Saturday, June 6, 2020

ग्राहक आफैंले अनलाइनबाट विद्युत् मिटर रिडिङ गर्न पाउने

सोमवार, जेठ १९, २०७७
मुलुकमा जारी लकडाउनका कारण घरघरमागएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटर आफै रिडिङ गर्न पाउने व्यवस्था गरेको छ ।
प्राधिकरणले गरेका सो व्यवस्थाअनुसार उठेको विद्युत् खपतको अंक ग्राहक आफैंले राख्न पाउने व्यवस्था गरेको हो । इन्टरनेट सुविधा नभएका ग्राहकहरूलाई पनि टोल फ्री नम्बरमा फोन गरी विद्युत् खपतको मिटर अंक टिपाउन सक्ने व्यवस्था छिट्टै गरिने प्राधिकरणले जनाएको छ । यस प्रणालीमार्फत मिटर आफ्नो घरको मिटर रिडिङ गर्न ग्राहकले इन्टरनेट ब्राउजरको एड्रेस बारमा कन्जुमर डट एनइए डट ओराजी डट एनपी टाइप गरी इन्टर हानेपछि होमपेज खुल्ने छ । त्यसपछि ग्राहकले पहिलो पटक रजिस्ट्रेशन गर्नुपर्ने छ । रजिष्ट्रेशन गर्दा युजरनेममा ग्राहकले आफ्नो मोबाइल नम्बर र पासओर्ड राख्नुपर्ने छ ।
पहिलोपल्ट लगइन गरिसकेपछि रजिस्ट्रेशन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइनगर्न सकिने छ । त्यसपछि एड कन्जुमर बटम क्लिक गरी खुल्ने कन्जुमर रजिस्ट्रेशन फारममा दिइएको निर्देशनअनुसार ग्राहक विवरण भरी दर्ता गर्नुपर्ने छ । पहिलोपल्ट विवरण भरेपछि अर्कोपल्ट प्रयोग गर्दा पुनः भर्नुपर्ने छैन । त्यहाँ देखाउने ग्राहकको सूचीमा आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्री फारममा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अंक ‘करेन्ट मिटर रिडिङ फिल्ड’मा टाइप गरी बुझाउनु पर्नेछ । मिटरको अंक देखिने गरी फोटो खिची ब्राउज बटम क्लिक गरी फोटो अपलोड गरेर पनि पठाउन सकिने छ । यति गरेपछि खपत भएको विद्युत्को महसुल देखाउने छ । महसुल विभिन्न अनलाइन भुक्तानीका लागि अनुमति प्राप्त सेवाप्रदायकमार्फत तिर्न सकिने छ ।
ग्राहकले अनलाइन मिटर रिडिङ प्रणालीमा विद्युत् खपतको वास्तविक अंक राख्नु पर्नेछ । यदी हालिएको अंकमा कुनै दुरुपयोग भए विद्युत् वितरण विनियमावलीमा भएको व्यवस्थाअनुसार कारबाही हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले प्रष्ट पारेको छ । प्राधिकरण कम्प्युटराइज्ड विलिङ महाशाखाका अनुसार यो प्रणाली सुरु गरिएपछि करिब २५ हजार ग्राहकहरूले सुरु रजिष्टे«सन गराएका छन् । ८ हजार ग्राहकले आफैं आफ्नो विद्युत् मिटरमा चढेको अंकप्रणालीमा राखि समयमै रिडिङ गराई अनलाइनमार्फत महशुल भुक्तानी गरी छुट सुविधा लिएका छन् ।
प्राधिकरणले ग्राहक सेवालाई थप प्रभावकारी बनाउन २ वर्ष अघिदेखि अनलाइनमार्फत विद्युत् महशुल भुक्तानी गर्ने सकिने व्यवस्था गरेको हो । हाल सात लाखभन्दा बढी ग्राहकले अनलाइनमार्फत महशुल भुक्तानी गर्दै आएका छन् ।

No comments: