Sunday, January 26, 2020

चेपाङ बालबालिकाको शिक्षाको ढोका

आइतवार, माघ १२, २०७६
  ११ वर्षअघिसम्म विष्णु गौतमसँग सबै चीज थियो– काठमाडौंमा घर, गाडी अनि कमाउने उमेरका दुई लक्का जवान छोरा । एक छोरा र एक छोरी सानै उमेरको भए पनि एउटा छोरा नेपालमै ट्राभल एजेन्सी चलाउँथे अनि अर्को छोरा अमेरिकामा पढ्दै थिए । छोरा कुमारले चलाएको ट्राभल एजेन्सी सन् २००८ मा देशमा सबैभन्दा बढी पर्यटक भित्र्याउने कम्पनी थियो ।
अर्को छोरा बलरामले त अमेरिकाको ओक्लोहामा युनिभर्सिटीमा गणितमा टप गरेर आउटस्याण्डिङ अवार्ड नै पाएका थिए । तर ०६५ पुस १२ घर फर्कंदै गर्दा सवारी दुर्घटनामा जेठो छोरा कुमार र त्यसको नौ महिना पछि नै ०६६ असोज १७ मा माइलो छोरा बलरामले ज्यान गुमाए । दुवै छोराको दुर्घटनामा निधन भएपछि उनको सुखी परिवारमा ठूलो बज्रपात आइलाग्यो । बज्रपातको औषधीको खोजी गर्दा विष्णुले सामूहिक आत्महत्याको समेत योजना बनाए । तर, त्यो योजनाभन्दा ठूलो शक्तिशाली औषधी बन्यो, समाजसेवा । दुई छोराको नाममा लक्ष्मी प्रतिष्ठान गठन गरेर उनी अहिले समाजसेवामा जुटेका छन् । पीडाले छटपटिएको बेला विष्णुले चितवनको कान्दामा विषालु च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको र ७४ वर्षीय हजुरआमा र १८ महिनाको बालक मात्रै च्याउ नखाएको कारण बच्न सफल समाचार पढे । समाचारले उनलाई भावुक बनायो । उनी लगायतले सल्लाह गरे खाद्यान्न बोकेर चितवनको कान्दा जाने र त्यो परिवारलाई सहयोग गर्ने र्निाय गरे । तर जब उनीहरु कान्दा पुगे चेपाङहरुको पीडा झन् दर्दनाक थियो । अधिकांश अर्धवस्त्र, घर पनि एकदम झुप्रा, ओढ्ने ओछ्याउने पनि छैन, खाने कुरा पनि छैन, कति त अझै ओडारमा बस्ने ।
बाटो र बिजुली त धेरै टाढाको कुरा । उनीहरुले तत्कालका लागि खाद्यान्न र कपडा बाँडे । गाउँमा कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालय थियो, विद्यार्थी पनि एक सयभन्दा बढी भर्ना भएका थिए तर विद्यालय आउने १० जना पनि हुँदैनथे । चेपाङहरुको पीडाभित्र छिर्दै गएपछि लक्ष्मी प्रतिष्ठानले योजना बनायो– कान्दा रुपान्तरण अभियान । कपडा र खाद्यान्न बाँडेपनि बस्ने बास थिएन । उनीहरुको लागि बास निर्माण सुरु गरे र हालसम्म करिब ७० जनालाई बनाइसकेका छन् । प्रतिष्ठानले कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण पनि गरिदियो तर विद्यार्थी नआउनुको कारण विद्यालय टाढा भएर पनि थियो । चार घण्टासम्म लगाएर विद्यालय आउनुपर्ने वाध्यता थियो । प्रतिष्ठानले सबै चेपाङ बालबालिकाहरुलाई विद्यालयमा टिकाईरहन कुमार बलराम स्मृति छात्राबास निर्माण गरे । अहिले यही छात्राबासमा बसेर १३० भन्दा बढी चेपाङ बालकालिकाले पढिरहेका छन् ।
प्रतिष्ठानले विद्यालयका लागि शिक्षक मात्र व्यवस्था गरेको छैन, बिहान बेलुका पढाउने र खेलाउने व्यवस्था पनि गरेको छ । कक्षा ५ उतीर्ण गरेपछि चरम गरिबीको रेखामुनि रहेका चेपाङ बालबालिकाले बाहिर गएर माथिल्लो कक्षामा पढ्ने अवस्था छैन । चेपाङको वास्तविक पीडा बुझेका विष्णुले अर्को योजना बनाए– ‘जसरी हुन्छ, ती बालबालिकालाई उच्च शिक्षासम्म पढाउने ।’ त्यही अनुसार उनले काभ्रेको चौंरीदेउराली–४ स्थित कुमार बलराम स्मृति छात्रावास बनाए । उच्च शिक्षा अध्ययन गर्न चाहने चेपाङ बालबालिकाका अभिभावकलाई उनले अनुरोध गरे र इच्छुकले आफ्ना बालबालिकालाई पढाउन चाहेमा छात्राबासदेखि सम्पूर्ण पढ्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । चितवनको कान्दाबाट अभिभावक आएर आएर स्थानीय सरस्वती माविमा ३१ जना बालबालिकालाई भर्ना गरिदिए, ती बालबालिकाको पढाइ खर्चदेखि सबै त्यही प्रतिष्ठानले बेहोर्दै आएको छ । “समाजसेवा गर्छु भन्ने मनदेखि त आयो तर नगद पैसा थिएन । रिसोर्ट चलाउनका लागि अनेकोटमा रहेको ४० रोपनी जग्गा २ करोड ३४ लाखमा बेचेँ । कम्पनी बेचेर आएको २२ लाख र आफूसँग रहेको ४९ लाख पैसा पनि संस्थाकै लागि खर्च गरेँ,” प्रतिष्ठानका अध्यक्ष गौतम भन्छन्, “पहिला आफ्नो सम्पत्ति बेचेर समाजसेवा सुरु गरेपछि अरु धेरैले सहयोग गर्न थाले । वार्षिक डेढ करोड छात्रावासका साथै अन्य सामाजिक कार्यका लागि खर्च गर्छु, सबैले मन खोलेर सहयोग गर्नुभएको छ ।” दातामार्फत अहिलेसम्म करिब सात करोड बराबरको रकम सहयोग जुटाइसकेका गौतम आफूले सबै दाताले दिएको पैसा र खर्च भएको पारदर्शी रुपमा सार्वजनिक गर्ने कारण सहयोग आउनेक्रम जारी रहेको बताउँछन् ।
पछिल्लो समयमा उनको काममा आफ्नो कान्छा छोरा कृष्ण पनि दिल खोलेरै होमिएपछि उनी बढी खुशी देखिएका छन् । पछिल्लो उनका अधिकांश सामाजिक कार्यको नेतृत्व छोरा कृष्णले लिन थालेका छन् । गरिबीको कारण पाँच कक्षाभन्दा माथि पढ्न ठूलै संघर्ष गर्नुपर्ने चेपाङ बालबालिका अहिले कात्तिके देउरालीमा रमाइरहेका छन् । बालबालिकाहरुलाई आवश्यक पर्ने पुस्तकालय, खेल मैदान, शैक्षिक, आर्थिक, भौतिक पूर्वाधारहरुको निर्माण गरिएको छात्राबासमा बसेर ३१ जनाले पढिरहेका छन् । कक्षा ९ मा ५, कक्षा ८ मा ५, कक्षा ७ मा ११ र कक्षा ६ मा ९ जना विद्यार्थीले कान्दाबाट धुशेनी शिवालयमा अध्ययन गरिरहेको उनी बताउँछन् । “कक्षा ५ पछि पढ्न सक्ने अवस्थै थिएन, मैले धेरै वर्ष पढाइ छोडे । लक्ष्मी प्रतिष्ठानको विष्णु बुबाले पढाउँछु भनेपछि म यहाँ आएँ,” मिसन प्रजाले भने, “यहाँ आएर पढेपछि भाषादेखि धेरै कुरा जान्न थालेको छु ।” पहिला गाँस, बाँसकै लागि समस्या रहेका चेपाङका बालबालिकालाई शिक्षाको ज्योतीले ठूलो परिवर्तन ल्याएको छ । उनीहरुमा कसरी बाँच्ने र पढ्ने चिन्ता छैन । उनीहरु डाक्टर, पाइलट, शिक्षक, इन्जिनियर, सेना, प्रहरी बन्ने योजनामा छन् । विद्यार्थी निरोजले पाइलट बन्ने योजना रहेको सुनाए ।
 प्रतिष्ठानका अध्यक्ष गौतम चेपाङ बालबालिकालाई कम्तीमा कक्षा १२ सम्म पढाउने गरी अघि बढ्ने योजनामा छन् । “मेरो व्यक्तिगत अधिकांश सम्पत्ति बेचेर सकिएको छ तर जसरी पनि सहयोग जुटाएर चेपाङ बालबालिकालाई कक्षा १२ सम्म पढाउने योजनामा छु,” उनी भन्छन्, “अहिलेसम्म त सहयोग पाइरहेका छौ, भविष्यमा धान्न गाह्रो हुने होला कि भन्ने चिन्ता छ ।” खर्च जाहो गर्नका लागि प्रतिष्ठानकै नाममा गौतमले कात्तिके देउरालीमा ५५ रोपनी जमिनमा किवी लगायतका फलफूल र तरकारी खेती गरिरहेका छन् । एभोकाडो, किबी, जापानीज नास्पाती, बदाम, स्याउ, बुद्धचित्त, कागतीबाट नियमित आम्दानी हुन थालेपछि बालबालिकाहरुको अध्ययनमा सहयोग पुग्ने आशा उनको छ ।
आफ्नो जन्मस्थानमा आएर गौतमले समाजसेवा र खेती गर्न थालेपछि गाउँमा पनि उनलाई पछ्याउने बढ्न थालेका छन् । “उनले गाउँमा चेपाङ बालबालिकालाई पढाएको देखेर हामीलाई धेरै खुशी लागेको छ । अझ गाउँमा रित्तिरहेको बेला उनले विभिन्न खेती गरेर अरुलाई पनि प्रेरणा दिनुभएको छ,” वडाध्यक्ष शुरेस लामा भन्छन् ।

No comments: