Thursday, June 25, 2020

सस्तो बिजुलीले रातमा उद्योग चल्छन् ?

शुक्रवार, असार १२, २०७७
सरकारले रातको समयमा बजार खुला गर्ने र यातायात चलाउन धेरै पटक प्रयास गरे पनि सफलता प्राप्त भएन । हालै नेपाल विद्युत् नियमन आयोगले रातिको समय अर्थात ११ बजेदेखि बिहान पाँच बजेसम्मको अफ पिक आवरमा झण्डै ५० प्रतिशत कम महशुल तोकेको छ ।
मुलुकमा विद्युत् खपत बढ्न नसकिरहेको बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङ अफ पिक समयको विद्युत् महशुल अति सस्तो भएपछि उद्योगधन्दा रातिको समयमा चलाउन प्रोत्साहन गरेको बताउँछन् । “रातिको समयमा उद्योग चलोस् भनेर अन्य समयको भन्दा ५० प्रतिशत महशुल कम गरिएको छ, यसले राति समयमा थप उद्योग सञ्चालन गर्न सहयोग पुग्छ,” उनी भन्छन्, “सरकारको नीतिले के गर्छ थाहा छैन, हामीले विद्युत् खपत बढाउन अति सस्तो बनाएका छौं । राति उद्योगहरू आउनुपर्छ ।”
हुन पनि औद्योगिकतर्फ बैशाखदेखि मंसीरसम्म १३२ केभीको पिक समय अर्थात साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रति युनिट इनर्जी शुल्क १० रुपैयाँ र अन्य समय अर्थात बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ८.२० छ भने अफ पिकको समयमा ४.६५ पैसा छ । त्यसैगरी ६६ केभीतर्फ पिक समयमा प्रतियुनिट १०.१०, अन्य समयमा ८.३० रुपैयाँ छ भने अफ पिक समयमा ४.७५ रुपैयाँ छ । त्यसैगरी ३३ केभीतर्फ पनि पिक समयमा १०.२०, अन्य समयमा ८.४० छ भने अफ पिकमा ५.२५ रुपैयाँ मात्र छ ।
औद्योगिकतर्फ पुसदेखि चैतसम्म १३२ केभीको पिक समय प्रतियुनिट इनर्जी शुल्क १० रुपैयाँ र अन्य समय अर्थात राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म ८.२० छ भने ६६ केभीमा पिक समयमा १०.१० तथा अन्य समयमा ८.३ रुपैयाँ छ । त्यसैगरी ३३ केभीतर्फ पनि पिक समयमा १०.२०, अन्य समयमा ८.४० छ ।
हिउँदमा भने अफ पिक आवरमा खासै फरक महशुल छैन ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अफ पिक समयमा सामान्य अवस्थाबाहेक ५० प्रतिशत कम हुनु सकारात्मक र उद्योगीहरूलाई उत्साहित बनाउने भएपनि रातिको समयमा उद्योग सञ्चालन गर्न समस्या रहेको बताउँछन् । कोरोनाको कारणले अहिले राति चलाउन नपाएको उल्लेख गर्र्दै उनी पहिलाभन्दा केही घटाएर ५० प्रतिशत कम गर्नु सकारात्मक र उद्योगीहरूलाई प्रवद्र्धन गर्ने खालेको भएको बताउँछन् ।
तर राति उद्योग चलाउँदा अन्य लागत बढ्ने उनको भनाइ छ ।
गोल्छाका अनुसा, रातिको समयमा स्थानीय समस्याका साथै श्रमिक व्यवस्थापन, यातायात, लजिष्टिक, शान्ति सुरक्षा लगायतका समस्या छन् । राति उद्योग सञ्चालन गर्न अन्य उद्योगहरू सञ्चालन हुनु आवश्यक रहेको बताउँदै सरकारले राति समयमा उद्योग सञ्चालनका लागि थप सहुलियत र वातावरण बनाउन सके रातिको समयमा खेर जाने बिजुलीको उपयोग गर्न सक्ने बताउँछन् ।
बिजुली भण्डार प्राविधिक रुपमा सम्भव नभएकोले रातिको समयमा अहिले पनि करोडौं मूल्यको बिजुली खेर गईरहेको छ । प्राधिकरणकै तथ्यांक अनुसार, यही बर्षको बर्षामा रातिको समयमा ६ सय मेगावाट बराबरको बिजुली खेर जानसक्ने प्रक्षेपण छ । अर्बौको बिजुली खेर जानबाट जोगाउनका लागि विद्युत् महशुलमा छुट दिएपनि अन्य वातावरण बनाउन सके रातिको समयमा उद्योग सञ्चालन गर्न असम्भव भने नरहेको उद्योगीहरूको भनाई छ ।

No comments: