरु धेरैले सहयोग गर्न थाले । वार्षिक डेढ करोड छात्रावासका साथै अन्य सामाजिक कार्यका लागि खर्च गर्छु, सबैले मन खोलेर सहयोग गर्नुभएको छ ।” दातामार्फत अहिलेसम्म करिब सात करोड बराबरको रकम सहयोग जुटाइसकेका गौतम आफूले सबै दाताले दिएको पैसा र खर्च भएको पारदर्शी रुपमा सार्वजनिक गर्ने कारण सहयोग आउनेक्रम जारी रहेको बताउँछन् ।
पछिल्लो समयमा उनको काममा आफ्नो कान्छा छोरा कृष्ण पनि दिल खोलेरै होमिएपछि उनी बढी खुशी देखिएका छन् । पछिल्लो उनका अधिकांश सामाजिक कार्यको नेतृत्व छोरा कृष्णले लिन थालेका छन् । गरिबीको कारण पाँच कक्षाभन्दा माथि पढ्न ठूलै संघर्ष गर्नुपर्ने चेपाङ बालबालिका अहिले कात्तिके देउरालीमा रमाइरहेका छन् । बालबालिकाहरुलाई आवश्यक पर्ने पुस्तकालय, खेल मैदान, शैक्षिक, आर्थिक, भौतिक पूर्वाधारहरुको निर्माण गरिएको छात्राबासमा बसेर ३१ जनाले पढिरहेका छन् । कक्षा ९ मा ५, कक्षा ८ मा ५, कक्षा ७ मा ११ र कक्षा ६ मा ९ जना विद्यार्थीले कान्दाबाट धुशेनी शिवालयमा अध्ययन गरिरहेको उनी बताउँछन् । “कक्षा ५ पछि पढ्न सक्ने अवस्थै थिएन, मैले धेरै वर्ष पढाइ छोडे । लक्ष्मी प्रतिष्ठानको विष्णु बुबाले पढाउँछु भनेपछि म यहाँ आएँ,” मिसन प्रजाले भने, “यहाँ आएर पढेपछि भाषादेखि धेरै कुरा जान्न थालेको छु ।” पहिला गाँस, बाँसकै लागि समस्या रहेका चेपाङका बालबालिकालाई शिक्षाको ज्योतीले ठूलो परिवर्तन ल्याएको छ । उनीहरुमा कसरी बाँच्ने र पढ्ने चिन्ता छैन । उनीहरु डाक्टर, पाइलट, शिक्षक, इन्जिनियर, सेना, प्रहरी बन्ने योजनामा छन् । विद्यार्थी निरोजले पाइलट बन्ने योजना रहेको सुनाए ।
 प्रतिष्ठानका अध्यक्ष गौतम चेपाङ बालबालिकालाई कम्तीमा कक्षा १२ सम्म पढाउने गरी अघि बढ्ने योजनामा छन् । “मेरो व्यक्तिगत अधिकांश सम्पत्ति बेचेर सकिएको छ तर जसरी पनि सहयोग जुटाएर चेपाङ बालबालिकालाई कक्षा १२ सम्म पढाउने योजनामा छु,” उनी भन्छन्, “अहिलेसम्म त सहयोग पाइरहेका छौ, भविष्यमा धान्न गाह्रो हुने होला कि भन्ने चिन्ता छ ।” खर्च जाहो गर्नका लागि प्रतिष्ठानकै नाममा गौतमले कात्तिके देउरालीमा ५५ रोपनी जमिनमा किवी लगायतका फलफूल र तरकारी खेती गरिरहेका छन् । एभोकाडो, किबी, जापानीज नास्पाती, बदाम, स्याउ, बुद्धचित्त, कागतीबाट नियमित आम्दानी हुन थालेपछि बालबालिकाहरुको अध्ययनमा सहयोग पुग्ने आशा उनको छ ।
आफ्नो जन्मस्थानमा आएर गौतमले समाजसेवा र खेती गर्न थालेपछि गाउँमा पनि उनलाई पछ्याउने बढ्न थालेका छन् । “उनले गाउँमा चेपाङ बालबालिकालाई पढाएको देखेर हामीलाई धेरै खुशी लागेको छ । अझ गाउँमा रित्तिरहेको बेला उनले विभिन्न खेती गरेर अरुलाई पनि प्रेरणा दिनुभएको छ,” वडाध्यक्ष शुरेस लामा भन्छन् ।

विद्युत् विधेयक अपूरो र अस्पष्टः निजी क्षेत्र

शुक्रवार, माघ १०, २०७६
सरकारले ल्याउन लागेको विद्युत् विधेयक अपूरो र अस्पष्ट भएको भन्दै निजी जलविद्युत् प्रवद्र्धकहरूले सुधारका लागि सुझाव दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादहरूको संस्था (इप्पान) नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटेर यस्तो सुझाव दिएको हो ।
प्रस्तावित विद्युत् विधेयकको मस्यौदामा कर्मचारीलाई आवश्यकभन्दा बढी व्याख्यात्मक अधिकार दिएको भन्दै उनीहरूले स्पष्ट रुपमा ऐनमै किटान गर्न पनि आग्रह गरेका छन् । “व्याख्यात्मक अधिकार कर्मचारीमा नराखी ऐनमै राखियोस्, अमुक भाषा धेरै छन् । जानाजान, बारम्बार, तोकिए बमोजिम भन्ने कुरा राखिएका छन्,” इप्पान अध्यक्ष शैलेन्द्र गुरागाईले भने, “व्यक्तिको सोचको आधारमा भन्दा तथ्यमा आधारित होस् भन्ने हाम्रो सुझाव छ, अस्पष्ट र अपूरो कुरा राख्नु भएन भन्ने छ ।”
इप्पानले विधेयकमा अहिले जलविद्युत्मा देखिएका प्रशारण लाइनका समस्याहरू, जग्गा प्राप्ति तथा वन क्षेत्र प्रयोग सम्बन्धी व्यवस्थाका साथै विद्युत् उत्पादनको १५ वर्षपछि पनि अधिकांश आयोजनाहरूले ऋण मुक्त हुन नसकेकको परिप्रेक्षमा ती आयोजनाहरूले तिर्नुपर्ने रोयल्टीको रकम स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि थप सहुलियत र सुविधाको व्यवस्था, लगानी गर्ने विद्युत् कम्पनीहरूलाई निजले लगानी गरेको पुँजीको हदसम्म सोमा लाग्ने आयकर छुट दिनुपर्ने लगायतका लगानीमैत्री वातावरण निर्माणका लागि वातावरण बनाउन पनि सुझाव दिइएको छ ।
ऊर्जामन्त्री पुनलाई बुझाएको ज्ञापनपत्रमा अन्तरदेशीय विद्युत् व्यापारको सम्बोधन, अनुमतिपत्रको अवधि समाप्त भएपछि ुवर्न अनुमतिपत्र प्राप्त संस्थाले आयोजना सञ्चालन गर्न चाहेमा थप दिनुपर्ने, विद्युत् नियमन आयोग, मन्त्रालय, प्रदेश र स्थानीय निकायबीचको अधिकार प्रष्ट पानुपर्ने, विद्युत् आयोजना सञ्चालन गर्ने स्थाको कर्मचारीलाई बोनसको दरको सम्बन्धमा व्यवस्था गर्नुपर्ने, एकद्वार सेवाप्रवाह सम्बन्धी व्यवस्था गर्नुपर्ने, इनर्जी एक्सचेन्जको व्यवस्था लगायतका बुँदा थप गर्न पनि सुझाव दिइएको छ । ३० बर्षपछि लगानीकर्ताले आयोजना सरकारलाई हस्तान्तरण गरेपनि लगानीको वातावरण निर्माणका लागि स्थानीय र सर्वाधारणको सेयरलाई निरन्तरता दिन पनि सुझाव दिइएको अध्यक्ष गुरागाईले जानकारी दिए ।
उनीहरूले विधेयकमा भएको व्यवस्थामा परिवर्तन विद्युत् प्रसारण, वितरण वा व्यापारको लागि बढीमा पचास वर्षसम्म विद्युत् अनुमतिपत्रको व्यवस्था गर्न, पहिला अनुमतिपत्र लिएर अघि बढाएका आयोजनाहरूलाई कर्मचारीहरूले अघि बढ्ने सम्भावना नभएमा प्रतिष्पर्धामा लैजान सकिने व्यवस्था शंसोधन गर्न पनि इप्पानले सुझाव दिएको छ । इप्पान उपाध्यक्ष कुमार पाण्डे संघीयतामा गएपछि स्थानीइ निकायले दिने अनुमतिपत्रको वातावरण अध्ययन लगायतको स्वीकृति गर्ने निकाय कुन भन्ने अन्योलता देखिएको बताउँदै तीनै निकायको स्पष्ट अधिकार तोक्ने गरी विधेयक आउनुपर्ने बताउँछन् ।

Wednesday, January 22, 2020

सुनकोसी तेस्रो अब ६४० मेगावाट

बिहिवार, माघ ९, २०७६
उपत्यकाबाट नजिकको दूरीमा पर्ने काभ्रे र रामेछापको बीचमा निर्माण हुने सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनाका क्षमता बढेर ६४० मेगावाट पुग्ने अध्ययनले देखाएको छ ।
सन् १९८५ मा जापानी सहयोग नियोग (जाइका) ले पहिचान गरेको सो परियोजनाको क्षमता ५३६ मेगावाट रहेकोमा विद्युत् विकास विभागले गरेको अध्ययनले ६४० मेगावाट पुग्ने अध्ययनले देखाएको हो । जाइकाले गरेको अध्ययनले तत्कालीन पाँच विकास क्षेत्रबाट पहिचान भएका १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये सुनकोसी तेस्रो पनि एक हो । उपत्यकाबाट ६० किलोमिटरको दूरीमा रहेको आयोजनाबाट उत्पादित विद्युत् राजधानीका साथै नकिजै रहेको ढल्केबर–मुज्जफरपुर प्रसारण लाइनमार्फत छिमेकी राष्ट्रमा पनि समेत सजिलै प्रशारण गर्न सकिने भएकोले सुनकोसीलाई आकर्षक आायोजनाको रूपमा हेरिएको छ ।
काभ्रेको तिमाल गाउँपालिका लुभुघाट र रामेछापको सोनापाती गाउँपालिकाको सीमामा निर्माण हुने आयोजनाको सम्भाव्यता अध्ययन परामर्श दाता कम्पनी चीनको जेभी अफ सांघाई इन्भेष्टिगेसन, डिजाइन एण्ड सिसर्च इन्ष्टिच्युट (सीआइडीआरआई) र नेपालको इन्भायोर्मेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रालिमार्फत २०७४ वैशाखदेखि अध्ययन भइरहेको छ । आगामी मंसिरसम्ममा सम्भाव्यता अध्ययन सकेर त्यसपछि यसको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गर्ने लक्ष्य राखिएको छ ।
सुरुमा १ सय ४० मिटरको बाँध हुने र ५३६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएपनि पछिल्लो अध्ययनले १ सय ६६ सय मिटर उचाई र ६ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने तथा ६४० मेगावाट उत्पादन हुने देखिएको विभागले जनाएको छ । विभागका महानिर्देशक नवीन सिंहले आगामी मंसिरसम्ममा अध्ययन सकिने तथा अध्ययनले बाँधस्थल लुभुघाटमा सार्दा आयोजना सस्तोमा बन्ने तथा बढी विद्युत् उत्पादन हुन सक्ने देखाएको जानकारी दिए । “वार्षिक विद्युत् उत्पादन वार्षिक २.४ अर्ब युनिट हुने देखिएको छ,” उनले भने, “अन्य जलाशययुक्त आयोजनाको तुलनामा सस्तो पनि हुन्छ ।”
विभागका अनुसार आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन (ईआईए) समेत सुरु भइसकेको छ । करिब ३० किलोमिटर लामो जलाशय निर्माण हुने आयोजनाबाट आयोजनाबाट करिब १ हजार जनसंख्या पूर्ण रूपमा विस्थापित हुनेछन् भने आयोजनाका लागि ४ हजार २ सय हेक्टर जमिन प्रयोग हुनेछ । आयोजनाले काभ्रेको दोलालघाट बजार पूरै डुबानका साथै भोटेकोसीतर्फको चेहेरे तथा इन्द्रावतीतर्फको सिपाघाटसम्म डुबानमा पर्नेछ । तिमाल गाउँपालिका–९ तित्रेटारमा विद्युत् गृह निर्माण हुने आयोजनाको लागत डेढ खर्ब अनुमान गरिएको छ । निर्माण सम्पन्न भएपछि आयोजना सम्पन्न भएपछि कोसीपारि, तिमालका क्षेत्र सेटलाइट सहरको रूपमा विकास हुने सम्भावना छ । ¥याफ्टिङ, फिसिङ, सुन्दर होटलहरू निर्माणलगायत गरेर तिमाल, कोसीपारि र दोलालघाट क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना छ ।
आयोजनाको अवलोकनका लागि आयोजना निर्माणस्थल पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हालसम्म निर्माण अघि बढेका जलाशययुक्त आयोजनाहरूमध्ये सुनकोसी तेस्रो सबैभन्दा सस्तो हुने दाबी गरे । “सुनकोसी–३ को सम्भाव्यता अध्ययन आगामी मंसिरसम्म सकिने र उक्त आयोजना बन्ने निश्चित भइसकेको छ,” उनले भने, “अरु जलाशययुक्त आयोजनाको तुलनामा यो सस्तो पनि पनि छ ।”
सुनकोसी–२ र ३ को बहुआयामिक महत्व रहेको र ती आयोजना निर्माण हुँदा मुलुकलाई मात्र फाइदा पुग्ने नभई स्थानीयको जीवनस्तर माथि उठ्ने भएकाले सहयोग गर्न आग्रह गरे । आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्वास गराइने प्रतिबद्धता पनि मन्त्री पुनले जनाए ।
सुनकोसी तेस्रो कुन मोडालिटीमा बनाउने भन्ने टुंगो लागिसकेको छैन तर आयोजनामा वगलादेशले भने चासो दिईसकेको छ । विभागका महानिर्देशक सिंहले बंगलादेशले सुनकोसी–३ मा लगानीका लागि इच्छा देखाएको जानकारी दिए ।
सुनकोसी तेस्रोसँगै विभागले सुनकोसी दोस्रोको पनि सम्भाव्यता अध्ययन बढाएको छ । सुरुमा १११० मेगावाट विद्युत् क्षमता रहेको सुनकोसी–२ को जडित क्षमता अध्ययनले ९५० मेगावाट देखाएको छ । बाँधस्थल सिन्धुली र रामेछापको सीमानामा पर्ने पुडुलेमा रहने आयोजानबाट सिन्धुलीको खुर्कोट र रामेछाप सदरमुकाम मन्थली पूर्णरूपमा डुबानमा पर्ने अध्ययनले देखाएको छ । करिब १ सय ६० मिटर उचाई र ४ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने आयोजनाको जलासयको लम्बाइ ५३ किलोमिटर हुनेछ । यस्तै ११ सय मिटरको सुरुङ निर्माण गरी च्याखुटारमा विद्युत् गृह बन्नेछ । जलासयको क्षेत्र घर, बस्ती र खोला बगर गरेर ६ हजार ३ सय हेक्टर हुनेछ । आयोजनाबाट करिब २५ प्रतिशत वीपी राजमार्ग डुब्नेछ ।
सुनकोसी–२ मा घनाबस्ती पर्ने र क्षति धेरै हुने भएकाले आयोजना तुलनात्मक रूपले केही महंगो पर्न सक्ने मन्त्री देखिएको मन्त्री पुनले बताए । “सुनकोसी–२ मा धेरै बस्ती र त्यसमा पनि बजार क्षेत्र पर्छ । त्यसकारण सुनकोसी–३ भन्दा केही महंगो पर्न जान्छ,” मन्त्री पुनले भने, “लगानीभन्दा कम प्रतिफल आउने र घाटा हुने अवस्थामा सरकारले लगानी गर्दैन, तर, मुलुकलाई र स्थानीयलाई पनि फाइदा हुने देखियो भने प्रधानमन्त्री र शीर्ष नेतृत्वसमेत बसेर त्यसबारे निर्णय हुन्छ ।”
सुनकोसी–३ बारे बाँधस्थल लुभुघाट र सुनकोसी–२ का विषयमा सिन्धुली र रामेछापको सीमानामा पर्ने सिन्धुलीको फिकल गाउँपालिका च्याखुटारमा पुगेका मन्त्री पुनले स्थानीयसँग छुट्टाछुट्टै अन्तरक्रिया पनि गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य गणेश पहाडी र पूर्व उर्जाराज्यमन्त्री सूर्यमान दोङले स्थानीयका तर्फबाट आयोजना निर्माणमा अवरोध नभई सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।
पानी जहाजको पनि सम्भावना
अपर तामाकोसीदेखि सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३ र कोसी उच्चबाँधमा निर्माण हुने विशाल ड्याम भारतको कलकात्तासँग जोडेर पानीजहाज समेत चलाउन सकिने मन्त्री पुनले बताए । “कोसीमा निर्माण भइरहेका र भविष्यमा निर्माण गर्न सकिने आयोजनाका कारण ठूलो ड्याम बन्छ । त्यसलाई भारतको कलत्तासँग जोडेर पानीजहाज ल्याउन सकिन्छ,” मन्त्री पुनले भने, “त्यसो भयो भने हामी समुन्द्रमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्छौं ।” सन् १९८४ मा समेत सुनकोसीमा पानी जहाजको सम्भावनाबारे अध्ययन भएको थियो तर त्यसपछि अध्ययन भएको छैन ।

चिनियाँ कम्पनीलाई तमोरको जिम्मा

सोमवार, माघ ६, २०७६
७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको विकास गर्न लगानी बोर्ड नेपाल तथा जलविद्युत् लगानी तथा विकास कम्पनी र पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडबीच समझदारी भएको छ । गत चैतमा आयोजित लगानी सम्मेलनमा कम्पनी र कर्पोरेसनले आयोजना विकासका लागि संयुक्त रुपमा प्रस्ताव आह्वान गरेकोमा आइतबार बोर्डसँग समझदारीपत्रमा  हस्ताक्षर  भएको हो । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेल र पावर चाइना युरेसियाका उपाध्यक्ष पान डेग्यूले हस्ताक्षर गरेका छन् ।
७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको विकास गर्न लगानी बोर्ड नेपाल तथा जलविद्युत् लगानी तथा विकास कम्पनी र पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडबीच समझदारी भएको छ । गत चैतमा आयोजित लगानी सम्मेलनमा कम्पनी र कर्पोरेसनले आयोजना विकासका लागि संयुक्त रुपमा प्रस्ताव आह्वान गरेकोमा आइतबार बोर्डसँग समझदारीपत्रमा  हस्ताक्षर  भएको हो । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेल र पावर चाइना युरेसियाका उपाध्यक्ष पान डेग्यूले हस्ताक्षर गरेका छन् । 
खुलला प्रतिस्पर्धामार्फत गत अक्टोबरमा बोर्डले कम्पनी र पावर चाइनाको संयुक्त उपक्रमलाई सर्भे तथा विस्तृत अध्ययनका लागि अनुमति दिएकोमा अहिले यस आयोजनाको विकास, सञ्चालन, सम्भार तथा हस्तान्तरणका लागि समझदारी गरिएको छ । समझदारीपछि दुवैको संयुक्त टोलीले यथाशीघ्र आयोजनाको विस्तृत अध्ययन सुरु गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले जानकारी दिए । “फागुनभित्र अध्ययन सुरु गरेर दुई वर्षभित्र पूरा गरे लगत्तै आयोजना निर्माण सुरु गर्ने लक्ष्य छ,” उनले भने, “अध्ययनकै क्रममा वित्तिय व्यवस्थापनको काम सकेर दुई वर्षपछिनै निर्माण सुरु गर्ने लक्ष्य राखेका छौं ।”
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले ठूलो जलाशययुक्त आयोजना निर्माणका लागि समझदारीपत्र भएकोले आयोजनाको अध्ययन र विकासमा दुवै कम्पनी सक्रिय भएर लाग्नुपर्ने बताए । उपसभापति डेग्युले नेपाललगायत विश्वरभर नै आफ्नो जिम्मामा आएका आयोजनालाई समयमै सम्पन्न गर्न लागिपर्ने प्रतिवद्धता जनाए । पोखरेलका अनुसार १ खर्ब ८९ अर्ब लागत अनुमान गरिएको आयोजनाको ३० प्रतिशत स्वपुँजी (इक्वेटी) मध्ये कम्पनीले ५१ प्रतिशत र पावर चाइनाले ४९ प्रतिशत लगानी गर्नेछ । ५८ अर्ब स्वपुँजीमध्ये ३० अर्ब कम्पनीले मात्र लगानी गर्नेछ । नेपाल विद्युत् प्राधिकरणले कम्पनी गठन गरेर निर्मााण अघि बढाउने भन्दै अध्ययन गरिरहेको आयोजनालाई गत लगानी सम्मेलनको क्रममा लगानी बोर्डले शोकेस गरेको थियो । जलाशययुक्त आयोजना बन्दा ३७ मेगावाटको क्षमताका काबेली र १४.९ मेगावाटको हेवा जलविद्युत् आयोजनालाई असर पर्ने भन्दै लामो समयदेखि यसबारे विवाद रहँदै आएको छ भने यही कारण विद्युत् विकास विभागले प्राधिकरणलाई २५२ मेगावाटको मात्र अनुमतिपत्र दिएको थियो ।
प्राधिकराले भने २५२ मेगावाट आयोजना योग्य नहुने बताउँदै ७६२ मेगावाटमै बनाउनुपर्ने भन्दै प्रक्रिया अघि बढाइरहको बेला आयोजनालाई शोकेस गरिएको थियो । शोकेसपछि कम्पनी र पावर चाइनाले संयुक्त रुपमा लगानीका लागि सम्मेलनमा प्रस्ताव गरेका थिए । सन् १९८५ मा जापान सहयोग नियोग ( जाइका) अध्ययन गरेको आयोजनाको पूर्ण क्षमताबारे ऊर्जा मन्त्रालयले बेखबर नभएपछि सोहीलाई असर गर्ने गरी विद्युत् विकास विभागले अन्य आयोजनालाई अनुमतिपत्र दिएको भन्दै यसबारे विवाद देखिएको थियो ।
आयोजना राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र–२०७२ मा प्रस्तावित ११ वटा जालशययुक्त आयोजनाको आठौं प्राथमिकता सूचीकृत र २०८२ सालभित्र सम्पन्न गर्ने लक्ष्यसहित राष्ट्रिय प्राथमिकतामा तमोरलाई राखिएको छ । विद्युत् प्राधिकरणले गरेको अध्ययनले २ सय ५ मिटर अग्लो बाँध बनाउँदा यस आयोजनाको क्षमता ७ सय ६२ मेगावाट हुने र वार्षिक ३ हजार ३ सय ५४ गिगावाट आवर विद्युत् उत्पादन भई हिउँदमा ६ घण्टा र वर्षायाममा दैनिक २४ घण्टा विद्युत् उत्पादन गर्न देखिएको छ । तमोरमा जम्मा एक सय २६ घर मात्र पुनर्वास गर्नुपर्ने अध्ययनले देखाएकोले कम सामाजिक तथा वातावरणीय क्षति हुने आयोजनाको रुपमा पनि यसलाई लिइन्छ । अहिले ७५६ मेगावाट क्षमतामा आयोजना बनाउन लागिएकोले यसको विस्तृत अध्ययन भएपछि मात्र लागत, विद्युत् उत्पादन तथा यसबाट सामाजिक तथा वातावरणीय असरबारे पत्ता लाग्ने कम्पनीले जनाएको छ । 

मस्र्याङ्दी प्रसारण निर्माणको अवरोध हटाउन भट्टराई सकृय

मंगलबार, माघ ७, २०७६
मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन आयोजना निर्माणमा गोरखामा भइरहेको अवरोध हटाउन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईनै सकृय भएका छन् । मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन आयोजना निर्माणमा गोरखामा भइरहेको अवरोध हटाउन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईनै सकृय भएका छन् ।
 आयोजनाको उदीपुर (लमजुङ)–मार्कीचोक (तनहुँ) खण्डअन्तर्गत गोरखाको पालुङटार नगरपालिकाको वडा नं ४ र ५ का बासिन्दाले रुट परिवर्तन माग गर्दै एक वर्ष अघिदेखि प्रसारण लाइन निर्माणमा अवरोध गर्दै आएकोमा भट्टराई लगायतका नेता समाधानका लागि जुटेका हुन् ।  विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रदेशसभाका सांसद, सहरी विकास मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिलगायत पालुङटार पुगेका भट्टराईले आयोजनाका प्रस्तावित रुटबारे स्थानीयसँग अन्तरक्रिया समेत गरेका थिए । नेपाल विद्युत् प्राधिकरणले सुरुमा मस्र्याङदी नदीको किनारै किनार प्रसारण लाइन निर्माणको डिजाइन तयार गरेको थियो ।
तर, नागरिक उड्डयन प्राधिकरणले त्यहाँ लाइन निर्माण गरिएमा पालुङटार एयरपोर्टमा विमान उडान र अवतरण गर्न नसकिने बताएपछि रुट परिवर्तन गरिएको थियो ।
 प्राधिकरणले एयरपोर्ट एवं प्रस्तावित स्मार्ट पालुङटार सिटीलाई असर नपर्ने र सामाजिक तथा वातावरणीय क्षति कम हुने गरी वस्ती र जंगल बीचबाट प्रसारण लाइनको नयाँ रुट तय गरेको छ । लमजुङको गरमवेशीबाट पालुङटार नगरपालिकाको वडा नं ४ र ५ हुँदै मार्कीचोकतर्फ जाने ३७ किलोमिटर लाइनको  गरमवेशी– पालुङटार ५.६ किलोमिटर खण्डमा १६ वटा टावर निर्माण गर्नु पर्ने छ । तर, पालुङटारका स्थानीय बासिन्दाले प्रसारण लाइन बस्तीबाट छिराउन खोजिएको भन्दै रुटमा असहमति जनाउँदै आएका छन् । उदीपुर–मार्कीचोक खण्डमा लमजुङतर्फ भने कुनै समस्या छैन । लमजुङमा पर्ने टावर निर्माण सुरु गरिएको छ ।पालुङटार विमानस्थल चल्न व्यवधान नहुने र स्थानीयलाई पनि कम क्षति पुग्ने गरी प्रसारण लाइन निर्माण गरिनु पर्ने भट्टराईले बताए ।
“प्राविधिक दृष्टिकोणमा सम्भव भएमा रुटको अरु विकल्पबारे पनि अध्ययन गरौ, सम्भव नै नहुने देखिएमा अहिले प्रस्ताव गरिएको रुटबाट पुग्ने क्षतिलाई कम गर्नेतर्फ सोचौं”, उनले अन्तरकृयामा भने, “तर मासु पनि खाने रगत पनि नबगाउने भनेजस्तो विकास पनि चाहिने तर आफ्नो भने केही नगुमाउने भन्ने हुँदैन, यसो भन्न थाल्यौं भने यहाँ आएको विकास पनि गुमाउन सक्छौं त्यसैले थोरै गुमाएर धेरै लाभ लिने गरी अगाडि बढौं ।” प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राजनीतिक फाइदा वेफाइदाभन्दा पनि सामाजिक र वातावरणीय क्षति कम हुने गरी विस्तृत रुपमा प्राविधिक अध्ययन गरी रुट तय गरिएकाले निर्माणमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गरे ।
“एयरपोर्ट नचाहिने हो भने मस्र्याङ्दी नदीको किनारै किनार लैजाँदा धेरै सजिलो र टावरहरु पनि कम बनाउनु पर्छ, त्यहाँबाट लैजाँदा एयरपोर्ट या प्रसारण लाइनमध्ये एक छोड्नु पर्ने देखिएपछि दुवै सञ्चालन हुन सक्ने विभिन्न विकल्पहरुमाथि छलफल गरी अहिलेको रुट नै उत्कृष्ठ प्राविधिक विकल्पको रुपमा तय गरिएको हो,” उनले  भने, “तत्काल यो लाइनको निर्माण गर्न सकिएन भने मस्र्याङ्दी नदी बेसिनमा  निर्माणाधीन जलविद्युत् आयोजनाको विद्यत् प्रवाह गर्न नसकी अबौं रुपैयाँ पेनाल्टी तिर्नुपर्ने संवेदनशील अवस्था छ ।”उनले स्मार्ट सिटीको रुपमा विकास गर्न लागिएको पालुङटारमा विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरिय बनाउन ठूलो क्षमताको सवस्टेसन बनाइदिन प्राधिकरण तयार गरेकोसमेत प्रतिवद्धता जनाए । विद्युत् प्रसारण लाइनको रुट जताबाट लगे पनि स्मार्ट सिटीलाई कुनै असर नपर्ने र स्मार्ट सिटीको अपहरण नहुने प्रष्ट पार्दै सहरी विकास मन्त्रालयकी सहसचिव सरिता मास्केले स्मार्ट सिटीलाई धेरै विद्युत्को आवश्यक पर्ने भएकाले लाइनलाई अवसरको रुपमा प्रयोग गर्न आग्रह गरिन् । नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक कृष्णप्रसाद पौडेलले पालुङटार एयरपोर्टलाई सञ्चालनमा ल्याउन चालू आर्थिक वर्षबाट स्तारोन्नति गर्न लागिएको जानकारी दिँदै मस्र्याङ्दी नदीको किनारै किनार प्रसारण लाइन निर्माण गरिएमा एयरपोर्ट चलाउन नसकिने प्रष्ट पारे । पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेल र उममेयर पम्फा बसेलले विकास नरोकिने र जनतालाई पनि कम क्षति पुग्ने गरी प्रसारण लाइन निर्माण गरिनु पर्नेमा जोड दिए । आयोजनामा अवरोध उत्पन्न भएपछि यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको पहलमा गोरखाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद चुडामणि खड्काको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । समितिमा त्यस क्षेत्रका प्रदेश सभाका सांसद, नगरपालिकाका मेयर, उपमेयर, सहरी विकास मन्त्रालय लगायतका प्रतिनिधि रहेका छन् । मस्र्याङदी नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि ११३ किलोमिटर २२० केभी डबल सर्किट मस्र्याङदी करिडोर प्रसारण लाइन निर्माण गर्न लागिएको हो । युरोपेली लगानी बैकको नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋणमा आयोजनाको निर्माण भइरहेको हो ।  
मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन निर्माण अन्तिम चरणमा मस्र्याङ्दी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ. उपत्यकामा ल्याउन निर्माणाधीन तनहुँको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको मस्र्याङ्दी–काठमाडौं २२० केभी डबर सर्किट प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । ८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये स्थानीयको अवरोधका कारण ५ वटाको मात्रै निर्माण बाँकी छ  भने तार ७५ किलोमिटर भन्दा बढी तानिएको छ । धादिङको धुनीबेंसी नगरपालिकाको नौबिसे र पिलटारमा स्थानीयको अवरोधले क्रमशः तीन र दुई वटा टार निर्माण हुन सकेको छैन । 
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी र आयोजना प्रमुख तारा प्रधानको टोलीले नगरपालिका मेयर, धादिङका प्रमुख जिल्ला अधिकारी र वडाध्यक्षलाई भेटेर प्रसारण लाइन निर्माणमा सहयोग र सहजीकरण गरिदिन आग्रह गरे ।  “हाल रहेको मस्र्याङ्दी–काठमाडौं १३२ केभी प्रसारण लाइनबाट काठमाडौंमा करिब एक सय मेगावाटभन्दा विद्युत् लैजान सक्दैनौं, राजधानीको लाइफ लाइनको रुपमा निर्माण गरिएको लाइन निर्माणमा आवश्यक सहयोग गरिदिनु प¥यो,” घिसिङले भने । निर्माण अवरोध हटेमा चैतभित्रमा प्रसारण लाइनको निर्माण सकिने आयोजना प्रमुख प्रधानले बताए । 

Sunday, January 19, 2020

किन गरिँदैछ एमसीसी फर्काउन चलखेल ?


परियोजनाको महत्व
पाँच वर्षभित्रै तोकिएकै लागतमा योजना निर्माण
दुवै परियोजना सरकारकै छनोट र नेतृत्वमा
५५ अर्बनै अनुदान, ऋणभारमुक्त परियोजना
विश्वव्यापी खुला प्रतिस्पर्धाको आधारमा ठेक्का
भ्रष्टाचार र जालसाझीमुक्त परियोजनाको रूपमा विकास
२३० लाख जनसंख्याको विद्युत् पहुँच र बिजुली बेच्न सहज
पहिलोपटक एफडीआर प्रविधिमा सडक मर्मत र स्तरोन्नति
अन्य विकास साझेदारहरूकै सर्तमा सम्झौता र सर्त
 
विरोधका सम्भावित कारणहरू
सत्तारुढ दलभित्रको आन्तरिक किचलो
पार्टीभित्र प्रजातान्त्रिक अभ्यासको अभाव
सस्तो लोकप्रियतामुखी प्रवृत्ति
खुला प्रतिस्पर्धाले ठेक्कामा चलखेल गर्न नसकिने अवस्था
स्वार्थ पूर्ति हुननसक्ने अवस्था
नेपालीलाई गरिबीमै दुष्चक्रमा राख्ने नियत
आइतवार, माघ ५, २०७६
 ऊर्जा र सडकका लागि नेपाल सरकारले अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको गरेको समझदारीले भन्छ– निर्माण सुरु भएको पाँच वर्षभित्र पूरा गर्ने र सरकारलाई हस्तान्तरण गर्ने । २०७७ साल असारभित्र सुरु गरेर यो पाँच वर्षभित्र पूरा गर्नैपर्छ, नत्र बाँकी रहेको पैसा स्वतः फिर्ता जान्छ ।
राष्ट्रिय गौरवका आयोजनाको निर्माण अवधि र लागत दोब्बरभन्दा बढी भइरहेको बेला तोकिएको बजेट र समयमै ३१२ किलोमिटर प्रसारणलाइन र १२७ किलोमिटर नयाँ प्रविधिमा आधारित भएर सडकको मर्मत र स्तरोन्नति हुँदैछ । 
ऊर्जातर्फको प्रसारण लाइन र सडकतर्फको मर्मत सम्भार र स्तरोन्नति परियोजना नेपाल सरकार आफैंले छनोट गरेको हो । ऊर्जा र भौतिक पूर्वाधार मन्त्रालय नै परियोजना छनोटमा सहभागी थिए । एक दशकअघि लोडसेडिङको समस्या चरम थियो भने २०७२ सालपछि लोडसेडिङ क्रमश न्यूनीकरण हुँदै गयो तर वितरण प्रणाली भने बलियो थिएन । अझ नेपालले बनाएको प्रसारण गुरुयोजनामा भारतलाई बिजुली बेच्ने योजना छ ।
दुवै परियोजना अघि बढाउन नेपाल सरकारले मिलियन च्यालेन्ज एकाउण्ट (एमसीए) संस्था गठन गरेको छ । नेपालकै कानुन बमोजिम विकास समिति अन्र्तगत गठन भएको हो । संस्थाको अध्यक्ष अर्थसचिव हुन्छन् भने प्रतिस्पर्धाको आधारमा प्रमुख कार्यकारी अधिकृत र अधिकांश प्रतिस्पर्धाको आधारमा छनोट भएका छन् ।
      सरकारले राजनीतिक अस्थिरताको युग अन्त्य भएर राजनीति स्थिरतासँगै आर्थिक समृद्धिको युग सुरु भएको बताइरहेको छ । यसका लागि अधिकतम् वैदेशिक लगानी (एफडीआई) भित्र्याउने लक्ष्य पनि लिएको छ । यतिमात्र होइन विभिन्न परियोजनाहरूको ऋण सहायता ल्याउनका लागि अधिकतम प्रयास गरिरहेको छ । अमेरिकी सरकारले उपलब्ध गराउन लागेको यो ५ सय मिलियन डलर अर्थात हालको डलर भाउ झण्डै ५५ अर्ब अनुदानको रूपमा दिन लागेको हो । नेपालकै इतिहासमा हालसम्म अनुदानमा आएको यो सबैभन्दा ठूलो पैसा पनि हो । यसमा नेपाल सरकारलाई ऋण तिर्नुपर्ने कुनै झण्झट छैन ।
अधिकांश देशहरूले दिने अधिकांश ऋणहरूमा सम्बन्धित देशको कम्पनीहरूले ठेक्का पाउनुपर्ने व्यवस्था हुन्छ । तर, दुवै परियोजनाहरूमा विश्वव्यापी खुला प्रतिस्पर्धाको आधारमा ठेकेदार कम्पनी छनोट गर्ने उल्लेख छ । अझ एमसीएले त योग्य ठेकेदार छनोटका लागि नेपाल, भारत र अमेरिका पुगेर त्यो देश र वरिपरिका देशका निर्माण व्यवसायीहरूलाई बोलाएर विश्वव्यापी खुला प्रतिस्पर्धामा सहभागी हुन आह्वान गरिसकेको छ । ठेक्कापट्टामा समेत अमेरिकी सरकारको कुनै हस्तक्षेप हुनसक्ने अवस्था छैन ।
खुला, पारदर्शी र जवाफदेही रूपमा अघि बढाउने उद्देश्यसहित दुवैलाई भ्रष्टाचारमुक्त परियोजना बनाउने परिकल्पना गरिएको छ । यसका लागि एमसीए नेपालले आफ्ना कर्मचारुहरूलाई जलासाजी तथा भ्रष्टाचार नियन्त्रण प्रशिक्षण सुरु पनि गरिसकेको छ । नेपालमा अघि बढेका अधिकांश परियोजनाहरूमा अनियमितता र भ्रष्टाचार भएको भन्दै तथ्यहरू सार्वजनिक गरिरहेको बेला परियोजनाले भ्रष्टाचारमुक्त परियोजनालाई प्रमुख सूचकको रूपमा मानेको छ ।
लप्सीफेदीबाट रातमाटे, रातमाटेबाट दमौली, दमौलीबाट बुटवल र बुटवलबाट भारतको बोर्डरसम्म अनि रातमाटेबाट हेटौंडासम्म पनि पुग्ने प्रसारण लाइनबाट २ करोड ३० लाख जनसंख्यालाई विद्युत् पहुँचमा सुधार ल्याउने तथा यसबाट भारतमा बिजुली बेच्न सहज हुन्छ । अझ नेपालमा पहिलोपकट फूल डेफ्थ रिक्लाईमेशन (एफडीआर) प्रविधिमा सडक मर्मत र स्तरोन्नति हुँदैछ । यो नयाँ प्रविधिअनुसार सडकको उप्पड खाप्पड फलिङ इन डेफ्क्टोमिटर भन्ने मेसिनमार्फत पत्ता लगाएर सडक पिच गरिन्छ । मेसिन हिड्दै जाँदा पिच हुँदै जाने यो प्रविधिमा सडक निर्माण भएपछि तीव्र गतिमा सडक कुदाउन मिल्नुका साथै यो पिच सजिलै २० वर्ष टिक्छ । यो मेसिनले एक हजार किलोमिटरसम्म सडकको वास्तविक अवस्था पत्ता लगाउन सक्छ । नेपालमा पिच बिग्रिरहने समस्या रहेकोमा यो नयाँ प्रविधि भित्रिएपछि एमसीसीको परियोजना सकिएपछि पनि नेपालमै हस्तान्तरण हुने हुनाले यसबाट थप सडक पिचको काम पनि गर्न सकिन्छ । यो प्रविधिमा परियोजनासँगै नेपालका धेरै जनशक्ति प्रशिक्षित पनि हुन्छन् ।
यस्तै तथ्य र तथ्यांकले एमसीसी परियोजनाबाट नेपाललाई कुनै घाटा छैन तर “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर” भनेझै अनुदानमा आउने परियोजना असफल बनाउन ठूलो चलखेल भइरहेको छ । प्राविधिक र विज्ञ यसको पक्षमा रहेर पनि विशेष गरी सत्तारुढ दल नेकपाका केही राजनीतिक नेताहरू खुलेरै यसको विरुद्धमा लागेका छन् । परियोजना अघि बढाउनका लागि आयोजना कार्यान्वयन सम्झौतासहित विद्युत् प्रसारण आयोजनालाइ राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषणा गर्नुपर्ने, विद्युत् नियमन आयोगको गठनका लागि कानुनी बाटो खुलाउनुपर्ने लगायतका सबै सर्तहरू सरकारले पूरा गरेर नेपालको संसदले यही हिउँदे अधिवेशनमा कम्प्याक्ट सम्झौता अनुमोदन गरेर आगामी असारदेखि निर्माण सुरु हुनुपर्ने बेलामा यसमा अनावश्यक चलखेल हुन थालेको छ ।
विशेषगरी सत्तारुढ नेकपाभित्रका केही नेताहरूले एमसीसीका कतिपय सर्तहरू “राष्ट्रघाती” र नेपालको संविधानविरोधी भएको भन्दै यसलाई जस्ताका तस्तै पारित गर्न नहुने पक्षमा उभिएका छन् । विशेष गरी सत्तारुढ दलभित्रको आन्तरिक विवाद एमसीसीमा पोखिएको देखिएको छ । उनीहरूले आफ्नो तल्लो तहसम्म एमसीसीविरोध पु-याएको सन्देशमा सम्पूर्ण वौद्धिक सम्पत्तिमा अमेरिकाको पूर्ण अधिकार हुने, परियोजनाको लेखापरीक्षण अमेरिकाले कम्पनीले मात्र गर्न सक्ने, अमेरिकी सरकारले चाहेमा जुनसुकै बेला पनि सम्झौता रद्द गर्न सक्ने, प्रस्तुत सम्झौता लागू भए पनि सम्झौतामा उल्लेखित र नेपालको राष्ट्रिय कानुन बाझिएमा सम्झौता लागु हुने, सरकारले परियोजनामा राज्यका कुनै पनि निकायलाई खटाउनुपर्दा एमसीसीको स्वीकृति लिनुपर्ने लगायतका सर्तहरू गलत भएको जिकिर गरिएको छ ।
प्रसारणलाइन छनोटमा समेत सहभागी ऊर्जा मन्त्रालयका पूर्वसचिव अनुपकुमार उपाध्याय भने सर्तहरूको गलत व्याख्या भएको बताउँछन् । उनका अनुसार, प्रसारण लाइनको डिजाइनको कपीराइट भनिएको, अडिटको मान्यता नेपालमा पनि यस्तै रहेको, कुनै पनि देश अनुदान पाउँदाको परिस्थिति बदलिएमा दिइराख्न वाध्य नहुने, सबै देशमा जस्तै कानुन परिवर्तन भएमा त्यसको संरक्षणका लागि कानुन बाँझिएमा सम्झौता लागु हुने उल्लेख हुने, पहुँचको भरमा खटाउने प्रवृत्तिलाई निरुत्साहित गर्न विज्ञ र सक्षम व्यक्ति आउन भनेर परियोजनामा सरकारले खटाउँदा एमसीसीको स्वीकृत लिनुपर्ने, प्रसारण लाइन भारतसँग जोड्ने देशको योजना अनुसारनै भारतसँगको अन्तर सम्बन्धित गरिएकोले कुनै सर्तहरू गलत छैनन् । “विश्व बैक, एशियाली विकास बैक, छिमेकी राष्ट्र भारत लगायतका अधिकांश निकायसँग यस्ता सर्तहरूसहित सम्झौता गरेर ऋण लिइरहेका छौं, अहिले आएर गलफत्ती गर्नु बेकार छ,” उनले भने, “रणनीति भनेर अहिले विवाद गरिएको छ, दुई छिमेकी देशहरू हुँदा नेपाल घेरावन्दीमा पर्दैन, पर्चा गरिएको हावादारी गफमात्र हुन् ।”
अमेरिकी अनुदानबाट अघि बढाउन लागेका दुई आयोजना महत्वपूर्ण भएकोले यसले नेपालको आर्थिक सम्वृद्धिमा योगदान पुग्ने तर्क अर्थशास्त्रीहरूको छ । अर्थशास्त्री डा. डिल्लीराज खनाल साह्रै महत्वपूर्ण क्षेत्रमा लगानी हुन लागेको हुनाले कम्प्याक्टलाई संसदबाट पारित गर्नुपर्ने बताउँछन् । “अस्पष्टताका कारण केही कुराहरू उठेका छन्, यसलाई स्पष्ट पारेर संसदबाट पारित गर्नुपर्छ, आम सहमतिमा परियोजना गर्नुपर्छ,” उनले भने । पूर्व अर्थसचिव रामेश्वर खनालको भनाईमा प्रतिस्पर्धाको आधारमा अघि बढाइएको तथा कुनै ऋणको भारबिनानै अनुदानमा निर्माण हुन लागेको आयोजना नेपालको हित विपरित छैन ।
संसदबाट पारित नभएमा परियोजना फिर्ता गएमा यसले द्धिपक्षीय सम्बन्धका साथै भविष्यसम्म नेपालमा आउने लगानीमा पनि असर पर्नेपनि देखिएको छ । एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्ट सरकारकै छनोट र नेतृत्वमा आयोजना सन् २०११ देखिनै अघि बढेकोले अहिले आएर यसलाई अघि नबढाउँदा द्विपक्षीय सम्बन्धका साथै लगानीको क्षेत्रमा समेत नराम्रो प्रभाव पार्ने बताउँछन् । “परियोजना फिर्ता हुँदा यसले भारतलाई बिजुली बेच्ने योजनादेखि विद्युत् प्राधिकरणले यो परियोजनाको आधारमा निर्माण अघि बढाउन लागेका अन्य योजनाहरूमा समेत असर गर्छ,” उनी भन्छन् ।
प्राविधिक र अर्थशास्त्रका विज्ञहरू परियोजना अघि बढाउनुपर्नेमा एकमतजस्तै देखिन्छन् तर राजनीतिक वृत्तमा यसविरुद्ध अभियानै चलेको छ । यसको कारणबारे भने विभिन्न तर्कहरू गरिदै आएको छ ।
एक पूर्व उच्च सरकारी अधिकारीको विश्लेषणमा सत्तारुढ दलभित्रको आन्तरिक किचलो अर्थात पार्टीभित्र प्रजातान्त्रिक अभ्यासको अभाव, सस्तो लोकप्रियताको आधारमा नेता बन्ने र रमाउने प्रवृत्ति, विश्व व्यापी रूपमा खुला प्रतिस्पर्धा हुने हुनाले ठेक्कामा चलखेल गर्न नसकिने अवस्था, नेताभन्दा विधि र प्रक्रियाको अबलम्बनको कारण राजनीतिक नेतृत्वको स्वार्थ पुर्ति हुन नसक्ने परिस्थिती, परियोजना लम्ब्याउने र स्वार्थ पुर्ति गर्ने प्रवृत्तिको निरन्तरता लगायतका कारणको सिकार एमसीसी परियोजनालाई बनाउन खोजिएको छ । “२०५१ सालमा एमाले पार्टीको गलत भूमिका कारण जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी ल्याउनका लागि दुई दशकभन्दा बढी कसरत गरेर विश्वासको वातावरण बनाउनुप-यो,” उनी भन्छन्, “अन्तर्राष्ट्रिय सहयोगको मार्गचित्र अनुसारनै अनुदानमा आएको एमसीसी गुमायौ भने फेरि विदेशीलाई विश्वास दिलाउन कति समय लाग्ने अर्को, यो परियोजना अर्को अरुण तेस्रो नबनोस्, पार्टीको आन्तरिक विवादको छिटाले एमसीसीलाई दुर्गन्धित नबनोस् ।”

 
दूतावासद्वारा  १० तथ्य सार्वजनिक
अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) को अनुदानमा अघि बढाउन लागिएको ऊर्जा र सडक परियोजना अघि बढाउनेक्रममा देखिएका विवादहरूलाई सम्बोधन गर्ने गरी १० तथ्य सार्वजनिक गरेको छ ।
नेपाली नागरिक, नेतृत्व र सञ्चारकर्मीहरूले नेपालमा एमसीसी परियोजनाको विषयमा प्रश्न गरेको उल्लेख गर्दै शुक्रबार यसबारे तथ्यहरू सार्वजनिक गरेको हो । अन्तर्रा्ष्ट्रिय विकासका निम्ति पारदर्शिता तथा सच्चा साझेदारीमा आधारित नयाँ मोडलका रूपमा एमसीसीको स्थापना भएको उल्लेख गर्दै दूतावासले कार्यक्रमभित्र नेपालका लागि केकस्ता लाभहरू छन् भन्ने सम्बन्धी बुझाइ निर्माणमा नेपाली जनसाधारणको सहभागितालाई पनि हामी स्वागत गर्ने उल्लेख गरेको छ ।
१. नेपालको नेतृत्वको आग्रहमा अमेरिकी सरकारले सन् २०१२ मा नेपालसँग सहकार्य गर्दै एमसीसी कम्प्याक्टको योजना विकास गर्ने कार्यको थालनी गरेको हो ।
२. प्रत्येक सरकार र प्रत्येक नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसीसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा व्यक्त गरेका थिए ।
३. एमसीसी परियोजना विशुद्ध रूपमा आर्थिक विकासमा केन्द्रित छ । विद्युत्को लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य छ ।
४. एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । वास्तवमा अमेरिकी कानुनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ ।
५. एमसीसीमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनु पर्दैन वा हस्ताक्षर गर्नु पर्दैन ।
६. यो ५० करोड डलर एक अनुदान हो, जसमा कुनै स्वार्थ छैन, ब्याजदर छैन, वा कुनै लुकेको प्रावधान छैन । नेपालले गर्नुपर्ने भनेको सहमति भइसकेका परियोजनाहरूमा उक्त रकम पारदर्शी रूपमा खर्च गर्न प्रतिबद्ध हुनु मात्र हो ।
७. एमसीसीले नेपालमा कुन परियोजनाहरूमा खर्च गर्ने भन्ने विषय नेपालको आफ्नै प्राथमिकताहरूका आधारमा नेपालीहरूले नै प्रस्ताव र निर्क्योल गरेका हुन् ।
८. एमसीसीको प्रावधान अनुसार यी परियोजनाहरूको कार्यान्वयनको नेतृत्व गर्न नेपालले नेपालीलाई नै काममा लगाउनु आवश्यक छ ।
९. एमसीसी परियोजनाका टेन्डरहरू खुला, पारदर्शी, र सबैका लागि उपलब्ध छन् ।
१०. एमसीसीले काम गर्ने प्रत्येक मुलुकमा झैँ नेपालमा पनि संसदीय अनुमोदन जरुरी छ । यसबाट पारदर्शिता स्थापित हुन्छ र नेपालीहरूलाई परियोजनाका बारेमा बुझ्ने अवसर पनि प्राप्त हुन्छ ।

राजदूत भन्छन्ः भ्रष्टाचारमुक्त परियोजना
नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले अमेरिकी सहयोग अन्तर्गत कार्यान्वयन गर्न लागिएका आयोजनाहरू जालसाजी तथा भ्रष्टाचारमुक्त वातावरणमा सम्पन्न हुने बताएका छन् । अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) बाट नेपाल कम्प्याक्टअन्तर्गत प्राप्त अनुदान सहायताको कार्यान्वयनका क्रममा जालसाजी तथा भ्रष्टाचार हुन नदिन सम्बन्धित जोखिम पहिचान, रोकथाम तथा समाधान सम्बन्धी ज्ञान तथा सीप अभिवृद्धिको उद्देश्यसहित आयोजित कार्यक्रममा उनले सो बताएका हुन् । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीएनेपाल) का कर्मचारीहरूका लागि जालसाजी तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी तीन दिने प्रशिक्षणमा प्रशिक्षण उनले नेपालमा भ्रष्टाचार न्यूनीकरण हुँदै गएको उल्लेख गर्नुका साथै यस दिशामा प्राप्त सफलताले नेपाललाई एमसीसी कम्प्याक्टका लागि योग्य बनाउनमा एक सूचकका रूपमा काम गरेको स्मरण गरे ।