https://www.karobardaily.com/news/153139
भाद्र २, २०७८ बुधबार
विद्युत् खपत बढाउन फरक–फरक महशुल
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ग्रिडको पहुँच ९० प्रतिशतमा पुगेको छ । विद्युत् प्राधिकरणको ३६ औं वार्षिकोत्सवमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिएको जानकारी अनुसार समग्रमा हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूत रूपमा ग्रिडको पहुँच पुगेको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा वृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको प्राधिकरणले जनाएको छ । सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहकसहित विद्युत् उपभोग गर्ने कुल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ । प्राधिकरणले कोरोना महामारीका बाबजुद आर्थिक वर्ष २०७७-७८ सम्ममा जम्मा ३२ जिल्लामा सारभूतरूपमा पूर्ण विद्युतीकरण गर्न सफल भएको छ । कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् पु-याइएको छ ।
आर्थिक वर्ष २०७७-७८ मा प्राधिकरणका जलविद्युत् गृहबाट कुल २ अर्व ८१ करोड युनिट विद्युत् उत्पादन र यो २०७६-७७ को उत्पादन ३ अर्व २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी रहेको प्राधिकरणले जनाएको छ । आ.व.२०७६-७७ मा निजी क्षेत्रका विद्युत् गृहहरूबाट २ अर्व ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत बर्ष ८.३६ प्रतिशतले बढ्न गई ३ अर्व २४ करोड युनिट पुगेको छ । २०७६-७७ मा भारतबाट १ अर्व ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेको कारणले गत आ.व.मा ६३.४५ प्रतिशत बढी अर्थात् २ अर्व ८२ करोड युनिट विद्युत् आयात गरिएको पनि प्राधिकरणले जनाएको छ ।
कुल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युत् गृहको योगदान ३१.६६ प्रतिशत रह्यो भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युत्को योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत छ । २०७७-७८ मा कुल विद्युत् खपत ७ अर्व ३१ करोड युनिट रहेको छ । जुन आर्थिक वर्ष २०७६-७७ को ६ अर्व ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, ०७६-७७ को तुलनामा १.९१ प्रतिशतले बढेर २०७७-७८ मा विद्युत् चुहावट १७.१८ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।
२०७७-७८ मा विद्युत् बिक्रीबाट कुल ७१ अर्व २८ करोड आम्दानी भएको र २०७६-७७ को ७६ अर्व ३१ करोडको तुलनामा ६.५९ प्रतिशतले न्यून रहेको प्राधिकरणले जनाएको छ । २०७७-७८ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको ६१ अर्व ८७ करोडको तुलनामा १०.९६ प्रतिशतले वृद्घि भई ६८ अर्व ४५ करोड पुगेको पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, विद्युत् खरिद बापत मात्र गत वर्ष मा रु.४१ अर्व ४६ करोड खर्च भएको र जुन अघिल्लो बर्षको तुलनामा १८.०५ प्रतिशतले बढी रहेको प्राधिकरणले जनाएको छ ।
२०७७-७८ मा प्राधिकरणको अन्य आम्दानीसहितको खुद आम्दानी ८० अर्व ३५ करोडमा सञ्चालन खर्च ६८ अर्व ६४ करोड कट्टा गर्दा हुन आउने सञ्चालन मुनाफा ११ अर्व ७१ करोड रहेको र यो संचालन मुनाफा २०७६-७७ को २३ अर्व ७४ करोडको तुलनामा ५०.६७ प्रतिशतले घटी रहेको प्राधिकरणले जनाएको छ ।
गत आर्थिक वर्षको मुनाफा ६ अर्व रहेको र सो मुनाफा २०७६-७७ को १३ अर्व २७ करोडको तुलनामा ५४.७३ प्रतिशतले कमी हो । २०७६-७७ को कर पछिको खुद मुनाफा रु. ११ अर्व ६८ करोड रहेकोमा गत आर्थिक बर्षमा ३ अर्व ५१ करोड अर्थात ६९.९४ प्रतिशतले कमी रहेको प्राधिकरणले जनाएको छ । प्रणालीमा उपलब्ध विद्युत्मा खरिदको हिस्सा ६८.३४ प्रतिशत छ भने विद्युत् विक्री बापत प्राप्त आम्दानीकोे ५८.८३ प्रतिशत रकम विद्युत् खरिदमा खर्च भएको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७६-७७ को तुलनामा प्राधिकरणको उत्पादन घटेको र विद्युत् आयात बढ्न गएकोले गत बर्षमा विद्युत् खरिद बापतको खर्चमा १८.०५ प्रतिशतले बृद्घि भएको छ ।
‘विद्युत् खपत बढाउन फरक–फरक महशुल’
ऊर्जा मन्त्री पम्फा भुषालले विद्युत् खपत बढाउन फरक–फरक विद्युत् उपभोक्ता महसुल लागू गर्ने बताएकी छिन् । प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले आन्तरिक खपत बढाउन वर्षायाम र सुख्खायामको लागि फरक फरक विद्युत् महशुल निर्धारण गर्ने र धेरै विद्युत् खपत गर्ने ग्राहकलाई महशुलमा सुविधा दिने निर्णय भइसकेको बताइन् । उनले ‘विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै खपत बढाउन लागेको जानकारी दिइन् । आगामी दिनमा वर्षायामको विद्युत् खेर जान सक्ने अवस्थालाई मध्यनजर गरी आन्तरिक खपत बढाउने कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट पाठ सिक्दै १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउनु पर्ने बताए । प्रसारण तथा वितरण संरचनाको अभावमा उद्योगहरुलाई माग अनुसारको विद्युत् उपलब्ध गराउन नसकेको उल्लेख गर्दै कार्कीले विद्युत् खपत बढाउने कार्ययोजना कार्यान्वयनमा केन्द्रित हुन प्राधिकरणलाई निर्देशन दिए । विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले चुहावट नियन्त्रण, सुशासन कायम गर्न, विद्युत् खपत बढाउन, अर्धजलाशययुक्त तथा जलाशययुक्त ठूला आयोजना निर्माणको नेतृत्व गर्न प्राधिकरण अग्रसर हुनुपर्ने बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिने बताए । विद्युत् माग र खपत वृद्घिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएकोको उल्लेख गर्दै घिसिङले यस्ता कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए
No comments:
Post a Comment