Thursday, August 19, 2021

एक वर्षमा एक खर्ब ३६ अर्ब लगानी स्वीकृत

https://www.karobardaily.com/news/152947 

भाद्र १, २०७८ मंगलबार

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशील भट्टले आफू नियुक्त भएपछि एक बर्षको अवधिमा एक खर्ब ३६ अर्ब लगानीको स्वीकृत भएको जनाएका छन् ।
आफ्नो कार्य सम्पादन करार सम्झौता बमोजिमको आर्थिक बर्षको २०७७-७८ को प्रतिवेदन सोमबार लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदै यस्तो जानकारी दिएका हुन् ।
गत एक वर्षको अवधिमा करिब चार खर्ब बराबरको लगानी स्वीकृत हुने प्रक्रियामा रहेको तथा १ खर्ब ५० अर्ब लगानीको ६७९ मेगावाट अनुमानित क्षमताको तल्लो अरुण जलविधुत परियोजना विकासको लागि छनौट गरिएको विकासकर्तासँग समझदारी गरि सर्वेक्षण अनुमतिपत्र समेत जारी गरिएको प्रतिवेदनमा उल्लेख छ ।
बोर्डले गत एक वर्षको अवधिमा ठूला पूर्वाधार परियोजनाको लगानी स्विकृति, परियोजना स्विकृति, परियोजना कार्यान्वयन तथा निर्माणमा सहजीकरण, लगानी प्रवद्र्धन तथा संस्थागत विकास लगायतका क्षेत्रमा हासिल गरेका महत्वपूर्ण प्रगतिको बारेमा उल्लेख गर्दै प्रतिवेदनमा बोर्डबाट सहजीकरण भइरहेका अरुण तेस्रो जलविद्युत परियोजना, ह्वासिन सिमेन्ट लगायतका परियोजनाको निर्माण प्रगति उल्लेख्य रहेको जनाइएको छ । दमक औद्योगिक पार्क लगायत दाङ्ग सिमेन्ट, सम्राट सिमेन्ट परियोजनाहरू सम्झौताका चरणमा रहेका छन्। कार्यालयको संस्थागत विकास र नीतिगत सुधारका क्षेत्रमा उल्लेख्य प्रगति भएको तथा खासगरी कार्यालयको रणनीतिक योजना तर्जुमा, व्यवसायिक योजना, कार्य सञ्चालनका कार्यविधिहरू तर्जुमा, ठूला परियोजनाका लागि परियोजना बैंक तयारी, वेभमा आधारित एकल विन्दु सेवा केन्द्र सञ्चालनको तयारी लगायतका कार्यले कार्यालयको कामलाई पारदर्शी र प्रभावकारी बनाउनुका साथै कार्यालयलाई स्पष्ट दिशाबोध समेत गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यसम्पादन करार सम्झौताको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री देउवाले लगानी बोर्डलाई अझ सशक्त र परिणाममुखि बनाउन सरकारको सदैव सहयोग रहने बताए ।

No comments: