Tuesday, December 4, 2018

यूएनडीपी दिगोपनासहितको विकासमा जोड दिन्छ

बुधवार, मंसिर १९, २०७५
औशानी मेधागंगोडा लाबे
डेपुटी कन्ट्री डाइरेक्टर, यूएनडीपीऔशानी मेधागंगोडा लाबे संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की डेपुटी कन्ट्री डाइरेक्टर हुन् । अनुसन्धानका क्षेत्रमा १५ वर्षे अनुभव रहेको लाबेले श्रीलंकाको शिक्षा मन्त्रालयका साथै बेल्गेन एड एजेन्सी, हेलन केलर इन्टरनेसनललगायतमा काम गरेको अनुभव पनि छ । युरोपियन युनियनमा समेत काम गरिसकेकी उनले यूएनडीपीको देशीय आवासीय प्रतिनिधिका रूपमा समेत काम गरिसकेका छन् । हालै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको मानव विकास सूचकांक र संकेत २०१८ को अपडेटले नेपालको अवस्था खस्किएको देखिएको छ । सन् २०१७ मा नेपाल एक तह घटेर १ सय ४८ बाट १ सय ४९ औं पुगेको छ । नेपालको सूचकांक ०.५६९ बाट बढेर ०.५७४ भने पुगेको छ । तर, नेपालको एचडीआई भ्यालु सन् १९९० मा ०.३७८ रहेकोमा यसमा प्रगति भएर सन् २०१७ मा ०.५७४ पुगेको छ । तथ्यांकले दक्षिण एसियाभित्र मानव सूचकांकको मूल्यका आधारमा सबैभन्दा उच्च श्रीलंका ७६ औंमा छ भने माल्दिभ्स १ सय १, भारत १ सय ३०, भुटान १ सय ३४, बंगलादेश १ सय ३६, पाकिस्तान १ सय ५० र अफगानिस्तान १ सय ६८ औं स्थानमा छन् । सूचकांकका आधारमा नेपालको अवस्था कमजोर देखाएपछि यसको संकलन गर्ने तरिका, यसको उपयोगलगायतबारे कारोबारका लागि सम्पादक कुबेर चालिसे र संवाददाता भीम गौतमले यूएनडीपीकी डेपुटी कन्ट्री डाइरेक्टर लाबेसँग गरेको कुराकानीको सार :
हालै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले मानव विकास सूचकांक (एचडीआई) सार्वजनिक गरेको छ । यसले नेपालको अवस्थालाई कसरी प्रतिविम्बित गर्छ ? 
सन् १९९० देखि मानव विकास सूचकांक प्रकाशित हुँदै आएको छ । यसले विभिन्न दशकदेखि शिक्षा, स्वास्थ्य तथा आर्थिक वृद्धिदर र आयलगायतलाई समेटेको छ । अर्थशास्त्री, विकासका नीति–निर्माता र विज्ञहरूका लागि यो एउटा महत्वपूर्ण सूचनाको स्रोत हो । यसले नेपालको नयाँ गन्तव्य कता हो भन्ने पनि देखाउँछ । यसले जनताको अवस्था, अवसर र चुनौतीबारे पनि जानकारी दिन्छ । स्वास्थ्य, शिक्षा, आय, ज्ञानलगायतबारे यसमा उल्लेखित सूचकांकले नेपालको बाटो पनि देखिन्छ । मानव विकास सूचकांकले मानव जीवन, शिक्षाको क्षेत्रबारे बालबालिका र वृद्धवृद्धको अवस्थाबारे पनि विश्लेषण गर्छ । अर्को भनेको आर्थिक वृद्धिदर र आय पनि यसले विश्लेषण गर्छ । समग्रमा ०.५५० भन्दा स्तर कम छ, ती कम आय भएको कम विकसित मुलुक (एलडीसी) हुन् । यस्तै, ०.५५० देखि ०.६९९, जुन मध्यस्तरको मुलुक हो । ०.७००–०.७९९ उच्च मानव विकास र ०.८०० भन्दा माथि भएमा अझ उच्च मानव विकासको सूचकांक भएको मुलुकमा पर्छ ।
सन् २०१७ को तथ्यांकलाई हेर्दा १८९ राष्ट्रमध्ये ५९ राष्ट्र धेरै उच्च आय भएका मुलुक हुन् भने ५३ उच्च र ३९ मध्यम र ३८ न्यून आयस्तर भएका मुलुक छन् ।
तर मानव विकास सूचकांकका अनुसार नेपाल मध्य सूचकांकको समूहभित्र भएको मुलुक हो ।
सन् २०१७ भन्दा सन् २०१८ मा नेपालको स्तर खस्केको देखिएको छ । यसको कारण के हो ? 
मलाई लाग्छ, गत वर्षभन्दा यस वर्ष राम्रो देखिएको छैन, किनभने मानव सूचकांक प्रतिवेदनले विशेष गरी तथ्यांकहरूको विश्लेषण गर्छ । यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा तथ्यांकहरू निरन्तर रूपमा अद्यावधिक हुन्छन् । यसका लागि तथ्यांकहरू धेरै ठाउँबाट आउँछन् । पहिलेदेखिकै तथ्यांकहरूको विश्लेषण हुन्छ । वैज्ञानिक तरिका अपनाइन्छ । यसमा तथ्यांकको प्रवृत्तिलाई हेरिन्छ । तर,
पछिल्लो २८ वर्षदेखिकै तथ्यांक हेर्ने हो भने नेपालले ५२ प्रतिशत बढी सूचकांक सुधार गरेको छ । यसको मतलब नेपाल प्रगतिउन्मुख छ ।
नीतिले गर्दा केही राष्ट्रको दु्रत प्रगति भएको छ भने केहि राष्ट्र ढिलो प्रगति भउको छ । यदि म नेपाली हो भने म सन् १९९०, १९९९, २००८ देखि अहिले २०१८ सम्मको सूचकांकलाई विश्लेषण गर्छु । यसमा प्रगति देखिन्छ । सूचकांकको तुलनात्मक विश्लेषण महत्वपूर्ण हुन्छ । यसले नीतिगत परिवर्तनका लागि पनि सहयोग पुग्छ । यसले देशभित्रको चुनौती र अवसरलाई देखाउँछ । तथ्यांकहरू एकीकृत रूपमा प्रस्तुत गरिएकाले यसले आगामी नीति तय गर्नका लागि सहयोग गर्छ । घरधुरी सर्वेक्षण र शिक्षा सर्वेक्षण, यसका लागि धेरै महत्वपूर्ण हुन्छ । नेपालकै सन्दर्भमा कुरा गर्दा राष्ट्रिय तथ्यांक विभाग छ । हामी विभिन्न मन्त्रालयसँग समन्वय गरेर पनि काम गर्छौैं । स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले वैज्ञानिक विधि प्रयोग गरेर तथ्यांक निकाल्छ । शिक्षा मन्त्रालय र युनेस्कोले संयुक्त रूपमा शिक्षाको तथ्यांक लिन्छौं भने विश्व बैंकसँग आयको तथ्यांक लिन्छौं । गलत धारणा नहोस् कि यूएनडीपी आफैंले तथ्यांक उत्पादन गर्दैन । विभिन्न निकायबाट यसले तथ्यमंक संकलन मात्र गर्छ र यसको विश्लेषण र तुलना गर्छ । तथ्यांकमा निरन्तरता छ र भरपर्दो तथ्यांक पनि छ । विभाजित छैन । त्यसैले नेपाल प्रगतिउन्मुख छ भन्न सकिन्छ ।
शिक्षाको कुरा गर्दा नेपालले शिक्षामा धेरै प्रगति गरेको प्रतिवेदनले भन्दछ । तर बजारको मागअनुसार शिक्षित मानिस छैनन् । जनशक्तिको माग र आपूर्तिमा ठूलो अन्तर छ । तथ्यांकले शिक्षामा प्रगति देखाउँछ तर व्यावहारिक रूपमा शिक्षित जनशक्ति नहुँदाको अवस्था के हुन सक्ने देख्नुभएको छ ? 
मानव सूचकांक प्रतिवेदनमा तथ्यांकलाई विशेष रूपमा संकेत गरेको छ । २५ वर्षमाथिका वयस्कको शिक्षा पनि यसमा महत्वपूर्ण हुन्छ । अर्को बालबालिका शिक्षाको कुरा हुन्छ । यसको आयामतर्फ जाँदा जागिरको बजार र निजी क्षेत्रको जनशक्तिको मागतर्फ जानुपर्छ । यसबारे म के भन्न सक्छु भने लेख्नु र पढ्न जान्नुसँगै केही दक्षता र क्षमता पनि हुनुपर्छ । प्रतिस्पर्धी हुनुपर्छ । ड्रप आउटको दरको कुरा पनि छ । तर, म नेपाल आएपछिको मेरो सानो बसाइको अध्ययनले नेपालमा प्राविधिक शिक्षाको नीति छ । यसलाई प्रदेश र स्थानीय तहमा पुर्याएर आवश्यक जनशक्तिको व्यवस्थापन गर्न सकिन्छ । यसले शिक्षामा विविधता पनि ल्याउँछ । अरू देशको कुरा गर्ने हो भने अफ्रिकामा मौखिकमा आधारित शिक्षा छ । ज्ञानको रूपमा मौखिक रूपमै हुन्छ ।
हो, नेपालमा शिक्षाको अवस्थालाई विश्लेषण गर्ने हो भने ठूलो मिसम्याच छ । बजारको आवश्यकताका आधारमा सीप र क्षमता दिने युवा जनशक्तिको उत्पादन हुनु आवश्यक छ ।
यसमा युनिसेफ, युनेस्कोले धेरै काम गरिरहेका छन् । निजी क्षेत्रमा पनि जस्तै माइक्रोसफ्टले विद्युतीय साक्षरता अघि बढाइरहेका छन् । पछिल्लो समयमा के देखिएको छ भने शिक्षाका लागि सधैं शिक्षकको आवश्यकता परिरहँदैन । तथ्यांकले के देखाउँछ भने यसमा प्रगति छ । धेरै विद्यालय खुलेको र बालबालिका विद्यालयको पहुँचमा पुगेका छन् । शिक्षाले पुस्तौंसम्म प्रभाव र असर पार्छ । यसको दीर्घकालीन रूपमा रूपान्तरणका लागि सहयोग गर्छ । तर बजारको माग अनुरुप नभएको कुरा यो प्रतिवेदनले समेट्दैन । प्रदेश, स्थानीय निकायको कुरा गर्दा राजधानीभन्दा धेरै टाढा छन् । यसमा लगानीको कुरा पनि आउँछ । यसमा असमानता देखिन सक्छ । मेरो बुझाइमा नेपाल अहिले संघीयताको सही मार्गमा छ । यी केही मुद्दालाई यसले समेट्नेछ । प्रदेश र स्थानीय स्तरमा पनि शिक्षा, स्वास्थ्य, आय, आर्थिक वृद्धिदरलगायतका तथ्यांकले भावी योजना निर्माणका लागि महत्वपूर्ण हुन्छ । यूएनडीपी दिगोपनासहितको विकासमा जोड दिन्छ । यसका लागि भरपर्दो र तुलनात्मक विश्लेषणसहितको तथ्यांक तयार गर्छ, जुन सबैका लागि काम लाग्छ । नेपालमा पनि सबै निकायका लागि यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
त्यसोभए यस प्रकारका प्रतिवेदनको के काम त ?
यस्ता प्रतिवेदनले नेपाल वा अन्य देश तुलनात्मकरुपमा कहाँ छन् भन्ने एउटा महत्वपूर्ण आधार दिन्छ र नीति निर्माणमा सघाउँछ । यस्तै, तथ्यांककै कुरा यसका लागि विभिन्न अध्ययन, अनुसन्धान भएका छन् । १ सय ८९ राष्ट्रबाट तथ्यांक संकलन गरेर यसको विश्लेषण हुन्छ । यो एक रातमा हुने कुरा होइन । यसका लागि धेरै खर्च हुन्छ । अनुसन्धान हुन्छ । के कुरामा म सहमत छु भने स्थानीय सान्दर्भिकताको आधारमा तथ्यांक उपलब्ध भए, यसले धेरै सहज भने बनाउँछ । यसबाट आफ्नो देशको जनशक्ति, यसको आवश्यकता र आपूर्तिबीचमा जुन खाडल देखिएको छ । त्यसको समाधान गर्न पनि सहयोग पुग्छ । यूएनडीपीले त अहिले देशीय र विदेशी तथ्यांकलाई समेत एकीकृत गरिने गरिएको छ । यसले विश्वभरकै तथ्यांकको तुलना गर्न सहयोग गर्छ । विश्वमा आफ्नो देशलाई कहाँ पुराउने भन्ने पनि यसले निर्दिष्ट गर्न सक्छ ।
भारतमा यूएनडीपीले प्रदेशको तथ्यांक तुलना पनि गर्दै आएको छ । के नेपालमा सात प्रदेशको तथ्यांकलाई तुलना गर्ने गरी केही काम अघि बढाउने योजना छ ? 
मलाई लाग्छ, यसबारे पहिला नै केही काम भइरहेका छन् । सन् २०१४ को मानव सूचकांकको प्रतिवेदनमा जिल्ला जिल्लाको तथ्यांक विश्लेषण भएको थियो । यी तथ्यांक चार वर्ष पुराना हुन् । यी तथ्यांकहरूकै आधारमा नेपाल राष्ट्र बैंकले प्रदेशको तथ्यांक निकालेको छ । तथ्यांक हेर्दा प्रदेश–३ सबैभन्दा अगाडि र प्रदेश–२ भन्दा सबैभन्दा पछाडि देखिन्छ । अहिले हामी मानव विकास सूचकांकको प्रतिवेदन प्रदेशस्तरको बनाउने गरी राष्ट्रिय योजना आयोगसँग काम गरिरहेका छौं । यो सुरुवाती चरणमा छ । सहस्राब्दी विकास लक्ष्य (एसडीजी) का लक्ष्यहरूलाई आधार बनाएर सबै प्रदेशका काम अघि बढ्छ । यो विकासको कुरा हो । यो महत्वकांक्षी योजना पनि हो । यो विश्वव्यापी छ । पहिला केन्द्र, दोस्रो प्रदेश र तेस्रो स्थानीय स्तरमा तथ्यांकको संकलन र विश्लेषण हुन्छ । यो कार्य हाल भइरहेको छ । यसका लागि आयोग र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सहकार्य भइरहेको छ । अहिले नेपाल सरकारका प्रदेशले पनिे पहिलो पञ्चवर्षीय योजना पनि बनाउँदैछन् । यसलाई पनि यी तथ्यांकले ठूलो सहयोग गर्छन् । यसले प्रदेशमा लगानीका लागि एउटा बाटो पनि देखाउँछ । प्रदेशस्तरको कुरा गर्ने हो भने त सामाजिक आर्थिक विकासका लागि आवश्यक स्रोत र जनशक्ति दुवै छैनन् । यी सबैका लागि यूएनडीपीले सरकारका साथै अन्य बहुनिकायहरूसँग मिलेर काम गर्छ ।
यूएनडीपीले दिगो विकास लक्ष्यका कुरा गरिरहेको छ । विकास आफैंमा दिगो हुनुपर्छ । किन विकास मात्र नभनेर दिगो विकास भन्नुपरेको हो ? के अहिले भइरहेका विकास दिगो नभएर हो ? 
हरेक देशमा आर्थिक वृद्धिदरबाट निर्देशित विकास नीति हुन्छ । त्यसअनुसारको योजना हुन्छ । यसमा आवश्यकताले निर्देश गर्छ । यसकारण दिगो विकासको कुरा सबै सदस्य राष्ट्रको हो ।
यूएनडीपीले एउटा एजेन्सीका रूपमा मात्र काम गर्दै आएको हो । हामीले अहिले जे गर्छौं, यसले भविष्यको पुस्तालाई सहयोग गर्ने पनि हो ।
विकास भनेको अर्को पुस्तालाई पनि हो । भविष्यबारे सोच्नु हो । योजनामा दिगो हुनु हो । यो आर्थिक फाइदासँग जोडिएको हुन्छ । यो सामाजिक सुरक्षासँग पनि जोडिन्छ । यसमा जागिर, गरिबी, असमानता, कुरा पनि आउँछ । यसमा सामाजिक विकासका मुद्दा आर्थिक वृद्धिमा जोडिन पुग्छन् । त्यसैले आर्थिक वृद्धिका लागि सबै निकायसँग समन्वय यूएनडीपीले एकीकृत विकास गर्न सक्छ । यसका लागि विकास र वातावरण संरक्षण सँगसँगै लिएर जानुपर्छ । आजको पुस्ताले भोलीको लागी नसोच्नेृ हो भने दीगो विकास हुदैन । त्यसैले बहुगरिबी पहिचानलाई उच्च महत्वका साथ हेर्नुपर्छ । हामीले जलवायु परिवर्तन लगायतका मुद्दामा सबै निकायलाई एकै ठाउँमा ल्याएर काम गरिरहेका छौं । यसको व्यवस्थापन र परिचालन गरिरहेका छौं । कृषि, पर्यटन, ऊर्जा, यातायात, वातावरण, शिक्षालगायतका क्षेत्रमा हामीले काम गरिरहेका छौं । विश्वासको वातावरण निर्माण गरेर हामी सबै समुदायको सहभागितामा काम गरिरहेका पनि छौं ।

यूएनडीपीले आफ्नो लक्ष्य हासिलका लागि विशेष गरी सरकारी निकायसँग मिलेर काम गरिरहेको छ । निजी क्षेत्रसँग सहकार्य गर्ने कुरा किन कम देखिएको हो ? 
म भर्खर नेपाल आएको हुँ र प्रतिवेदन पनि भर्खर सार्वजनिक भएको हो । यसले विभिन्न तथ्यांक दिएको छ । त्यसमध्ये आर्थिक वृद्धिदर र आयको कुरा पनि छ । आर्थिक बृद्धि र आयको बृद्धिको लागी युनएनडीपीले निजी क्षेत्रसँग सहकार्यलाई पनि विशेष जोड दिएको छ । एसडीजी कार्यान्वयनका लागि निजी क्षेत्रको अपरिहार्य आवश्यकता छ । सरकारी निकायको लगानीले मात्र पुग्दैन । यसका लागि ठूलो लगानी आवश्यक छ । त्यसैले निजी क्षेत्रको लगानीबाट मात्र एसडीजी सम्भव छ । सरकारी निकायसँगै निजी क्षेत्रसँग सहकार्य गरेर धेरै काम अघि बढिरहेका छन् ।
एसडीजीले तोकेका लक्ष्यहरू प्राप्तिका लागि नागरिक समाज, सरकारका विभिन्न निकाय तथा निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्नुपर्छ भन्ने हाम्राने मान्यता हो र यूएनडीपी त्यसको पक्षमा छ ।

No comments: