Saturday, April 4, 2020

निर्माण रोकिँदा तीन अर्ब भार थपियो, ५० हजार कामविहिन

शुक्रवार, चैत्र २१, २०७६
चीनमा कोरोना संक्रमण बढ्दै जाँदा एक महिनादेखि जलविद्युत् आयोजनाको निर्माण रोकिएको छ । यसबाट मासिक रूपमा पौने तीन अर्ब रुपैयाँ थप भार परेको र ५० हजार श्रमिक कामविहीन भएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई इमेलमार्फत ध्यानाकर्षण गराउँदै २ अर्ब ८० करोडको मासिक थप भार परेको र यति धेरै कामविहीन बनाएको उल्लेख गरेको छ । निर्माण अवधिको ब्याजसहित अन्य खर्चहरूको कारणले नियमित भार रहेको निजी क्षेत्रले जनाएको छ । इप्पानका अनुसार लकडाउनको कारणले २ खर्ब ८० अर्बको लगानीमा निर्माण भइरहेका २८ सय मेगावाट बढीका १ सय १५ जलविद्युत् आयोजनाको काम रोकिएर समस्या परेको पनि उल्लेख गरेको छ ।
ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोसी लगायतका आयोजनाहरूमा विशेष सतर्कता अपनाएर आयोजना निर्माण गर्ने निर्णय गरेपनि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको लागि कुनै व्यवस्था नगरेपछि लकडाउन अवधिमा पनि आयोजनाको काम नरोक्ने वातावरण निर्माणका लागि उनीहरूले मन्त्रीलाई आग्रह गरेका छन् । “लकडाउनको कारणले आयोजना निर्माण ठप्प हुँदा मासिक २ अर्ब ८० करोड रुपैयाँ बराबरको लागत भार थपिने देखिएको छ भने २ खर्ब ८० अर्ब बराबरको लगानीका आयोजनाहरूको निर्माण अवधिपनि पछि सरेपछि ठूलो असर पर्ने देखिएको छ,” इप्पान उपाध्यक्ष कुमार पाण्डेले भने, “आयोजनाहरूको निर्माण ढिलाई हुँदा निजी क्षेत्रले त अर्बौ घाटा बेहोर्नैपर्छ, यसको कारणले देशको अर्थतन्त्रलाई समेत ठूलो असर गर्ने हुनाले सरकारसँग हामीले सुचारु रूपमा सञ्चालनका लागि वातावरण मिलाउन भनेका हौं ।” उनी अधिकांश जलविद्युत् आयोजनाहरूको निर्माण स्थल बस्तीहरूबाट टाढा रहेको र त्यहाँ सर्वसाधारणलाई रोक लगाई अहिले आयोजनास्थलमा रहेका श्रमिकहरूको परिचालन गरी काम गर्ने वातावरण बनाउनुपर्ने बताउँछन् । इप्पानका अनुसार अधिकांश जलविद्युत् आयोजनाहरूमा कार्यरत प्राविधिक र श्रमिक मजदुर क्याम्पभित्रै बसिरहेका छन् ।
निर्माणाधीन आयोजनाको हकमा सुरुङभित्रको पानी निरन्तर पम्प चलाएर फालिरहनुपर्ने, सर्ट क्रेट लाइनिङ, कन्क्रिट लाइनिङ र रक सर्पोट सिष्टका साथै बाँध क्षेत्रमा जनिमूनीबाट चुहिएर आउने पानी प्रवाह नियन्त्रण गरिरहनुपर्ने, इन्टेक स्ट्रक्चर, कफर ड्याम, अनडर सुलाइस बाँध आदिलाई नजिकै आइरहेको वर्षाबाट थप क्षति हुन नदिन संरक्षण गर्नुपर्ने तथा अन्य केही अत्यावश्यक काम निरन्तर गरिरहनुपर्ने इप्पानले जनाएको छ । वर्षायाम नजिकै आइरहेको अवस्थामा यी सबै कामहरूको निरन्तरता नदिएको खण्डमा निर्माणका विभिन्न चरणमा रहेका संरचनाहरूमा ठूलो क्षति पुग्ने उल्लेख गर्दै क्याम्पबाहिर ननिस्कने, निश्चित तोकिएको ठाउँमा मात्र २५ जनाभन्दा कम संख्यामा निश्चित दूरी कायम राखेर काम गर्ने लगायतका भौतिक क्यारेन्टाइन विधि अपनाएर नियन्त्रित निर्माण सुचारु गर्नपाउने व्यवस्था मिलाउन पनि इप्पानले मन्त्रीसमक्ष अनुरोध गरेको छ ।
 
बिल भुक्तानी गर्न माग
इप्पानले नेपाल विद्युत् प्राधिकरणसँग बिल भुक्तानी गर्न माग गरेको छ । केही दिनअघि प्राधिकरणले आयोजनाहरूको मिटर रिडिङ हुन नसकेकाले भुक्तानी रोकेको सूचना जारी गरेपछि इप्पानले बिल भुक्तानी नियमित गर्न माग गरेको हो । विद्युत् उत्पादकहरूको आयको स्रोत भनेको प्राधिकरणबाट उपलब्ध गराउने भुक्तानीमात्र भएको उल्लेख गर्दै यसबाट उत्पादकहरूले कर्मचारी तलब, बैंकको साँवा ब्याज भुक्तानी, आयोजनाको बिमा तथा नियमित मर्मतसम्भार प्रभावित भएको जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई इप्पान अध्यक्ष शैलेन्द्र गुरागार्इंले लेखेको पत्रमा सूचना भनेजस्तै प्राधिकरणलाई मिटर रिडिङ गर्न असजिलो भएमा प्रवद्र्धकहरूले आफैंले गरेर पठाउने तथा अर्को महिनामा सहजै रुजु गर्न सकिने भएकोले प्रवद्र्धकहरूको खातामा पैसा पठाउने व्यवस्था गरिदिनु अनुरोध गरिएको छ । भुक्तानी नभएमा बैंकको किस्ताका साथै हिउँद महिनामा भइरहेको आयोजनाहरूको मर्मत सम्भारमा समेत ठूलो बाधा पर्ने उल्लेख छ ।
प्राधिकरणले भने कोरोना असरले परिस्थिति काबु बाहिर हुँदा प्राधिकरणले दायित्व निभाउन नसेको उल्लेख गर्दै सूचनामा विद्युत् खरिद सम्झौता (पीपीए) मा उल्लेखित व्यवस्थाअनुसार भुक्तानी गर्न ढिलाई हुँदा क्षतिपूर्ति वा हर्जना बुझाउन नसक्ने जानकारी गराएको थियो ।

No comments: