Tuesday, June 11, 2013

कान्दाका चेपाङलाई दुई वर्षभित्र नयाँ घर


-भीम गौतम
Chepang-Ko-Gharकाठमाडौं, २८ जेठ । दयनीय अवस्थामा जीवन गुजारिरहेका चितवनको कान्दा क्षेत्रका चेपाङ परिवार नयाँ घरमा बस्न पाउने भएका छन् ।
जीर्ण घरमा कठिनाइका साथ बस्दै आएका चितवनको लोथर–९ र ओराक–९ का ६४ घरधुरीका चेपाङ समुदाय आगामी दुई वर्षभित्र नयाँ घरमा बस्न पाउने भएका हुन् । कान्दाङका कतिपय चेपाङ अझै जंगलमा समेत बस्दै आएका छन् । तीन महिनासम्म मकै तथा बाँकी समयमा जंगलबाट गिठ्ठा भ्याकुर ल्याएर खान विवश उनीहरूको आर्थिक स्तर सुधार्न स्याउ खेतीका लागि सहयोग गर्न पुगेको लक्ष्मी प्रतिष्ठानले उनीहरूलाई नयाँ घर बनाइदिन लागेको हो । चितवनकै भरतपुरबाट ३ घन्टा बसबाट र त्यहाँबाट ७ घन्टा हिँडेर पुगिने विकट क्षेत्र कान्दामा प्रतिष्ठानले माटो र ढुंगाबाट घर बनाइदिन लागेको हो ।
‘कतै छाना चुहिएर त कतै गाह्रो भत्किएर जीर्ण घरमा जोखिम मोलेर बसिरहेको चेपाङहरूको कारुणिक अवस्था देखेपछि प्रतिष्ठानले उनीहरूको लागि नयाँ घर बनाइदिन लागेको हौँ,’ प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले भने, ‘आगामी असोजभित्र उनीहरूका लागि घर निर्माण सुरु गरेर दुई वर्षभित्र उनीहरूलाई नयाँ घरमा बसाउने व्यवस्था गर्न लागेका छौँ ।’
प्रतिष्ठानले भत्कन लागेका घर पहिला र त्यसपछि क्रमश: अन्य घर बनाउने लक्ष्य राखेको छ । आफ्ना दुई छोरा कुमार गौतम र बलराम गौतमको गाडी दुर्घटनामा निधन भएपछि उनीहरूको नाममा लक्ष्मी प्रतिष्ठान गठन गरी सामाजिक सेवा गर्दै आएको छ । प्रतिष्ठानले फेसबुकमार्फत पनि सहयोग संकलन गरी सामाजिक सेवा गर्दै आएको छ । सोही क्रममा कान्दाका चेपाङलाई जुम्लाबाट ५ सय १५ वटा स्याउका बिरुवा ल्याएर आयाआर्जनका लागि सहयोग गरेको प्रतिष्ठानले बालबालिकाका लागि स्टेसनरी र कपडासमेत वितरण गरेको थियो । हालै स्वास्थ्य शिविर, बिउविजन वितरण तथा विभिन्न कृषि तालिम दिने क्रममा उनीहरूको घरघर पुग्दा दयनीय अवस्था देखेपछि उनीहरूका लागि घर बनाइदिने योजना अघि सारेको अध्यक्ष गौतमले बताए ।
‘चेपाङ बस्ती पुग्दा यस्तो कारुणिक अवस्था देखियो कि उनीहरूलाई गाँसका लागि मात्र सहयोग गरेर पुग्दैन भनेर बासको व्यवस्थासमेत गर्न लागेका हौ,’ उनले भने । उनका अनुसार जस्तासहितको घरका लागि ३५/३५ हजार र खरको छाना भएका घरका लागि १५/१५ हजार रुपियाँ खर्च गर्ने लक्ष्य राखिएको छ ।
कान्दाका चेपाङका लागि घर निर्माणका लागि फेसबुकमार्फत प्रतिष्ठानले दाताहरूसँग सहयोग संकलन सुरु गरिसकेको र हालसम्म १२ वटा घर बनाउनका लागि दाता तयार भएको अध्यक्ष गौतमले जानकारी दिए । माउ बाख्रा, कुखुरा र हाँस, विद्यार्थीको छात्रावास, चामल, आलुको बिउलगायत सहयोग गर्ने लक्ष्य राखेको प्रतिष्ठानले जनाएको छ ।

No comments: