Tuesday, February 1, 2022

अन्तरदेशीय व्यापारमार्फत स्वच्छ र सुरक्षित ऊर्जा

माघ १८, २०७८ मंगलबार

https://www.karobardaily.com/news/173037


 दक्षिण एसियामा स्वच्छ र सुरक्षित ऊर्जाको सुनिश्चितताका लागि अन्तरदेशीय विद्युत व्यापारको भूमिका महत्वपूर्ण रहने सरोकारवालाहरूले बताएका छन् । विश्व बैंकले सोमबार आयोजना गरेको दक्षिण एसियाको हरित, स्वच्छ र ऊर्जा सुरक्षितका लागि क्षेत्रीय विद्युत व्यापारबारेको कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा क्षेत्रका प्रतिनिधिहरूले अन्तरदेशीय व्यापार स्वच्छ र सुरक्षित ऊर्जाको लागि महत्वपूर्ण हुने बताएका हुन् ।

उनीहरूले अन्तरदेशीय व्यापारका लागि पूर्वाधारका संरचनाहरू निर्माण भैसकेको र निर्माण हुन लागेको बताउँदै क्षेत्रीय बजार अभिवृद्धिका लागि स्वच्छ ऊर्जाको आदानप्रदानमा वृद्धिको आवश्यकता जोड दिए । अन्तरदेशीय व्यापारमार्फत दक्षिण एसियाका राष्ट्रहरूले ठूलो फाइदा लिन सक्ने उनीहरूको भनाइ थियो ।
विश्व बैंक समूह दक्षिण एसियाका उपाध्यक्ष हारटवीज स्चाफरले दक्षिण एसियाभित्र ९ अर्ब बिलियन अर्था्त १० खर्बभन्दा बढीको विद्युत कारोबार रहेको बताउँदै स्वच्छ र सुरक्षित ऊर्जाको विकासका लागि क्षेत्रीय व्यापारसँगै यसको प्रसारण क्षमता अभिवृद्धि र बजार विकास आवश्यक रहेको बताए । कोप २६ मा नवीकरणीय ऊर्जाको विकास गर्ने प्रतिवद्धता जनाएको बताउँदै उनले यसका लागि अन्तरदेशीय व्यापारमा सहकार्य र सम्बन्ध विस्तार आवश्यक रहेकोमा जोड दिए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वर्षामा ५ सय मेगावाट विद्युत व्यापारका लागि भारतमा प्रस्ताव गरिसकेको जानकारी दिए । गत नोभेम्बरबाट ३९ मेगावाट विद्युत व्यापार सुरु गरिसकेको बताउँदै उनले नेपालबाट भारत विद्युत आदानप्रदानका लागि पहिलो अन्तरदेशीय प्रसारण लाइन बनिसकेको, दोस्रो निर्माणको चरणमा रहेको तथा अन्य पाँच प्रसारण लाइन निर्माणको चरणमा रहेको बताए । उनले भारतमा सोलार ऊर्जाको विकासको क्रममा जलविद्युतबाट उत्पादन हुने ऊर्जाको आवश्यकता अनिवार्य रहने बताउँदै यसका लागि दुवै देशबीच थप व्यापार अभिवृद्धिका लागि छलफल अघि बढेको बताए । उनले बंगलादेशसँग विद्युत व्यापारका लागि छलफल अघि बढेको जानकारी दिए । उनका अनुसार २१ सय मेगावाट विद्युत उत्पादन गरिरहेको, ५ हजार निर्माण गरिरहेको र १० हजार मेगावाटको जलविद्युत आयोजना निर्माणको चरणमा रहेको नेपालमा हाल १७ सय मेगावाट माग छ भने हाल हिउँदमा भारतबाट चार सय मेगावाट आयात भइरहेको छ ।
कन्भरजेन्ज इनर्जी सर्भिस लिमिटेड भारतका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत मधुय आचार्यले भारतले सन् २०७० भित्र शून्य कार्बन उत्सर्जनको नीतिसँगै सन् २०३० ऊर्जामा नवीकरणीय ऊर्जाको हिस्सा ४० प्रतिशत पु-याउने लक्ष्य राखेकोले यसका लागि अन्तरदेशीय विद्युत व्यापारको भूमिका महत्वपूर्ण हुने बताइन् । पछिल्लो समयमा अन्तरदेशीय विद्युत व्यापारको दिशा सकारात्मक रहेको भन्दै उनले यसमा कूटनीति, राजनीति र व्यापारिक चासोको सम्बोधन आवश्यक रहेको बताइन् । स्वच्छ ऊर्जा विकासका लापिग भारत अहिले संक्रमणकालीन अवस्थामा रहेको बताउँदै उनले दु्रतगतिमा नवीकरणीय ऊर्जाको विकासमा भारत अघि बढेको धारणा राखिन् ।
भुटानको ड्रुक ग्रिन पावर कर्पोरेसन लिमिटेडका प्रबन्ध निर्देशक दासो छेवाङ रिनजिनले भुटानमा उत्पादन भएको ७० प्रतिशत बिजुली भारतमा निर्यात भइरहेको बताउँदै स्वच्छ ऊर्जा विकासका लागि जलविद्युत मुख्य मेरुदण्डको रुपमा रहेको बताए । बंगलादेशको समिट पावर इन्टरनेसनलका प्रमुख वित्त अधिकृत निकोलस पाड्गाल्सकासले ऊर्जा व्यापारका लागि दक्षिनण एसियाभित्र कानुनी ढाँचामा एकरुपता र सञ्चार प्रणालीको विकास आवश्यक रहेको बताउँदै ऊर्जाको दिगोपनताका लागि स्वच्छ ऊर्जाको महत्वपूर्ण भूमिका रहने बताए ।
विश्व बैंकले दक्षिण एसिया क्षेत्रीय बिजुली व्यापार (सारेम) कार्यक्रममार्फत अन्तरदेशीय विद्युत व्यापार प्रवद्र्धनका लागि अन्तरदेशीय प्रसारण लाइनको कनेक्टिभिटी, बजारमा सहायता, कानुनी र नियमनको उचित व्यवस्थापनका लागि सहयोग गर्दै आएको छ ।

No comments: