Sunday, January 6, 2019

‘सोलारबाट ३० वर्षमा ६० मेगावाट’

आइतवार, पुष २२, २०७५
काठमाडौं-३० वर्षमा सौर्यऊर्जा (सोलार) बाट ६० मेगावाट बराबरको बिजुली उत्पादन भएको छ । 
चितवनमा भएको नेपाल सौर्य विद्युत् उत्पादक संघको १८औं वार्षिक साधारणसभामा ३० वर्षे सोलार इतिहासमा ६० मेगावाट बराबरको विद्युत् उत्पादन भएको जानकारी दिइएको हो । २२ वर्षदेखि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्यमा काम गर्दै आएका निजी क्षेत्रका व्यवसायीले करिब ११ लाख अर्थात् ८ प्रतिशत उपभोक्तामा सोलारको पहुँच पुगेकोे तथा ३ मेगावाट नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा समेत जोडिसकेको साधारणसभामा जानकारी दिइएको थियो । 
साधारणसभामा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले नेपाल आफंै पनि नवीकरणीय ऊर्जाका स्रोत जलविद्युत्, सौर्यऊर्जा, वायुऊर्जा र वायोमास ऊर्जामा धनी मुलुक भए पनि खनिज इन्धन आयात गरी उपभोग गरिरहनु परेको बताउँदै यसको विकास र प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । खनिज इन्धनको आयात घटाउँदै स्वच्छ ऊर्जा प्रविधि परिचालन बढाउँदै जाने नीति सरकारले लिएको बताउँदै घरायसी प्रयोजनसहित औद्योगिकीकरण क्षेत्रमा पनि यसको उपयोग बढाउनुपर्ने बताए । 
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका सचिव डा. बुद्धिरत्न खड्गेले मुलुकको आवश्यकता सुहाउँदो नवीकरणीय ऊर्जा प्रविधि विकासका अध्ययन अनुसन्धान गर्दै प्राज्ञिक जनशक्तिलाई उपयोग गर्नु उपयुक्त हुने बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कायममुकायम कार्यकारी निर्देशक नवराज ढकालले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको केन्द्रले विद्युत् सुविधा नपुगेका मुलुकका दुर्गम तथा सबै खालका क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधि पु¥याउँदै विभिन्न कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको उल्लेख गरे । ऊर्जा दक्षता, जलवायु पविर्तनको नकारात्मक प्रभाव न्यूनीकरण गर्ने तीनै तहका सरकारका साथ सहकार्य र समन्वय गर्न केन्द्रले आधारभूत तयारी गरेको उनले बताए । 
नेपाल नवीकरणीय ऊर्जा परिसंघ अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि भएका नीति, कार्यक्रम निजी क्षेत्र र उपभोक्तामैत्री हुन नसकेको हुनाले नयाँ र परिमार्जित नीति निर्माण गर्न आवश्यक रहेको बताए । नेपाल सौर्य विद्युत् उत्पादक संघका अध्यक्ष किरण गौतमले मुलुकलाई आवश्यक नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । निजी क्षेत्र साझेदारीलाई सशक्त र प्रभावकारी तुल्याउन विद्यमान नीति र कार्यविधि परिमार्जन गर्नुपर्ने बताउँदै विशेषगरी लगानी नीति, कर नीति र दक्ष जनशक्ति उत्पादन गर्ने नीतिमा सरकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

No comments: