Sunday, August 15, 2021

११ महिनापछि घिसिङ फेरि प्राधिकरणमा

https://www.karobardaily.com/news/152161

 श्रावण २८, २०७८ बिहीबार

चार वर्षे कार्यकाल पूरा गरेर विदा भएको ११ महिनापछि फेरि कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । भदौ ०७७ मा प्राधिकरणबाट विदा भएका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
मन्त्रीपरिषद्मा कार्यकारी निर्देशक नियुक्त गर्न सहमति भए पनि वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा नदिएका कारण सबै प्रकृया पूरा गरेर बुधबार मात्र घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्र दिएको थियो । लोडसेडिङ अन्त्यका लागि प्रमुख व्यवस्थापकीय भूमिका खेलेर लोकप्रिय बनेका घिसिङको कार्यकाल सकिएपछि ११ महिना अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः नियुक्तिका लागि जनस्तरबाट दबाब परेको थियो तर ओलीले प्रतिष्पर्धामार्फत ल्याउने भन्दै उनलाई पुनः नियुक्ति गरेनन् । प्रतिष्पर्धामार्फत कार्यकारी निर्देशक ल्याउने घोषणा गरेका उनै ओलीले गत माघमा भने शाक्यलाई विना प्रतिष्पर्धा कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।
पहिलो कार्यकालमा सीमित प्रतिष्पर्धामार्फत कार्यकारी निर्देशक नियुक्त भएका घिसिङ सोमबारको मन्त्रीपरिषदबाट विना प्रतिष्पर्धा नियुक्त भएका छन् । नयाँ सरकार गठनपछि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको जोडबलमा शाक्यलाई बोलाएर प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवासामु मन्त्री भुसालले राजीनामा दिन निर्देशन दिएकी थिइन् तर उनले राजीनामा नदिने बताउँदै उचित विकल्प दिए विचार गर्न सक्ने बताएका थिए ।
घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई चार वर्षका लागि जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको पद सरहको पूर्णकालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आयोगको गठन आदेशमा समेत संशोधन गरिएको छ । आयोगको गठन आदेश संशोधनपछि राजपत्रमा प्रकाशित गरेपछि मात्र कार्यान्वयनमा आउने भए पनि सो प्रकाशित भने भएको छैन ।
अर्थ मन्त्रालयले पनि सहमतिपछि मात्र उनलाई प्राधिकरणमा पाउँदै आएको तलब सुविधा नघट्ने गरी सो जिम्मेवारी दिने निर्णय गरेको थियो । पत्रमा उनलाई सरुवा गरिएको वा हटाइएको भन्ने स्पष्ट भने छैन । शाक्यले भने आफूले ऊर्जा आयोगमा पठाइएको पत्र इमेलमार्फत पाएको बताउँदै यसबारे आफू पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘हालसम्म मैले प्राधिकरणबाट राजीनामा दिएको छैन, ऊर्जा आयोगमा सरुवा गरेको पत्र इमेलमार्फत पाएको छु, म एक÷दुई दिन स्वतन्त्र रुपमा सोचेर यसबारे निर्णय गर्छु,’ उनले भने ।
शाक्यले अहिलेसम्म प्राधिकरणको उपकार्यकारी निर्देशक पदबाट पनि राजीनामा दिएका छैनन् । कार्यकारी निर्देशक भएपछि उनले स्वतः राजीनामा दिनुपर्ने भएपनि ऊर्जा मन्त्रालयले भने यसबारे खासै वास्ता गरेको थिएन । एउटै व्यक्ति एकभन्दा बढी सरकारी निकायमा बहाल रहन नपाउने भएपनि शाक्य भने तीन ठाउँमा बहाल छन् । हालसम्म कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशक रहेका उनी ऊर्जा आयोगमा पनि नियुक्त भएका हुन्

निर्देशक घिसिङद्वारा पदबहाली
ऊर्जा मन्त्रालयबाट पत्र पाए लगत्तै घिसिङले पदबहाली गरेका छन् । बुधबार रत्पार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदबहाली गरेपछि उनले जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकारेर आएको र सरकारले दिएको जिम्मेवारी दृढताका साथ वहन गर्ने बताए । ‘म विद्युत् प्राधिकरणमा आउनै पर्छ भन्ने थिएन, सरकारले दिएको जिम्मेवारी र मलाई प्राधिकरणमै रहेको देख्न चाहने सर्वसाधारणको अपेक्षालाई पूरा गर्न जीवनकै सबैभन्दा ठूलो जोखिम मोलेर आएको छु,’ उनले भने। ‘विगतमा गलत काम भएको भए सच्याउने, राम्रा कामलाई अगाडि बढाउने र नयाँ कार्यक्रम सुरु गर्ने भिजनसहित आएको छु, कसैको कुरा काट्ने र विरोध गर्नेभन्दा पनि सरकारकाले दिएको निर्देशन तथा कार्ययोजना कार्यान्वयन गर्न कठोर भएर काम गर्नुपर्ने छ ।’

No comments: