Thursday, August 24, 2017

माथिल्लो त्रिशुली बीको पीपीए सम्झौता

कारोबार संवाददाता
काठमाडौ, ७ भदौ ।
त्रिशुली जलविद्युत कम्पनीद्धारा निर्माण गर्न लागिएको ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।
नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको आयोजनाको पीपीए भएको हो । मंगलबार प्राधिकरणकातर्फबाट  कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीकातर्फबाट प्रवन्ध सञ्चालक मोहनप्रसाद गौतमबीच पीपीएमा हस्ताक्षर गरे ।  नुवाकोट र रसुवामा निर्माण हुने आयोजना प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिसुली थ्री एको क्यास्केड आयोजना हो ।
पीपीए अनुसार, आयोजनाबाट मंसिर १६ देखि जेष्ठ १५ सम्मको सुख्खायाममा १३४.८८ गिगावाट घण्टा र जेष्ठ १६ देखि मंसिर १५ सम्म वर्षायाममा १५७.७१ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ भने सो विजुली  विद्युत प्राधिकरणले खरिद गर्नेछ । पीपीए दर वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसा प्रति युनिट छ ।
इन्जिनियरिङ प्रकुमेन्ट एण्ड कन्ट्रक्सन (इपीसी) मोडेलमा आयोजना निर्माण गर्न लागिएको आयोजनाको निर्माण आगामी पुसबाट सुरु गर्ने लक्ष्य राखिएको कम्पनीका प्रवन्ध सञ्चालक गौतमले जानकारी दिए । ‘ठेकेदार छनोट कार्य भईरहेको छ, आगामी पुसदेखि सुरु गरेर ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।’–उनले भने ।
६ अर्ब लगानी गर्ने गरी वित्तिय व्यवस्थापनका लागि नविल बैकको नेतृत्वमा जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष तथा नेपाल बैक रहने गरी प्रारम्भिक समझदारी भैसकेको प्रबन्ध सञ्चालक गौतमले जानकारी दिए ।
आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०÷३० प्रतिशत रहने छ भने रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालीकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तिय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

No comments: