Sunday, August 5, 2018

भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सकियो

दुई महिनाभित्र सबै काम सक्न मन्त्रीको निर्देशन
सोमवार, श्रावण २१, २०७५
नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको नेपालकै पहिलो भूमिगत विद्युत् प्रसारणलाइनको निर्माण कार्य ४८ प्रतिशत पूरा भएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनुपर्नेमा त्यसको ४८ प्रतिशत अर्थात् ६३० मिटरको काम सकिएको हो । भूमिगत रूपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको प्राधिकरणले जनाएको छ ।
भूमिगत प्रसारण लाइन निरीक्षणका लागि गएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई महिनाभित्र प्रसारणलाइन निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका थिए । ऊर्जासचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित आइतबार आयोजनाको स्थलगत निरीक्षण गर्न पुगेका मन्त्री पुनले भूमिगत लाइनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । 
ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिइएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको थियो । ठेकेदारले समस्या सुनाएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका थिए । “स्थानीयलाई मिलाउँछौं, गृहमन्त्रीसँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौं, रुख कटानमा रहेको समस्या समाधान गछौं,” मन्त्री पुनले भने, “सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नुपर्छ ।” 
मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्ने ६८२ वटा रुख काट्न स्वीकृति दिएको थियो । तर, अहिले प्रसारण लाइनको रुट केही परिवर्तन हुँदा काट्नुपर्ने रुखको संख्या घटेर ३३६ पुगेको छ । रुख कटान स्वीकृतिका लागि फाइल वन विभागका पुगेको छ । रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुनः पेश गर्नुपरेको आयोजनाले जनाएको छ । काट्नु पर्ने रुखमा टाँचा लगाइसकिएको छ । 
भूमिगत लाइनका लागि सडक खनिएकाले वर्षाको हिलो भएको भन्दै स्थानीयले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोही अनुसार गर्न निर्देशन दिएका छन् । 
प्रसारणलाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली ‘ए’ को विद्युत् काठमाडौं ल्याउन निर्माण गरिएको हो । माथिल्लो त्रिशूली ‘ए’ को निर्माण आगामी पुसभित्र सक्ने लक्ष्य राखिएको र सो अवधिभित्र प्रसारणलाइन बन्न नसकेमा विद्युत् प्रसारणमा समस्या आउने देखिएको छ । ४५ किलोमिटर प्रसारण लाइनको १४० वटा टावरमध्ये १२७ को जग हालिसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए । यो प्रसारणलाइन आगामी दिनमा त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत् काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रसारणलाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा बनिरहेको हो ।

No comments: