Wednesday, August 4, 2021

प्राधिकरणमा कुलमान ल्याउने तयारी

https://www.karobardaily.com/news/150835 

श्रावण २०, २०७८ बुधबार

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि नियुक्तिका लागि सरकारले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन दबाब दिएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै सामु ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्झा भुषालले कुलमानलाई ल्याउनकै लागि शाक्यलाई पदबाट राजीनामा दिन दबाब दिएकी हुन् । उनले पछिल्लो समय बिजुली जाने समस्या बढेको, चुहावट बढ्दै गएको लगायतका कारण देखाउँदै कार्यकारी निर्देशक शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै राजीनामा दिन भनेकी थिइन् । तर शाक्यले भने सरकारले आफूलाई चार वर्षका लागि नियुक्ति दिएकोले राजीनामा नदिने बताएको मन्त्री निकट स्रोतले बतायो । कार्यकारी निर्देशक शाक्यले आफू बालुवाटार गएको र अन्य जिम्मेवारीका लागि प्रस्ताव आएको बताए । उनले घुमाउरो रुपमा प्राधिकरणको कार्यकारी निर्देशकभन्दा अर्को जिम्मेवारीको लागि प्रस्ताव गरिएको स्वीकार गरे । ‘तपाईं प्राविधिक रुपमा योग्य व्यक्ति भएकोले अन्य जिम्मेवारी दिन लागेको उहाँहरुले बताउनुभयो, मैले सरकारले जिम्मेवारी दिए तयार छु भने,’ उनले भने । अन्य जिम्मेवारी भने पनि के जिम्मेवारी भन्ने स्पष्ट रुपमा उनलाई भनिएन ।
कार्यकारी निर्देशक शाक्यले राजीनामा दिन नमानेपछि ऊर्जा मन्त्रालयले उनकै कार्यसम्पादनमार्फत हटाउने तयारी गरिरहेको छ । मन्त्री निकट स्रोतका अनुसार, कार्यसम्पादनका लागि बुधबार नै समिति गठन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्ने तथा त्यसपछि स्पष्टीकरण सोधेर आवश्यक प्रकृया पूरा गरी हितेन्द्रदेवलाई हटाएर कुलमानलाई ल्याउने योजना छ । ६÷६ महिनामा कार्य सम्पादन मूल्यांकन हुने भएकोले आगामी २६ गतेपछि मात्र हितेन्द्रदेवको मूल्यांकन सुरु हुनेछ । त्यसपछि मात्र बाँकी प्रकृया अघि बढ्नेछ ।
चार वर्षे कार्यकाल सकिन लागेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कुलमानलाई फेरि ल्याउनका लागि ठूलो जनदबाब परेको थियो । गत भदौमा कुलमानको कार्यकाल सकिएको थियो । अन्तिम समयमा ओलीले प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक ल्याउने बताउँदै कुलमानलाई निरन्तरता दिएनन् । त्यसपछि भने विद्युत् प्राधिकरणको ऐन अनुसार बिना प्रतिस्पर्धा हितेन्द्रदेवलाई गत माघ २६ गते कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।
देउवा सरकार आएपछि माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच यसबारे छलफल भएको थियो । छलफलपछि प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्रीलाई कुलमानलाई फेरि कार्यकारी निर्देशक बनाउनका लागि प्रकृया अघि बढाउन भनेका थिए । त्यसपछि मंगलबार मन्त्री भुषालले प्रधानमन्त्रीकै सामु बोलाएर राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेकी हुन् ।

No comments: