Friday, June 21, 2013

सुपरसिक्स प्रवद्धक आयोजना फिर्ता लिन चेतावनी

-भीम गौतम
nepalकाठमाडौं, ७ असार । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए) नगरेपछि ‘सुपर सिक्स’का नामले चिनिने ६ जलविद्युत् आयोजनाका प्रवद्र्धकहरूले ऊर्जा मन्त्रालयलाई आयोजना फिर्ता लिन चेतावनी दिएका छन् ।
उनीहरूले बिहीबार ऊर्जा सचिव विश्वप्रकाश पण्डितलाई भेटेर तत्काल पिपिए नगरे आयोजना फिर्ता लिई आफ्नो खर्चसमेत फिर्ता गर्न चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि अहिलेका सरकार प्रमुख खिलराज रेग्मी, अर्थमन्त्री शंकरप्रसाद कोइराला र ऊर्जामन्त्री उमाकान्त झासमेतसँग पिपिएका लागि गुहारिसकेका उनीहरूले ऊर्जा सचिवलाई गुहार्ने क्रममा उक्त चेतावनी दिएका हुन् ।
तीन वर्षदेखि पिपिए हुन नसकेपछि नयाँ आउने सरकार प्रमुख, अर्थमन्त्री, ऊर्जामन्त्री, ऊर्जा सचिवलगायतलाई गुहार्दै आएका उनीहरूले पटकपटकको आश्वासन पूरा नभएको गुनासो समेत पोखेका थिए । प्रतिस्पर्धाका आधारमा दिइएका २१० मेगावाटका ती आयोजनाको पिपिए डलरमा गर्न नसक्ने, प्रसारण लाइन निर्माण असम्भव देखिएकोलगायत कारण देखाउँदै प्राधिकरणले पिपिए गरेको छैन । ६ आयोजनाको अध्ययनका लागि एक अर्बभन्दा बढी खर्चे पनि प्राधिकरणले पिपिए नगरिदिएपछि आयोजनाको निर्माण कार्य अघि बढाउन नसकेको गुनासो उनीहरूको छ ।
पटकपटक मन्त्रालय धाएर आश्वासन पाए पनि पिपिए नगरेकाले अब पनि नगरिए ६ आयोजनाका लागि भएको खर्च फिर्ता दिन चेतावनीसमेत दिएको सुपर सिक्स आयोजनाका संयोजक विजयमान शेरचनले बताए । ‘सचिवज्यू सकारात्मक नै हुनुहुन्छ । हामीले छिट्टै यसको छिनोफानो गर्न भनेका छौँ, गरिदिन्छु भन्नुभएको छ, हामी आशावादी बनेका छौँ । प्राधिकरण अहिले नकारात्मक बनिरहेकाले समस्या भोग्नुपरेको छ,’ उनले भने ।
एक वर्षअघि ऊर्जा मन्त्रालय र निजी क्षेत्रद्वारा निर्माणाधीन ६ आयोजनाहरूबीच विद्युत् खरिद सम्झौता (पिपिए) लगायतका ७ बुँदामा सहमति भएको थियो । फागुनको दोस्रो साता तत्कालीन ऊर्जा मन्त्रीसमेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक साताभित्र आयोजनाको पिपिए गर्न निर्देशन दिएका थिए । नौ महिनापूर्व ऊर्जा सचिव कोइरालाले प्राधिकरणलाई १५ दिनभित्र सुपर सिक्सको पिपिए गर्न निर्देशन दिएका थिए ।
चैतमा मन्त्री झाले समेत तुरुन्तै पिपिए गरिदिने आश्वासन दिएका थिए । चैत्रको पहिलो साता भएको प्राधिकरणको सञ्चालक समितिको बैठकले डलरमा पिपिए गर्न नसक्ने निष्कर्ष निकालेको थियो । तर, प्राधिकरणले गर्ने/नगर्ने स्पष्ट नगरेपछि सुपर सिक्सको पिपिए अन्योलग्रस्त बन्दै आएको छ ।
पिपिएको पर्खाइमा रहेका आयोजनामा १६ मेगावाटको दोलखाको सिगटी, २४.१ दोलखाकै मेगावाटको खारे, २३.५ मेगावाटको सोलु, ८२ मेगावाटको तल्लो सोलु, संखुवासभाको १४.९ मेगावाटको माया र ताप्लेजुङको ५० मेगावाटको मेवाखोला जलविद्युत् आयोजना छन् ।

No comments: