Sunday, December 2, 2018

बंगलादेशसँगको ऊर्जा बैठकमा पाँच एजेण्डा



http://karobardaily.com/news/development/13329
सोमवार, मंसिर १७, २०७५
नेपाल र बंगलादेशबीच ऊर्जाका क्षेत्रमा सहकार्यका लागि गठित संयन्त्रको काठमाण्डौमा हुन लागेको पहिलो बैठकमा पाँच एजेण्डाबारे छलफल हुने भएको छ । सोमबार (आज) हुने संयन्त्रअन्तर्गत सहसचिवस्तरको प्राविधिक कार्यगत समूह र मंगलबार हुने सचिवस्तरीय संयुक्त कार्यकारिणी (स्टेलिङ) सहसचिवस्तरीय बैठकमा पाँच एजेण्डाबारे छलफल हुन लागेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेका अनुसार दुई देशबीचको अन्तरदेशीय प्रशारण लाइन, विद्युत् व्यापार, ऊर्जामा बंगलादेशको लगानी, माथिल्लो कर्णालीको विद्युत् खरिद र नवीकरणीय ऊर्जामा सहकार्यबारे छलफल हुन लागेको छ । 
विद्युत् व्यापारका लागि झापा र भारतको भूभाग हुँदै अन्तरदेशीय प्रसारण लाइन र दुई देशबीचमा हुने ऊर्जा व्यापारबारे समेत छलफल हुन लागेको छ । त्यसैगरी यसअघि ऊर्जामन्त्री वर्षमान पुनको बंगलादेश भ्रमण र ऊर्जाबारे समझदारीमा समेत नेपालले ११ सय १० मेगावाटको सुनकोशी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोशी तेस्रोमा लगानीको लागि प्रस्तावित गरिसकेको छ । बैठकमा यी लगायतका बंगलादेशले नेपालको जलविद्युत् आयोजनामा गर्न सक्ने लगानीबारे समेत छलफल गर्ने कार्यक्रम छ । भारतीय कम्पनी जीएमआरले नेपालमा निर्माण गर्न लागेको ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बेच्नेबारे बंगलादेश र जीएमआरबीचको समझदारी अन्तिम चरणमा पुगेको छ । बैठकमा यसबारे समेत छलफल हुने मन्त्रालयले जनाएको छ । त्यसैगरी बैठकमा सौर्य ऊर्जा (सोलार) लगायतका नवीकरणीय ऊर्जा क्षेत्रमा दुई देशबीच गर्न सकिने सहकार्यबारे समेत छलफल गरिने मन्त्रालयले जनाएको छ । 
सचिवस्तरीय समितिको नेतृत्व नेपालबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र बंगलादेशतर्फका सचिव अहमद काइकाउसले गर्दैछन् ।

No comments: