Sunday, January 26, 2020

आधुनिक ऊर्जामा परनिर्भता

आइतवार, माघ १२, २०७६
नेपाल विद्युत् प्राधिकरणका अनुसार मंगलबारको विद्युत्को माग २२ हजार ३३७ मेगावाट आवर माग रहेकोमा भारतबाट मात्र ९३१६ मेगावाट आवर आयात भयो । प्रतिशतको आधारमा यो ४० प्रतिशतभन्दा बढी हो । आर्थिक वर्ष २०७५-७६ मा १३२०.२८ गिगावाट आवर विद्युत् खपत भएकोमा ४९१.१२ गिगावाट आवर भारतबाट मात्र आयात भएको थियो ।
प्रतिशतको आधारमा यो ३३ प्रतिशतभन्दा बढी हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार  १३०१ मेगावाट विद्युत्मध्ये भारतबाट ५०६ मेगावाट आयात भएको छ भने बाँकी स्वदेशबाट खपत भएको छ । “माथिल्लो तामाकोसी निर्माण भएपछि हामी वर्षा मौसममा भने आत्मनिर्भर हुन्छौं, तर पूर्ण रूपमा आत्मनिर्भर हुन अर्को ६ वर्ष लाग्छ,” उनी भन्छन्, “ठूला जलाशययुक्त आयोजना निर्माण भएपछि स्वदेशी उत्पादनबाट पूर्ण आत्मनिर्भर हुन सक्ने अवस्था छ ।”सन् २०१७ को तथ्यांकले ७ प्रतिशत कोलसहित नवीकरणीय ऊर्जा ४ प्रतिशत, विद्युत् ३ प्रतिशत र १४ प्रतिशत इन्धन ऊर्जाको रूपमा उपयोग हुन्छ भने बाँकी परम्परागत ऊर्जा उपयोग नेपालमा गरिन्छ । कुल ऊर्जाको ३ प्रतिशतमात्र विद्युत्बाट उत्पादन गर्न सकेको नेपालमा त्यमध्ये पनि ६६ प्रतिशत मात्र स्वदेशी उत्पादनबाट आपुर्ति भएको छ भने बाँकी भारतकै भर पर्नुपर्ने अवस्था छ ।
 दक्षिण एसियामै जलविद्युत्का लागि धनी देश र विश्वकै १९ राष्ट्रमा पर्ने नेपालमा कुल ऊर्जामध्ये ३ प्रतिशत मात्र विद्युत् उपयोग हुनु आफैमा लाजमर्दो छ, त्यसमाथि पनि पूर्ण रूपमा उत्पादन हुन सकेको छैन । अझ इन्धनमा त नेपाल पूर्ण रूपमा परनिर्भतर हुनुर्पे अवस्था छ । आर्थिक वर्ष २०७५-७६ को तथ्यांक हेर्ने हो भने डिजेलमात्र १७ लाख १७ हजार ५१७ किलोलिटर, पेट्रोल ५ लाख ६६ हजार ८६६ किलोलिटर, मटितेल २४ हजार ९३२ किलोलिटर, हवाई इन्धन २ लाख ११२ किलोलिटर तथा ग्यास ४ लाख २९ हजार ५०३ टन आयात गरिएको थियो । दक्षिण एसियाली सहयोग संगठन (सार्क) ऊर्जा केन्द्रको तथ्यांकअनुसार यस क्षेत्रमा ७७.९७ प्रतिशत व्यापारिक र २२.०३ प्रतिशत परम्परागत ऊर्जा खपत हुन्छ भने यसमा कोलको ५०.७६ प्रतिशत कोल र ३६.१९ प्रतिशत पेट्रोलियमको हिस्सा छ । हालै सार्क इनर्जी सेन्टरले आयोजना गरेको सार्क क्षेत्रको इन्धनबारेको सम्मेलनमा दिइएको जानकारी अनुसार पेट्रोल, आयल र लुब्रिक्यान्टमा सार्क राष्ट्रमध्ये नेपाल, अफगानिस्तान, भुटान र माल्दिभ्स शतप्रतिशत परनिर्भर छ ।
सन् २०१७-०१८ को तथ्यांकले भारतमा २०४९२२ हजार टन ग्रोस डिमाण्ड रहेकोमा घरेलु आपूर्ति २ लाख ५२ हजार ८३९ हजार टन छ भने बंगलादेशको ६ हजार ३८४ हजार टन ग्रस डिमाण्ड रहेकोमा आपूर्ति १ हजार १६६ हजार टन, पाकिस्तानको माग २९ हजार ३७ हजार टन रहेकोमा १० हजार ७४१ मात्र घरेलु तथा श्रीलंकाको ५ हजार १६८ हजार टन ग्रस डिमाण्ड रहेकोमा १ हजार ८६७ हजार टन डोमेस्टिक आपूर्ति छ । सार्क इनर्जी केन्द्रको तथ्यांकले सन् २०३० मा पेट्रोलियम पदार्थको रूपमा मात्र माग नेपालको ५ हजार ९८२ हजार टन पुगेपनि उत्पादन शून्य हुने तथा डिजेलतर्फ पनि ३ हजार ५४७ हजार टन माग पुगे पनि उत्पादन भने शून्य हुने देखाएको छ । नेपालको दैलेखमा इन्धन उत्पादनको सम्भाव्यता रहेको भन्दै चीन सरकारको सहयोगमा अध्ययन भइरहे पनि हालसम्म पूर्ण रूपमा परनिर्भर हुनुपर्ने अवस्था छ । अझै १० वर्ष इन्धनमा नेपाल पूर्ण रूपमा परनिर्भर हुने प्रक्षेपण सार्क केन्द्रले गरेको छ । 
 
क्षेत्र परनिर्भता प्रतिशत
विद्युत् ३३
डिजेल १००
पेट्रोल १००
मट्टितेल १००
ग्यास १००
हवाई इन्धन १००

No comments: