Tuesday, August 14, 2018

नेपाल–वंगलादेश ऊर्जा सहकार्यमा समझदारी

–छिट्टै द्धिपक्षीय संयन्त्र बन्ने
–समझदारी नेपालका लागि कोशेढुंगाः ऊर्जा मन्त्री
–लगानी र विद्युत व्यापारमा खुल्लाः वंगलादेश मन्त्री
–सुनकोशी दोस्रो र तेस्रोमा सहकार्य गर्न प्रस्ताव
–नीजि क्षेत्रसँग सहकार्य गर्ने वंगलादेशी मन्त्रीको घोषणा
भीम गौतम
काठमाण्डौ, २६ साउन । नेपाल र वंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नका लागि शुक्रबार दुई देशबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेसन) सम्बन्धी समझदारी भएको छ । 
नेपाल र वंगलादेशबीच ऊर्जा क्षेत्रमा लगानी, विद्युत आदानप्रदान तथा सहयोगका लागि समझदारी भएको हो । नेपालले दुई छिमेकी राष्ट्र भारत र चीनपछि वंगलादेशसँग ऊर्जा सहकार्यबारे समझदारी गरेको हो । शुक्रबार द्धिपक्षीय बैठकपछि ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले समझदारीपत्रमा हस्ताक्षर गरे । 
हस्ताक्षरपछि बोल्दै ऊर्जा मन्त्री पुनले समझदारी नेपालको ऊर्जा क्षेत्रको लागि कोशेढुंगा सावित हुने बताए । ‘वंगलादेश र नेपालबीच भएको समझदारीले दुई देशबीच ऊर्जा विकासमा सहकार्य गर्नका लागि ठूलो सहयोग पुग्नेछ ।’–उनले भने–‘सहकार्यका लागि ढोका खुल्ला गरेको छ ।’ वंगलादेशका मन्त्री हमितले वंगलादेश नेपालको जलविद्युत क्षेत्रमा लगानीका साथै विद्युत आदानप्रदानका लागि तयार रहेको बताउँदै वंगलादेश सरकार–सरकार (जीटुजी)का साथै नीजि क्षेत्रसँगको सहकार्यमा ऊर्जामा लगानी गर्न तयार रहेको बताए । उनले वंगलादेशका प्रधानमन्त्रीले नेपालमा ऊर्जामा लगानी गर्ने घोषणा गरिसकेको र आफूले नेपालका प्रधानमन्त्रीसँग गरेको भेटमा उहाँ पनि वंगलादेशसँग सहकार्यका लागि तयार रहेको बताएकोले सहकार्यको प्रकृया अघि बढ्ने बताए । 
समझदारीपछि औपचारिक रुपमा ऊर्जासँग सम्बन्धित नेपाल र बंगलादेशबीच सचिवको संयुक्त कार्यकारिणी (स्टेरिङ) समूह र सह–सचिवको नेतृत्वमा प्राविधिक कार्यगत (ग्रुप) निर्माण हुनेछ । ऊर्जा मन्त्रालयका अनुसार, छिट्टै संयन्त्र स्थापना गर्ने र दुई महिनाभित्र पहिलो बैठक बस्नेबारे बैठकमा छलफल भएको छ । समझदारीपत्रमा जलविद्युत विकास, प्रसारण, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जाका विकास, सार्वजनिक र नीजि क्षेत्रबीचको सहकार्य लगायतबारे उल्लेख छ । छलफलको क्रममा नेपालले हाल अध्ययन भईरहेका ११ सय १० मेगावाटको सुनकोशी दोस्रो र ५३६ मेगावाटको सु्नकोशी तेस्रो जलाशययुक्त आयोजनामा सहकार्य गर्न प्रस्ताव गरेको थियो भने वंगलादेश पक्षले समझदारीपछि बन्ने संयन्त्रमा छलफल गर्ने बताएको थियो । 
भारतीय कम्पनी जिएमआरले अघि बढाएको ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विद्युत वंगलादेशमा विक्री गर्ने सैद्धान्तिक सहमति भैसकेको छ । भारतीय विद्युत निगममार्फत ५ सय मेगावाट कर्णालीको बिजुली वंगलादेश बेच्ने आयोजनाको लक्ष्य छ । 
शुक्रबारनै वंगलादेशका मन्त्री हमितको उपस्थितमा नीजि क्षेत्रका जलविद्युत प्रवद्र्धकसँग छलफल भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपाल र ऊर्जा विकास परिषद (इडीसी) ले आयोजना गरेको कार्यक्रममा मन्त्री हमितले नेपालको नीजि क्षेत्रसँगको सहकार्य गर्न तयार रहेको बताए । वंगलादेशको आर्थिक वृद्धिदर उच्च बनाउन नेपालबाट वंगलादेश विद्युत लैजान तयार रहेको बताउँदै नेपालका नीजि क्षेत्रसँग मिलेर लगानी गरिने बताए । सन् २०३० भित्र ३० हजार र सन् २०४० भित्र ४० हजार मेगावाट ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको बताउँदै यसमा सहकार्य गर्न सकिने बताए । नेपालका लागि वंगलादेशकी राजदूत मासफी विनितले नेपालमा लगानीका लागि वंगलादेशले छलफल अघि बढाईसकेको बताउँदै समझदारीले अझ सहज बनाएको बताइन् । इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईले नेपालमा नीजि क्षेत्र वंगलादेश ऊर्जा विकासका लागि तयार रहेको बताउँदै यसका लागि सहकार्य गरिने बताए । 
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले कार्यपत्र प्रश्तुत गर्दै नेपालका ठूला परियोजनामा लगानीका लागि आवश्यक सहजीकरण गर्ने बताए । इप्पानका पुर्व अध्यक्ष खड्गबहादुर विष्टले कार्यपत्र प्रश्तुत गर्दै सन् २०४० सम्ममा नेपाललाई ३६ हजार मेगावाटभन्दा बढी विद्युत आवश्यक रहेको बताउँदै ऊजा विकासका लागि नेपाल–भारत र चीनबीचमा त्रिपक्षीय सहकार्य जरुरी रहेको बताए । वंगलादेश–भुटान–भारत–नेपाल (बीबीएन) बीच साझा संयन्त्र बनाएर ऊर्जा विकास अघि बढाउन सकिने बताउँदै जलवायु परिवर्तनको असरबाट जोगिने निर्माण हुने स्वच्छ ऊर्जामा नेपालले योगदान दिन सक्ने बताए । उनले वंगलादेशसँगको सहकार्य ऊर्जा विकास गरेर १२ बर्षभित्र ८ हजार मेगावाटसम्म वंगलादेशमा विद्युत निर्यात गर्न सकिने बताए । 

No comments: