https://www.karobardaily.com/news/173959
माघ २६, २०७८ बुधबार
डाबर नेपालले नेपालमा ९ अर्ब ६८ करोड ६३ लाख रुपैयाँ थप लगानी गर्ने भएको छ । उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणको लागि लगानी थप गर्न लागिएको हो ।
कम्पनीले लगानी थप गर्नको लागि लगानी बोर्डसमक्ष अनुमति मागेको थियो । लगानी बोर्डको ४९औं बैठकले मंगलबार डाबर नेपाललाई सो लगानी थप गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ४९ औं बैठकले अनुमति दिएको हो ।
बैठकले २३ अर्ब लगानीका ३५० मेगावाटका दुई सौर्य (सोलार) आयोजना सम्भाव्यता अध्ययनका लागि अनुमति दिएको छ । बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा १२५ मेगावाट र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा २२५ मेगावाटको सोलार निर्माणका लागि २३ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने गरी सम्भाव्यता अध्ययन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।
बोर्डका सहसचिव एवं प्रवक्ता भगवान अर्यालका अनुसार परियोजना विकासका सम्बन्धमा एमएस सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई सो सम्भाव्यता अध्ययनको लागि अनुमति प्रदान गर्ने निर्णय गरिएको हो । बैठकले तल्लो अरुण जलविद्युत परियोजनाको निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण तरिकाबाट विकास गर्न छनोट भएको प्रस्तावक कम्पनी एसजेभीएन लिमिटेड भारतले पेश गरेको प्रारम्भिक प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
बैठकले लगानी प्रवद्र्धनका सम्बन्धमा विभिन्न संघसंस्थासँग समझदारीपत्र गर्न कार्यालयलाई अख्तियारी दिएको छ । त्यसैगरी जेनेभास्थित वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट एण्ड प्रोफेसनल संस्थाको सदस्यता ग्रहण गर्न समेत स्वीकृति प्रदान गरेको छ । बैठकले लगानी बोर्डको कार्यालयबाट तयार गरिएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । स्वदेशी बिजुली उपयोग नगरी भारतबाट प्राकृतिक ग्यास आयात गरेर मल कारखाना निर्माण गर्न लागिएको र बोर्डले प्रतिवेदन सार्वजनिक नगरी निर्णय गर्न लागिएको भन्दै यसको आलोचना भएको थियो ।
बैठकमा प्रधानमन्त्री देउवाले लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक नीतिगत तथा कानुनी सुधार गरी लगानीमैत्री वातावरण तयार गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए ।
No comments:
Post a Comment