Monday, January 28, 2019

दुई वर्षदेखि आयोजनाको काम प्रभावित

मंगलबार, माघ १५, २०७५
राष्ट्रिय महत्वको हेटौंडा–ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारणलाइन आयोजनाबारे मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न डिभिजन वन कार्यालय सप्तरीले अटेरी गरेको छ । 
मन्त्रिपरिषद्को १ भदौ २०७३ को आयोजनाको सप्तरीमा पर्ने टावर तथा २३ मिटर दायाँ र २३ मिटर बायाँ प्रसारण लाइनको रुट (राइट अफ वे)का लागि ३१.६७ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्न र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति दिए पनि वन कार्यालयले कार्यान्वयनमा अटेरी गरेको हो । आयोजना र वन विभागबीच १९ मंसिर २०७३ मा सम्झौता भई कार्यान्वयनका लागि तत्कालीन जिल्ला वन कार्यालय सप्तरी पठाए पनि हालसम्म कार्यान्वयन भएको छैन । वन कार्यालयका प्रमुख (डीएफओ) धिरेन्द्रप्रताव सिंहले विभिन्न वहनामा रुख कटानका लागि समयमै आदेश नदिँदा आयोजनाको काम रोकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुख कटानको स्वीकृति दिन आयोजनाले पटक–पटक गरेकोे ताकेतालाई वन कार्यालयका प्रमुखले अस्वीकार गर्दा सप्तरीमा पर्ने आयोजनाको टावर निर्माण नै रोकिएको बताए । 
समयमै वन कार्यालयले स्वीकृति नदिँदा ४ हजार ८ सय ४१ थान रुख संख्या हटाउने तथा भोगाधिकार उपलब्ध गराउन स्वीकृति भएकोमा २ वर्षपछि पुनः टाँचा लगाउने प्रयोजनको लागि भेरिफिकेसन गर्दा ८ सय ९९ रुख थपिएको छ । यसका लागि थप स्वीकृति गर्नुपर्ने देखिएपछि अहिले यसको फाइल वन विभागमा पुगेको छ । रुख कटानसम्बन्धी वन कार्यालय प्रमुखले ढिलाइ गरिदिएको कारण काम प्रभावित भएको आयोजना प्रमुख राधेशरण महतोले बताए । “विभागसँग भएको सम्झौता लगत्तै कार्यान्वयन नगरी वन कार्यालय प्रमुखले विभिन्न बहाना बनाएर २०७४ पुससम्म केही नगरी फाइल थन्काएर राखेपछि अहिले थप स्वीकृतिका लागि फाइल विभागमा पुगेको छ अझै कति समय लाग्ने हो केही टुंगो छैन,” उनले भने । विभागमा फाइल बल्ल ११ माघमा दर्ता भएको छ । तत्काल कटान सुरु नगर्ने हो भने छपान गरिएका रुखमा राखिएको नम्बर मेटिने हुँदा पुनः छपान गर्नुपर्ने र यसले गर्दा आयोजनाको काम झनै प्रभावित हुने आयोजनाले जनाएको छ । 
नेपाल सरकार, प्राधिकरणको लगानी र विश्व बैकको नेपाल–भारत विद्युत् प्रसारणलाइन तथा व्यापार परियोजना अन्तर्गतको सहुलितपूर्ण निर्माण भइरहेको आयोजनाको निर्माण अप्रिल २०२० मा सक्ने लक्ष्य राखिएको छ । नेपालभित्रको प्रसारणलाइन सुदृढीकरण गर्न र नेपाल–भारतबीचको विद्युत् व्यापारलाई सहज बनाउन प्रसारण लाइनको निर्माण भइरहेको हो । प्रसारण लाइनको निर्माण करिब एक वर्षभित्रमा सम्पन्न नगरेमा ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने अवस्था आउन सक्ने प्राधिकरणले जनाएको छ । हालसम्म प्रसारण लाइनको ६० प्रतिशतमात्र काम सकिएको छ भने २०२० को अप्रिलमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । “मुलुकको पूर्वदेखि पश्चिमसम्म धेरै जिल्ला पार गर्दै उच्च क्षमताका प्रसारण लाइनको निर्माण गर्नु पर्नेछ, हरेक डीएफओले यसरी नै अवरोध गर्ने हो भने प्रसारण लाइनको निर्माण कसरी गर्न सकिन्छ र हामीले भन्दै आएको ऊर्जा क्षेत्रको विकास कसरी हुन्छ ?” प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भन्छन् । 
माथिल्लो तामाकोसीबाट आगामी कात्तिकबाट विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरिएको छ । दोलखाको गोंगर–खिम्ती (रामेछाप)–ढल्केबर (धनुषा) २२० केभी प्रसारण लाइनमार्फत आउने विद्युत् ढल्केबर पूर्व र पश्चिममा हाल रहेको १३२ केभी प्रसारण लाइनको क्षमताले नधान्ने हुँदा माथिल्लो तामाकोसीको विद्युत् प्रवाह गर्न नसकिने घिसिङले जानकारी दिए ।
हेटांैडा–ढल्केबर–दुहबी २८५ किलोमिटर प्रसारणलाइन आयोजनाले ७९२ वटा टावरमध्ये सप्तरीमा १४२ वटा पर्छ । त्यसमध्ये ११७ टावरको जग हालिएको छ । बाँकी २५ मध्ये १३ वटा वन क्षेत्रभित्र पर्छ ।

No comments: