Thursday, December 20, 2018

हेटौंडा सिमेन्टमा २२ र उदयपुरमा १९% ऊर्जा बचत

बिहिवार, पुष ५, २०७५
काठमाडौं-ऊर्जा दक्षता कार्यक्रमपछि हेटौंडा सिमेन्ट उद्योगमा २२ प्रतिशत र उदयपुर सिमेन्टमा १९ प्रतिशत ऊर्जा बचत भएको छ । 
बुधबार राजधानीमा जापान सरकारको सहयोगमा सञ्चालित ऊर्जा दक्षता तथा संरक्षणबारे दुई उद्योगको अवस्थाबारे सार्वजनिक गर्न एसियाली उत्पादकत्व संस्था जापान र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र नेपालले आयोजना गरेको कार्यशालामा सो जानकारी दिइएको हो । कार्यक्रमका संयोजक एवं उत्पादकत्व संस्थाका नेपाल प्रतिनिधि कल्याण घिमिरेका अनुसार, दुई वर्ष अघिदेखि हेटौंडा र उदयपुर सिमेन्टमा ऊर्जा दक्षता तथा संरक्षण कार्यक्रम सञ्चालन गरिएकोमा यसबाट हेटौंडामा २२ प्रतिशत र उदयपुरमा १९ प्रतिशत बचत भएको छ । “दुवै उद्योगमा कार्यक्रमपछि धेरै ऊर्जा बचत तथा यसबाट करोडौं मुनाफा भएको देखिएको छ,” उनले भने, “कार्यक्रम प्रभावकारी देखिएको छ, अन्य उद्योगले चाहेमा पनि कार्यक्रम विस्तार गर्ने योजना राखिएको छ ।”
ऊर्जा दक्षता कार्यक्रमले हेटांैडा सिमेन्टमा मात्र वार्षिक रूपमा ८ करोड बराबरको ऊर्जा बचत भएको छ । सिमेन्टका उपमहाप्रबन्धक नवीनकुमार कर्णका अनुसार, वार्षिक रूपमा ३६ करोड बराबरको विद्युत् खपत हुने गरेकोमा २२ प्रतिशत घटेर ७ करोड ९२ लाख बराबर फाइदामात्र भएको छ । 
उदयपुर सिमेन्टमा भने करिब २ करोड ५० लाख बराबरको फाइदा भएको कार्यक्रममा जानकारी दिइएको थियो । सिमेन्टका इन्जिनियर रविचन्द्र पौडेलका अनुसार, पहिला सिमेन्ट कम्पनीबाट वार्षिक ६५ हजार टन उत्पादन भएकोमा हाल १ लाख २३ हजार ५ सय टन उत्पादन पुगेको छ भने विद्युत्को खपत भने १० प्रतिशत बढेको छ । “पहिलाकै विद्युत्मा करिब १० प्रतिशत विद्युत खपत बढे पनि उत्पादन भने ५० प्रतिशत बढेको छ,” उनले भने । उद्योगमा मासिक २०१६ किलोवाट आवर विद्युत् खपत हुने गरेको छ । 
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव मधु मरासिनीले ऊर्जा दक्षता कार्यक्रमले ऊर्जाको बचतसँगै उत्पादनमा समेत ठूलो सहयोग पुगेको बताए । ठूलो उद्योगका साथै नेपालमा रहेका ४ लाख साना तथा घरेलु उद्योगमा समेत ऊर्जा दक्षतालाई अघि बढाउन सकेमा यसले उत्पादन वृद्धिमा सहयोग पुग्नेमा उनको जोड थियो । कार्यक्रममा उत्पादकत्व संस्था जापानको उद्योग विभागका निर्देशक हिकारु होरीगुची, ऊर्जा विशेषज्ञ के योशिदालगायतले ऊर्जा दक्षताबारे चर्चा गरेका थिए । 
कार्यक्रमअन्तर्गत दुई उद्योगमा ऊर्जा दक्षता तथा संरक्षण कार्यक्रम अन्तर्गत ऊर्जा विशेषज्ञको सहभागितामा ऊर्जा दक्ष उपकरण र प्रविधिका साथै सोअनुसार मर्मत संभारसँगै प्रभावकारी विधि अपनाइएको थियो ।

No comments: