Sunday, September 9, 2018

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् खरिद गर्ने

शुक्रवार, भदौ २२, २०७५
काठमाडौं-बंगलादेश सरकारले आगामी २२ वर्षभित्र नेपालबाट ९ हजार मेगावाट विद्युत् लैजाने योजना बनाएको छ । ढाकामा बिहीवार सुरु भएको ऊर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावाट विद्युत् लैजाने योजना रहेको उल्लेख गरेको हो । 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको ऊर्जा र खानी स्रोत मन्त्रालयअन्तर्गतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा यस्तो उल्लेख छ । 
उद्घाटन समारोहमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट बिजुली आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मूर्त रूप लिने दाबी गरिन् । “नेपाल र भुटानबाट बिजुली आयात गर्ने हाम्रो कोसिस जारी छ, नेपालसँग यसैलाई मद्दत पुग्नेगरी हामीले गत महिना ऊर्जा सहकार्यको समझदारीसमेत गरिसकेका छौं,” उनले भनिन्, “बंगलादेश, भारत र भुटानबीच छिट्टै नै त्रिपक्षीय समझदारीमा हस्ताक्षरसमेत हुन लागेको छ ।”
सम्मेलनमा ऊर्जामन्त्री पुनले आगामी १० वर्षमा नेपालले १५ हजार विद्युत् उत्पादन गर्ने योजना राखेको बताउँदै आफूहरू बंगलादेशमा निर्यात गर्न तयार रहेको बताए । “हामी १० वर्षमा १५ हजार बिजुली उत्पादन गरिसक्छौं, त्यसमा ५ हजार बिजुली बंगलादेशलाई बेच्न हामीलाई समस्या हुँदैन।” मन्त्री पुनले भने । उनले नेपालको जलविद्युत्मा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै नेपालमा उत्पादित बिजुलीका लागि बजारको समस्या नपर्ने बताए ।
नेपाल र बंगलादेशबीच गत साउन अन्तिम साता ऊर्जा सहकार्यबारे समझदारी भएको थियो । जसमा ऊर्जा व्यापार सम्झौता भएको छैन भने नेपालले सिधै बंगलादेशलाई बिजुली बेच्नका लागि भारतको भूमि प्रयोग गर्नुपर्ने हुनाले यसका लागि भारतीय भूमीका महत्वपूर्ण हुने विज्ञहरू बताउँछन् । भारतले ल्याएको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिकाले खुल्ला रूपमा विद्युत् व्यापार गर्नका लागि समस्या भएकोले नेपालले यसलाई संशोधन गर्न माग गर्दै आएको छ । भारत विद्युत् व्यापारका लागि समेत असहज निर्देशिका संशोधन भएका बंगलादेशमा विद्युत् लैजाने कठिन रहेको विज्ञहरू बताउँछन् ।

No comments: