Sunday, June 30, 2013

‘बूढीगण्डकी लोडसेडिङ हटाउन रामवाण’

राजधानी समाचारदाता
 काठमाडौं, १६ असार 
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बा“स्कोटाले नेपालमा भइरहेको लोडसेडिङ समाधानका लागि ६ सय मेगावाट बूढीगण्डकी जलाशययुक्त आयोजना रामवाण हुने बताएका छन् । जलाशययुक्त आयोजनाको अभावमा हिउ“दमा चरम लोडसेडिङ भोगिरहेका बेला ६ सय मेगावाटको बूढीगण्डकी बनेपछि नेपालबाट लोडसेडिङ अन्त्य हुने सचिव बाँस्कोटाको दाबी छ । ‘बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्पन्न नभएसम्म देशबाट लोडसेडिङ अन्त्य हु“दैन, लोडसेडिङ हटाउनका लागि यो आयोजना नेपालका लागि रामवाण नै हो,’ उनले भने । राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको सो आयोजना आठ वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको र आयोजनालाई आर्थिक अभाव नहुने उनले बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले आयोजना अघि बढाउनका लागि अहिलेदेखि माग र समस्याहरूको पहिचान गरेर त्यसको समाधान गर्दै अघि बढ्नुपर्ने बताए । बूढीगण्डकी विकास समितिका सदस्य डा.डम्बरबहादुर नेपालीले चिलिमे र माथिल्लो तामाकोसीजस्तै बूढीगण्डकी आयोजनालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउन सकिने बताए । कार्यक्रममा धादिङ र गोरखा जिल्लाका राजनीति दलका नेताहरूले आयोजना निर्माण अघि बढाउन दुवै जिल्लाका स्थानीयवासीको सहयोग रहने प्रतिबद्धता जनाएका थिए । राजीनामा दिन अध्यक्षलाई दबाब पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गंगालाल तुलाधरले बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका अध्यक्ष डा.लक्ष्मीप्रसाद देवकोटालाई अध्यक्षबाट राजीनामा दिन सुझाव दिएका छन् । कार्यक्रममा उनले अघिल्लो डा.बाबुराम भट्टराईको सरकारले आफ्ना कार्यकर्तालाई जागिर खुवाउनका लागि अध्यक्ष बनाएको र यसले आयोजना अघि बढाउनका लागि अप्ठ्यारो हुने भएकाले राजीनामा दिनु उपयुक्त भएको बताए । ‘विकास समितिको विवादले आयोजनालाई असर पर्ने सम्भावना देखिएकाले आयोजनाको बाधक बन्नुभन्दा अध्यक्षले राजीनामा दिए उपयुक्त हुन्छ,’ उनले भने, ‘अहिले विकास समिति र प्राधिकरणबीच विवाद देखिँदा यसले आयोजना अघि बढाउनै समस्या देखिन थालेको छ, यसको अन्त्य हुनुपर्छ ।’

No comments: