Monday, December 31, 2018

प्राधिकरणले सहायक कम्पनीबाट मात्रै लगानी गर्ने


http://karobardaily.com/news/development/14542
सोमवार, पुष १६, २०७५
नेपाल विद्युत् प्राधिकरणले अब सहायक कम्पनीमार्फत मात्रै जलविद्युत् आयोजनाहरूमा लगानी गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको विद्युत् प्राधिकरणले कम्पनीमार्फत मात्र जलविद्युत्मा लगानी गर्न लागेको हो । प्राधिकरणका अनुसार पाँच वर्षभित्र २ खर्ब २९ अर्ब ५४ करोड लगानी गर्ने योजना छ । हाल निर्माणाधीन ६० मेगावाटको त्रिशूली ३ ए र कुलेखानी तेस्रोबाहेक अन्य सबै आयोजनाहरू अब कम्पनीमार्फत अघि बढ्नेछन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीमार्फत आयोजनाहरू अघि बढाइरहेको बताए ।प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५-७६ मा २६ अर्ब ८३ करोड सहायक कम्पनीमा लगानी गरेको छ भने २०७६-७७ मा ३६ अर्ब ३० करोड, २०७७-७८ मा ३७ अर्ब ९३ करोड, २०७८-७९ मा ४८ अर्ब ४६ करोड र २०७९-८० मा ८० अर्ब २ करोड लगानी गर्ने योजना छ । प्राधिकरणले अघि बढाएका आयोजनाका लागि चालू वर्षमा ६ अर्ब ५७ करोड र २०७६-७७ मा ४ अर्ब ५३ करोड लगानी गर्न लागेको छ । त्यसपछि भने प्राधिकरण आफैले कुनै आयोजना बनाउने छैन । प्राधिकरणले सहायक कम्पनीमार्फत ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीका साथै ३७ मेगावाटको त्रिशूली ३ बी र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना अघि बढाइरहेको छ भने सहायक कम्पनी चिलिमेले २ सय ७० मेगावाट बराबरका रसुवागढी, साञ्जेन र मध्यभोटेकोसी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । १ सय ८० मेगावाटको आँधीखोला जलाशय, ८ सय २८ मेगावाटको उत्तरगंगा जलाशय, ८ सय ३० मेगावाटको दूधकोशी, ७ सय ६२ मेगावाटको तमोर जलाशय, ६०.२ मेगावाटको मोदी जलविद्युत्, २१० मेगावाटको चैनपुर सेती, १५० मेगावाटको रूपाताल पम्प स्टोरेज पनि प्राधिकरणले कम्पनी मोडेलमा अघि बढाउन लागेको छ ।
नियमन आयोगमा उपाध्याय सिफारिस
नेपाल विद्युत् नियमन आयोगको अध्यक्षका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका पूर्वसचिव अनुपकुमार उपाध्याय तथा सदस्यका लागि चार जनाको नाम सिफारिस गरिएको छ ।नियमन आयोगको सिफारिसका लागि मन्त्रालयका सचिव डा. सञ्जय शर्माको संयोजकत्वमा रहेको छनोट कमिटीले उपाध्यायलाई अध्यक्ष र अन्य चार जना सदस्यको लागि सिफारिस गरेको हो । कानुनतः एक वर्ष अघिदेखि नै सक्रिय भइसकेको नियमन आयोग नेपालको ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण निकायको रूपमा हेरिएको छ । मन्त्रालय स्रोतका अनुसार सदस्यका लागि सिफारिस भएकामा रामप्रसाद धिताल, रामेश्वर कलवार, रामकृष्ण खतिवडा र भागिरथी भट्टराई ज्ञवाली छन् । छनोट समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि मात्र उनीहरूको नियुक्ति हुनेछ । उपाध्यायले खुला प्रतिस्पर्धाको अन्तिम मितिको दुई दिनअघि मात्र ऊर्जा सचिवबाट राजीनामा दिएर अध्यक्षका लागि आवेदन दिएका थिए । दुई दशकभन्दा बढी ऊर्जा क्षेत्रमै विताएका उपाध्याय अनुभवी र विषयविज्ञको रूपमा चिनिन्छन् । 

Sunday, December 30, 2018

राजनीतिसँगै व्यावसायिक कालिज पालनमा

आइतवार, पुष १५, २०७५
काठमाडौ-दिलु पन्त नेकपाकी केन्द्रीय सदस्य हुन् भने नरेश शाही नेकपा निकट युवा संघका महासचिव हुन् । त्यसैगरी सुशील भट्टराई, बाबुराम श्रेष्ठ, ज्ञानेन्द्र तिमल्सिना र दिपक दुवाडी संघका केन्द्रीय सदस्य हुन् । उनीहरू प्रायः राजनीति गतिविधिमै सक्रिय हुन्छन् तर आजभोलि उनीहरूको दिनचर्या फेरिएको छ । राजनीतिसँगै यो समूहले उपत्यकाभित्र व्यावसायिक रूपमा कालिज पालन र कालिज रेष्टुराँको व्यवसाय पनि सुरु गरेका छन् । 
भट्टराई अध्यक्ष र श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत भएर दर्ता गरेको एभरेस्ट वाइण्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले मासुका लागि काठमाडौंको दक्षिणकाली नगरपालिका–४ चाल्नाखेतमा कालिजको व्यावसायिक पालन सुरु गरेको छ भने बागबजारमा कालिज रेष्टुराँ सञ्चालनमा ल्याएको छ । “राजनीति गर्ने व्यक्तिले आफ्नो जीवनयापनका लागि व्यवसाय पनि गर्नुपर्छ भनेर कालिज पालन र रेष्टुराँ सुरु गरेका हौं,” महासचिव शाहीले भने, “राजनीतिसँगै अहिले व्यवसायमा पनि सक्रिय भएका छौं, व्यवसायलाई प्रदेशमा समेत विस्तार गर्ने योजना बनाएका छौं ।”
२०६८ सालमा इटाली पुगेका शाहीे फर्कने बेलामा बिहान ९ बजेको प्लेन उडान समय बेलुका ४ बजे सरेपछि सोही क्रममा रेती भन्ने ठाउँमा कालिजको फार्म हेर्न गएका थिए । त्यो फर्म हेरेपछि नेपालमा पनि उनलाई कालिज व्यवसाय गर्ने इच्छा जाग्यो र एउटा समूह मिलेर त्यसलाई अघि बढाए । वन ऐनमा पालन गर्न मिल्ने तर बेच्न नमिल्ने थियो, त्यो वन ऐन संशोधन भएर कालिजको मासु बेच्न मिल्ने बन्यो । कम्पनी दर्ता भए पनि ‘रिङ नेक’ जातको कालिज साइटीसमा सूचीकृत नभएको सिफारिससँगै उनीहरूले कृषि मन्त्रालयसँग कालिज पालनका लागि स्वीकृत लिए । “फ्रान्सबाट ल्याएका १० हजार २७५ अण्डामध्ये ह्याचारीका माध्यमबाट करिब चार हजार चार सय बच्चा उप्पादन भए ।” अध्यक्ष भट्टराई भन्छन्, “चाल्नाखेलमा ११ रोपनी क्षेत्रफलमा पूर्वाधार बनाएर पालिएका कालिजको मासु बिक्री गर्न थालेका छौं, बागबजारमा हालै कालिज रेष्टुराँसमेत सञ्चालनमा ल्याएका छांै ।” उनका अनुसार, हाल दैनिक २० वटासम्म कालिज बिक्री भइरहेको छ । एउटा कालिजको मूल्य फार्ममा ३ हजार र बागबजारमा ३ हजार ५ सय पर्छ । 
डेढ करोड लगानीमा सुरु गरेको फार्ममा कालिज हेर्न आउनेको भीड छ । कालिजको मासु खाएमा सुत्केरी महिलालाई बढी शक्ति दिने तथा युरिक एसिडलगायतका बिरामीको रोग निको हुने विश्वास गरिन्छ । माइनस १६ देखि ३० डिग्रीको तापक्रमसम्म कालिज बाँच्ने फार्म इन्चार्ज धीरेन्द्र शाही बताउँछन् । “सुरुमा बचाउन मुस्किल परे पनि ठूला हुँदै गएपछि सहज भएको छ, दैनिक तीन पटक दाना र दुई पटक पानी खुवाउनुपर्छ ।”
पहिला कुखुराकै ह्याचरी प्रयोग गरेका कारण सुरुमा ९ हजार बच्चा हुन देखिए पनि आधामात्र बच्चा जन्मेपछि उनीहरूले कालिजका लागि ह्याचरी ल्याउने लागेका छन् भने आगामी जेठसम्ममा दाना उद्योगसमेत सञ्चालन गर्ने योजना बनाएका छन् । शाही आगामी जेठसम्ममा हाल भएका पोथी कालिजबाट ४० हजार बराबर कालिज उत्पादन हुने तथा त्यसका लागि प्रतिदिन २४ क्विन्टल दाना आवश्यक पर्ने हुनाले त्यसलाई लक्षित गरी दाना उद्योग सञ्चालन गर्न लागेको बताउँछन् । 
समूहले काठमाडौंमा ५÷६ वटा कालिज रेष्टुराँका साथै ६ प्रदेशमा कालिज फार्म र रेष्टुराँ सञ्चालन गर्ने योजना बनाएको छ । हालसम्म पोखरा, पाल्पा, इलाम, अर्घाखाँची लगायतमा फार्म र रेष्टुराँ सञ्चालन गर्ने तय भइसकेको छ भने अन्य क्षेत्रमा स्थानको खोजी हुँदैछ । कम्पनीले ५० प्रतिशत तथा स्थानीयको ५० प्रतिशत सेयरमा कालिज फार्म र रेष्टुराँ गर्ने योजना बनाएको शाहीले बताए । बागबजारको कालिज रेष्टुराँले भने कालिज खानाका साथै सुप, भुटन, तास, पांग्रा, कलेजो, आन्द्रालगायतका विभिन्न परिकार बनाएर सेवा दिइरहेको छ । 
हालसम्म बिमाको सुविधा नभएकाले समस्या भोगिरहेका उनीहरूले बीमा समितिले बल्ल कृषि मन्त्रालयलाई यसबारे पत्र लेखेको जनाएका छन् ।

Saturday, December 29, 2018

निजी क्षेत्रको सहभागितामा चैतमा लगानी सम्मेलन

शुक्रवार, पुष १३, २०७५
सरकारले निजी क्षेत्रको सहआयोजनामा आगामी चैतमा ‘नेपाल लगानी सम्मेलन’ गर्ने भएको छ । लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना तथा नीजि क्षेत्रको सह–आयोजनामा लगानी सम्मेलन गर्न लागिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्ससमेतको सहभागितामा बोर्ड र विभिन्न मन्त्रालयले आगामी चैत १५ र १६ गते लगानी सम्मेलन हुन लागेको हो । कृषि, ऊर्जा, भौतिक पूर्वाधार, औद्योगिकलगायतका पाँच विषयलाई केन्द्रित गरेर सम्मेलन गर्न लागिएको लगानी बोर्डका उपाध्यक्ष एवं सम्मेलनका लागि गठित निर्देशक समितिका संयोजक समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार, विश्व बैंक, एसियाली विकास बैंकलगायतका दाताका साथै विभिन्न मित्र राष्ट्रहरू, विकास साझेदारलगायतको सहभागिता रहने सम्मेलनमा निर्माणका लागि तयारीमा रहेका र सम्भाव्यता अध्ययन भएका आयोजनाहरू प्रस्तुत गर्न लागिएको छ । “तुलनात्मक रूपमा फाइदा हुने, छिमेकी बजारमा बिक्रीका लागि प्रतिस्पर्धी हुन सक्ने खालका उद्योगमा लगानी गर्न सम्भाव्य परियोजना सम्मेलनमा प्रस्तुत गर्नेछौं,” उनले भने “सम्मेलन विदेशी लगानी आकर्षित गर्नका लागि सफल हुने अपेक्षा गरेका छौं ।”
नेपालमा लगानी गर्न कानुनी र प्रक्रियागत रूपमा झन्झट रहेको भन्दै गुनासो आइरहेका बेला स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका लागि बोर्ड तथा विभिन्न मन्त्रालयले डेढ दर्जन कानुन र नियमावली परिमार्जन गर्न लागेका छन् । अर्थमन्त्री डा. खतिवडाले आधा दर्जन ऐन र नियमावली मन्त्रिपरिषद्मा आइसकेको तथा एक दर्जन प्रक्रियामा रहेको भन्दै सरकारले कानुन र नियमावलीलाई लगानीमैत्री बनाउने बताए । उनका अनुसार, डुइङ बिजनेसको सुधार ल्याउन विश्व बैंकको सहयोगमा उपर्युक्त नीति व्यवस्थापनका लागि अघि बढेको छ । सार्वजनिक नीजि साझेदारी (पीपीपी) लाई प्रबद्र्धन गर्ने शक्तिशाली निकायको रूपमा लगानी बोर्डलाई अघि बढाउन लागिएको छ ।
बोर्डका अनुसार, सार्वजनिक खरिद ऐन, कम्पनी ऐन, विदेशी विनिमय ऐन, औद्योगिक व्यवसायिक ऐन र नियमावली, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा), विशेष आर्थिक क्षेत्र ऐन, बौद्धिक सम्पत्ति ऐन, जग्गा प्राप्ति, वन तथा वातावरणसँग सम्बन्धित नियमावली परिमार्जन गर्न लागिएको छ । त्यसैगरी हेजिङ फन्डको व्यवस्थाका लागि मन्त्रिपरिषद्मा समेत प्रस्ताव पुगेको छ । “लगानी प्रवद्र्धनात्मक वातावरणका लागि नेपालको अवस्था पछाडि नै छ, लगानीकर्ताका लागि सम्मेलन एउटा उपर्युक्त थलो हो, यसले लगानीको प्रवद्र्धन गर्छ,” लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, “छलफल गरेर प्रत्येक प्रदेशबाट ४÷५ परियोजना समावेश गर्न लागेका छौं, अहिले लगानी बोर्डले ३० वटा सम्भावित अध्ययन भएका परियोजनाबारे विश्लेषण गरिरहेको छ, यी परियोजनाबाट छानेर आर्थिक र प्राविधिक रूपमा आकर्षक प्रस्तुत गर्छौं ।”
उद्योग सचिव यामकुमारी खतिवडाका अनुसार, औद्योगिक व्यावसायिक ऐनमा लगानीकर्तालाई लगानीका लागि सहज वातावरण बनाउन एकद्वार प्रणालीको व्यवस्था गर्न लागिएको छ भने उद्योग मन्त्रालय परिसरमा यसका लागि आवश्यक संरचना निर्माण गर्न लागिएको छ । दुई वर्ष अघिसमेत बोर्ड र उद्योग मन्त्रालयले संयुक्त रूपमा सम्मेलनमा आयोजना गरेका थिए । सम्मेलनमा १४ खर्ब रूपैयाँ बराबरको प्रतिबद्धता भएकोमा हालसम्म २ खर्ब ७५ अर्ब बराबर अर्थात करिब २५ प्रतिशत बराबरका आयोजनाका लागि समझदारी समेत भइसकेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।

भारतसँग विद्युत् आदानप्रदानका लागि 'इनर्जी बैकिङ' मा सहमति

शुक्रवार, पुष १३, २०७५
नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने सहमतिसँगै विद्युत् आदानप्रदानका लागि बाटो खुलेको छ । पाँच वर्षदेखि चर्चामा र दुई वर्षदेखि औपचारिक रूपमा छलफल अघि बढेको इनर्जी बैकिङमा दुई देशबीच सहमतिसँगै विद्युत् आदानप्रदानका लागि बाटो खुलेको हो । 
भारतको राजधानी नयाँदिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति (पावर एक्सेन्स कमिटी–पिइसी)को १३ औं बैठकले दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । “इनर्जी बैकिङका लागि तयार पारिएको निर्देशिकमा सहमति जुटेको छ, यसलाई दुई मुलुकबीचको विद्युत् व्यापार सम्झौता अन्तर्गतका सहसचिव र सचिव स्तरीय कमिटीले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने छ,” कार्यकारी निर्देशक घिसिङले भने, “इनर्जी बैकिङमा नेपाललाई ठूलो सफलता हासिल भएको छ, यो नेपालको ऊर्जा क्षेत्रको ठूलो कोसेढुंगा हो ।”
पीईसीको बैठकले इनर्जी बैकिङको विधि र प्रारूप समेटिएको निर्देशिकाको मस्यौदामा सहमति जुटाइ अन्तिम रूप दिएको छ । इनर्जी बैकिङको विधि र प्रारूप समेटिएको निर्देशिकालाई आगामी जनवरीमा बस्ने दुई मुलुकबीचको सहसचिवस्तरीय ज्वाइन्ट ‘वर्किङ ग्रुप’ र सचिवस्तरीय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ को बैठकले अनुमोदन गर्ने छ । यसअघि ज्वाइन्ट स्टेरिङ कमिटीले इनर्जी बैकिङको विधि र प्रारूप तयार गर्न दुई मुलुकबीचको प्राविधिक कमिटीलाई निर्देशन दिएको थियो । यो सहमतिसँगै बर्षामा बढी भएको बिजुली नेपालले भारतलाई र हिउँदमा अभाव भएको बेला भारतबाट नेपालले विद्युत् आयात गर्नेछ । घटबढको आधारमा विद्युत् वापतको रकम एक अर्का देशलाई भुक्तानी गर्नुपर्नेछ । 
इनर्जी बैकिङमा सहमतिसँगै अब दुई वर्षभित्र दुई देशबीच विद्युत् आदानप्रदान बराबर हुने देखिएको छ । विद्युत् प्राधिकरणको तथ्यांकले आर्थिक वर्ष २०७४-०७५ मा १९ अर्ब ३७ करोड बराबरको विद्युत् आयात गरेको थियो । प्राधिकरणका अनुसार, यसमा सहमति भएसँगै दुई वर्षभित्रै आयात र निर्यात बराबर हुने देखिएको हो । विद्युत् प्राधिकरणका अनुसार गत वर्ष २५८२ गिगावाट आवर विद्युत् आयात गरेको नेपालले चालू आर्थिक वर्ष २०७५-०७६ मा इनर्जी बैकिङमार्फत निर्यात गरिएको ४ सय गिगावाट आवर निर्यात र १३०० गिगावाट आवर आयात गर्ने छ । विद्युत् प्राधिकरणको प्रक्षेपणअनुसार चालू वर्षको बर्षादेखिनै नेपालले भारतलाई विद्युत् निर्यात गर्ने देखिएको छ । विद्युत् प्राधिकरणको प्रक्षेपण अनुसार आर्थिक वर्ष २०७६-०७७ मा ८ सय गिगावाट आवर, आर्थिक वर्ष २०७७-०७८ मा ९ सय गिगावाट आवर र आर्थिक वर्ष २०७८-०७९ मा ७ सय गिगावाट आवर विद्युत् निर्यात हुने देखाएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७६-०७७ देखि दुई देशको आयात निर्यात इनर्जी बैकिङको आधारमा बराबर हुने उल्लेख गरेको छ ।
न्यू बुटवल–गोरखपुर अगाडि बढाउन सहमति
पीईसी बैठकले नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो क्रस बोर्डर प्रसारणलाइन निर्माण अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा सहभागी प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले नेपालले सुरुका ५-७ वर्ष इनर्जी बुक गर्ने प्रस्ताव गरेको र त्यसमा भारत सकारात्मक रहेको बताए । “लाइन निर्माण गर्न करिब ४ वर्ष लाग्ने भएकाले सुरुका ५-७ वर्ष नेपालले इनर्जी बुक गर्ने र त्यसपछि नेपालले उक्त लाइन विद्युत् निर्यातका लागि प्रयोग गर्ने भएकाले सोहीअनुसार लगानीको प्रारूप तयार हुने छ,” उनले भने, “हामीले इनर्जी बुक गरेको ५-७ वर्षमा पनि भारततर्फ विद्युत् लैजाँदा सम्बन्धित विद्युत् निर्यातकर्ताबाट प्रसारण शुुल्क असुल गर्न सक्ने विषयमा सहमति जुटेको छ ।” 
दुई मुलुकबीच विद्युत् आदनप्रदान गर्न निर्माण गरिएको पहिलो ढल्केबर–मुज्जफ्फरपुर ४०० केभी प्रसारण लाइनलाई लगानी योग्य बनाउन नेपालले २५ वर्षसम्म इनर्जी बुक गरेको छ । तर, नेपालले दोस्रो क्रस बोर्डर प्रसारण लाइनमा ५-७ वर्षमात्रै बुकिङ गर्ने भएको हो । “आयोजना निर्माण तथा सञ्चालनका लागि भारततर्फ स्थापना हुने कम्पनीमा नेपाललाई ५० प्रतिशतसम्म सेयर लगानी गर्न दिन भारतीय पक्ष सकारात्मक देखिएको छ”,प्रवक्ता अधिकारीले भने । पहिलो क्रस बोर्डर प्रसारण लाइन निर्माण तथा सञ्चालनका लागि भारतर्फ निर्माण भएको कम्पनीमा प्राधिकरणको १० प्रतिशतमात्रै सेयर छ ।
बिजुलीको भाउ बढेन
भारतले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका ल्याएको र त्यसको अन्तरवस्तुमा छलफलपछि मात्र विद्युत्को भाऊ तय गरिने सहमति पनि बैठमा भएको छ । सो अनुसार भारतका विभिन्न नाकाबाट आयात गरिएको बिजुलीको भाऊ नबढेको प्रवक्ता अधिकारीले जानकारी दिए । 
बैठकमा प्राधिकरणले उत्तर बिहार विद्युत् वितरण कम्पनीमार्फत आयात गरिरहेको विद्युत्को खरिद दरका विषयमा पनि छलफल भएको थियो । प्राधिकरणले पीईसीले तय गरेको मूल्यका आधारमा प्राधिकरणले बिहार, उत्तरप्रदेश र उत्तराखण्डबाट आवश्यक परेको बेला टेक एण्ड पेका आधारमा विद्युत् आयात गरिरहेको छ । भारतले केही दिन अघि मात्रै छिमेकी मुलुकसँगको विद्युत् आयातनिर्यातका लागि निर्देशिका जारी गरेकाले त्यसको अन्तरवस्तुमाथि छलफल गरेर मात्रै खरिद दरकाबारेमा आवश्यक निर्णय गर्ने सहमति भएको प्रवक्ता अधिकारीले बताए । “नयाँ निर्देशिका आएको सन्दर्भमा पिइसीको सान्दर्भिकता हुने-नहुने लगायतका विष्यामा सम्बन्धित निकायहरूसँग थप छलफल गरी आवश्यक निर्णय गर्ने सहमति भएको छ”,उनले भने, “यसले हाल भइरहेको विद्युत् आयातलाई भने कुनै असर पार्ने छैन ।”

प्रधानमन्त्रीद्वारा धरहराको शिलान्यास, स्थानीयको विरोध

शुक्रवार, पुष १३, २०७५
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको निर्माण दुई वर्षमा सकिने बताएका छन् ।
ओलीले २०७२ सालको भूकम्पले क्षति पुर्याएको सुन्धारास्थित धरहरास्थलमै बन्न लागेको आधुनिक धरहराको शिलान्यास कार्यक्रममा बोल्दै ऐतिहासिक मौलिकतालाई जोगाउने गरी बनाइने प्रतिबद्धता पनि जनाए । 
मुलुकमा विकासको नयाँ लहर सुरु भएको भन्दै उनले धरहरा पुनर्निर्माणको जिम्मा लिएको निर्माण कम्पनी रमन कन्सट्रक्सनलाई तोकिएकै समयमा काम सम्पन्न गर्न आग्रह गरे । “आधुनिक धरहरामा चढेर जवान युवाले मात्र होइन ज्येष्ठ नागरिकले पनि काठमाडौंको सुन्दर दृश्यावलोकन गर्न सक्नेछन्,” उनले भने, “धरहरा नेपाल र नेपालीको प्यारो सम्पदा भएको उल्लेख गर्दै यसको पुनर्निर्माण गर्ने संकल्प अघि बढाइएको पनि जानकारी दिए ।” 
प्रधानमन्त्री ओलीले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको भन्दै अब बन्ने धरहराले इतिहास झल्काउने, आधुनिकता टल्काउने पनि बताए । 
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धरहरा पुनर्निर्माणका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । २९ रोपनी क्षेत्रफलमा बन्न लागेको २२ तलाको आधुनिक धरहराको उचाइ ७९.२ मिटरको हुनेछ । त्यसैगरी धरहराको वरिपरि वाटर फाउन्टेन सहितको सुन्दर उद्यान तथा रेस्टुराँ निर्माण हुनेछ । यस्तै, रमन कन्स्ट्रक्सनले ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २ सय ४० रुपैयाँमा धरहरा पुनर्निर्माणको जिम्मा पाएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक स्तम्भ धरहराको बिहीबार शिलान्यास गरिरहँदा धरहरा परिसर बाहिर भने प्रहरीले स्थानीय र बटुवालाई धरपकड गरेको छ । प्रधानमन्त्री ओलीले धरहराको शिलान्यास गरिरहँदा धरहरा जोगाउनुपर्छ भन्ने अभियानमा लागेका राष्ट्रिय सम्पदा धरहरा बचाउ अभियान स्थानीय संघर्ष समितिका अध्यक्ष वेद गौतमसहित केही स्थानीय र बाटोमा हिंडिरहेका बटुवासमेत एक दर्जनलाई प्रहरीले पकडेर लगेको हो । 
धरहराको दक्षिणतर्फ पर्ने सडक छेउकै किता नम्बर ५१० को भीम मुक्तेश्वर गुठीको जग्गामा सीमा मिचेर बन्न लागेको व्यावसायिक भवन निर्माणमा सबैले बेलैमा ध्यान दिउँ भन्दै त्यहाँ उपस्थितलाई पत्रमार्फत ध्यानाकर्षण गराउने अभियानमा स्थानीयहरु रहेका छन् । भीमसेन स्तम्भ (धरहरा) को दक्षिणतर्फ अवस्थित सार्वजनिक जग्गामा भइरहेको व्यावसायिक निर्माणकार्य रोकिनुपर्ने र सडक एवं राष्ट्रिय सम्पदा धरहरा जोगाउनुपर्ने माग उनीहरूको छ ।

Thursday, December 27, 2018

गरिबलाई आवास, जोखिमयुक्तलाई एकीकृत वस्ती

 बिहिवार, पुष १२, २०७५
गरिबीको रेखामुनि रहेका र प्रकोपको कारणले घरबारविहीन भएका परिवारलाई सरकारले सुरक्षित नागरिक आवास निर्माण गर्ने निर्णय गरेको छ । संविधानले नागरिकको मौलिक हकको रूपमा रहेको सुरक्षित आवास सुनिश्चित गर्ने उल्लेख भएको तथा चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समेत यसलाई समावेश गरेको सरकारले उनीहरूको लागि सुरक्षित आवास निर्माण गर्ने निर्णय गरेको हो । सरकारले चालू वर्षमा यसका लागि १ अर्ब रुपैयाँ बराबर बजेट छुट्याएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकबाट सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ पारित गरेसँगै गरिबीको रेखामुनि रहेका र प्रकोपको कारणले घरवारविहीन भएका परिवारका लागि सुरक्षित आवास निर्माणको निर्णय भएको सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले जानकारी दिए । 
सुरक्षित आवास निर्माणलाई अघि बढाउनका लागि कार्यविधिअनुसार सहरी विकासमन्त्रीको संयोजकत्वमा सरोकारवाला सरकारी निकायका प्रतिनिधि रहेको केन्द्रीय सुरक्षित नागरिक आवास समन्वय समिति गठन गरिएको छ । त्यसैगरी सम्बन्धित निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनीधि सभाका सदस्यको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख, सम्बन्धित स्थानीय तहको प्रमुख तथा सहरी विकास भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई वा सघन सहरी तथा भवन निर्माण आयोजना प्रमुख वा निजले तोकेको अधिकृतस्तरको प्राविधिक प्रतिनीधि सदस्य–सचिव रहने गरी सुरक्षित नागरिक आवास समन्वय समिति समेत गठन गरिएको छ । सहरी विकास मन्त्रालय र यसका विभिन्न निकाय तथा स्थानीय तहले संयुक्त रूपमा गरिबी रेखामुनि रहेका तथा प्रकोपबाट घरवारविहीन बनेका परिवारको पहिचान, छनोट र आवास निर्माणको प्रक्रिया अघि बढाउने कार्यविधिमा उल्लेख छ । 
सरकारले भौगोलिक रूपमा विकट तथा विपद्को उच्च जोखिमयुक्त स्थानमा बसोबास गरेका घर परिवारलाई स्थानीय तहको सहयोग र सहकार्यमा नजिकको सुरक्षित स्थानमा एकीकृत वस्ती विकासको प्रकृया पनि अघि बढाउने निर्णय गरेको छ । सेवा सुविधा पुर्याउन कठिन, विकासका निम्ति वाधक, अपायक र असुरक्षित स्थानमा रहेका छिटपुट वस्तीहरूलाई स्थानान्तरण गरी पुनर्वास गराउन तथा आवास सेवा सुविधाहरू पु¥याइ एकीकृत रूपमा जग्गा तथा वस्ती व्यवस्थापनका लागि मन्त्रिपरिषद्ले जोखिमयुक्त वस्ती स्थानान्तरण तथा एकीकृत वस्ती विकाससम्बन्धी कार्यविधि २०७५ पारित गरेको मन्त्री राईले जानकारी दिए । 
जोखिमयुक्त वस्तीको पहिचान गरी एकीकृत वस्ती विकासका लागि केन्द्रमामा केन्द्रीय एकीकृत वस्ती विकास समन्वय समिति तथा स्थानीय तहलाई समेत समेटेर जिल्ला विपद् व्यवस्थापन समिति गठन गर्ने कार्यविधिमा उल्लेख छ । पूर्ण, आंशिक र छिटपुट वा छरपष्ट रूपमा रहेका आवास र वस्ती स्थानान्तरण गरी एकीकृत वस्ती बनाउनका लागि जग्गा प्राप्ति, जग्गा विकास, पूर्वाधार विकाससँगै आयआर्जनका कार्यक्रम अघि बढाउने निर्णय भएको मन्त्रालयका सचिव डा. रमेश सिंहले जानकारी दिए । उनका अनुसार, न्यूनतम २५ लाभग्राही परिवारसम्मले एकीकृत वस्ती विकासमा सहभागी हुन सक्नेछन् । हिमाली क्षेत्रमा ५ लाख, पहाडीमा ४ लाख र तराई क्षेत्रमा ३ लाख अनुदान आवास निर्माणका लागि दिइने गरी तयार गरेको कार्यविधिमा पहिला किस्ताको रूपमा ३० प्रतिशत, दोस्रो किस्ताको रूपमा ५० प्रतिशत र तेस्रो किस्ताको रूपमा २० प्रतिशत दिने उल्लेख छ । कार्यविधिले खरको छाना भएको परिवारका लागि जस्ता हाल्नका लागि ५० हजार रुपैयाँसम्म दिने उल्लेख गरेको छ । 
विगतमा सहरी विकास मन्त्रालयअन्तर्गत अघि बढेको र हाल प्रदेश मातहतमा पुगेको जनता आवास कार्यक्रम कार्यान्वयन नमूना कार्यविधि २०७५ समेत सोमबार मन्त्री परिषदले पारित गरेको छ । आर्थिक वर्ष २०६६÷०६६ देखि बजेट तथा कार्यक्रममा व्यवस्था भएको तथा २०७३ सालमा कार्यविधि बनाएको सो कार्यक्रम हाल प्रदेशमा हस्तान्तरण गरिएको तथा प्रदेश सरकारलाई काम गर्न सहज होस् भनेर नमूना कार्यविधि निर्माण गरिएको मन्त्री राईले जानकारी दिए । यस अन्र्तगत हालसम्म १८ हजार आवास निर्माण भैसकेको र निर्माणाधीन ३९ हजार आवास प्रदेशलाई हस्तान्तरण गरेको सरकारले जानकारी दिएको छ । 

धरहरामा समन्वय भएन
सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले धरहरा पुनर्निर्माणमा आफ्नो मन्त्रालयसँग समन्वय नभएको गुनासो गरेका छन् । बिहीबार प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्न लागेको सो धरहरा पुनर्निर्माणका लागि सरोकारवालासँग समन्वय गर्नुपर्ने भएपनि मन्त्रालयसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कुनै समन्वय नगरेको उनको गुनासो थियो । “राष्ट्रिय भवन संहितामा सहरी मन्त्रालय नै मुख्य सरोकारलाा निकाय भए पनि हालसम्म समन्वय गरिएको छैन,” उनले भने, “पुनर्निर्माण प्राधिकरणको अवधि निश्चित वर्षपछि सकिन्छ, त्यसपछिको हेर्ने जिम्मेवारी निकाय कुन हो भन्ने कुरा आउँछ, भवन संहितालगायतको प्राविधिक ज्ञान रहेको मन्त्रालयसँग समन्वय नै नहुनु दुःखद हो ।”

Tuesday, December 25, 2018

बल्ल ४५ % निजी आवास

 बुधवार, पुष ११, २०७५
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापना योजना बनाइ तीन वर्षभित्र शतप्रतिशत निजी आवास निर्माण गर्ने घोषणा गरेको थियो । तर, यस अवधिमा जम्मा ४५ प्रतिशतमात्र निजी आवास निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापना योजना बनाइ तीन वर्षभित्र शतप्रतिशत निजी आवास निर्माण गर्ने घोषणा गरेको थियो । तर, यस अवधिमा जम्मा ४५ प्रतिशतमात्र निजी आवास निर्माण सम्पन्न भएको छ ।पुनर्निर्माण प्राधिकरणले आफ्नो तीन वर्षे प्रगति प्रतिवेदन सार्वजनिक गर्न मंगलबार आयोजित कार्यक्रममा हालसम्म ४५ प्रतिशतमात्र निजी आवास निर्माण भएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार ८ लाख ८४ हजार ८ सय लाभग्राही रहेकोमा ७ लाख ४२ हजार १ सय ३५ भूकम्प प्रभावितले अनुदान सम्झौता गरेकोमा ३ लाख ३७ हजार ३ सय १९ ले मात्र निजी आवास निर्माण गरेका हुन् । २ लाख ३३ हजार ३ सय ४३ अर्थात ३२ प्रतिशतले निजी आवास निर्माण गरिरहेको र बाँकीले निर्माण सुरु गर्न नै बाँकी रहेको प्राधिकरणले जनाएको छ । “तीन वर्षभित्र निजी आवास निर्माण सम्पन्न गर्ने घोषणा गरिएको थियो तर राजनीतिक अस्थिरता र प्राधिकरण नेतृत्वमा आएको फेरबदलको समस्याले पूरा गर्न सकिएन,” प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, “अबको दुई वर्षमा पूरा गर्छौ, पुनर्निर्माणका अधिकांश काम स्थानीय तहमा हस्तान्तरण गरेका छौं, तोकिएकै समयमा पूरा हुन्छ ।
”प्राधिकरणका अनुसार हालसम्म ४ लाख ३६ हजार ९ सय ११ गुनासो दर्ता भएकोमा पुनरावलोकनबाट १ लाख ३१ ह्जार ७ सय ३२ थपिएका छन् भने प्राधिकरणले जोखिम वर्गको रूपमा पहिचान गरिएका १८ हजारमध्ये २ हजार प्रभावितले मात्र अनुदान पाएका छन् । प्राधिकरणले चालू वर्षभित्र पहिलो किस्ता लिएका सबै प्रभावितको तथा  आर्थिक वर्ष २०७६-०७७ भित्र गुुनासो, परम्परागत र स्थानान्तरण वस्तीका साथै जोखिम वर्गका सबैको पुनर्निर्माण गरिसक्ने लक्ष्य राखेको छ । प्राधिकरणका अनुसार हाल विद्यालय भवन ५५ प्रतिशत भएको छ भने निर्माणाधीन अवस्थामा २५ प्रतिशत छ । अझै २० प्रतिशत निर्माण हुन बाँकी छ । ७ हजार ५ सय ५३ विद्यालय भूकम्पबाट क्षति भएका थिए । त्यसैगरी करिब ५० हजार कक्षा कोठा क्षति भएकोमा ३६ प्रतिशत सम्पन्न भएका छन् भने ३४ प्रतिशतको अझै काम सुरु भएको छैन । १ हजार १ सय ९७ स्वास्थ्य केन्द्रमध्ये ५४ प्रतिशत सम्पन्न भएको छ भने ३४ प्रतिशतको अझै सुरु भएको छैन । प्राधिकरणका अनुसार ४ सय १५ सरकारी भवनमध्ये ६० प्रतिशत सम्पन्न भएको छ भने ३५ प्रतिशत निर्माणधीन अवस्थामा छन् । प्राधिकरणले ७ सय ५३ पुरातात्विक सम्पदामध्ये २७ प्रतिशत सम्पन्न भएको, ४१ प्रतिशत निर्माणाधीन र ३२ प्रतिशत निर्माण सुरुनै हुन नसकेको जनाएको छ । भूकम्पबाट ८३ सडक क्षति भएकोमा हालसम्म ४ प्रतिशतसम्म निर्माण सम्पन्न भएको छ भने ४६ प्रतिशत निर्माणाधीन अवस्थामा छ । त्यसैगरी ५० प्रतिशत अझै सुरु हुन सकेको छैन । पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब लागत अनुमान गरिएकोमा हालसम्म १ खर्ब ८६ अर्ब मात्र खर्च भएको प्राधिकरणले जनाएको छ । जुन प्रतिशतको आधारमा २० प्रतिशत भन्दा कम हो । लागतबारे मध्यावधि समीक्षा गरिएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लागत घट्ने बताए तर उनले कति घट्नेबारे निर्णय नभइसकेको जानकारी दिए । 

काम सम्पन्न (प्रतिशत) बाँकी (प्रतिशत)
निजी आवास      ४५      २३
विद्यालय भवन    ५५     २०
कक्षाकोठा         ३६     ३४
स्वास्थ्य संस्था     ५४     ३४
सरकारी भवन     ६०     ५
पुरातात्विक सम्पदा २७   ३२
सडक निर्माण        ४    ५०
स्रोतः पुनर्निर्माण प्राधिकरण

Monday, December 24, 2018

विद्युत् व्यापार निर्देशिकामा भारत लचिलो

http://karobardaily.com/news/development/14274
सोमवार, पुष ९, २०७५
छिमेकी मुलुकहरूसँग विद्युत् व्यापारका लागि भारत सरकारले ल्याएको अन्तरदेशीय विद्युत् व्यापार सम्बन्धी निर्देशिकामा लचिलो बनेको छ । विद्युत् आयात गर्नका लागि भारतीय सरकार वा भारतीय सरकारी कम्पनी वा त्यहीँका निजी कम्पनीको ५१ प्रतिशत वा त्योभन्दा बढी लगानी हुनुपर्ने प्रावधानप्रति नेपाल लगायतका छिमेकी राष्ट्रहरूले संशोधन गर्नुपर्ने अडान राखेपछि निर्देशिकामा लचिलो बनेको हो । २०१६ डिसेम्बर ५ मा ‘अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका’ ल्याएको भारतको विद्युत् मन्त्रालयले हालै परराष्ट्र मन्त्रालयमार्फत नेपाललाई पठाएको नयाँ ‘विद्युत् आयात–निर्यात (अन्तरदेशीय) निर्देशिकामा ५१ प्रतिशतसम्म हुनुपर्ने बुँदा नम्बर ६.१ को प्रावधान हटाएको छ । भारत सरकारले निर्देशिका ल्याएपछि तत्कालीन ऊर्जा मन्त्रालयले नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) को मर्मविपरित भएको भन्दै सबै व्यापारी, उत्पादक र बिक्रीकर्तालाई बिनाभेदभाव विद्युत् आदानप्रसदान गर्न दिइनुपर्ने लगायतका परिमार्जन गर्नुपर्ने प्रतिक्रिया पठाएको थियो । दुई देशबीच भएको सचिवस्तरीय बैठकमा समेत निर्देशिकालाई पुनरावलोकन गरेर औपचारिक धारणा बनाउने निर्णय भएको थियो । ३ पुसमा भारतले परराष्ट्र मन्त्रालयमार्फत ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा पठाएको नयाँ निर्देशिकाले प्रतिशत नतोकेपनि ‘सेयर संरचना’लाई हेरेर मात्र र भारतीय रुचीमा मात्र विद्युत् आयात निर्यात गर्न सकिने भने संकेत गरेको छ ।भारत सरकारले निर्देशिकामा संशोधन गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसले विद्युत् आदानप्रदानका लागि ढोका खुलेको प्रतिक्रिया दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले परिमार्जनसँगै नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने बाटो खुलेको प्रतिक्रिया दिए । “निर्देशिका परिमार्जनले जलविद्युत् लगानी प्रवद्र्धनका लागि सकारात्मक भूमिका खेलेको छ, यसले दुई देशका साथै वंगलादेश लगायतका क्षेत्रीय विद्युत् आयात-निर्यातका लागि ढोका खुलेको छ,” उनले भने, “यसले निजी क्षेत्रलाई समेत जलविद्युत् विकासका लागि मार्गप्रशस्त गर्छ ।”पहिलाको निर्देशिकामा विद्युत्लाई भारतले रणनीतिक वस्तुको रूपमा परिभाषित गरेकोमा नयाँले यसलाई हटाएर खुला गरेको छ । यसैगरी पहिला अन्तरदेशीय प्रसारणलाइन भारतको अन्तर्गत रहने उल्लेख भए पनि नयाँ निर्देशिकाले आफ्नो देशभित्रको संरचना सम्बन्धित देशअन्तर्गत रहनेगरी संशोधन गरिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरे भने रणनीतिक वस्तुको रूपमा रहेको परिभाषालाई हटाएर खुला वस्तुको रूपमा लिएपछि र भारतीय लगानीको व्यवस्था भएपछि धेरै सहज भएको बताउँछन् । “नयाँ निर्देशिकाले पीटीएअनुसार अघि बढ्ने तथा भारतीय विद्युत् संरचना प्रयोग गरेर तेस्रो मुलक र भारतीय स्वीकृतिमा तेस्रो मुलुक जाने संरचना बनाउनका लागि खुला गरेको छ,” उनी भन्छन् । यस व्यवस्थाले नेपालबाट बंगलादेशमा बिजुली बेच्ने योजनालाई सहजीकरण गर्ने उनको बुझाइ छ । तर निर्देशिकाको ६.२ बुँदामा भारतको आधिकारिक निकायले स्वँपुजी (इक्वेटी) संरचनाको आधारमा अघि बढाउने र सेयर संरचना परिवर्तन भएमा ३० दिनभित्र जानकारी दिएर स्वीकृतिपछि मात्र अघि बढाउने उल्लेख गरेकोले भारतीय रुचीबिना विद्युत् आयात हुन नसक्ने संकेत गरेको छ । बुँदा नं. ६. १ ले माग र आपूर्तिबीच सन्तुलनको कुरा गर्दै वृहत नीतिगत रुचीको आधारमा यसलाई परिवर्तन गर्न सक्ने उल्लेख गरेको छ । यसले पनि अन्य देशको लगानी रहेको विद्युत् व्यापारमा समस्या हुने देखाएको छ । तर, मन्त्रालयका प्रवक्ता सबै कुरा पीटीएको आधारमा हुने तथा आयात गर्ने विद्युत् उत्पादकको आधारिक संरचना हेर्न सक्ने व्यवस्थालाई अन्यथा लिन नहुने बताउँछन् । निजी क्षेत्रका स्वदेशी जलविद्युत्् प्रबद्र्धकबाट नेपाल विद्युत्् प्राधिकरणले उत्पादन खरिद गर्ने सम्झौता भएकाले त्यसको बजारको रूपमा भारत लगायत तेस्रो देशलाई प्रयोग गर्न सकिने व्यवस्थाले विद्युत् बजार सुनिश्चतता भई स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित हुने र स्वदेशमा जलविद्युत् उत्पादन ह्वात्तै बढ्ने अपेक्षा मन्त्रालयको छ । निजी प्रवद्र्धकहरूले भने भारतले गरेको निर्देशिका परिमार्जनले विद्युत् व्यापारलाई खुला गर्नु स्वागतयोग्य भएपनि उत्पादन बढाउनका लागि अहिले देखिएका अवरोधहरू हटाउन सके मात्र यसबाट देशले लाभ लिन सक्ने बताउँछन् । “निर्देशिकामा परिवर्तन भएर खुल्ला गरिएको भए, त्यो स्वागत योग्य छ,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष शैलेन्द्र गुरागाईंले भने, “अहिले भारतबाट झण्डै एकतिहाई विद्युत् आयात भइरहेको छ, पहिला निर्यात गर्ने विद्युत्का लागि अवरोधहरू हटाउनुपर्छ, उत्पादन बढाउने कुरा प्राथमिकतामा हुनुपर्छ ।” उनका अनुसार विद्युत् उत्पादन बढाउनका लागि अवरोधकको रूपमा वन तथा वातावरण प्रकृया, विष्फोटक पदार्थ अभाव, वित्तीय व्यवस्थापन लगायतका अवरोधहरू उस्तै रहेकोले यो हटाउन सकेमात्र जलविद्युत् क्षेत्रमा अन्तरदेशीय व्यापार खुल्ला हुँदा पनि खुसी हुने अवस्था आउँछ । नयाँ निर्देशिकाले उत्पादित विद्युत् बढी भए नेपालको विद्युत् व्यापार गर्न अधिकार प्राप्त निकायको स्वीकृत लिएर भारत पठाउन सक्नेछन् । भारतका सरकारी वा निजी कम्पनीले उत्पादन गरेको विद्युत् विदेश निर्यात गर्न चाहे केन्द्रीय विद्युत् नियमन आयोग (सिइआरसी) को अनुमति लिनुपर्ने उल्लेख छ । हाल भारतले भुटानबाट विद्युत् आयात गरिरहेको छ भने नेपाल र वंगलादेशलाई निर्यात गरिरहेको छ । भविष्यमा दुई देशबीच रुची मिलेमा नेपालले पनि विद्युत् निर्यात गर्न सकिने देखिएको छ । 

विकासकर्ताले आफैं पूर्वाधार बनाए भुक्तानी पाउने

http://karobardaily.com/news/development/14229
 आइतवार, पुष ८, २०७५
परियोजनाका लागि आवश्यक पर्ने पूर्वाधार विकासकर्ता आफैंले बनाए पनि यसवापतको भुक्तानी पाउने भएका छन् । सरकारले विकासकर्तालाई यस्तो सुविधा दिनेगरी कार्यविधि बनाउने भएको छ । 
सरकार ठूला आयोजनाका लागि आफैंले पूर्वाधार बनाइदिने घोषणा गरे पनि यसमा ढिलाइ भएपछि विकासकर्ताले बनाएर पछि भुक्तानी पाउनेगरी लगानी बोर्डले कार्यविधि बनाउने प्रक्रिया अघि बढाएको हो । निर्देशिका बनेपछि ती परियोजनाले आफैं पहुँचमार्ग, पुल, विद्युत्, खानेपानी, प्रसारण लाइन, सञ्चार लगायतका पूर्वाधार बनाउन पाउनेछन् भने त्यो पूर्वाधार उपयोगको आधारमा सहुलियत पाउनेछन् । 
एक दशकअघि अर्थमन्त्री डा. बाबुराम भट्टराईले निजी क्षेत्रको सिमेन्ट उद्योगमा बिजुली, खानेपानी र मोटरबाटो पु-यााइदिने घोषणा गरेका थिए भने पछिल्लो वषएमा बजेटमार्फत सरकारले यसलाई निरन्तरता दिँदै आएको छ । तर, कार्यान्वयन पक्ष भने फितलो छ । चालू वर्षको बजेटमा समेत आवश्यक सडक र विजुलीमा पूर्वाधार निर्माण गरिने उल्लेख छ । गत भदौको पहिलो साता बसेको लगानी बोर्डको आवश्यक पूर्वाधार निर्माणका लागि कार्यविधि बनाएर मन्त्री परिषद्मा पठाउने निर्णय गरेको थियो । “विकासकर्ता स्वयंले बनाउने गरी कार्यविधि बनाउने कार्य अघि बढेको छ, पूर्वाधार बनेपछि सो वापतको भुक्तानी सरकारले सम्बन्धित विकासकर्तालाई दिइनेछ,” लगानी बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले भने, “पूर्वाधार त्यो परियोजनाका लागि ‘डेडिकेटेड’ वा सार्वजनिक समेत उपयोग के हुने भन्ने आधारमा सहुलियत दिन लागिएको छ ।” बोर्डका अनुसार डेडिकेटेड भएमा ४० प्रतिशत र पब्लिकका लागि भएमा ६० प्रतिशतसम्म दिने गरी कार्यविधिको मस्यौदा निर्माण भइरहेको छ । आगामी बोर्ड बैठकमा निर्देशिकाको मस्यौदा पेश गरी त्यसमार्फत् मन्त्रिपरिषद्मा लैजाने योजना लगानी बोर्डको छ । सिमेन्टलगायतका खानीजन्य उद्योग र जलविद्युत् लगायतका परियोजनाको पाउने सो सुविधापछि निजी क्षेत्रले सस्तो र छिटो पूर्वाधार निर्माण गर्न सक्नेछ । लगानी बोर्डमार्फत अघि बढेका वा सबै ठूला पूर्वाधार आयोजनाहरूलाई सो सुविधा दिनेबारे छलफल भइरहेको बोर्डले जनाएको छ । उद्योगीहरूले भने सबै उद्योगमा यो सुविधा हुनुपर्ने माग गर्दै आएका छन् ।

Thursday, December 20, 2018

हेटौंडा सिमेन्टमा २२ र उदयपुरमा १९% ऊर्जा बचत

बिहिवार, पुष ५, २०७५
काठमाडौं-ऊर्जा दक्षता कार्यक्रमपछि हेटौंडा सिमेन्ट उद्योगमा २२ प्रतिशत र उदयपुर सिमेन्टमा १९ प्रतिशत ऊर्जा बचत भएको छ । 
बुधबार राजधानीमा जापान सरकारको सहयोगमा सञ्चालित ऊर्जा दक्षता तथा संरक्षणबारे दुई उद्योगको अवस्थाबारे सार्वजनिक गर्न एसियाली उत्पादकत्व संस्था जापान र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र नेपालले आयोजना गरेको कार्यशालामा सो जानकारी दिइएको हो । कार्यक्रमका संयोजक एवं उत्पादकत्व संस्थाका नेपाल प्रतिनिधि कल्याण घिमिरेका अनुसार, दुई वर्ष अघिदेखि हेटौंडा र उदयपुर सिमेन्टमा ऊर्जा दक्षता तथा संरक्षण कार्यक्रम सञ्चालन गरिएकोमा यसबाट हेटौंडामा २२ प्रतिशत र उदयपुरमा १९ प्रतिशत बचत भएको छ । “दुवै उद्योगमा कार्यक्रमपछि धेरै ऊर्जा बचत तथा यसबाट करोडौं मुनाफा भएको देखिएको छ,” उनले भने, “कार्यक्रम प्रभावकारी देखिएको छ, अन्य उद्योगले चाहेमा पनि कार्यक्रम विस्तार गर्ने योजना राखिएको छ ।”
ऊर्जा दक्षता कार्यक्रमले हेटांैडा सिमेन्टमा मात्र वार्षिक रूपमा ८ करोड बराबरको ऊर्जा बचत भएको छ । सिमेन्टका उपमहाप्रबन्धक नवीनकुमार कर्णका अनुसार, वार्षिक रूपमा ३६ करोड बराबरको विद्युत् खपत हुने गरेकोमा २२ प्रतिशत घटेर ७ करोड ९२ लाख बराबर फाइदामात्र भएको छ । 
उदयपुर सिमेन्टमा भने करिब २ करोड ५० लाख बराबरको फाइदा भएको कार्यक्रममा जानकारी दिइएको थियो । सिमेन्टका इन्जिनियर रविचन्द्र पौडेलका अनुसार, पहिला सिमेन्ट कम्पनीबाट वार्षिक ६५ हजार टन उत्पादन भएकोमा हाल १ लाख २३ हजार ५ सय टन उत्पादन पुगेको छ भने विद्युत्को खपत भने १० प्रतिशत बढेको छ । “पहिलाकै विद्युत्मा करिब १० प्रतिशत विद्युत खपत बढे पनि उत्पादन भने ५० प्रतिशत बढेको छ,” उनले भने । उद्योगमा मासिक २०१६ किलोवाट आवर विद्युत् खपत हुने गरेको छ । 
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव मधु मरासिनीले ऊर्जा दक्षता कार्यक्रमले ऊर्जाको बचतसँगै उत्पादनमा समेत ठूलो सहयोग पुगेको बताए । ठूलो उद्योगका साथै नेपालमा रहेका ४ लाख साना तथा घरेलु उद्योगमा समेत ऊर्जा दक्षतालाई अघि बढाउन सकेमा यसले उत्पादन वृद्धिमा सहयोग पुग्नेमा उनको जोड थियो । कार्यक्रममा उत्पादकत्व संस्था जापानको उद्योग विभागका निर्देशक हिकारु होरीगुची, ऊर्जा विशेषज्ञ के योशिदालगायतले ऊर्जा दक्षताबारे चर्चा गरेका थिए । 
कार्यक्रमअन्तर्गत दुई उद्योगमा ऊर्जा दक्षता तथा संरक्षण कार्यक्रम अन्तर्गत ऊर्जा विशेषज्ञको सहभागितामा ऊर्जा दक्ष उपकरण र प्रविधिका साथै सोअनुसार मर्मत संभारसँगै प्रभावकारी विधि अपनाइएको थियो ।

प्रशारणलाइन र सवस्टेसनमा सवा ६ खर्ब लगानी

http://karobardaily.com/news/development/14122
बिहिवार, पुष ५, २०७५
नेपाल विद्युत् प्राधिकरणले आगामी १० वर्षभित्र ६ खर्ब ३४ अर्ब ७० करोड ८० लाख रूपैयाँ बराबरको लगानी गर्ने योजना अघि सारेको छ । सरकारले आर्थिक वर्ष २०७५-७६ को बजेट तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले श्वेतपत्रमार्फत १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेपछि यसलाई लक्षित गर्दै प्राधिकरणले ठूलो लगानी गर्ने योजना अघि सारेको हो । चालू वर्षमा भने सरकारले प्रशारणलाइन र सवस्टेसनका लागि १४ अर्ब ७४ करोड रूपैयाँ बिनियोजन गरेको छ । प्राधिकरण प्रशारणलाइन निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभुषण चौधरीले प्रशारणलाइन निर्माणलाई जोड दिँदै प्राधिकरणले १० बर्षे योजना अघि बढाएको जानकारी दिए ।प्राधिकरणका अनुसार प्रशारणलाइन तथा सवस्टेसनका लागि एक वर्षभित्र २ अर्ब ४९ करोड, ३ वर्षभित्र ४५ अर्ब ९१ करोड, ५ वर्षभित्र ५० अर्ब ७५ करोड तथा १० वर्षभित्र ५ खर्ब ३९ अर्ब ५५ करोड ८० लाख बराबर लगानी गर्ने योजना छ ।  मुलुकभित्र १० हजार ९८ किलोमिटर र अन्तरदेशीय १ हजार ९ सय २ किलोमिटर गरी १२ हजार किलोमिटर प्रशारणलाइन बनाउने योजना राखेको प्राधिकरणले १० हजार ३ सय ३१ एमभीए सवस्टेसन निर्माण गर्ने योजना बनाएको छ । योजनाअनुसार एक वर्षभित्र मुलुकभित्रै ५ सय ३६ किलोमिटर र १ सय ३० किलोमिटर अन्तरदेशीय प्रशारणलाइन र १ हजार ३ सय ७४ एमभीए सवस्टेशन तथा तीन वर्षभित्र मुलुकभित्र २ हजार ५ सय ६९ किलोमिटर प्रशारणलाइन, अन्तरदेशीय ३३ किलोमिटर र ६ हजार ८७ सय १८ एमभीए सवस्टेशन निर्माण गर्ने लक्ष्य छ ।त्यसैगरी ५ वर्षभित्र मुलुकभित्र १ हजार ८ सय ३८ किलोमिटर र २ हजार १ सय ३९ एमभीए सवस्टेशन तथा १० वर्षभित्र ५ हजार १ सय ५५ किलोमिटर प्रशारणलाइन र १ हजार ७ सय ३९ किलोमिटर अन्तरदेशीय प्रशारणलाइन बनाउने प्राधिकरणले लक्ष्य लिएको छ । प्राधिकरणका अनुसार हाल ३ हजार ४ सय ६७ किलोमिटर प्रशारणलाइन मुलुकभित्र छ भने १ सय ३० किलोमिटर अन्तरदेशीय प्रशारणलाइन छ । ३ हजार १ सय ५५ एमभीए सवस्टेशन रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल ४ सय केभीका एक प्रशारणलाइन र सवस्टेशन, २२० केभीका ५ प्रशारणलाइन र एक सवस्टेशन, १३२ केभीका २५ प्रशारणलाइन र ४ सवस्टेसन तथा ६६ केभीको एक प्रशारणलाइन आयोजनाहरू निर्माणाधीन छन् । कूल ३ हजार १ सय ३८ किलोमिटर प्रशारणलाइन र ६ हजार ८ सय १३ एमभीए सवस्टेसन निमार्णाधीन रहेको प्राधिकरणले जनाएको छ ।सन् २०२० भित्र सरकारले थप ३३ सय किलोमिटर प्रशारणलाइन बनाउने लक्ष्य राखे पनि पूरा गर्न कठिन देखिन्छ । तर, आगामी १० वर्षका लागि भने प्राधिकरणले ठूलो लगानीसहितको योजना अघि सारेको छ ।हाल ४०० केभीको ८० किलोमिटर मात्र प्रशारणलाइन रहेकोमा १० वर्षभित्र ७ हजार ५ सय ६६ किलोमिटर, ७५ किलोमिरट मात्र २२० केभी प्रशारणलाइन रहेकोमा १ हजार १ सय ७६ किलोमिटर र २ हजार ८ सय १९ किलोमिटर १३२ केभीको प्रशारणलाइन रहेकोमा ३ हजार १ सय २८ पु¥याउने लक्ष्य प्राधिकरणको छ । ४ सय ९३ किलोमिटर ६६ केभी प्रशारणलाइन रहेकोमा यसमा थप गर्ने लक्ष्य भने छैन । प्राधिकररणले १३२ केभी र यसमाथिका आयोजना मात्र निर्माण गर्ने योजना बनाएको छ । 

Wednesday, December 19, 2018

कोसी कोरिडोरमा धरानको अवरोध र समाधानका उपाय

बुधवार, पुष ४, २०७५
सुनसरीको इनरुवा सबस्टेसनबाट संखुवासभासम्म पुग्ने २२० केभी कोसी कोरिडोर प्रसारणलाइन निर्माण भइरहेको छ । वनबाट स्वीकृतिलगायतका लामो झमेलामा फसेको सो प्रसारणलाइन आयोजनामा पछिल्लो पटक धरान उपमहानगरपालिका–२० चिन्डे डाँडा क्षेत्रबाट जाने प्रसारणलाइनको रुट सार्न उपमहानगरपालिकाले पत्राचार गरेपछि र केही फाउन्डेसनमा निर्माणमा अवरोध गरेपछि ठूलो समस्या देखिएको छ । दुई वर्षभित्र प्रसारणलाइन निर्माण गरिसक्ने लक्ष्य छ, तर अवरोध देखिएपछि प्रसारणलाइन निर्माणमा अन्योल देखिएको छ । प्रसारणलाइन तोकिएको समयमा नबनेमा ताप्लेजुङ, संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लामा निर्माणाधीन ५१६ मेगावाटको विद्युत् खेर जाने सम्भावना देखिएको छ । यदि विद्युत् खेर गएमा १ खर्ब रुपैयाँबराबर प्रत्यक्ष घाटा पर्ने यस क्षेत्रका जनप्रतिनिधिहरूले बताउँदै आएका छन् । आगामी डेढ महिनासम्ममा पनि प्रसारणलाइनको समस्या समाधान नभए ठेकेदार कम्पनीलाई कामविहीन अवस्था सिर्जना हुने छ । धरान उपमहानगरपालिकाले नै अवरोध गरेपछि एउटा सरकारी निकायको परियोजनामा अर्को सरकारी निकायको अवरोधले प्रसारणलाइनको भविष्य के हुने भन्ने चिन्ता जलविद्युत् प्रवद्र्धकहरूले गर्न थालेका छन् । यही सन्दर्भमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र कोसी कोरिडोर आयोजना ग्रिड युजर गु्रपले कोरिडोरबारे काठमाडौँमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो । कोसीबाट लाभान्वित र प्रभावित क्षेत्रका जनप्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि, विद्युत् प्राधिकरणका प्रतिनिधिलगायतका सहभागीले सो कार्यक्रममा राखेका विचारको सार :
प्रदेश सरकारले सहजीकरण गर्छ
शेरधन राई
मुख्यमन्त्री, प्रदेश–१
तोकिएको समयमा कोसी कोरिडोर प्रसारणलाइन निर्माण हुनुपर्छ । कुनै पनि नाममा अवरोध गर्नु÷हुनु हुँदैन । अवरोधहरू तत्काल खोल्नुपर्छ । अब खोलिन्छ । केन्द्रीय सरकार, स्थानीय सरकार र स्थानीयवासीसँग समन्वय गरेर खोल्छौं । त्यसका लागि समन्वय गर्छौं । सहजीकरण गर्छौं । यो राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना पनि हो । यो पूर्व क्षेत्रका लागिसमेत अत्यावश्यक आयोजना पनि हो । यो आयोजनासँग हाम्रो प्रदेशको समृद्धि पनि जोडिएको छ । यसलाई सफल बनाउनु हाम्रो कर्तव्य हो । यसमा जनप्रतिनिधिहरूले पनि स्थानीयवासीको कुरा मात्र सुनेर मात्र समाधान हुँदैन । यस्ता कुरामा जनप्रतिनिधिहरू पनि कम बोल्नुपर्छ । बढी बोलेपछि समस्या हुन्छ । कम बोलेर समस्या समाधानतिर लाग्नुपर्छ । असर नपर्ने गरी कुरा गर्नुपर्छ ।
एउटा उपमहानगरपालिकाले महत्वपूर्ण प्रसारणलाइनको निर्माणमा अवरोध गर्यो भन्दा दुनियाँले के भन्लान् ? अरूले के भन्छन् । यसतर्फ स्वयं नगरपालिकाले पनि सोच्नुपर्छ । राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा धरान उपमहानगरपालिकाले अवरोध गर्न मिल्दैन । अहिले समस्या आइसक्यो, यसको समाधान गर्नु आवश्यक पनि छ । यसका लागि प्रदेश सरकारले मध्यस्थताको काम गर्छ । छिट्टै यसबारे हामी सबै निकाय मिलेर निक्र्योलमा पुग्छौं । हामी प्रदेश–१ लाई समृद्ध बनाउन चाहन्छौ । यसका लागि लगानी आवश्यक छ । हामी लगानीका लागि हाम्रो प्रदेश सबैभन्दा उपयुक्त क्षेत्र हो भनेर देखाउन चाहन्छौ । ताकि कुनै पनि ठूला परियोजनामा प्रदेश–१ मा अवरोध छैन भन्ने होस् । निजी क्षेत्र पनि आकर्षित हुन् । यसरी आयोजनाहरूमा अवरोध भयो भने झन् समस्या बल्झन्छ । सबै मिलेर यस्तो समस्या आउन नदिन र आएपछि समाधान गर्नका लागि सक्रिय हुनुपर्छ ।
यही क्षेत्रबाट प्रसारणलाइन लान असम्भव छ
जयकुमार राई
सांसद, सुनसरी
अहिलेको रुटबाट प्रसारणलाइन बनेमा विमानस्थल निर्माणदेखि पर्यटकीय पूर्वाधार निर्माणमा ठूलो अवरोध पुग्छ । यस क्षेत्रका लागि समृद्धिको आधार पर्यटकीय क्षेत्र हो । जुन क्षेत्रबाट प्रसारणलाइन जाँदैछ । यही विमानस्थल बनाउने कुरा छ । केबलकार बनाउने कुरा छ । प्लाराग्लाइडिङको कुरा छ, भ्यू टावरको छ । गोर्खाली सेनाबाट अवकाश प्राप्तहरूले गोर्खा पार्क बनाउने योजना ल्याएका छन् । यहाँ धेरै पूर्वाधार बन्दै छन् । यो निर्माण गरेमा यी सम्भावनाको अवस्था अन्त्य हुन्छ । यस्तो पर्यटकीय सम्भावना भएको क्षेत्रमा प्रसारणलाइन बनाउन दिने अवस्था छैन । यसको रुट परिवर्तन गर्नुपर्छ । एक जनाले मात्र मुआब्जा बुझेका छन् । उसले पनि त्यो फिर्ता गर्ने कुरा गरेका छन् । अरू स्थानीयवासीहरू पनि यो क्षेत्रमा पर्यटकीय पूर्वाधारहरू बनाउनुपर्छ भन्ने पक्षमा छन् । हामी विकासविरोधी होइनौं, तर हामी गलत दिशाबाट रुट चयन भएको छ । कोखाखोलाको किनारैकिनार प्रसारणलाइन बनाउने सकिने अवस्था थियो, तर प्राधिकरणले सजिलोका लागि यो गरेको छ । हामी धरान उपमहानगरपालिकाको सबैभन्दा ब्युटी प्लेसका रूपमा चिनिएको यो क्षेत्रको पर्यटकीय सम्भावनालाई मर्न दिँदैनौं । यही क्षेत्रबाट प्रसारणलाइन लान असम्भव छ । प्राधिकरणले रुट परिवर्तन गर्नुपर्छ । धरान उपमहानगरपालिकाले यही पर्यटकीय सम्भावनालाई हेरेर यस्तो कुरा गरेको हो । प्रसारणलाइनले असर र प्रभाव पार्ने भएकाले यो आयोजनाबारे पुनर्विचार गर्नुपर्छ ।
उपमहागनरपालिकाले अवरोध पुर्याउनु हुँदैन
राजेन्द्र गौतम
सांसद, संखुवासभा
कोसी प्रसारणलाइन आयोजना एउटा फेजमा पुगिसकेपछि अहिले आएर जुन अवरोध भएको छ । यसबारे बहस हुनैपर्छ । अहिले जुन धरान उपमहानगरपालिकामा जुन समस्या देखिएको छ । कतै यो ऐलानी जग्गा देखाएर त्यसलाई वैधानिकता दिने प्रयास त होइन भन्ने प्रश्न पनि उठेको छ । बढी मुआब्जाका लागि पनि यो भएको हुन सक्छ भन्ने लाग्छ । अहिले जुन समस्या देखिएको छ, यसलाई न्यूनीकरण गरेर जानुपर्छ तर प्रसारणलाइनकै रुट परिवर्तन गरेर जानुपर्छ भन्नेमा म छैन । अहिले संखुवासभामा धेरै आयोजना बनिरहेका छन् । यदि प्रसारणलाइन आयोजना नबन्ने हो भने यसले धेरै असर गर्छ । आयोजना निर्माण अघि बढेपछि किन यो उठाइएको छ । यसले जलविद्युत् आयोजना निर्माणलाई ठूलो सहयोग गर्छ भने समस्या समाधान गरेर जानुपर्छ । कुनै पनि हालतमा आयोजनामा अवरोध पुर्याउनु पर्दैन । यो पूर्वक्षेत्रका पहाडी जिल्लाका विकास सम्भावनासँग जोडिएको छ । कुनै पनि बहानामा धरान उपमहागनरपालिकाले अवरोध पुर्याउनु हुँदैन । यो उपहानगरपालिकामा अवरोध भए फेरि अन्य गाउँपालिका र नगरपालिकामा पनि अवरोध आउन सक्छ । यसले समग्र क्षेत्रलाई असर गर्छ । यसले राम्रो सन्देश दिँदैन । अवरोध गर्नु हुँदैन । विकास सन्तुलनका लागि पनि यो आयोजना आवश्यक छ । पार्टीको धारणा पनि स्पष्ट छ । पार्टी समृद्धिका लागि आवश्यक यो आयोजना तुरुन्तै बनोस् भन्ने चाहन्छ । अवरोध गर्नु हुँदैन । विकास सन्तुलनका लागि पनि यो आयोजना आवश्यक छ । पार्टीको धारणा पनि स्पष्ट छ । पार्टी समृद्धिका लागि आवश्यक यो आयोजना तुरुन्तै बनोस् भन्ने चाहन्छ । कुनै व्यक्तिको स्वार्थका लागि यसलाई असर पार्ने काम गर्नु हुँदैन । धरान उपहानगरपालिकाले पनि यसमा पुनर्विचार गर्नु आवश्यक छ ।
रुट परिवर्तन गर्न असम्भव छ
कुलमान घिसिङ
कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
प्रसारणलाइन निर्माणका क्रममा धेरै समस्या देखिएका छन् । एउटा टावर निर्माण नै एउटा योजना छ । समस्या त धेरै छन् तर अहिले एउटा छुट्टै समस्या आएको छ । उपमहानगरपालिकाबाटै अवरोध यो पहिलो समस्या हो । राज्यकै तर्फबाट समस्या आउनु विडम्बना हो । रुट परिवर्तन गर्ने कुरा त्यति सजिलो छैन । देख्दा दुईवटा टावर सार्ने जस्तो देखिन्छ, तर यो गर्दा अघिपछिका धेरै टावर सार्नुपर्छ । हरेक टावरको छुट्टाछुट्टै डिजाइन गरिएको हुन्छ । रुट परिवर्तन गर्नेबित्तिकै यो समस्या आइहाल्छ । यो मात्र होइन, पुनः अनुमतिपत्र लिनुपर्ने समस्या आउँछ । पुनः वातावरण अध्ययन गर्नुपर्छ । धेरै झमेला आउँछन् । अर्को दुई–तीन वर्ष सम्पन्न हुन थप समस्या लाग्छ । यसकारण आर्थिक र प्राविधिक रूपमा रुट परिवर्तन गर्न असम्भव छ । गर्न सकिँदैन ।
डेढ महिनापछि धरान उपमहानगरपालिकामा काम सुरु हुन्छ, त्यतिबेलासम्म हामीले यो अवरोध समाधान गर्नुपर्छ । गर्न सकेनौं भने ठेकेदार कम्पनीले काम पाउँदैन । फेरि परिचालन गर्न समस्या आउँछ । उसका २–३ सय कामदारले काम गर्न नपाएपछि विभिन्न आर्थिक समस्या आउँछन् । डेढ वर्षभित्र निर्माण सम्पन्न हुने कोसी कोरिडोरमार्फत विद्युत् आपूर्ति हुने ५ सय १६ मेगावाट विद्युत्मा समस्या आउँछ । विद्युत् खेर जाने अवस्था आउन सक्छ ।
धरान उपमहानगरपालिकाकै सहभागितामा पहिला सार्वजनिक सुनुवाइदेखि अरु सबै प्रक्रिया पुर्याएर अघि बढाएकाले अहिले रुट परिवर्तन गर्न असम्भव छ । अहिले जुन रुटबाट लान लागिएको छ, धरान उपमहानगरपालिकाले भनेजस्तो पर्यटकीय सम्भावनालाई कुनै असर गर्दैन । पहिला असर गर्ने भनेपछि यसको केही रुट परिवर्तन पनि गरेका हौं । भविष्यको सम्भावना हेरेर अहिले नै प्रसारणलाइनमा अवरोध गर्न थालियो भने यसले ठूलो समस्या हुन सक्छ । भविष्यमा असर पर्ने देखिए यसको टावरको उचाइमा थपघट गर्न सकिन्छ । अहिले नै अवरोध गर्ने काम राम्रो होइन । यसकारण अहिलेलाई यसको समाधान गरेर जानुपर्छ । यसका लागि तपाईंहरू सबैको सहयोग र सहजीकरण आवश्यक छ ।
प्रदेशको समृद्धिमा असर पर्छ
वसन्त नेम्वाङ
सांसद, पाँचथर
ताप्लेजुङ, संखुवासभा, भोजपुर र तेह्रथुममा धेरै आयोजनाहरू निर्माण भइरहेका छन् । नेपाल विद्युत् प्राधिकरणसँग उनीहरूले विद्युत खरिद सम्झौता पनि गरिसकेका छन् । यसमा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेको छ । यस क्षेत्रमा ५ सय १६ मेगावाटका आयोजना तत्काल बन्न सक्ने अवस्थामा छन् । यसले अहिलेको राष्ट्रिय समस्या समाधान हुन्छ । यदि कोसी प्रसारणलाइन नबन्ने हो र विद्युत् खेर गयो भने त्यो रकम एक खर्ब रुपैयाँभन्दा बढी हुन्छ । यसबाट सिंगो प्रदेश, स्थानीयवासी र समग्र देशलाई फाइदा पुग्छ । यस क्षेत्रका उद्योगहरूलाई पनि फाइदा हुन्छ । चार जिल्लावासीले प्रत्यक्ष फाइदा हुन्छ । प्रसारणलाइन नबने प्रदेशको समृद्धिमा असर पर्छ । सार्वजनिक सुनुवाइ र अन्य प्रक्रिया पूरा भएपछि जुन अहिले समस्या आएको छ, यसमा उपमहानगरपालिका पनि सहभागी थियो होला । तर, त्यहीबाट समस्या आउनु गम्भीर हो । यसमा धेरै बैंकले लगानी गरेका छन् । यसमा जनताको लगानी पनि छ । यदि प्रसारणलाइन बनेन भने प्रदेशलाई ठूलो समस्या पर्छ । प्रसारणलाइन कुनै पनि ठाउँबाटै जानैपर्छ । यदि हामीले अवरोध गर्यो भने विकासमा अवरोध पुग्छ । हाम्रो देश र प्रदेशमा असर पर्छ । रुट परिवर्तन गर्दा धेरै समस्या आउँछन् । निर्माण अवधि पनि लम्बिन्छ । जनताको चाहनालाई पनि हेरेर सकेसम्म रुट परिवर्तन नगर्ने गरी अघि बढ्नुपर्छ ।

Monday, December 17, 2018

तामाकोसीमा दैनिक सवा करोड रुपैयाँ घाटा

सोमवार, पुष २, २०७५
स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत २७ अर्ब रुपैयाँ थप हुने भएको छ । नेपाली मुद्राको अवमूल्यन र ब्याजले मात्र आयोजनाको २७ अर्ब रुपैयाँ बराबर लागत थप हुने देखिएको हो ।
भूकम्पका कारण पहुँच मार्गलगायतमा क्षति भएर निर्माणको अवधि २ वर्षपछि धकेलिएको ४५६ मेगावाटको माथिल्लो तामाकोसीको लागत निर्माण अवधिको ब्याज र डलरको भाउ उत्तारचढाव हुँदा लागत धेरै नै थप भएको हो । आयोजना सुरु हुँदा ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत नेपाली मुद्राको अवमूल्यनवापत ७ अर्ब ६ करोड तथा निर्माण अवधिको ब्याज वापत मात्र गत आर्थिक वर्ष २०७४-७५ सम्ममा १४ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ बराबर थप भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार चालू आर्थिक वर्ष २०७५-७६ मा मात्र निर्माण अवधिको ब्याज खर्च ५ अर्ब ४१ करोड ५६ लाख थपिनेछ । 
आयोजनाको निर्माण सुरु गर्दा निर्माण अवधिको ब्याज १३ अर्ब २१ करोड ७० लाख रुपैयाँसहित ४८ अर्ब ८६ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । “निर्माण अवधिको ब्याजसहित आयोजना निर्माण सुरु हुँदा ४८ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो, भूकम्पलगायतका कारणले निर्माणमा ढिलाइ हुँदा र डलरको भाउ बढेकाले चालू आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने बेलासम्म ६९ अर्ब ५९ करोड १९ लाख लागत अनुमान गरेका छौं,” माथिल्लो तामाकोसी आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रो कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले भने, “निर्माणमा ढिलाइ हुँदा मासिक ४० करोड अर्थात् दैनिक सवा करोड घाटा परिरहेको छ ।” आयोजना निर्माणको काम आगामी असारसम्म सक्ने लक्ष्य छ । उनका अनुसार, हाइड्रोमेकानिकलको ठेकेदार कम्पनीले काममा ढिलाइ गरेपछि यसको विकल्प खोज्ने तयारी भइरहेको छ ।
आयोजना सुरु गर्दा डलरको भाऊ ८० रूपैयाँ भए पनि अहिले औसतमा ९७ रूपैयाँ ६० पैसा र कर्मचारी सञ्चय कोषबाट आयोजनाले लिएको ब्याजवापत १२.५ प्रतिशतसम्म पुगेका कारण लागत बढेको आयोजनाले जनाएको छ । कर्मचारी सञ्चय कोषको कष्ट अफ फाइनान्स ८ प्रतिशत मात्र भए पनि कोषले त्योभन्दा बढाएर लिएको र १२.५ प्रतिशतसम्म पु¥याए पनि हाल ११ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।
लागत बढ्दै गए पनि माथिल्लो तामाकोसीको विद्युत् सस्तो मानिएको छ । प्राधिकरणले तामाकोसीसँग प्रतियुनिट ४.०६ पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । यो अरु आयोजनाको तुलनामा सस्तो हो । निर्माण सम्पन्न भएपछि तामाकोसीबाट वार्षिक २२ सय ८१ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ भने यसबाट ९ अर्ब राजस्व संकलन हुनेछ । रोल्वालिङको पानी थपिएपछि थप दुई सय गिगावाट आवर थपिने आयोजनाले जनाएको छ । 
माथिल्लो तामाकोसीको लागत बढ्दै गए पनि आयोजना सम्पन्न भएपछि देशको कूल गार्हस्थ उत्पादन (जीडीपी) एक प्रतिशत बढाउने तथा विद्युत् प्राधिकरणको नाफा उच्च बनाउनेछ । तामाकोसी बनेपछि हाल भारतबाट आयात हुँदै आएको विद्युत् विस्थापन हुँदै जाने र बर्षामा विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ । चालू वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हाइड्रोमेकानिकलको काममा ढिलाइ हुँदा समस्या पर्ने देखिएको छ ।

Saturday, December 15, 2018

‘उज्यालो राजमार्ग’ मा अवरोधका चाङ

शुक्रवार, मंसिर २८, २०७५
आर्थिक वर्ष २०७१-०७२ देखि सुरु भएको २२० केभीको कोशी कोरिडोर प्रसारण लाइन आयोजना निर्माण प्रक्रिया लाग्यो । नेपाल विद्युत् प्राधिकरणभित्रका साथै वन र वातावरणका विभिन्न प्रक्रिया अड्किएर २०७४ चैत २७ मा मन्त्रिपरिषद्बाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पारित पनि भयो । जब आयोजना सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभाका वन क्षेत्रमा कटान गर्न पुग्यो, तब करिब ९ हजार रुख कटान गर्नुपर्नेमध्ये अधिकांशको नम्बरिङ मेटिएको थियो । फेरि नम्बरिङ नगरी काम अघि बढ्न नदिने भएपछि यो कार्य अघि बढेको छ । 
पूर्वी क्षेत्रका लागि उच्च महत्व बोकेको सरकारद्वारा प्राथमिकताप्राप्त घोषणा गरेको सो प्रसारणलाइन आयोजनामा रुख गणना मात्र समस्या छैन । एक रुख बराबर २५ रुख रोप्नुपर्ने र वन क्षेत्रको उपभोग गरेवापत त्यतिनै जग्गा उपलब्ध गर्नुपर्ने र पहिला गणना गर्दा ताका पोथ्रा ठूलो भएकोले भोलि फेरि पूरक इआईए गर्नुपर्ने हो की भन्ने अर्को चिन्तामा आयोजना छ । बनाउने सरकारी निकाय विद्युत् प्राधिकरण, स्वीकृति दिने सरकारी निकाय वन, वातावरण मन्त्रालय, यसको सहजीकरण गर्ने ऊर्जा मन्त्रालय र निर्णय गर्ने मन्त्रिपरिषद् हो तर यी सरकारी निकायबीचनै यस्तो अविश्वास र असमन्वयको वातावरण छ की प्राधिकरण देश छोडेरै भाग्ने जसरी वन मन्त्रालय र यसका निकायहरूले अहिलेनै जग्गा उपलब्ध नगराए बनाउनै दिँदैनौ भनेर ‘जंगी’ शासनको व्यवहार गरिरहेको छ । हुँदा हुँदा धरान उपमहानगरपालिकाले विद्युत् प्राधिकरणलाई प्रसारण लाइनको टावरको जाने मार्ग नै परिवर्तन गर्न पत्र लेखेको छ । समयमै आयोजना नबनेमा दुई हजार मेगावाटभन्दा बढीका आयोजनालाई असर पार्ने भएपनि एउटा डिजाइन अनुसार अघि बढेको आयोजनामा फेरि अर्को निकायले अवरोध खडा गर्न थालेपछि अर्को समस्या थपिएको छ । 
कोशी कोरिडोर मात्र होइन, विद्युत् प्राधिकरणले निर्माण गरिरहेका अधिकांश आयोजनाहरूको अवस्था उस्तै छ । ललितपुरमा स्थानीयवासीको जग्गा उपलब्ध गराउन नसकिएपछि आर्थिक वर्ष २०५५-०५६ मा निर्माण सुरु भएको १३२ केभीको थानकोट–चापागाउँ–भक्तपुर प्रसारणलाइन अझै अलपत्र छ । २०५९-०६० मा सुरु भएको २२० केभीको ढल्केबरको प्रसारण लाइन सम्पन्न भएपनि सबस्टेसन अझै सम्पन्न हुन सकेको छैन भने २०६१-०६२ मा सुरु भएको १३२ केभीको प्रसारण लाइन, २०६१-०६२ मा सुरु भएको २२० केभीको हेटौडा–भरतपुर प्रसारण लाइन, २०६२-०६३ मा सुरु भएको डुम्रे–दमौली–मस्र्याङ्दी, २०६६-०६७ देखि सुरु भएको त्रिशुली ३ बी सबस्टेशन, चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन, २०६७-०६८ मा सुरु भएको २२० केभीको भरतपुर–वर्दघाट, सोही वर्ष सुरु भएको नेपाल भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना अन्र्तगतको ४०० केभीको हेटौडा–ढल्केबर–दुहबी प्रसारण लाइन अझै निर्माण सम्पन्न भएका छ्रैनन् । यी सब प्रसारण लाइन आयोजनाहरू निमाण भैसक्नुपर्ने थियो तर कहिले सम्पन्न हुने अझै अन्योलको अवस्था छ । 
विद्युत् प्राधिकरणका अनुसार, हाल ४ सय केभीका एक प्रसारण लाइन र सवस्टेशन, २२० केभीका ५ प्रसारण लाइन र एक सवस्टेशन, १३२ केभीका २५ प्रसारण लाइन र ४ सवस्टेशन तथा ६६ केभीको एक प्रसारण लाइन आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् अर्थात ३ हजार १ सय ३८ किलोमिटर प्रसारण लाइन र ६ हजार ८ सय १३ एमभीए सवस्टेशन निमार्णाधीन अवस्थामा छन् तर समस्याविहिन आयोजनाहरू कुनै छैनन् । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी पनि अधिकांशमा समस्या भएको स्वीकार्छन् तर यसको कारणले विद्युत् खेर जाने अवस्था भने नआएको दाबी गर्छन । विद्युत् प्राधिकरणको तथ्यांककै आधार हेर्दा समयमै बनेका आयोजना पनि एउटा छैनन् । हाल ३ हजार ४ सय ६७ सर्किट किलोमिटर प्रसारण लाइन र ३ हजार १ सय ५५ एमभीए प्रसारण सवस्टेशन मात्र छ । एउटा मात्र भार प्रेषण केन्द्र छ । अहिलेकै अवस्थालाई हेर्ने हो भने यो एकदम साँघुरो अवस्था छ । अझै ३५ प्रतिशत जनतामा विद्युत् प्राधिकरणको केन्द्रीय ग्रीड नपुगेकोले र भारतमा विद्युत् निर्यात गर्ने योजनाका लागि धेरै पूर्वाधार आवश्यक देखिन्छ । हुन त सन् २०२० भित्र सरकारले थप ३३ सय किलोमिटर प्रशारणलाइन बनाउने लक्ष्य राखेको थियो तर विद्युत् प्राधिकरणको तथ्यांकले हालसम्म एक हजार किलोमिटरभन्दा कम मात्र प्रसारण लाइन सम्पन्न भएको छ । २०६२ सालदेखि २०७२ सम्मको १० वर्षमा त एक किलोमिटर पनि प्रसारण लाइन बनेन । विद्युत् प्राधिकरणको आगामी १० वर्षभित्रको योजना हेर्ने हो भनेपनि ११ हजार ८ सय ७० किलोमिटर प्रशारण लाइन बनाउने छ ।
सरकारले उज्यालो नेपालको अभियान अघि बढाएको छ । पछिल्लो पटक स्थायी सरकार आएसँगै ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले सार्वजनिक गरेको श्वेतपत्र तथा चालु आर्थिक वर्षको बजेटमा समेत ३ वर्षमा तीन हजार मेगावाट, ५ वर्षमा ५ हजार मेगावाट र १० वर्षभित्र आन्तरिक खपत १० हजार र ५ मेगावाट विद्युत् निर्यात गर्ने गरी १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । ‘हरेक घर ऊर्जा घर, हरेक बस्ती, ऊर्जा वस्ती, घरघरमा विद्युत्ीय चुल्हो’ लगायका अभियान पनि सार्वजनिक गरिएको छ । बिना प्रसारण लाइन यी नारा असम्भव छन् तर उज्यालो बनाउने राजमार्ग अर्थात प्रसारण लाइनमा अवरोधका चाङनै चाङ छन् । अहिलेको प्रसारण लाइन र वितरण लाइनको अवस्था हेर्ने हो भने सन्तोषजनक छैन । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अनुभवमा एउटा टावर निर्माणको कार्य एउटा योजनाभन्दा लामो समय लाग्ने अवस्थामा छ । 
हरेक उपभोक्ता घरमा २४ घण्टानै विजुली आओस भन्ने चाहान्छन् तर घर अगाडी बिजुली पोल कोही पनि चाहादैनन । यस्तो अवस्थाले स्थानीयबासीको जग्गा प्राप्ति गर्न सबैभन्दा ठूलो कठिनाई छ । जग्गा दिन तयार भएपनि त्यसपछिको मुआब्जा निर्धारण गर्न अर्को सकस छ । निजी जग्गा उपलब्धतामा मात्र होइन, अर्को सरकारी प्रक्रिया पूरा गर्न महाभारत छ । यसका लागि विद्युत् प्राधिकरणले योजना छनोट, यसको आर्थिक व्यवस्थापन, यसको सम्भाव्यता र विस्तृत अध्ययन, सरकारको ऊर्जा, वन तथा वातावरण, अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमिसुधार मन्त्रालय लगायतका यसका निकायसँगै सामुदायिक वन उपभोक्तासम्म पुग्नका लागि लामो प्रक्रिया पार गर्नुपर्छ । पूरा गर्नुपर्ने सबै प्रक्रिया हेर्ने हो भने प्रशारण लाइन निर्माण अघि बढाउँदा अवरोध नभएमा कम्तीमा १२ वर्ष लाग्छ । प्राधिकरणको प्रक्रिया अनुसार, सम्भाव्यता अध्ययनका एक वर्ष, प्रारम्भिक सर्भेका लागि दुई वर्र्ष, वातावरण प्रभाव अध्ययनका लागि १८ महिना, विस्तृत इन्जिनियरिङ डिजाइन (डीआईडी) लागि ६ महिना र टेन्डर डकुमेन्ट तयार गरेर टेन्डर दिन मात्र पनि ६ महिना लाग्छ । त्यसपछि कम्तीमा डिटेल सर्भेका लागि एक वर्ष, डिटेल सर्भे प्राधिकरण सञ्चालन समितिमा पेस गरेर स्वीकृति गर्न तीन महिना, टावर डिजाइनका लागि ६ महिना र स्वीकृतिका लागि तीन महिना समय लाग्छ । 
यसैगरी, ठेकेदारले नमुना टावर निर्माणका लागि ६ महिना, कर्मचारीद्धारा टावर टेस्टिङका लागि दुई महिना, टावर निर्माणका लागि एक वर्ष तथा निर्माणका लागि कम्तीमा तीन वर्ष समय लाग्ने गरेको छ । यसले प्रसारण लाइनमा प्रभावित क्षेत्रका बासिन्दा मात्र होइन, सरकारी निकायकै अवरोधको देखिएको छ । योजनालाई समयमै सम्पन्न गर्न लाग्नेपर्ने सरकारी संयन्त्रबीचनै समन्वयको अभावको सबैभन्दा ठूलो समस्या प्रसारण लाइनले भोगिरहेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का उपाध्यक्ष कुमार पाण्डे सरकारी नीति नियमनै प्रसारण लाइनमा समस्याको रूपमा देखिएको बताउँछने । “खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन, जग्गा प्राप्ति र मुआब्जा निधारण, वन लगायतका विभिन्न निकायबाट लिनुपर्ने लगायतमै समस्या छ,” उनी भन्छन्, “यी समस्या समाधान नभएसम्म प्रसारण लाइन निर्माण कठिन छ, उज्यालो बनाउने भन्न त सजिलो छ तर यसका लागि आवश्यक प्रसारण लाइननै बनेन भने कसरी विद्युत् आदानप्रदान हुन्छ ।” खरिद प्रक्रियाको क्रममा मुद्दा मामिला हुने, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका उजुरी पर्ने, संसदीय समितिमा विवाद पुगेर निर्णय हुने लामो समय लाग्ने, ठेक्का लागेपछि पनि ठेकेदार कम्पनीले समयमै काम नगर्ने लगायतका समस्या पनि प्रसारण लाइन आयोजनामा छन् । 
प्रसारण लाइन निर्माणमा देखिएका अवरोध र समस्याबारे सरकारी निकाय अनभिज्ञ छैनन् । विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय समस्या समाधान समिति, सरकारले बेला बेलामा ऊर्जा क्षेत्रमा ल्याएका योजना लगायतमा जग्गा प्राप्ति, मुआब्जा वितरण, ईआए, पूरक इआईए, रुट निर्धारण, शान्ति सुरक्षा लगायतबारे उल्लेख छ तर यसबारे स्पष्ट नीति बनेको छैन । ऊर्जा मन्त्रालय र वन मन्त्रालयबीचका विभिन्न छलफल त यति सकारात्मक छन्कि त्यहाँ कुनै समस्या देखिँदैन तर व्यवहार त ठूलो समस्या छ । प्रसारण लाइन निर्माणमा देखिएका स्थानीयदेखि सरकारी निकायसम्म राजनीतिक नेतृत्वको कारण पनि समस्या छ । विकास योजनाहरूलाई समयमै सम्पन्न गर्नका लागि उनीहरूले उचित नेतृत्व दिन सक्ने माथिल्लो सरकारी निकायको अवस्था तथा स्थानीय जग्गा र सामुदायिक वनको जग्गाको प्रक्रियामा आफ्नो स्वार्थ पूर्तिलाई मुख्य बनाउने गलत प्रवृत्ति पनि प्रसारण लाइनको बाधकको रूपमा देखिएको छ । 
प्रसारण लाइन निर्माणमा सरकारी निकायबीचको समन्वय, स्थानीयदेखि राष्ट्रिय स्तरमा राजनीतिक दलबीच सहमति, बजेटको पर्याप्त व्यवस्था, प्रसारण लाइनमाथि हुने राजनीतिकरण अन्त्यलगायत कार्य गर्नसके मात्र प्रसारण लाइन निर्माण समयमै पूरा हुनसक्छ । सरकारी जग्गाको सट्टाभर्ना जग्गा र यसमा रोपिने विरुवाको एकमुष्ट रकम सम्बन्धित वन मन्त्रालयका निकायले लिने, रुख गणनामा वनका प्रतिनीधिहरू सहभागी हुने, उज्यालो बनाउने अभियानका लागि अत्यावश्यक प्रसारण लाइनमा स्थानीय राजनीतिक दलहरूले अवरोध नगर्ने, पूरक इआईएको व्यवस्थामा पुर्नविचार गर्नुका साथै विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भुमि सुधार मन्त्रालय लगायतले समयमै निर्णय गरिदिने परिपाटीको विकास नहुञ्जेसम्म प्रसारण लाइनको समस्या उही रहन्छ । स्थानीयबासीको जग्गाको लागि जिल्ला प्रशासन कार्यालयले तोकेको भन्दा दुई-तीन सय प्रतिशतसम्म बढाएर दिन सके स्थानीय समस्या हल हुने प्राधिकरणका अधिकारीहरूको भनाई छ । विद्युत् प्राधिकरण प्रसारण लाइनका उपकार्यकारी निर्देशक बज्रभुषण चौधरी केही समस्या देखिएपनि प्रसारण लाइन निर्माणलाई पछिल्लो समयमा तीव्रता दिएको र सबै निकायबीच समन्वय भईरहेको बताउँछन् ।
समस्या-चुनौती
–नीतिगत अस्पष्टता
–मन्त्री परिषद निर्णय कार्यान्वयन 
–खरिद प्रक्रिया
–मुद्दा-मामिला, उजुरी
–ठेक्का व्यवस्थापन
–ठेकेदार कम्पनीको ढिलाई
–जग्गा प्राप्ति
–मुआब्जा निधारण
–इआईए-पूरक इआईए
–अध्ययनमा ढिलाई
–निर्णय प्रक्रियामा ढिलाई
–स्वीकृतिमा ढिलाई
–समन्वय अभाव
–स्थानीयबासीको अवरोध

धाउनुपर्ने निकाय
–विद्युत् प्राधिकरण
–उर्जा मन्त्रालय
–वन-वातावरण मन्त्रालय
–वन विभाग
–जिल्ला वन कार्यालय
–सामुदायिक वन उपभोक्ता समिति
–भुमिसुधार मन्त्रालय
–मालपोत कार्यालय
– अर्थ मन्त्रालय
–गृह मन्त्रालय
–जिल्ला प्रशासन कार्यालय
–उद्योग मन्त्रालय
–प्रदेश
–स्थानीय सरकार
–राष्ट्रिय योजना आयोग
–मन्त्री परिषद
–माथिका निकाय शाखा, महाशाखा
प्रसारणको अभावमा विद्युत् खेर गएको अवस्था छैन
प्रवल अधिकारी, प्रवक्ता नेपाल विद्युत् प्राधिकरण
निजी क्षेत्रका जलविद्युत् आयोजनाहरू निर्माण चरणमा प्रवेश गरिसकेका छन् भने धेरै जाँदैछन् । ती आयोजनाहरू निर्माण सम्पन्न हुने बेलामा प्रसारण लाइन सम्पन्न गर्ने प्रतिवद्धताका साथ अघि बढीरहेका छौ । यसमा सरकार, विद्युत् प्राधिकरण सञ्चालक समिति र व्यवस्थापन पक्ष एक भएर लागेका छौ । अहिले प्रसारण लाइनको अभावमा विद्युत् खेर गएको अवस्था छैन । यसको मतलब प्रसारण लाइनको अभावमा विद्युत् खेर गएर प्राधिकरणले जरिवाना तिर्नुपरेको अवस्था छैन । अधिकांश प्रसारण लाइनमा केही न केही समस्या छ तर प्रसारण लाइनको अभावमा विद्युत् खेर गएको अवस्था भने छैन । यो देखिएको छैन । टाइम लाइनमै बनाउन लागेका छौ । यसमा संवेदनशील अवस्था भने छ ।