Sunday, September 30, 2018

२६ लाख उपभोक्तामा अनलाइनबाट भुक्तानी सुविधा

http://karobardaily.com/news/development/11069
आइतवार, आश्विन १४, २०७५
प्रयोग गर्ने भने पौने तीन लाख मात्र
नेपाल विद्युत् प्राधिकरणका २६ लाख उपभोक्ताले अनलाइनमार्फत बिजुलीको बिल तिर्न पाउने भएका छन् । ३३ लाख घरायसी ग्राहकमध्ये विद्युत् प्राधिकरणले अघि बढाएको अनलाइन पेमेण्ट सिस्टममार्फत २६ लाख ग्राहकले भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो । देशभर रहेका १६८ संकलन केन्द्रमध्ये १४१ काउन्टरमा अनलाइनमार्फत भुक्तानीको व्यवस्था गरिएको प्राधिकरण ग्राहक तथा वितरण केन्द्रका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले जानकारी दिए । “२०७४ साल भदौदेखि अनलाइन पेमेन्ट सिस्टम सुरु गरेका हौं, हालसम्म घरायसीमध्ये ८० प्रतिशतमा अनलाइनमार्फत पेमेन्ट गर्ने व्यवस्था गरेका छौं,” उनले भने ।एक वर्ष अघिसम्म ८० रुपैयाँको बिजुलीको बिलका पाँच सय रुपैयाँसम्म खर्च गर्नुपर्ने तथा विद्युत् प्राधिकरणको काउण्टरमा समेत घण्टांै लाइन लाग्नुपर्ने अवस्थामा रहेका विद्युत् प्राधिकरणका उपभोक्ताले बिनाझन्झट अब अनलाइनमार्फत बिजुलीको बिल तिर्न पाउनेछन् । विद्युत् प्राधिकरणका अनुसार, ईसेवा, प्रभु बैक, पेप्वाइन्ट नेपाल, सीएफएस, सिटी एक्सप्रेस, महालक्ष्मी विकास बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकमार्फत भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ । अनलाइनमार्फत घरमै बसेर वा विभिन्न आठ निकायहरूमार्फत पनि बिजुलीको बिल भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ । ईसेवा, पे प्वाइन्ट लगायतले गाउँ गाउँमा काउण्टर राखेर बिजुलीको बिल तिर्ने व्यवस्था गरिसकेका छन् । आफ्नो मोबाइलमा समेत एप्स डाउनलोड गरेर सम्बन्धित वित्तीय संस्था तथा निकायमा भएको बचतबाट घरमै बसीबसी बिजुलीको बिल तिर्न पाउने व्यवस्था गरिएको छ । “तोकिएका वित्तीय संस्था र निकायसँग समन्वय गरेर बिजुलीको बिल भुक्तानी गार्न सकिन्छ, बिल तिर्ने वित्तिकै त्यसको भुक्तानी रसिद पनि पाइन्छ, यो एकदम सुरक्षित छ, निःशुल्क रूपमा भुक्तानी गर्न सकिन्छm” उपकार्यकारी निर्देशक हरराज न्यौपानेले भने, “चालू वर्षभित्र अनलाइनमार्फत भुक्तानी गर्नेको संख्या १२ लाख पु¥याउने लक्ष्य छ ।” अनलाइनमार्फत बिजुलीको बिल तिर्न पाइने भएपनि अहिले बिजुलीको भुक्तानी तिर्र्ने संख्याको संख्या भने एकदम कम छ । विद्युत् प्राधिकरणका अनुसार २६ लाखलाई अनलाइनमार्फत बिजुलीको बिल भुक्तानी गर्न पाउने भएपनि यसबारे उपभोक्तालाई जानकारी नहुँदा हालसम्म २ लाख ७४ हजार उपभोक्ताले मात्र अनलाइन उपयोग गरेका छन् । अनलाइन प्रयोग गर्ने समग्रमा संख्या न्यून भएपनि संख्या भने बढ्दै गएको विद्युत् प्राधिकरणले जनाएको छ । वैशाख २०७५ मा १ लाख ६१ हजार रहेकोमा जेठमा २ लाख १४ हजार, असारमा २ लाख २६ हजार, साउनमा २ लाख ७१ हजार र भदौमा २ लाख ७४ हजार उपभोक्ताले अनलाइनमार्फत बिजुलीको बिल तिरेका छन् । अधिकांशसम्म मोबाइल हुने र मोबाइलमा इन्टरनेट चलाउने हुनाले अनलाइनमार्फत बिजुलीको बिल तिर्न सहज हुने भएपनि यसबारे जनचेतना जगाउने कार्यक्रम अघि बढाउन लागिएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।विद्युत् प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणका आठ क्षेत्रीय कार्यालयमध्ये अनलाइनमार्फत बिल तिर्नेमा विराटनगर क्षेत्रीय कार्यालयमा सबैभन्दा बढी छन् भने अत्तररियामा सबैभन्दा कम छन् । सबैभन्दा बढी इन्टरनेटको पहुँच पुगेको काठमाडांैमै पनि अनलाइनबाट सेवा लिने निकै कम 

ऊर्जामा संयुक्त लगानी गर्न नेपाल–चीन तयार


http://karobardaily.com/news/development/11095
आइतवार, आश्विन १४, २०७५
ऊर्जा क्षेत्रमा सहकार्य गर्न गठित नेपाल र चीनबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक ऊर्जा क्षेत्रको विकासका लागि संयुक्त रूपमा लगानी गर्न सहमत भएको छ । 
शुक्रबार बसेको संयन्त्रको बैठकले ऊर्जा विकासमा सहकार्यका लागि योजना बनाउने निर्णय गर्दै संयुक्त लगानीका लागि सहजीकरण गर्न सहमति गरेको हो । बैठकले दुवै देशका प्राविधिक सम्मिलित संयुक्त कार्य समूह गठन गरी योजना बनाएर पेस गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए । बैठकमा दुवै देशको विद्युत्मा माग र आपूर्तिको अवस्था, भविष्यको प्रक्षेपण र विकास, लगानीको सम्भावनालगायतबारे छलफल भएको थियो । बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव अनुपकुमार उपाध्याय र चीनको तर्फबाट इन्टरनेसनल इकोनोमिक डिपार्टमेण्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गरेका थिए । 
यसअघिनै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा भएको सहमतिबारे समेत छलफल भएको थियो । प्रधानमन्त्रीको भ्रमणका क्रममा लगानीका लागि नेपालले प्रस्ताव गरेका नलगाढ, नौमुरे, किमाथांका, सुनकोशी–२ र ३, तमोर र फुकोट कर्णाली जलविद्युत् आयोजनाबारे समेत छलफल भएको थियो ।

Saturday, September 29, 2018

नेपाल र चीनबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक

http://karobardaily.com/news/development/11025
शुक्रवार, आश्विन १२, २०७५
संयुक्त कार्ययोजना बनाइने
ऊर्जा क्षेत्रमा सहकार्य गर्नका लागि गठित नेपाल र चीनबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक शुक्रबार (आज) काठमाडौँमा बस्दैछ । गत असार ५ देखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार ऊर्जा क्षेत्रका सहकार्य अघि बढाउनका लागि गठित संयन्त्रको बैठक बस्न लागेको हो । ऊर्जा क्षेत्रमा सहकार्य गर्नका लागि गठित नेपाल र चीनबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक शुक्रबार (आज) काठमाडौँमा बस्दैछ । गत असार ५ देखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार ऊर्जा क्षेत्रका सहकार्य अघि बढाउनका लागि गठित संयन्त्रको बैठक बस्न लागेको हो । बैठकका लागि चिनियाँ टोली बिहीबार काठमाडौँ आइपुगेको छ । शुक्रबार बस्ने बैठकमा दुवै देशको विद्युत्मा माग र आपूर्तिको अवस्था, भविष्यको प्रक्षेपण र विकासको अवस्था बारे जानकारी आदानप्रदान गरी संयुक्त कार्ययोजना बनाउने लक्ष्य राखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए । “दुवै देशको अहिले ऊर्जाको अवस्था र भविष्यको प्रक्षेपणबारे प्रस्तुत गरेर अघि बढ्नसक्ने सम्भावनालाई लक्षित गरी कार्ययोजना निर्माण गर्ने लक्ष्य राखिएको छ,” उनले भने । बैठकमा नेपालको तर्फबाट ऊर्जासचिव अनुपकुमार उपाध्याय र चीनको तर्फबाट इन्टरनेसनल इकोनोमिक डिपार्टमेण्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गर्नेछन् । बैठकमा दुई देशको ऊर्जाका अवस्थाबारे जानकारी आदानप्रदानपछि सम्भावित लगानीबारे समेत छलफल हुनेछ । यसअघि नै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा भएको सहमतिबारे समेत छलफल हुने कार्यक्रम छ । प्रसारण लाइनतर्फ भने अन्य सम्भावित अन्तरदेशीय लाइनका साथै प्रधानमन्त्रीको भ्रमणको क्रममा लगानीका लागि नेपालले प्रस्ताव गरेका नलगाढ, नौमुरे, किमाथांका, सुनकोशी–२ र ३, तमोर र फुकोट कर्णाली जलविद्युत् आयोजनाबारे समेत छलफल हुने कार्यक्रम छ । हालै चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकसमेत बसेको थियो । बैठकमा अन्तरदेशीय प्रसारण लाइनको वित्तीय व्यवस्थापनको प्रारूप तयार लगायतका विषयमा छलफल भएको थियो । सो प्रसारण लाइनतर्फ नेपालतर्फ गल्छीदेखि रसुवागढीसम्म ७० किलोमिटर छ भने चीनको सिगात्छदेखि रसुवागढीसम्म करिब ६ सय किलोमिटर छ । चीनतर्फ ५०० केभी र नेपालतर्फ ४०० केभीको प्रसारण लाइन प्रस्ताव गरिएको छ । 

Thursday, September 27, 2018

भूकम्प प्रभावितले पाउने निब्र्याजी ऋण व्यवस्था खारेज

बिहिवार, आश्विन ११, २०७५
सरकारले भूकम्प प्रभावितलाई दिने घोषणा गरेको निब्र्याजी सहुलियत ऋण पाउने व्यवस्था खारेज गरेको छ । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्याउँदै भूकम्प प्रभावितले निब्र्याजी ऋण पाउने व्यवस्था खारेज गरेको हो ।
तत्कालीन सरकारले सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै भूकम्प प्रभावितहरूले बन्दै गरेको घर धितो राखेर तीन लाख रूपैयाँसम्म ऋण पाइने व्यवस्था लागू गरेको थियो । त्यसअघि सरकारले भूकम्प प्रभावितलाई दुई प्रतिशत सहुलियत ब्याजदरमा ऋण दिने व्यस्था गरेको थियो । सरकारको कम पहलकदमी र बैंकहरूका कारणले सहुलियत ऋण पूर्णरूपमा भने कार्यान्वयन आएको छैन, तर ऋण लिने क्रम भने सुरु भैसकेको थियो ।
भूकम्प प्रभावित क्षेत्रका धनीमानी र पैसा हुनेहरूले पुनर्निर्माणको काम अघि बढाए पनि गरिब र विपन्नले निर्माण गर्न नसकेको भन्दै गुनासो आइरहेका बेला सरकारले निब्र्याजी ऋणलाई हटाएपछि अब ऋण दिँदा कम्तिमा ८ प्रतिशत पुग्नेछ । एकीकृत कार्यविधिका अनुसार, नेपाल सरकारले ब्याज अनुदान उपलब्ध गराउने यस्तो कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा दुई प्रतिशत बिन्दूभन्दा बढी नहुने गरी ब्याज लिन पाउने व्यवस्था गरिएको छ । हाल अधिकांश बैंकको आधार दर ६ प्रतिशतभन्दा कम नरहेकाले त्यसमा दुई प्रतिशत थपिएर कम्तिमा आठ प्रतिशत पुग्नेछ । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेले एकीकृत कार्यविधिपछि बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा दुई प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरिएको बताए । “सरकारले ल्याएको एकीकृत कार्यविधि अनुसार पाँच वर्षका लागि भूकम्प प्रभावितले सहुलियत कर्जाको ऋण पाउनेछन्,” उनले भने, “यो बैंक तथा वित्तीय संस्थाको आधारदरमा दुई प्रतिशतभन्दा बढी लिन नपाइने व्यवस्था गरिएको छ ।” कार्यविधिमा कर्जामा बैंक तथा वित्तीय संस्थाले यो ब्याजबाहेक अन्य कुनै प्रकारको थप सेवा शुल्क लिन नपाउने उल्लेख छ । 
कार्यविधिमा बैंक तथा वित्तीय संस्थाहरूले भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा सामूहिक वा धितो जमानीमा प्रवाह गर्ने उल्लेख छ । प्राधिकरणका प्रवक्ता घिमिरेले आर्थिक अभावका कारण घर निर्माण सुरु गर्न नसकेका खासगरी निम्न मध्यम वर्गका लाभग्राहीका लागि सहुलियतपूर्ण कर्जा उपयोगी हुने दाबी गरे । “दसैं तिहारपछि निजी आवास निर्माणको मौसम सुरु हुन्छ, यो कर्जाले आर्थिक अभावका कारण घर निर्माण अघि बढाउन नसकेका लाभग्राहीलाई राहत दिनेछ,” उनले भने ।
तर, यस्तो ऋण लिन कार्यविधिले केही सर्त भने राखेको छ । कर्जा प्राप्त गर्न लाभग्राहीले निजी आवास अनुदानबाहेक अन्य संस्थागत अनुदान नलिएको हुनुपर्ने तथा सम्बन्धित लाभग्राही आर्थिक अभावका कारण हालसम्म निर्माण कार्य सुरु गर्न नसकेको भूकम्प पीडित मात्र यसका लागि योग्य हुने उल्लेख छ ।

‘हेजिङ फन्ड’ ढिलाइप्रति ऊर्जामन्त्रीसँग राजदूतको गुनासो

बिहिवार, आश्विन ११, २०७५
काठमाडौं-दक्षिण कोरियाली राजदूत योङग सिक पार्कले सरकारले हेजिङ फन्ड स्थापना नगर्दा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना अघि बढाउन समस्या परेको गुनासो गरेका छन् । 
निर्माणमा जान तयार भए पनि हेजिङ फन्डको ग्यारेण्टी नभएपछि अघि बढ्न नसकेको आयोजनाको लागि बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई सिंहदरबारमा भेटेर यस्तो गुनासो गरेका हुन् । हेजिङ फन्ड स्थापना नभएसम्म आयोजनाको वित्तीय व्यवस्थापन हुन नसक्ने भएकाले आयोजनाको काम अघि बढ्न सकेको छैन । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका अधिकारीका अनुसार, डलरको भाउमा आउने उत्तारचढावसँगै ऋण लगानी गर्ने निकायले हेजिङ फन्डको स्थापना नभएसम्म ऋण लगानी गर्ने अवस्था नदेखिएपछि राजदूत पार्क पुगेर मन्त्रीलाई छिटो स्थापनाका लागि आग्रह गरेका थिए । 
एक वर्षअघिदेखि नेपाल राष्ट्र बैकले हेजिङ फण्डको काम अघि बढाएको बताए पनि हालसम्म स्थापना हुन सकेको छैन । भेटमा मन्त्री पुनले हेजिङ फण्डबारे आफूले राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारीहरू राखेर ऊर्जा मन्त्रालयमा छलफल गरिसकेको र छिट्टै परिणाम सकरात्मक आउनेमा आफू आशावादी रहेको बताए । राजदूत पार्कले हेजिङ फण्ड चाँडै स्थापना भएमा कोरियन कम्पनीले जिम्मा पाएको माथिल्लो त्रिशूली–१ जलविद्युत् परियोजना आगामी जनवरीबाट निर्माण सुरु गर्ने जानकारीसमेत मन्त्रीलाई दिएका थिए । राजदूतले परियोजनाले नेपालको विकासमा ठूलो योगदान पुग्ने भन्दै त्यसका लागि ४५० मिलियन डलर ऋण लिने प्रक्रियामा कम्पनीले प्रक्रियाअघि बढाइसकेको जानकारी दिए । आयोजनाका अनुसार, ऋण लिने प्रक्रियामा हेजिङ फण्डको कुरा उठेपछि हाललाई ऋण लिने प्रक्रियाअघि बढेको छैन ।
भेटमा मन्त्री पुनले ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै कोरियाली लगानीकर्तालाई थप लगानी गर्न समेत आग्रह गर्दै कोरीयाली निर्माण कम्पनीलाई लगानीका लागि नेपाल आउने वातावरण बनाउन आग्रह गरे । भेटमा राजदूत पार्कले कोरीयाली कम्पनीले बनाउने तयारी गरिरहेको २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जस्ता परियोजना नेपालको विकासका लागि आवश्यक रहेको भन्दै त्यसको प्रगतिबारे जानकारी गराएका थिए । 
२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ परियोजनामा कोरियन साउथ इस्ट पावर कम्पनी लिमिटेडको ५२ प्रतिशत, डेलिम कन्स्ट्रक्सन कम्पनी लिमिटेडको १६ प्रतिशत, केरुङ कन्स्ट्रक्सन कम्पनीको १० प्रतिशत, इन्टरनेसन फाइनान्स कर्पको १२ प्रतिशत र नेपाली साझेदारको १० प्रतिशत सेयर रहेको छ । आयोजनाको कुल लागत ५५ अर्ब रुपैयाँ छ ।

Tuesday, September 25, 2018

अमेरिकी अनुदानको परियोजना अघि बढ्न तीन सर्त बाँकी

 मंगलबार, आश्विन ९, २०७५
नेपालमै पहिलोपटक सडकमा एफडीआर प्रविधि
नेपाल सरकारले तीनवटा सर्त पूरा गरेपछि मात्र अमेरिकी अनुदान सहयोगमा निर्माण हुन लागेका ऊर्जा र सडकसहितका परियोजना अघि बढ्ने भएका छन् । 
अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल सरकारले संसद्बाट परियोजना पारित, विद्युत् व्यापारका लागि छिमेकी राष्ट्रसँग द्वीपक्षीय सम्झौता र जग्गा प्राप्ति प्रक्रिया पूरा भएपछि मात्र आयोजना निर्माण अघि बढ्ने जनाएको हो । ५ सय मिलियन डलरको अनुदान सहयोग र सरकारको १ सय ३८ मिलियन गरी ६३८ मिलियन डलरमा निर्माण हुन लागेको सो परियोजना एक वर्षभित्र अर्थात् सेप्टेम्बर २०१९ देखि सुरु गर्ने लक्ष्य राखिएको छ । नेपालका ठूला आयोजनाको निर्माण लागत र समय दुवै दोब्बरभन्दा बढी भइरहेका बेला यो परियोजना निर्माण सुरु भएको पाँच वर्षभित्र पूरा नभएमा स्वतः अनुदान फिर्ता गर्ने सर्त राखिएको छ । 
नेपालले विकास आयोजनाका लागि पाउँदै आएको अनुदानमध्ये अमेरिकी सहयोगको यो अनुदान हालसम्मकै सबैभन्दा बढी हो । नेपाल भ्रमणमा रहेकी एमसीसीकी युरोप, एसिया, प्यासिफिक एन्ड ल्याटिन अमेरिकाकी प्रबन्ध निर्देशक क्यारोलिन टी न्गुयेनले एमसीसीले नेपालको आर्थिक वृद्धिदरलाई लक्षित गरेर अमेरिकी सहयोगमा ऊर्जा र सडकका परियोजना अघि बढाउन लागेको जानकारी दिइन् । “सेप्टेम्बर २०१९ देखि आयोजनाको निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ,” उनले भनिन् “हाल परियोजनाअन्र्तगत अघि बढ्ने आयोजना विभिन्न अध्ययन र विकासको चरणमा छन् ।” उनका अनुसार अबको एक वर्षभित्र एमसीसीका आयोजनालाई संसद्बाट अनुमोदन, विद्युत् व्यापारका लागि छिमेकी राष्ट्रसँगको सम्झौता र जग्गा प्राप्ति भएपछि मात्र आयोजना अघि बढ्नेछन् । “सरकार, नीजि क्षेत्र र नागरिक समाजको सहभागितामा परियोजना अघि बढाउन लागेका छौं,” उनले भनिन् ।
परियोजनाअन्तर्गत चार सय केभीका दुई तथा सडक निर्माणअन्तर्गत नमूनासहित ६ सडकको मर्मत सम्भार गर्ने योजना छ । प्रशारणलाइनतर्फ लप्सीफेदीदेखि दमौलीसम्मको ३ सय किलोमिटर र दमौलीदेखि नेपाल–भारतको सीमा नजिक सुनवलसम्म २३ किलोमिटर ४ सय केभीको प्रसारण लाइन निर्माण गर्ने योजना छ । परियोजनाअन्तर्गत नुवाकोटको गल्छी, तनहुँको दमौली र सुनवलमा सवस्टेसन निर्माण हुनेछ । एमसीसीको सहयोगमा निर्माण गरिने प्रसारण लाइन सरकारले प्रस्ताव गरेको न्यूबुटवलदेखि गोरखपुरसम्मको दोस्रो अन्तरदेशीय प्रसारणसँग जोडिनेछ । एमसीसीले हाल अध्ययनको चरणमा रहेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण सुनिश्चित हुनुपर्ने पूर्वसर्त राखेको छ । संसद्बाट अनुमोदन र जग्गा प्राप्ति तुलनात्मकरूपमा सहज भए पनि बुटवल गोरखपुर प्रसारण लाइनमा भने द्विपक्षीय सम्झौताको खाँचो छ । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरे आयोजनाको लगानीको प्रारूप बनाउनका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणको टोली गठन गरी गृहकार्य गरिरहेको बताउँछन् । 
त्यसैगरी परियोजनाअन्तर्गत मेची लोकमार्गको चारआलीदेखि फिदिमसम्मको १३० किलोमिटर, कोशी लोकमार्गको धरानदेखि बसन्तपुरसम्मको ८८ किलोमिटर, सगरमाथा लोकमार्गको लहानदेखि गाईघाटसम्मको २६ किलोमिटर, रत्न लोकमार्गको अमेलियादेखि तुलसीपुरसम्मको ३८ किलोमिटर र त्रिभुवन लोकपथको हेटौंडादेखि भीमफेदीसम्मको २२ किलोमिटर सडक मर्मत सम्भार हुन लागेको छ । सबै आयोजनामा नेपालमा पहिलोपटक फूल डेफ्थ रिक्लाईमेसन (एफडीआर) प्रविधिमा सडक निर्माण गरिने एमसीसीका देशीय निर्देशक ट्रोय ई कोफरोथले जानकारी दिए । “नमुनाका रूपमा हेटौंडादेखि पथलैया वा हेटौंडा–भरतपुरको सडकमा यो नयाँ प्रविधि उपयोग गरी मर्मत सम्भार गर्न लागेका छौं,” उनले भने । 
तर, हेटौंडा–पथलैयाको सडक मर्मत, सम्भार गर्दा वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्नुपर्ने भएकाले हेटौंडादेखि भरतपुरसम्मको ३० किलोमिटर सडकमा यो प्रविधि उपयोग गर्न लागिएको एमसीसीले जनाएको छ । यो नयाँ प्रविधिअन्तर्गत पुरानो भत्काउने, नपुगेको ठाउँमा थप्न र भत्काएको सामानसमेत उपयोग गर्ने गरिन्छ । छिमेकी राष्ट्र भारतमा उपयोग गरिएको यो प्रविधि अपनाउँदा २५ प्रतिशतसम्म लागत घटे पनि नेपालमा भने नमूना परियोजनापछि मात्र थाहा हुने छ । नमूना परियोजना ६ महिनाभित्रै सुरु गरेर १ वर्षभित्र सकाउने सोच पनि रहेको कार्यालयले जनाएको छ । 
गत सेप्टेम्बर १४ मा अमेरिकामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी विदेश उपमन्त्रीले हस्ताक्षर गरेको परियोजना कार्यान्वयनका लागि एमसीए (मिलेनियम च्यालेन्ज एकाउन्ट) नेपाल बोर्ड गठन भैसकेको छ । ऊर्जा र यातायातका परियोजना कार्यान्वयनका लागि स्पेसल पर्पोज भेइकल (एसपीभी) अन्तर्गत गठन हुने एमसीए नेपालको बोर्ड गठन भएको हो । बोर्डमा सरकार, नीजि क्षेत्र र नागरिक समाजको प्रतिनिधित्व छ । सरकारले हालै मात्र दुई प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणासमेत गरिसकेको छ ।

Monday, September 24, 2018

ईपीसीएफ नीतिबिनै बूढीगण्डकी पुनः गेजुवालाई

सोमवार, आश्विन ८, २०७५
सरकारले इन्जिनियरिङ, प्रक्युर्मेन्ट, कन्ट्रक्सन र फाइनान्स (ईपीसीएफ)सम्बन्धी नीति नै नबनाइ १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना पुनः चिनियाँ कम्पनीलाई दिने प्रक्रिया अघि बढाएको छ । 
२०७४ जेठ ९ मा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले चिनियाँ कम्पनीलाइ ईपीसीएफको नीतिसमेत नबनाई बिनाप्रतिस्पर्धा दिइएको भन्दै विरोध भएपनि त्यसको झण्डै १ वर्ष ४ महिनापछि पुनः नीतिबिनै दिनका लागि प्रक्रिया अघि बढाइएको हो । तत्कालीन संसदको कृषि तथा जलस्रोत र अर्थ समितिको संयुक्त बैठकले खारेजीका लागि निर्देशन दिएपछि र यसबारे विवाद बढ्दै गएपछि अघिल्लो सरकारले खारेज गरेर स्वदेशी लगानीमा बनाउने निर्णय गरेको थियो । तर, फेरि केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः चिनियाँ कम्पनीलाई दिनेगरी प्रक्रिया अघि बढाएको हो । 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शुक्रबारको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी चाइना गेजुवा गु्रप कर्पोरेसन (सीजीजीसी)ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ईपीसीएफ मोडेलमा आयोजना अघि बढाउने गरी आवेदन दिएकोमा वार्ता गरी उपयुक्त मोडेलमा छनोट गरेर समझदारी गर्ने निर्णय गरेको जानकारी दिए । “१ भदौमा गेजुवाले आधारपत्रसहित निवेदन दिएकोमा त्यसको आधारमा उपयुक्त कार्यविधि, संयन्त्र र लगानीबारे वार्तामार्फत प्रारूप तयार गरेर समझदारी गर्ने गरी मन्त्रालयलाई तोकेको छ,” मन्त्री पुनले भने, “यसकै आधारमा अब प्रक्रिया अघि बढ्छ, नेपालबाट लगानी गर्न असम्भव देखिएकोले चिनियाँ कम्पनीलाई दिनुपरेको हो ।”
ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले ईपीसीएफ नीति नबने पनि वैदेशिक लगानी हुने ठूलो आयोजनाको जलविद्युत् नीतिको दफा ३५ को आधारमा दिनसक्ने कानुनी व्यवस्थाको आधारमा प्रक्रिया अघि बढाइएको बताए । “अब वार्ता प्रक्रिया अघि बढ्छ, वार्तामा सरकारलाई चित्त बुझ्दो गरी दुवै पक्ष सहमत भएमा मात्र चिनियाँ कम्पनीलाई दिने हो, अहिले दिइएको भन्न मिल्दैन,” उनी भन्छन् । 
९ जेठमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयबमोजिम २० जेठमा चिनियाँ कम्पनी चाइना गेजुवा गु्रप कर्पोरेसन (सीजीजीसी)सँग तत्कालीन ऊर्जामन्त्री जनाद्र्धन शर्मा आफैंले हस्ताक्षर गरेका थिए । एक वर्षअघि असोजको दोस्रो साता तत्कालीन कृषि तथा जलस्रोत र अर्थ समितिको बैठकले प्रचलित कानुनविपरित र बिनाप्रतिस्पर्धा दिइएको भन्दै सम्झौता खारेज गर्न निर्देशन दिएको थियो भने कात्तिक अन्तिम साता तत्कालीन शेरबहादुर देउवाको नेतृत्वले सरकारले चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज गरेको थियो । तत्कालीन सरकारले तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा समिति गठन गरेकोमा समितिले स्वदेशी लगानीमा आयोजना बनाउन स्वीकृति दिँदै नेपाल विद्युत् प्राधिकरणलाई यसको जिम्मा दिएको थियो । मन्त्रिपरिषद्को निर्णयपछि भने गेजुवाले भने सरकारले आफूसँगको समझदारी एकतर्फी रूपमा खारेज गरेको भन्दै आयोजनाका सम्बन्धमा गरिएको निर्णय उल्ट्याउन आग्रह गरेको थयो । 
वाग्ले नेतृत्वको तत्कालीन समितिले आयोजना निर्माणका लागि स्वदेशबाटै २ खर्ब ७० अर्बदेखि ३ खर्ब ६७ अर्ब रूपैयाँसम्म लगानी जुटाउन सकिने उल्लेख गर्दै विद्युत् प्राधिकरणमार्फत बनाउनका लागि सरकारले पुनर्वास, जग्गा अधिग्रहण तथा अन्य भौतिक पूर्वाधार विकासका लागि आयोजनाको कुल लागतको करिब ३५ प्रतिशत अर्थात ९४ अर्ब रकम भायबिलिटी ग्याप फण्डिङ गर्ने वा सरकारले अति सहुलियत दरमा ऋणमार्फत उपलब्ध गराउनुपर्ने उल्लेख गरेको थियो । ऊर्जामन्त्री पुनले बूढीगण्डकीको लागत तीन खर्ब रूपैयाँ पुग्ने अवस्था रहेको तथा ऊर्जा मन्त्रालयले ६ खर्ब बराबरका ३५ सय मेगावाटका १९ आयोजना जनताको सहभागितामा निर्माण गर्न लागेकोले रकम नपुग्ने भएकोले चिनियाँ कम्पनीलाई दिनुपरेको बताएका छन् । तर, वाग्ले नेतृत्वको समितिको प्रतिवेदनमा भने वार्षिक विनियोजित बजेट र इन्धनमा लगाइने कार्बन करबाट १ सय ४० अर्बदेखि १ सय ६० अर्बसम्म, विद्युत्् प्राधिकरणले १० देखि २० अर्ब, कर्मचारी सञ्चय कोषबाट ३० देखि ५० अर्ब, नागरिक लगानी कोषबाट ३० देखि ४० अर्ब तथा नेपाल टेलिकमबाट १५ देखि २० अर्ब लगानीका साथै राष्ट्रिय बिमा संस्थान÷कम्पनीहरूबाट १० देखि २० अर्ब, जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीयल) बाट १० देखि १५ अर्ब, अपर तामाकोसी जलविद्युत्् कम्पनीबाट ७ देखि १० अर्ब र नेपाली सेना र नेपाल प्रहरीको कल्याणकारी कोषबाट ५ देखि ७ अर्बका साथै सर्वसाधारण र विप्रेषणबाट १० देखि २० अर्ब रूपैयाँसम्म लगानी जुटाएर स्वदेशी लगानीमै बनाउन सक्ने उल्लेख गरेको थियो । हालसम्म पेट्रोलमा लगाइएको करबाट मात्र २३ अर्ब रूपैयाँ जम्मा भइसकेको छ । 
अढाई वर्षअघि बूढीगण्डकीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएकोमा त्यसको लगत्तै वित्तिय व्यवस्थापनमार्फत आयोजना अघि बढाउन सकिने भएपनि बूढीगण्डकी जलविद्युत् आयोजना अनावश्यक विवादमा फसेको छ । डीपीआर अनुसार आयोजनाको लागत २ खर्ब ५९ अर्ब रुपैयाँ उल्लेख भए पनि यसलाई पुनरावलोकन गरी दुई खर्ब झार्न सकिने विभिन्न विज्ञहरूले बताउँदै आएकोमा मन्त्री पुनको भनाइअनुसार यसको लागत अझै बढेर तीन खर्ब पुग्ने देखिएको छ । स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्नका लागि बूढीगण्डकी जस्ता जलाशययुक्त आयोजना नबनीकन असम्भव भएपनि आयोजना भने राजनीतिको कुचक्रमा फसेको छ ।

Sunday, September 23, 2018

पश्चिमसेतीमा प्रतिस्पर्धा छल्न उच्चस्तरीय समिति


आइतवार, आश्विन ७, २०७५http://karobardaily.com/news/development/10771
पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले हात झिकेपछि पनि पुनः प्रतिस्पर्धाबेगर अघि बढाउन खोजिएको पाइएको छ । ७ सय ५० मेगावाटको यो आयोजना बिनाप्रतिस्पर्धा स्वार्थ मिल्ने कुनै विदेशी कम्पनीलाई दिनकै लागि उच्चस्तरीय समिति बनाइएको पाइएको छ । 
लगानी बोर्डले चिनियाँ कम्पनीले आयोजनाबाट हात झिक्ने बताएपछि प्रतिस्पर्धामार्फत अघि बढाउन प्रस्ताव लगेपनि उच्चस्तरीय समिति गठन भएको छ । गत मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पश्चिम सेतीको नयाँ ढाँचा बनाउनका लागि भन्दै ऊर्जा, जलस्रोत र सिँचाईमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी रहेको उच्चस्तरीय समिति गठन गरेको छ । “विश्वव्यापी खुला प्रतिस्पर्धामार्फत पश्चिमसेती अघि बढाउनका लागि बोर्डमा प्रस्ताव गरिएको थियो, तर बोर्डले उच्चस्तरीय समिति गठन गरेर त्यो प्रस्तावलाई अघि बढाएन,” लगानी बोर्ड निकट स्रोतले भन्यो, “७५ प्रतिशत विश्वव्यापी प्रतिस्पर्धामार्फत र २५ प्रतिशत जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी रहने र त्यसमध्येबाट सर्वसाधारण, स्थानीयबासी लगायतलाई सेयर दिन प्रस्ताव गरिएको थियो ।”
लगानी बोर्ड २०६८ को दफा ७ मा कार्यालयको काम, कर्तव्य र अधिकारमा बोर्डबाट स्वीकृति परियोजनामा प्रतिस्पर्धाका लागि लगानीकर्ताबाट तोकिएबमोजिम प्रस्ताव आह्वान गर्ने उल्लेख छ तर दफा १६ मा कम्तीमा दुई पटक प्रस्ताव आह्वान गर्दा पनि आवश्यक संख्यामा प्रस्ताव छनोट हुन नसकेमा, प्रतिस्पर्धा हुन सक्ने सम्भावना नभएमा लगायतका कारणबाट मात्र सोझै वार्ताद्वारा दिन सकिने उल्लेख छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भएको तथा तत्काल अघि बढाउन सकिने आयोजना भएपनि बोर्डले आफ्नो काम, कर्तव्य र अधिकारलाई बेवास्ता गरेको छ । बोर्डले पश्चिम सेती आयोजनासँग भएको समझदारीलाई अन्त्य गरेर नयाँ ढाँचामा अघि बढाउने घोषणा गरिएको भोलिपल्ट ३ असोज अर्थात संविधान दिवसमा दिइएको सार्वजनिक बिदाको दिनमा ऊर्जामन्त्री पुनलाई भेटेर चिनियाँ राजदूतले असन्तुष्टि पोख्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । 
दुई देशबीचको कुटनीतिलाई विश्लेषण तथा चालू वर्षको बजेटमा स्वदेशी लगानीमा बनाउने घोषणालाई समेत उपेक्षा गर्दै गरेर प्रतिस्पर्धाभन्दा अन्य परिस्थितिको आधारमा अघि बढाउनका लागि उच्चस्तरीय समिति गठन गरिएको हुनसक्ने लगानी बोर्डका अधिकारीहरूको बुझाइ छ । लगानी बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्ले भने प्रतिस्पर्धा वा अन्य उपयुक्त मोडेलको आधारमा अघि बढाउनका लागि उच्चस्तरीय समिति गठन गरिएको दाबी गर्छन् । “उच्चस्तरीय समितिले पश्चिम सेती निर्माणबारे स्पष्ट ढाँचा बनाउँछ, प्रतिस्पर्धाबाटै जान सकिन्छ, अन्य उपयुक्त मोडेल पनि हुन सक्छन्,” उनी भन्छन्, “अर्को बोर्ड बैठकसम्ममा उच्चस्तरीय समितिले प्रतिवेदन पेश गर्ने योजना छ ।”
२०६८ फागुनमा बिनाप्रतिपस्र्धा चिनियाँ कम्पनी चाइना थ्री–गोर्जेज इन्टरननेसनल कर्पोरेसन (सीटीजीआई) दिइएपछि लामो समयसम्म विवाद भएको थियो । तत्कालीन ऊर्जा मन्त्रालयले बिनाप्रतिस्पर्धा दिएपछि संसदका प्राकृतिक स्रोत साधन समितिले यसको विरोध गरे पनि लगानी बोर्डको मातहतमा लैजाने र वहुउद्देश्यीय बनाउने लगायतका सुझाव दिएको थियो । 
१७ वर्षसम्म अष्ट्रेलियन कम्पनी स्मेकले ओगटेको पश्चिम सेतीबाट ७ वर्षअघि सम्झौता गरेको चिनियाँ कम्पनी पनि बाहिरए पनि कुटनीतिका लागि भन्दै पुनः कुनै विदेशी कम्पनीलाई दिनका उच्चस्तरीय समिति गठन गरिएको आशंकाले पश्चिम सेतीको भविष्य अन्योल देखिएको छ । चिनियाँ कम्पनीले नबनाउने टुंगो लागे पनि प्रतिस्पर्धाको आधारमा वा स्वदेशी लगानीमा बनाउने भए त्यसका लागि पनि बाटो खुल्ला भएपनि यसलाई बेवास्ता गरेर सरकारले नयाँ ढाँचामा जाने भन्दै उच्चस्तरीय समिति गठन गरेपछि अब कतै फेरि डीपीआर तयार भएर तत्काल लगानीमा जान सक्ने आयोजना अघि बढाउन ढिलाइ हुने त होइन भन्ने अन्योल देखिएको हो । पहिला चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज नगरी चालू आर्थिक वर्ष २०७५÷७६ मा सरकारले स्वदेशी लगानीमा निर्माणको घोषणा गरेको थियो भने चिनियाँ सरकारले आपत्ति जनाएको थियो ।

२ प्रसारण लाइन राष्ट्रिय गौरव

आइतवार, आश्विन ७, २०७५
मन्त्रिपरिषद्ले अमेरिकी सहयोगमा निर्माण हुन लागेका दुई आयोजनालाई राष्ट्रिय गौरवको आयोजना तथा माथिल्लो अरुण जलविद्युत् आयोजना कम्पनी मोडेलमा अघि बढाउने निर्णय गरेको छ । 
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकी सरकारको मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले अघि बढाउन लागेको लप्सीफेदीदेखि दमौलीसम्म तथा दमौलीदेखि नेपाल–भारतको सीमानजिकको सुनवलसम्मको प्रसारण लाइनलाई राष्ट्रिय गौरवको आयोजना बनाउने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार, माथिल्लो अरुण आयोजना कम्पनी मोडेलमा अघि बढाउनका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिने निर्णय गरेको छ । 
अमेरिकाको करिब ५२ अर्बको अनुदान सहयोगमा मिलेनियम च्यालेन्स एकाउण्ट (एमसीए) गठन गरी ऊर्जा र यातायातका आयोजना अघि बढाउन लागिएको छ । सो अन्तर्गत चार केभीको लप्सीफेदीदेखि दमौलीसम्मको ३ सय किलोमिटर तथा दमौलीदेखि सुनवलसम्मको २३ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना छ । सो प्रसारण लाइन भारतसँग जोड्ने प्रस्तावित न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनसँग जोड्नेछ । 
त्यसैगरी हाल ३३५ मेगावाट तथा अध्ययनको क्रममा ७ सय मेगावाटसम्म क्षमता पुर्याउन सकिने लक्ष्य राखिएको माथिल्लो अरुण आयोजना कम्पनी मोडेलमा अघि बढाउन लागिएको छ । प्राधिकरणले अघि बढाउन लागे पनि यो निर्णयसँगै अब प्राधिकरणको सहायक कम्पनी माथिल्लो अरुण हाइड्रोपावर कम्पनीले आयोजनाको अनुमतिपत्र पाउनेछ । ऊर्जा मन्त्रालयले सो आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत अघि बढाउन लागेको छ । हाल आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण भइरहेको छ ।

Saturday, September 22, 2018

मन्त्रीलाई भेटेर चिनियाँ राजदूतको असन्तुष्टि

http://karobardaily.com/news/development/10671
बिहिवार, आश्विन ४, २०७५
नेपालका लागि चिनियाँ राजदूत यु होङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर चिनियाँ कम्पनीबारे गलत सन्देश गएको भन्दै असन्तुष्टि जनाएकी छिन् । 
७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न चिनियाँ कम्पनी इच्छुक नरहेको भन्दै लगानी बोर्डले नयाँ ढाँचामा बनाउने निर्णय गरेको भोलिपल्ट बुधबार मन्त्री पुनलाई भेटेर उनले असन्तुष्टि जनाएकी हुन् । पछिल्लो समयमा चिनियाँ कम्पनीले अघि बढाएका अधिकांश आयोजनाहरूमा समस्या देखिएको र त्यसमध्ये धेरै जलविद्युत् आयोजनाहरू रहेको सार्वजनिक भएसँगै राजदूतले मन्त्रीलाई भेटेकी हुन् । स्रोतका अनुसार, चीन र चिनियाँ कम्पनीले नेपालमा धेरै आयोजनामा निर्माण र लगानी गरिरहेको बताउँदै यसबारे गलत सन्देश जान नहुने बताएकी थिइन् । 
मध्यभोटेकोशी जलविद्युत् आयोजनामा परामर्शदाताको कारणले ढिलाई भएको भन्दै उनले अन्य समस्याग्रस्त देखिएका आयोजनाहरूलाई तदारुकतासाथ अघि बढाउन चिनियाँ कम्पनीहरू सक्रिय रहेको बताएकी थिइन् । ढल्केबर सबस्टेसन, कुलेखानी तेस्रो, त्रिशुली ३ ए लगायतका निर्माणाधीन ऊर्जा क्षेत्रका एक दर्जनभन्दा बढी आयोजनाहरूमा चिनियाँ कम्पनी ठेकेदार भएपनि निर्माणमा ढिलाई गर्दै आएको भन्दै यसको आलोचना हुँदै आएको छ । चिनियाँ कम्पनीलाई सरकारले दिएर खारेज गरिएको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनालाई फेरि चिनियाँ कम्पनीलाई दिन लागेकोबारे समेत सार्वजनिक रुपमा विवाद देखिदै आएको छ । ऊर्जा मन्त्रालयले भने भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको उल्लेख गरेको छ । भेटमा नेपाल र चीनबीच बनेको ऊर्जा संयन्त्रको पहिलो बैठक, ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्य र ऊर्जामन्त्रीको आगामी अक्टोबरमा हुन लागेको चीन भ्रमणको बिषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 
भेटमा उर्जामन्त्री पुनले संयन्त्रको बैठकमा अन्तर्देशीय प्रशारण लाइन र जलविद्युत् आयोजना निर्माणलगायतका विषयमा संयन्त्रको बैठकमा छलफल हुँदा त्यसले दुवै देशलाई फाइदा पुग्ने धारणा राखेका थिए । उनले नेपालको जलविद्युत् क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै चिनियां लगानीकर्तालाई लगानीको वातावरण बनाईदिन आग्रह गरेका थिए । भेटमा चिनियां राजदूत होङले उर्जामन्त्री पुनको पहलमा पहिलो पटक संयन्त्रको वैठक काठमाडौंमा बस्न लागेको र यसबाट दुवै देशले फाइदा लिन सक्ने बताएकी थिइन् ।

Thursday, September 20, 2018

जीएमआर लगानी जुटाउन दोश्रोपटक पनि असफल

बिहिवार, आश्विन ४, २०७५
नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई दिइएको वित्तीय स्रोत जुटाउने अवधि दोस्रोपटक पनि सकिएको छ । २०७१ असोज २ मा लगानी बोर्ड र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक जीएमआरबीच दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरिसक्ने गरी आयोजना विकास सम्झौता (पीडीए) भएपनि दोस्रो पटक बुधबारदेखि सकिएको हो । 
२०७३ असोजमा पहिलो पटक वित्तीय व्यवस्थापनको लागि समय एक वर्ष समय थपिएकोमा फेरि २०७४ साल कात्तिकमा फेरि २०७५ असोज ३ सम्मका लागि थपिएको थियो । जीएमआर कम्पनीले वित्तीय व्यवस्थापनका लागि एक वर्ष समय थपका लागि फेरि लगानी बोर्डमा आवेदन दिइसकेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले माथिल्लो कर्णाली आयोजनाले एक वर्ष म्याद थपका लागि आवेदन दिएको र यसबारे लगानी बोर्डको बैठकले निर्णय गर्ने जानकारी दिए । 
प्रवद्र्धक कम्पनीले भने सरकारले उचित वातावरण नबनाउँदा समयमै काम अघि बढ्ननसकेकोले लगानी जुटाउने अवधि थप गर्नुपरेको बताउँदै आएको छ । कम्पनीले ९ सय मेगावाटमध्ये ५ सय मेगावाट भारतीय कम्पनीमार्फत बंगलादेशमा बेच्नका लागि सहमति गरिसकेको छ । हालै बंगलादेशको ऊर्जा सप्ताहमा पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई बंगलादेशकी प्रधानमन्त्री र विद्युत्् मन्त्रीले माथिल्लो कर्णालीको बिजुली किन्ने निर्णय बंगलादेश सरकारले गरिसकेको जानकारी दिएका थिए । “पछिल्लो समयमा जीएमआरले बंगलादेशलाई बिजुली बेच्ने सम्झौता गरिसकेको र निर्माण कार्यलाई अघि बढाएको देखिएको छ,” लगानी बोर्डका एक अधिकारीले भने, “दुईपटक म्याद थपेर वित्तीय व्यवस्थापन गर्न नसके पनि अब आयोजनालाई अघि बढाउने संकेत देखिएको छ, बोर्डले यसबारे निर्णय गर्नेछ ।” उनका अनुसार म्याद थप हुने सम्भावना बढी देखिएको छ । समयमै काम नगरेर भारतीय कम्पनीले आयोजना ओगेटेको भन्दै यसको विरोध भने भइरहेको छ ।
जिएमआरले जग्गा अधिग्रहणका साथै अन्य पूर्वाधारका काम भने अघि बढाएको लगानी बोर्डले जनाएको छ । जीएमआरले भूकम्प र नाकाबन्दीको साथै वन, वातावरण, जग्गा प्राप्तिलगायतमा सरकारी तहबाट भएको ढिलाइ तथा अन्य विभिन्न वाधा अवरोधको कारणले वित्तीय व्यवस्थापन गर्न ढिलाइ भएको बताउँदै आएको छ । पीडीएमा २० महिनाभित्र सरकारी वनको जग्गा उपलब्ध गराइसक्ने उल्लेख भए पनि यसका लागि मात्र तीन वर्षभन्दा बढी समय लागेको थियो । 
सन् २००८ मा खुल्ला प्रतिस्पर्धाद्वारा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सर्भेक्षण अनुमतिपत्र लिएकोमा २०१० मा पीडीएका लागि जीएमआरले निवेदन दिएको थियो । २०१२ देखि निरन्तर रूपमा बोर्ड र जीएमआरबीच पीडीए वार्ता हुँदै सन् २०१४ मामात्र पीडीए भएको थियो । १ खर्ब ५० अर्ब लागत अनुमान गरिएको आयोजनाले नेपाललाई १०८ मेगावाट अर्थात १२ प्रतिशत बिजुली तथा २७ प्रतिशत स्वपँुजी निःशुल्क दिने पीडीएमा उल्लेख छ । 

मन्त्रीलाई भेटेर चिनियाँ राजदूतको असन्तुष्टि 
नेपालका लागि चिनियाँ राजदूत यु होङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर चिनियाँ कम्पनीबारे गलत सन्देश गएको भन्दै असन्तुष्टि जनाएकी छिन् । 
७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न चिनियाँ कम्पनी इच्छुक नरहेको भन्दै लगानी बोर्डले नयाँ ढाँचामा बनाउने निर्णय गरेको भोलिपल्ट बुधबार मन्त्री पुनलाई भेटेर उनले असन्तुष्टि जनाएकी हुन् । पछिल्लो समयमा चिनियाँ कम्पनीले अघि बढाएका अधिकांश आयोजनाहरूमा समस्या देखिएको र त्यसमध्ये धेरै जलविद्युत् आयोजनाहरू रहेको सार्वजनिक भएसँगै राजदूतले मन्त्रीलाई भेटेकी हुन् । स्रोतका अनुसार, चीन र चिनियाँ कम्पनीले नेपालमा धेरै आयोजनामा निर्माण र लगानी गरिरहेको बताउँदै यसबारे गलत सन्देश जान नहुने बताएकी थिइन् । 
मध्यभोटेकोशी जलविद्युत् आयोजनामा परामर्शदाताको कारणले ढिलाई भएको भन्दै उनले अन्य समस्याग्रस्त देखिएका आयोजनाहरूलाई तदारुकतासाथ अघि बढाउन चिनियाँ कम्पनीहरू सक्रिय रहेको बताएकी थिइन् । ढल्केबर सबस्टेसन, कुलेखानी तेस्रो, त्रिशुली ३ ए लगायतका निर्माणाधीन ऊर्जा क्षेत्रका एक दर्जनभन्दा बढी आयोजनाहरूमा चिनियाँ कम्पनी ठेकेदार भएपनि निर्माणमा ढिलाई गर्दै आएको भन्दै यसको आलोचना हुँदै आएको छ । चिनियाँ कम्पनीलाई सरकारले दिएर खारेज गरिएको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनालाई फेरि चिनियाँ कम्पनीलाई दिन लागेकोबारे समेत सार्वजनिक रुपमा विवाद देखिदै आएको छ । ऊर्जा मन्त्रालयले भने भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको उल्लेख गरेको छ । भेटमा नेपाल र चीनबीच बनेको ऊर्जा संयन्त्रको पहिलो बैठक, ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्य र ऊर्जामन्त्रीको आगामी अक्टोबरमा हुन लागेको चीन भ्रमणको बिषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 
भेटमा उर्जामन्त्री पुनले संयन्त्रको बैठकमा अन्तर्देशीय प्रशारण लाइन र जलविद्युत् आयोजना निर्माणलगायतका विषयमा संयन्त्रको बैठकमा छलफल हुँदा त्यसले दुवै देशलाई फाइदा पुग्ने धारणा राखेका थिए । उनले नेपालको जलविद्युत् क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै चिनियां लगानीकर्तालाई लगानीको वातावरण बनाईदिन आग्रह गरेका थिए । भेटमा चिनियां राजदूत होङले उर्जामन्त्री पुनको पहलमा पहिलो पटक संयन्त्रको वैठक काठमाडौंमा बस्न लागेको र यसबाट दुवै देशले फाइदा लिन सक्ने बताएकी थिइन् ।

Wednesday, September 19, 2018

जलविद्युत्को सम्भावनामा सहकार्य र सहजीकरण

बुधवार, आश्विन ३, २०७५
टीबीआई समूहले गत शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘कारोबार इकोनोमिक कन्क्लेभ–२०१८’ मा आर्थिक वृद्धिका लागि जलविद्युत्को लगानी विषयक व्यापक छलफल भयो । छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अरुण तेस्रो जलविद्युत् आयोजनाको विकासकर्ता सतलज कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्मा र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अध्यक्ष खड्गबहादुर विष्टले नेपालमा जलविद्युत्को विकासक्रम, यसमा देखिएका समस्या, विद्युत् व्यापार र सम्भावना तथा लोडसेडिङ अन्त्यलगायतबारे गहन सुझाव दिएका छन् । कन्क्लेभमा उनीहरुले राखेका विचार र दिएका सुझावको सार :

जलविद्युत् आयोजनाहरूमा सहजीकरण गरिरहेका छौं 
डा. कृष्णप्रसाद ओली
सदस्य, राष्ट्रिय योजना आयोग
ऊर्जा क्षेत्रको कुरा गर्दा सामाजिक–आर्थिक पक्षलाई हेर्नुपर्छ । २०४६ सालपछिको हाम्रो जीवनपद्धतिको कुरा हेर्ने हो भने धेरै कुरा भएका छन् । केही समयपछि नै नेपालमा संक्रमणकालीन अवस्था सुरु भयो । बसाइँसराइ बढ्दै गयो । यसले काठमाडौँदेखि धेरै ठाउँमा बसाइँको अवस्थामा परिवर्तन गरेको छ । यसले ऊर्जाको माग असाध्यै बढायो । त्यो बेला हामीसँग भएको सीमित बिजुली धेरैतिर बाँड्नुपर्यो । तर, त्यो बेला हाम्रा आवश्यकता पूर्तिका लागि एकजुट भएर लाग्न सकेनौं । यस्तो अवस्था आयो कि आफ्नो भरोसा नै गुमाउने अवस्था आयो । त्यस्तो अस्थिरता भयो तर यसलाई पार गरेर स्थायित्वतिर गइसकेका छौं । लोडसेडिङ हाम्रो लागि भूतकाल भइसकेको छ । 
सरकारले जलविद्युत् आयोजना अघि बढाउनका लागि निश्चित योजना ल्याएको छ । ऊर्जा मन्त्रालयले ल्याएको श्वेतपत्रमा जलविद्युत्का साथै अन्य वैकल्पिक ऊर्जाहरूको उत्पादनमा जोड दिएको छ । इनर्जी गभर्नेन्स र विकेन्द्रितको कुरा आएका छन् । बिस्तारै यी कुरा स्पष्ट हुँदै जान्छन् । नयाँ आउने ऐन–नियमहरूले यसको निर्धारण हुन्छ । बिजुली आफैं राजनीति होइन, बजार व्यवस्थापन र विकासमा राजनीति हुन सक्छ । नियमन भनेको त यसलाई नियमित र व्यवस्थित बनाउने कुरा हो । मूल्यको कुरामा नियमनको कुरा आएको छ । केही समस्याको कुरा छ । प्रसारणलाइन पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म लानुपर्छ । त्यस क्रममा जंगल हुँदै जानुपर्नेछ, धेरै स्थानीय निकाय छन् । यसलाई कसरी सहजीकरण गर्ने भन्ने कुरा मुख्य छ । वातावरण प्रभाव मूल्यांकनको कुरा आएका छन् । यसलाई सरलीकरण र सहजीकरण गर्ने गरी प्रक्रिया अघि बढेको छ । जग्गा प्राप्तिको कुरा पनि समस्या छ । यसको प्रक्रिया लामो छ । वनजंगलको प्रयोग गर्दा पर्ने जग्गाको सट्टा जग्गा दिने व्यवस्था छ । भौगोलिक अवस्था हेरेर यसको मुआब्जा निर्धारण गर्न लागिएको छ । सरकार, प्राधिकरण र निजी क्षेत्रले यस्ता समस्या भोगिरहेकोमा सबै लागेर यसमा सहजीकरण गर्न लागेका छौं । ठेक्कापट्टाको व्यवस्थापन पनि समस्याका रूपमा देखिएको छ । विदेशबाट आउने लगानी पर्याप्त आएको छैन । नजिकबाट हेर्दा वित्तीय भौगोलिक, निर्माणलगायतको जोखिम हेरेर मात्र उनीहरूले लगानी गर्ने हो, यसमा सहजीकरण आवश्यक छ, गरिरहेका छौं पनि ।
विद्युत् प्राधिकरणको एकाधिकार छैन
कुलमान घिसिङ
कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
लोडसेडिङको विषय २०४६ सालअघि र कालीगण्डकी आइसकेको अवस्थाको फरक छ । पहिला कालीगण्डकी आउँदा विद्युत् खेर पनि गएको थियो, तर दुई–तीन वर्षपछि फेरि लोडसेडिङ सुरु भयो । यसको मुख्य कारण हाम्रो विद्युत् उत्पादन र आपूर्तिबीचलाई सन्तुलन मिलाउन दिगो योजना नहुनु नै थियो । विद्युत्को माग भनेको बढ्दै जान्छ, तर लोडसेडिङ हुनुको कारण राजनीतिक अस्थिरतादेखि हाम्रो सिस्टमको स्थायित्वको कुरा पनि छ । उत्पादन, वितरण र प्रसारणलाइनको स्थायित्वको कुरा मुख्य हुन्छ । यसको उत्पादन र वितरण योजना महत्वपूर्ण हुन्छ । सन्तुलन र दीर्घकालीन योजना अघि बढाउन नसक्दा लामो समयसम्म लोडसेडिङ भोग्नुपर्यो । अहिले लोडसेडिङ अन्त्य के कारणले सम्भव भयो भने सबैको कारणले सम्भव भयो । सबैको सहयोग र योगदानबाट मात्र लोडसेडिङ अन्त्य हुने सम्भावना छ । 
अहिलेको बजारमा विद्युत् व्यापारिक वस्तु नै हो । अहिले पनि गाउँगाउँमा बिजुली पुराउनका लागि यो सामाजिक सेवाकै वस्तु पनि हो । यसलाई आर्थिक मूल्यसँग दाज्नु हुँदैन । ऊर्जा भनेको सबै क्षेत्रको पूर्वाधार हो । नेपाल र क्षेत्रीय बजारमा यो व्यापारिक वस्तु पनि हो । क्षेत्रीय बजारमा स्वतन्त्र रूपमा व्यापार गर्ने अवसर पाउनुपर्छ । सरकारका कतिपय राजनीतिक एजेन्डा पनि हुन्छन् । यसतर्फबाट हेर्दा कहिलेकाहीं यो राजनीतिक र सामाजिक एजेन्डा पनि हो । 
विद्युत् प्राधिकरणले निजी क्षेत्रबाट विद्युत् खरिद गर्ने भए पनि केही सरकारद्वारा नै नियमन गरिएको छ । निजी क्षेत्रबाट निश्चित पैसामा किनेर त्यसपछिको लागत पनि नधान्ने गरी उपभोक्तालाई बेचिरहेका छौं । यसमा नियमन मूल्य कायम गरिएको छ । उत्पादन, वितरण र प्रसारण अर्थात् जलविद्युत्को सिंगो दायित्व लिएर बसेको प्राधिकरणले निजी क्षेत्रलाई सहजीकरण गरेकै छ । विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेपछि सबै दायित्व प्राधिकरणले लिएको छ । प्रसारणलाइन, वितरणको सबै दायित्व प्राधिकरणले नै लिएको छ । भारतलगायतमा हेर्ने हो भने पीपीए कुनै क्रेतासँग सम्झौता गर्नुपर्ने र प्रसारणको व्यवस्था आफैंले गर्नुपर्नेछ । प्राधिकरणले त नाफा–नोक्सानको काम आफैंले गरिरहेको छ । ५ हजारभन्दा बढी पीपीए गरिसकेका छौं भने ८ हजार मेगावाटको हाराहारीमा पीपीएको चरणमा छन् । अहिले निजी क्षेत्रबाट जुन विद्युत् उत्पादन गर्ने क्रम बढेको छ, यसले हामीलाई उत्साहित बनाएको छ । 
पहिला हामी बहुयोजनामा गएनौं, विद्युत् प्राधिकरणको एउटा प्रणाली क्षति हुँदा ठूलो समस्या बेहोर्नुपर्ने अवस्था आयो । एउटा आयोजना बन्द हुँदा अर्को अर्को आउँछ भन्ने अवस्था थिएन । अहिले त प्राधिकरण एक्लैले एक दर्जनभन्दा बढी आयोजना अघि बढाएको छ । तामाकोसी बन्द भएमा अर्को आउँछ । आगामी दिन हाम्रो लागि एकदम राम्रो छ । उत्पादन, वितरण र प्रसारण अर्थात् यसमा प्राधिकरणको एकाधिकार छ भन्ने कुरा अब छैन । अहिले धेरै कम्पनी मोडलमा गएको छ, धेरै निजी क्षेत्र पनि आएका छन् । प्रसारण कम्पनी अघि बढिसकेको छ । वितरणका लागि सातवटै क्षेत्रमा वितरण कम्पनी अघि बढाउन लागेका छौं । जलविद्युत्मा विद्युत् प्राधिकरणको एकाधिकार छैन । बहुक्रेता र विक्रेताका रूपमा ऊर्जा क्षेत्र अघि बढिसकेको छ । 
हाम्रो देशमा बेच्नु पनि हुँदैन, आयात पनि गर्नु हुँदैन, समृद्धि पनि चाहियो, लोडसेडिङ पनि बन्द हुनुपर्यो भन्ने कुरा आउँछ । यो सबै कुरा एकैपटक हुँदैन । यी सबै कुरा बजारले निर्देश गर्ने हो । हाम्रो प्रणालीमा विद्युत्को अवस्था हेर्ने हो भने दैनिक बिहान, दिउँसो, बेलुका र १० बजेपछिको विद्युत् माग फरक–फरक छ । बिहान पिक हुन्छ, दिउँसो ६० प्रतिशत, साँझ पिक र १० बजेपछि माग ४० प्रतिशतमा झर्छ । प्रत्येक सेकेन्डमा कसरी आपूर्ति गर्ने भनेर हेर्नुपर्छ । माग उही हुन्छ तर उत्पादनको अवस्था हेर्ने हो भने हिउँदमा धेरै कम हुन्छ ।
नियमन नगरेर स्वतन्त्र छोड्दा समस्या आयो
डा. सञ्जय शर्मा
सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
योजनातिरको कुरा गर्ने हो भने विभिन्न कालखण्डमा विभिन्न राम्रा योजनाका विवरणहरू बनेका छन् । जलयोजना छ, विगत र अहिले पनि प्रसारणलाइनको गुरुयोजना छ । सुरुदेखिकै समस्या के हो भने योजना त बनायौं तर यसलाई कार्यान्वयन गर्न सकेनौं । यसकारण माग र आपूर्तिबीच सन्तुलन भएन । योजनाअनुसार नै चल्ने बाटो अब बनाउनुपर्छ । हामी सुरक्षित बाटोमा हिँड्न सके विद्युत्मा आगामी दिनमा समस्या नहुने मैले देखेको छु । 
विगतमा राजनीतिक वस्तुका रूपमा बिजुलीलाई लिइयो भन्ने कुरा नै होइन । यदि राजनीतिक वस्तुको रूपमा लिइएको भए त यो यसको दायित्व पनि हुन्थ्यो । सबै जनताको घरमा पुराउनुपर्छ भन्ने भावना जागृत हुन्थ्यो तर जागृत त भएन । नेपालमा बिजुली मात्र होइन, धेरै कुरा काठमाडौँ नै नेपाल हो भन्ने अवधारणाबाट निर्देशित छ । अहिले त सुधार भैसकेको छ । त्यो नै त्रुटिपूर्ण थियो । जबसम्म यसलाई व्यापारिक रूपमा अघि बढाउने कुरा अघि बढ्दैन, यो सेवा नै हो । हाम्रो देशमा जलविद्युत् निजी क्षेत्र आइसकेको छ । त्यसकारण यो व्यापारिक वस्तु नै हो । 
अहिले जलविद्युत्को विकास सरकारी र निजी क्षेत्र दुवैतिरबाट भइरहेको छ । सरकारको कुरा गर्ने हो भने हामी योजनाअनुसार चल्न सकेनौं । हामीसँग धेरै विकल्प भए, कुन विकल्पमा जाने भनेर अलमलियौं । दातृ निकाय ताक्ने र आफू नतात्ने भएर पनि कतिपय अवस्थामा समस्या भयो । कालीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि हामी ठूला जलविद्युत् आयोजनामा जानुपथ्र्यो, तर सानोमै अल्झिरह्यौं । महँगो र सानोतिरै लाग्यौं । यसमा त्रुटि भएको हुन सक्छ । निजी क्षेत्रको कुरा गर्दा सन् १९९२ मा जब आर्थिक स्वतन्त्रताको कुरा आयो, हामी यसमा दक्षिण एसियाकै मुलुकमा पछि छैनौं । त्यस बेलाको हेर्नुहुन्छ भने त्रुटि छ । हामीले नियमन गर्ने निकायहरू बनाएनौं । नियमन नगरेर स्वतन्त्र छोड्दा समस्या आयो । उद्योग, व्यवसायदेखि सबैमा यही समस्या छ । ऊर्जा क्षेत्रमा पनि नियामक निकाय चाहिन्छ भन्दै आएका थियौं, बल्ल–बल्ल यसका पदाधिकारीहरू चयनको प्रक्रिया अघि बढेको छ । पर्याप्त गृहकार्य नगरी स्वतन्त्रतामा जाँदा नियामक निकायहरू बलियो नभएकै कारण धेरै समस्या आए । यसकारण निजी क्षेत्रलाई जति सहयोग र सहजीकरण गर्नुपर्ने थियो, त्यो हुन सकेन र निजी क्षेत्रहरूमा भएका कमी–कमजोरीको नियमन गर्ने आधारहरू पनि भएनन् ।
आधारभूत पूर्वाधार मुख्य कुरा हो
सतिशकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत, सतलज कम्पनी
बिजुली राजनीतिक र व्यापारिक दुवै वस्तु हुन सक्छ तर मुख्यतः व्यापारिक वस्तु नै हो । जलविद्युत् उत्पादनमा निजी क्षेत्र सहभागी हुन्छ । नेपालकै कुरा गर्ने हो भने ८० हजार मेगावाटभन्दा बढी उत्पादन क्षमता र यसमा ४४ हजारभन्दा बढी व्यापारिक रूपमा उत्पादन हुन सक्छ भन्ने देखिएको छ ।
भारतमा प्रसारणलाइनको काम पावर कर्पोरेसनले गर्छ । देशभरिको विद्युत्लाइन जोडिएको छ । ग्रिडमा एकीकृत छ । विद्युत् बोर्डबाट उपभोक्ताहरूलाई वितरण गर्ने गरिएको छ । विद्युत् उत्पादन भएपछि त्यसलाई प्रसारण गर्ने कुरा पनि ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण हुन्छ । एसोसिएटेड प्रसारणलाइन निर्माण भएका छन् । निश्चित उपत्यकाहरूमा यस्तो व्यवस्था गरिएको छ । आउन लागेका आयोजनाहरूलाई लक्षित गरेर प्रसारणलाइनको योजना बनाई निर्माण गर्ने गरिएको छ । 
अरुण तेस्रो आयोजनाको कुरा गर्दा यसको पूर्वाधार निर्माणका लागि समस्या देखिएको छ । सडकलगायतका पूर्वाधार पुराउने र यसलाई नियमित रूपमा सञ्चालन गर्नका लागि समस्या देखिएको छ । प्रसारणलाइनमा केही समस्या देखिएका छन् । हरेक जलविद्युत् आयोजनाका लागि आधारभूत पूर्वाधारका कुरा मुख्य हुन् । त्यो पूर्वाधारहरूले जलविद्युत् आयोजना निर्माणलाई धेरै सहज बनाउँछ ।

बिजुली बेच्नु हुँदैन भन्ने बेकारका कुरा हुन्
खड्गबहादुर विष्ट
पूर्वअध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) 
माग र आपूर्तिबीच सन्तुलित नहुँदा लोडसेडिङ हुने हो । विगतमा उत्पादन कम थियो, तर माग बढी थियो । यसकारण लोडसेडिङ भोग्नुपरेको हो । २०४६ सालअघिको कुरा गर्दा त्यो बेला जलविद्युत् प्लान्टहरू पनि थोरै थिए, विद्युत्को पहुँच पनि कम थियो र माग पनि कम थियो । अहिले त ७० प्रतिशतभन्दा बढीमा विद्युत्को पहुँच पुगिसकेको छ । तर, अहिले पनि ३० प्रतिशत उपभोक्तामा बिजुली पुगेको छैन, उनीहरू स्थायी रूपमा लोडसेडिङ भोगिरहेका छन् । विगतको तुलनामा भने हामी धेरै अघि बढिसकेका छौं । 
जलविद्युत् व्यापारिक वस्तु हो कि सेवाको वस्तु हो भनेर विश्वभर छलफल हुन्छ । सुरुको अवस्थामा यो सेवा हो भन्ने थियो, तर सन् १९९० पछि निजीकरण हुँदै गए । बिजुली पनि सेयर बजारमा बेच्न सकिने रहेछ भनेर देखियो । प्रसारण निर्माणजस्ता राज्यलाई दिने र व्यापार गर्न सक्नेलाई प्रतिस्पर्धामा लगौं भनेर अघि बढिएको छ । यसले यो व्यापारिक वस्तु हो भनेर देखिसकेको छ । उपभोक्ताले बिजुली किन्ने वस्तुलाई ग्रहण गरिसकेका छन् । केही देशसँग बिजुली आदानप्रदानका लागि सम्झौता पनि भइसकेको छ । यसमा आयोजनामा लगानी गर्ने र उत्पादनका काम अघि बढाउने गरी अघि बढ्ने कुरा भएको छ । 
प्रसारणलाइन कुन मोडलमा बनाउने भनेर ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणका अधिकारीहरू बसेर छलफल गरिसकेका छौं । विगतमा कुन मोडलमा निजी क्षेत्रले बनाउने भनेर धेरै छलफल भई निष्कर्षमा पुगेका थियौं । यसमा निजी क्षेत्रले बनाउन नसक्ने होइन, बनाउन सक्छ, तर यसको आर्थिक प्रतिफल छैन । आयोजना कहिले आउने हो भन्ने निश्चितता छैन । ठूलो मात्रामा बिजुली बेच्ने निश्चितता आज छैन । अहिले कुरा र सम्झौता त गरिरहेका छौं, तर बिजुली बेचिसकेका छैनौं । यसमा विद्युत् प्राधिकरणले ठूलो जोखिम मोलेको छ । अहिले विद्युत् प्राधिकरण नभए पीपीएको पैसा कसले तिर्छ भन्ने निश्चितता छैन । ठूला–ठूला प्रसारणलाइन त विद्युत् प्राधिकरणले बनाइरहेको छ, सब–बेसिन खालका प्रसारणलाइन विद्युत् प्राधिकरणले बनाउन सक्छ । साना जलविद्युत् आयोजनाहरूका लागि प्रसारणलाइन बनाउनुपर्छ । 
नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् आयोजना उत्पादन आर्थिक रूपमा सम्भव छ भन्ने अनि बेच्न नहुने र यसलाई राष्ट्रियतासँग जोडेर हेर्ने कुरा धेरै छोटो र साँघुरो सोच हो । जलविद्युत् आयोजनाहरूको विद्युत् विदेशमा बेच्नुपर्छ भन्नेहरूलाई त्यो आयोजनाभित्र छिर्न लगाउनुपर्छ । बजारको सुनिश्चतता नभएसम्म त कसैले लगानी गर्न सक्दैन । खपत बढाउँला तर भोलि नै सबै उद्योग एकै पटक त आउँदैनन् । आयोजनाको वित्तीय व्यवस्थापन त भोलि गर्नु छ, बैंकहरूले ऋण दिँदैनन् त । यस्तो अवस्थामा बिजुली बेच्नु हुँदैन भन्ने कुरा बेकारका कुरा हुन् । साउदी अरबले तेल नबेचेको भए म आजको कार्यक्रममा आउन सक्दिनथें । सबैले आफूसँग भएका वस्तु बेच्नुपर्छ । विश्व बजारमा बसेपछि बढी भएको बेच्ने र कम भएको किन्ने कुरा स्वाभाविक हो ।

पश्चिम सेती आयोजनाबाट चिनियाँ कम्पनी बाहिरियो

♦उच्चस्तरीय समिति गठन
♦पूर्वाधारहरू विकासकर्तालाई बनाउन दिइने
♦सोलार इनर्जी, रिभर पोर्ट तथा म्याग्नेसिट इनर्जी अध्ययन गरिने ♦होटल बनाउन १४ अर्ब स्वीकृत ♦लगानी सम्मेलनमा मार्चमा 
बुधवार, आश्विन ३, २०७५
बहुचर्चित ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाबाट चिनियाँ कम्पनी बाहिरिएको छ । १७ वर्षसम्म अस्ट्रेलियन कम्पनी स्मेकले ओगटेको पश्चिम सेतीबाट ७ वर्षअघि सम्झौता गरेको चिनियाँ कम्पनी पनि बाहिरिएको हो । सन् १९८० अर्थात् ४० वर्षअघि अध्ययन भए पनि हालसम्म विदेशी कम्पनीबाटै ओगेटेको आयोजना निर्माणको ढाँचा तयार गर्न ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी भएको उच्चस्तरीय समिति गठन गरिएको छ । मंगलबार प्रधानमन्त्री एवम् बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पश्चिम सेतीलाई नयाँ ढाँचामा अघि बढाउन समिति गठन गरेको बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले जानकारी दिए । हालै लगानी बोर्ड र चिनियाँ कम्पनी चाइना थ्री–गर्जेज इन्टरननेसनल कर्पोरेसन (सिटीजीआई) बीचको वार्तामा चिनियाँ कम्पनीले आयोजनाबाट हात झिक्ने संकेत दिएपछि बोर्डले कम्पनीसँगको सम्झौता तोडेर नयाँ ढाँचामा अघि बढ्ने निर्णय गरेको हो । बोर्डको ३२ औं बैठकले चिनियाँ कम्पनीले अनिच्छा देखाएकाले उपयुक्त ढाँचा सिफारिस गर्न उच्चस्तरीय समिति गठन गरेको जनाएको छ । लगानी बोर्डले पश्चिम सेतीलाई प्रतिस्पर्धाका आधारमा अघि बढाउने तयारी गरे पनि यसबारे भने समितिले टुंगो लगाउनेछ ।१७ फागुन २०६८ सालमा चिनियाँ कम्पनीलाई विना प्रतिस्पर्धा दिएपछि तत्कालीन संसद्को प्राकृतिक स्रोत साधन समितिले छानबिन गरी रद्द गर्न निर्देशन दिए पनि पछि लामो विवादपछि खुला गरेको थियो । २०६८ साल फागुनमा ऊर्जा मन्त्रालय र कर्पोरेसनबीच भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एक वर्षभित्र संयुक्त उपक्रम (जेभीए) गर्ने उल्लेख रहेकोमा २०७३ साल माघ ३ मा मात्र प्रारम्भिक जेभीए भने गत साउनको पहिलो साता मात्र जेभीए भएको थियो । जेभीए गरिसकेपछि चिनियाँ कम्पनीले आफूहरू बोर्डको सर्तअनुसार बनाउन नसक्ने भन्दै हात झिक्ने इच्छा देखाएको थियो । त्यसैगरी लगानी बोर्डको बैठकले बोर्डले सहजीकरण गरिरहेका पूर्वाधार परियोजनाका लागि आवश्यक पहुँचमार्ग, पुल, सञ्चार, प्रसारण लाइनलगायतका अन्य पूर्वाधार निर्माणसम्बन्धी कार्य सम्पन्न गर्न सम्बन्धित विकासकर्ताले नै निर्माण गर्ने र त्यस वापतको खर्च सरकारले पछि मिलान गर्ने अवधारण सम्बन्धमा कार्यविधि बनाउने निर्णय गरेको छ ।त्यसैगरी आगामी सन् २०१९ को मार्चमा लगानी सम्मेलन गर्ने निर्णय गर्दै बोर्डका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र व्यवसायी वालकृष्ण सिवाकोटीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले सोलार इनर्जी, रिभर पोर्ट तथा म्याग्नेसिट इनर्जी सम्बन्धमा सम्भाव्यता अध्ययन विषयमा लगानी बोर्डलाई तोक्ने प्रयोजनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी काठमाडौंको दहचोक, भक्तपुर र पोखरामा अन्तर्राष्ट्रियस्तरको होटल निर्माण गर्न विकासकर्ता कम्पनी जापान क्लब इन्टरनेसनलले दिएको निवेदन अनुसार १३ करोड ९८ लाख अमेरिकी डलर बराबरको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । 

Sunday, September 16, 2018

नेपाल–भारत–बंगलादेश त्रिदेशीय प्रसारण लाइनको योजना

२२ वर्षभित्र बंगलादेशलाई ९ हजार मेगावाट बिजुली बेच्ने
आइतवार, भदौ ३१, २०७५
सन् २०४१ भित्र बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् किन्ने घोषणासँगै यसका लागि त्रिदेशीय प्रसारण लाइन निर्माण गरिने भएको छ । 
बंगलादेश सरकारले आफ्नो योजनामै नेपालबाट बिजुली किन्ने उल्लेख गरेपछि सिधै जोडिने गरी सरकारले नेपाल–भारत–बंगलादेश जोड्ने ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको हो । अनारमणिदेखि सिलगुढी हुँदै बंगलादेशसम्म त्रिदेशीय प्रसारण बनाउने योजना सरकारको छ । यसको सम्भाव्यता अध्ययन हुन बाँकी छ । करिब २२ किलोमिटर भूमि भारतको पर्ने भएकोले तीन देशबीचमा सहकार्य गरेर बनाउने योजना नेपालको छ ।
नेपालबाट ९ हजार मेगावाट बंगलादेश बेच्नका लागि झापादेखि बंगलादेशसम्म ४०० केभीको प्रसारण लाइन निर्माणको कार्य अघि बढाउन लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए । “नेपालदेखि बंगलादेशसम्म सीधै प्रसारण लाइन निर्माणका लागि त्रिदेशीय प्रसारण लाइन निर्माण गर्न लागेका छौं,” उनले कारोबारसँग भने, “भारतसँग नेपाल र बंगलादेश दुवैले कुरा गरेर तीनवटै देशले बनाउने गरी प्रसारण लाइन निर्माणको काम अघि बढाउन लागेका छौं ।”
११ सय १० मेगावाटको सुनकोसी दोस्रो तथा ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त आयोजनामा लगानी गर्ने तथा दूधकोसी र अपर अरुणको बिजुली बंगलादेशलाई बेच्नेबारे समेत छलफल अघि बढेको मन्त्री पुनले जानकारी दिए । 
बंगलादेश बिजुली बेच्नका लागि आवश्यक प्रसारण लाइनको निर्माण हाल प्रारम्भिक चरणमा रहेको विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ८० किलोमिटर लामो ४०० केभीको न्यू इनरुवा–अनारमणि प्रसारणलाइनको हाल सम्भाव्यता अध्ययन भइरहेको छ भने हेटौडादेखि इनरुवासम्मको प्रसारण लाइनको पनि निर्माण कार्य अघि बढेको छ । अरुण नदीबाट इनरुवासम्म पुग्ने ४०० केभीको १ सय ३० किलोमिटर लामो अरुण–इनरुवा प्रसारण लाइन पनि अध्ययनकै चरणमा छ । त्यसैगरी तिंला–दुधकोसी–ढल्केबर ४ सय केभीको १ सय २५ किलोमिटर प्रसारण लाइन पनि अध्ययनको क्रममा छ । सुनकोसी दोस्रो र तेस्रो आयोजनाबाट उत्पादित विद्युत् खिम्तीमा जोडेर खिम्तीबाट ढल्केबर पु-याउन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकारणका अनुसार, बंगलादेश लैजानका लागि प्रस्तावित गरिएका आयोजनाहरूबाट बिजुली पु-याउनका लागि आवश्यक अन्तरदेशीय प्रसारण लाइन हाल प्रारम्भिक चरणमा छन् । 
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बंगलादेश पुग्ने प्रसारण लाइन निर्माणका लागि अध्ययनको काम अघि बढेको बताउँछन् । “बंगलादेशले बिजुली किन्ने भनेपछि त्यो विक्री गर्नका लागि बनाउनुपर्ने प्रसारण लाइन आयोजनाहरूको अध्ययन अघि बढ्छ,” उनी भन्छन् । प्राधिकरणका अनुसार अति दु्रत गतिमा बनेमा बंगलादेशका लागि झापासम्म ४ सय केभीको प्रसारणलाइन निर्माण पु-याउनका लागि कम्तीमा ३ देखि चार वर्ष लाग्छ भने भारतीय भूमि प्रयोग गर्न दिएमा नेपालले बंगलादेशलाई सँधै बिजुली बेच्न सक्छ । हाल भारतीय कम्पनी जीएमआरले ५सय मेगावाट विद्युत् बंगलादेश बेच्ने गरी बंगलादेशसँग सम्झौता भएपनि त्यो बिजुली भने भारत हुँदै बेच्न लागिएको हो । भारतीय सरकारी कम्पनीलाई जीएमआरले बिक्री गरेर त्यहाँमार्फत त्यो बिजुली बंगलादेश पुग्नेछ । जीएमआरजस्तै कुनै भारतीय कम्पनीसँग सम्झौता गरेर बेच्नका लागि भने दुई देशबीच ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइन बनिसकेको छ भने बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ

मुक्तिनाथ पुग्न ८४ किलोमिटरको केबलकार बन्ने

बिहिवार, भदौ २८, २०७५
पश्चिम नेपालको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर जाने केबलकार निर्माणका लागि प्रक्रिया अघि बढेको छ । लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच मुक्तिनाथ मन्दिरसम्म केबलकार विकास तथा सञ्चालनका लागि समझदारी भएसँगै प्रक्रिया अघि बढेको हो । 
बुधबार लगानीका बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र प्रवद्र्धक कम्पनी मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीमा हस्ताक्षर गरेका छन् । हिमालपारीको जिल्ला मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथसम्म जाने केबलकार आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) १८ महिनाभित्र पूरा गरी बोर्डसमक्ष प्रस्तुत गर्ने गरी समझदारी भएको बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले जानकारी दिए ।
२०७५ वैशाख १५ मा बसेको लगानी बोर्डको ३० औ बैठकले मुक्तिनाथ केबलकार प्रालिले गरेको प्रस्तावलाई स्वीकृति दिँदै डीपीआर तयार गर्नका लागि निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार बोर्डले प्रवद्र्धक कम्पनीसँग छलफल गरेर डीपीआरको अवधि लगायत टुंग्याएको हो । यसअघि कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको छ । 
८३.६५ किलोमिटर लामो मुक्तिनाथ केबलकार प्रणाली ६ खण्डमा विभाजन गरी निर्माण गर्न लागिएको छ । डीपीआरले आर्थिक तथा प्राविधिक रुपमा केबलकार आयोजना निर्माण हुने सम्भव देखिएमा यो नेपाललकै सबैभन्दा ठूलो र लामो केबलकार बन्नेछ । 
योजनाअनुसार कास्कीको बिरेठाँटीदेखि घोरेपानीसम्म १३.३ किलोमिटर, घोरेपानीदेखि तातोपानीसम्म १२.७ र तातोपानीदेखि लेतेसम्मको भाग १६.४ किलोमिटर हुनेछ छ भने लेतेको मार्फामा ट्रान्जिट प्वाइन्ट राख्ने योजना छ । लेतेदेखि जोमसोमसम्म २३.९ किलोमिटर, जोमसोमदेखि कागबेनीसम्म ८.२ किलोमिटर र कागबेनीदेखि मुक्तिनाथ मन्दिरसम्म ९ किलोमिटरको केबलकार निर्माण हुने छ । डीपीआर आएपछि योजनाबारे विस्तृत हुने भएपनि प्रारम्भिक अध्ययनले डीपीआर सम्पन्न भएर वित्तिय व्यवस्थापन भएपछिको ३ देखि ४ बर्षसम्ममा केबलकार निर्माण भैसक्ने देखाएको छ । 
करिब ३५ करोड अमेरिकी डलर अर्थात ३५ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजना निर्माणपछि यात्रुहरुले पोखराबाट सिधै केबलकारमार्फत मुक्तिनाथ मन्दिर जान पाउनेछन् । हाल पोखराबाट पर्वत, म्याग्दी हुँदै वा ट्रेकिङमार्फत आन्तरिक तथा वाह्य पर्यटकहरु र धर्मालम्बीहरु मुक्तिनाथ जाने गरेका छन् । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्ने लक्ष्य राखेको आयोजनामा प्रवद्र्धक कम्पनीले स्थानीयवासी र सर्वसाधारणलाई समेत सेयर दिने लक्ष्य राखेको छ

जलविद्युत्मा वैदेशिक लगानीका ४ समस्या

शुक्रवार, भदौ २९, २०७५
काठमाडौं-राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जलविद्युत्मा वैदेशिक लगानीका लागि मुख्य चार समस्या रहेको बताएका छन् । 
बिहीबार संवाद केन्द्र नेपालले आयोजना गरेको जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धि एवं देखिएका चुनौती विषयक कार्यक्रममा उनले लगानी, निर्माण, वातावरणीय र सामाजिक तथा नियमन नीतिहरूको जोखिम रहेको बताए । “चार जोखिमले वैदेशिक लगानी आउन समस्या हुने भएकोले यसको सुधारका लागि लागेका छौ, यसको सुधारबाट जलविद्युत् विकासले ठूलो फड्को मार्नेछ ।”
ऊर्जा नभए आर्थिक वृद्धिदर र गरिबी न्यूनीकरण असम्भव रहेको बताउँदै उनले सरकारले जलविद्युतमा देखिएका समस्या पहिचान गरेर समाधानका लागि अघि बढेको बताए । उनका अनुसार, वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन, दैविक प्रकोपबाट क्षतिग्रस्त पूर्वाधार निर्माणको पुनर्निर्माण, वनको जग्गा प्राप्ति र रुख कटान, श्रम स्वीकृति, सम्भाव्य क्षेत्रमा बढ्दै गएका बस्ती, एकीकृत जलस्रोत नीतिको समस्या, उद्योग र संस्थाबीच समन्वय अभावलगायतका समस्या जलविद्युत् क्षेत्रमा देखिएको बताउँदै यसका लागि सरकारले प्रयासअघि बढाइसकेको जानकारी दिए । 
कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव जलविद्युत् विकासका लागि निजी क्षेत्रलाई सरकारले उत्प्रेरित गरिरहेको र पिकिङ रन अफ दि रिभर र जलाशययुक्त आयोजनामा पनि संलग्न हुनुपर्ने बताए । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबारे छलफल अघि बढेको बताउँदै जग्गा प्राप्ति, पुनर्वास, पुनःस्थापना र पूर्वाधार निर्माणको कामअघि बढाइरहेको बताए । 
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समाधानपछि अब गुणस्तरीय र भरपर्दो विद्युत् सेवा दिनुपर्ने बताउँदै यसका लागि प्राधिकरणले योजनाअघि बढाएको बताए । उत्पादन, वितरण र प्रसारणलाई वृद्धि गर्नका लागि अघि बढेको बताउँदै उपत्यकाको वितरण प्रणालीलाई फराकिलो बनाउने प्रक्रियाअघि बढेको बताए । विद्युत्को खपत धेरै बढ्ने बताउँदै तीन वर्षभित्र विद्युत्मा आत्मनिर्भर बन्ने गरी अघि बढेको बताए । बर्मा सरकारका ऊर्जा सल्लाहकार मधुसूदन अधिकारीले विदेशी लगानीकर्तालाई आकर्षण गर्नका लागि उपयुक्त वातावरण आवश्यक रहेको बताए ।