Thursday, August 10, 2017

८ अर्ब आम्दानी बढ्ने गरी विद्युत् महशुल प्रस्ताव

    कारोबार संवाददाता   http://www.karobardaily.com/news/81457 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले ८ अर्ब रुपैयाँ आम्दानी बढ्ने गरी विद्युत् महशुल वृद्धिको प्रस्ताव गरेको छ । 
घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान भन्दै ८ अर्ब बराबर आम्दानी हुने प्रक्षेपणसहित १६ प्रतिशत विद्युत् महशुल वृद्धिका लागि प्राधिकरणले विद्युत् महशुल निर्धारण आयोगमा प्रस्ताव गरेको हो । “प्राधिकरणले आयोगमा प्रस्ताव गरेको महशुल वृद्धि भएमा ८ अर्ब आम्दानी बढ्न सक्छ,” प्राधिकरण आर्थिक विश्लेषण विभागका प्रमुख जयराज भण्डारीले भने ।
घरायसी ग्राहकलाई सामान्य परिवर्तन गरेर प्राधिकरणले औद्योगिक ग्राहकलाई महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ । विद्युत् प्राधिकरणका ३३ लाख ग्राहक छन् । प्रस्तावमा ५ एम्पेयर लिनेलाई पहिला ०–२० युनिटलाई न्यूनतम मान्ने गरिएकोमा यसलाई परिवर्तन गरी ०–१० युनिट कामय गरिएको छ ।
न्यूनतम उपयोग गर्नेले मासिक रूपमा ३० रुपैयाँ र बाँकी प्रतियुनिट ३ रुपैयाँ तिरे पुग्छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले विगतमा प्राधिकरणको मागअनुसारको वृद्धि नभएको र प्राधिकरणलाई आर्थिक रूपमा स्वस्थ बनाउन महशुल वृद्धि आवश्यक रहेकाले प्रस्ताव गरिएको जानकारी दिए ।
आयोगले भने महशुल वृद्धिबारे छलफल अघि बढाएको जनाएको छ । आयोगका अध्यक्ष जगत भुसालले विद्युत् प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको र यसबारे छलफल भइरहेको जानकारी दिए । 
हालै मन्त्रिपरिषद्बाट पारित विद्युत् प्राधिकरणको दोस्रो वित्तीय पुनर्संरचनाको आधारमा वित्तीय अवस्था सुधारका लागि महशुल आयोगसमक्ष पेश गरिएको प्राधिकरणले जनाएको छ । 
प्राधिकरणका अनुसार, हाल विद्युत् लागत १६ प्रतिशत न्यून रहेकाले त्यसलाई आधारमा मानी र आव ०७४/७५ लाई लक्षित गरी लागतबमोजिम ग्राहकको वर्गीकरण गरी प्रस्ताव गरिएको हो । २०६९ सालमा पनि आयोगले २० प्रतिशत बिजुलीको मूल्य बढाएको थियो ।
दुई वर्षअघि आयोगले १३.७० प्रतिशत महसुल वृद्धि निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर रोकिएकामा पछि अदालतले वृद्धि गर्न बाटो खोलिदिएको थियो । गत वर्षदेखि २० प्रतिशत वृद्धि भएको महशुलको कारणले ६ अर्ब रुपैयाँ बराबरको आम्दानी वृद्धि भएर घाटा पूर्ति भएको प्राधिकरणले जनाएको छ । 

No comments: