Tuesday, September 25, 2018

अमेरिकी अनुदानको परियोजना अघि बढ्न तीन सर्त बाँकी

 मंगलबार, आश्विन ९, २०७५
नेपालमै पहिलोपटक सडकमा एफडीआर प्रविधि
नेपाल सरकारले तीनवटा सर्त पूरा गरेपछि मात्र अमेरिकी अनुदान सहयोगमा निर्माण हुन लागेका ऊर्जा र सडकसहितका परियोजना अघि बढ्ने भएका छन् । 
अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल सरकारले संसद्बाट परियोजना पारित, विद्युत् व्यापारका लागि छिमेकी राष्ट्रसँग द्वीपक्षीय सम्झौता र जग्गा प्राप्ति प्रक्रिया पूरा भएपछि मात्र आयोजना निर्माण अघि बढ्ने जनाएको हो । ५ सय मिलियन डलरको अनुदान सहयोग र सरकारको १ सय ३८ मिलियन गरी ६३८ मिलियन डलरमा निर्माण हुन लागेको सो परियोजना एक वर्षभित्र अर्थात् सेप्टेम्बर २०१९ देखि सुरु गर्ने लक्ष्य राखिएको छ । नेपालका ठूला आयोजनाको निर्माण लागत र समय दुवै दोब्बरभन्दा बढी भइरहेका बेला यो परियोजना निर्माण सुरु भएको पाँच वर्षभित्र पूरा नभएमा स्वतः अनुदान फिर्ता गर्ने सर्त राखिएको छ । 
नेपालले विकास आयोजनाका लागि पाउँदै आएको अनुदानमध्ये अमेरिकी सहयोगको यो अनुदान हालसम्मकै सबैभन्दा बढी हो । नेपाल भ्रमणमा रहेकी एमसीसीकी युरोप, एसिया, प्यासिफिक एन्ड ल्याटिन अमेरिकाकी प्रबन्ध निर्देशक क्यारोलिन टी न्गुयेनले एमसीसीले नेपालको आर्थिक वृद्धिदरलाई लक्षित गरेर अमेरिकी सहयोगमा ऊर्जा र सडकका परियोजना अघि बढाउन लागेको जानकारी दिइन् । “सेप्टेम्बर २०१९ देखि आयोजनाको निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ,” उनले भनिन् “हाल परियोजनाअन्र्तगत अघि बढ्ने आयोजना विभिन्न अध्ययन र विकासको चरणमा छन् ।” उनका अनुसार अबको एक वर्षभित्र एमसीसीका आयोजनालाई संसद्बाट अनुमोदन, विद्युत् व्यापारका लागि छिमेकी राष्ट्रसँगको सम्झौता र जग्गा प्राप्ति भएपछि मात्र आयोजना अघि बढ्नेछन् । “सरकार, नीजि क्षेत्र र नागरिक समाजको सहभागितामा परियोजना अघि बढाउन लागेका छौं,” उनले भनिन् ।
परियोजनाअन्तर्गत चार सय केभीका दुई तथा सडक निर्माणअन्तर्गत नमूनासहित ६ सडकको मर्मत सम्भार गर्ने योजना छ । प्रशारणलाइनतर्फ लप्सीफेदीदेखि दमौलीसम्मको ३ सय किलोमिटर र दमौलीदेखि नेपाल–भारतको सीमा नजिक सुनवलसम्म २३ किलोमिटर ४ सय केभीको प्रसारण लाइन निर्माण गर्ने योजना छ । परियोजनाअन्तर्गत नुवाकोटको गल्छी, तनहुँको दमौली र सुनवलमा सवस्टेसन निर्माण हुनेछ । एमसीसीको सहयोगमा निर्माण गरिने प्रसारण लाइन सरकारले प्रस्ताव गरेको न्यूबुटवलदेखि गोरखपुरसम्मको दोस्रो अन्तरदेशीय प्रसारणसँग जोडिनेछ । एमसीसीले हाल अध्ययनको चरणमा रहेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण सुनिश्चित हुनुपर्ने पूर्वसर्त राखेको छ । संसद्बाट अनुमोदन र जग्गा प्राप्ति तुलनात्मकरूपमा सहज भए पनि बुटवल गोरखपुर प्रसारण लाइनमा भने द्विपक्षीय सम्झौताको खाँचो छ । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरे आयोजनाको लगानीको प्रारूप बनाउनका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणको टोली गठन गरी गृहकार्य गरिरहेको बताउँछन् । 
त्यसैगरी परियोजनाअन्तर्गत मेची लोकमार्गको चारआलीदेखि फिदिमसम्मको १३० किलोमिटर, कोशी लोकमार्गको धरानदेखि बसन्तपुरसम्मको ८८ किलोमिटर, सगरमाथा लोकमार्गको लहानदेखि गाईघाटसम्मको २६ किलोमिटर, रत्न लोकमार्गको अमेलियादेखि तुलसीपुरसम्मको ३८ किलोमिटर र त्रिभुवन लोकपथको हेटौंडादेखि भीमफेदीसम्मको २२ किलोमिटर सडक मर्मत सम्भार हुन लागेको छ । सबै आयोजनामा नेपालमा पहिलोपटक फूल डेफ्थ रिक्लाईमेसन (एफडीआर) प्रविधिमा सडक निर्माण गरिने एमसीसीका देशीय निर्देशक ट्रोय ई कोफरोथले जानकारी दिए । “नमुनाका रूपमा हेटौंडादेखि पथलैया वा हेटौंडा–भरतपुरको सडकमा यो नयाँ प्रविधि उपयोग गरी मर्मत सम्भार गर्न लागेका छौं,” उनले भने । 
तर, हेटौंडा–पथलैयाको सडक मर्मत, सम्भार गर्दा वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्नुपर्ने भएकाले हेटौंडादेखि भरतपुरसम्मको ३० किलोमिटर सडकमा यो प्रविधि उपयोग गर्न लागिएको एमसीसीले जनाएको छ । यो नयाँ प्रविधिअन्तर्गत पुरानो भत्काउने, नपुगेको ठाउँमा थप्न र भत्काएको सामानसमेत उपयोग गर्ने गरिन्छ । छिमेकी राष्ट्र भारतमा उपयोग गरिएको यो प्रविधि अपनाउँदा २५ प्रतिशतसम्म लागत घटे पनि नेपालमा भने नमूना परियोजनापछि मात्र थाहा हुने छ । नमूना परियोजना ६ महिनाभित्रै सुरु गरेर १ वर्षभित्र सकाउने सोच पनि रहेको कार्यालयले जनाएको छ । 
गत सेप्टेम्बर १४ मा अमेरिकामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी विदेश उपमन्त्रीले हस्ताक्षर गरेको परियोजना कार्यान्वयनका लागि एमसीए (मिलेनियम च्यालेन्ज एकाउन्ट) नेपाल बोर्ड गठन भैसकेको छ । ऊर्जा र यातायातका परियोजना कार्यान्वयनका लागि स्पेसल पर्पोज भेइकल (एसपीभी) अन्तर्गत गठन हुने एमसीए नेपालको बोर्ड गठन भएको हो । बोर्डमा सरकार, नीजि क्षेत्र र नागरिक समाजको प्रतिनिधित्व छ । सरकारले हालै मात्र दुई प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणासमेत गरिसकेको छ ।

No comments: