Thursday, June 27, 2019

स्थानीय तहलाई प्रोत्साहनवापत १ अर्ब ७० करोड

https://www.karobardaily.com/news/economy/21261
बिहिवार, असार १२, २०७६
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले उत्कृष्ट कार्य सम्पादन गर्ने स्थानीय तहलाई दिएको प्रोत्साहन रकम सबैभन्दा बढी गाउँपालिका र सबैभन्दा कम नगरपालिकाले पाएको देखिएको छ ।चालू आर्थिक वर्ष (२०७५-७६) मा ७५३ स्थानीय निकायले गरेको कार्य सम्पादनको आधारमा आयोगले सूत्र अनुसार विनियोजन गरी अर्थ मन्त्रालयमार्फत सम्बन्धित स्थानीय तहमा पठाएको विवरणमा यस्तो देखिएको हो । आयोगका अनुसार सबैभन्दा बढी प्रोसाहन रकम इलामको माङसेबुङ गाउँपालिकाले ३६ लाख ९१ हजार रुपैयाँ बराबर पाएको छ भने सबैभन्दा कम धनुषाको कमला नगरपालिकाले ४ लाख ६२ हजार पाएको छ । वित्त आयोगका सचिव वैकुण्ठ अर्यालले उत्कृष्ट काम गर्ने स्थानीय निकायलाई आयोगले प्रोत्साहन रकम दिएको बताए । मंगलबार बजेट ल्याएका स्थानीय तहसहित सबै तहलाई तीन दिनभित्र बजेटसम्बन्धी प्रतिवेदन बुझाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बुधबार ताकेता गरिएको छ । 
 आयोगले बनाएको सूत्रअनुसार असार १० गते अर्थात समयमै बजेट ल्याउनेलाई ४० प्रतिशत अंकभार, खर्चको आधारमा ४० प्रतिशत तथा पुस मसान्तसम्मका अर्थ मन्त्रालयमा रिपोर्टिङ गर्नुलाई २० प्रतिशत अंकभार दिएर प्रोत्साहन रकम विनियोजन गरिएको छ । आयोगका अनुसार वित्तीय अनुदानवापत जाने रकमको २५ प्रतिशत रकम छुट्याएर बाँकी रहेको रकमलाई शतप्रतिशत मानेर त्यसको २.५ प्रतिशत स्थानीय तहलाई प्रोत्साहन रकम दिने व्यवस्था आयोगले गरेको थियो । सबै स्थानीय तहले १ अर्ब ७० करोड बराबरको प्रोत्साहन रकम पाएका छन् । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६-०७७ का लागि स्थानीय तहमा ८९ अर्ब ९४ करोड ६६ लाख बजेटको सिलिङ बनाएको छ भने त्यसमध्ये न्यूनत्तमबाहेक विभिन्न सूचकांकहरूको सूत्रको आधारमा ६८ अर्ब रुपैयाँ रहेकोमा यसमध्ये २.५ प्रतिशत प्रोत्साहन वितरण गरिएको हो । सबैभन्दा कम पाउनेहरूमो सिरहाको औरही गाउँपालिकाले ६ लाख ६७ हजार, सर्लाहीको चक्रघट्टाले ७ लाख ४७ हजार, धनुषाको सबैला गाउँपालिकाले ७ लाख ७० हजार, सर्लाहीको विष्णु गाउँपालिकाले ७ लाख ९७ हजार छ । त्यसैगरी काठमाण्डौ उपत्यकाभित्रको मध्यपुर थिमी नगरपालिकाले ८ लाख ९८ हजार मात्र पाएको छ । बढी पाउनेमा राजधानी र सहरी क्षेत्रभन्दा पनि बाह्य जिल्लाकामा बढी छन् । दिपायल सिलगढी नगरपालिकाले ३५ लाख ८३ हजार, हुम्लाको खार्पुनाथ गाउँपालिकाले ३१ लख ४९ हजार, धादिङको सिद्धलेख गाउँपालिकाले ३१ लख ४७ हजार रुपैयाँ पाएको छ ।

No comments: