Monday, August 23, 2021

सडक र पर्यटकीय क्षेत्रमा प्राधिकरणको उज्यालो अभियान

https://www.karobardaily.com/news/154016

 भाद्र ७, २०७८ सोमबार

नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहहरूसँगको सहकार्यमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, विश्व सम्पदामा सूचीकृत लगायतका पर्यटकीय क्षेत्र र सडकलाई राति उज्यालो बनाउन स्मार्ट बत्ती जडान अभियान सञ्चालन गर्ने भएको छ ।
ललितपुर महानगरपालिका र डडेल्धुराको अमरगढी नगरपालिकाको मुुख्य सडकमा सडकबत्ती जडान गरिसकेको प्राधिकरणले अब सबै पर्यटकीय क्षेत्रमा यस्तो अभियान सञ्चालन गर्ने भएको हो । भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडकबत्ती जडान गरिरहेको प्राधिकरणले काठमाडौं , पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडकबत्ती जडानका लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा पु¥याइसकेको छ । विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा स्थानीय नगरपालिकासँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिने योजना प्राधिकरणको छ ।
उज्यालो सहर अभियानअन्तर्गत काठमाडौंको कोटेश्वर–भक्तपुर र कोटेश्वर–कलंकी सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका बत्तीलाई हटाएर स्मार्ट लाइट जडान प्रकृया अगाडि बढिसकेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । “उज्यालो नुहँदा हाम्रा ऐतिहासिक धरोहरहरू र पर्यटकीय स्थल राति अँध्यारो नै रहने गरेका छन् भने सडक पनि अँध्यारो नै हुन्छ, त्यसैले त्यस्ता ठाउँमा स्थानीय तहहरूको साझेदारीमा स्मार्ट बत्ती राख्न उज्यालो अभियान चलाउँदै छौं,” घिसिङले भने, “यसबाट एकातर्फ यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्नेछ भने अर्कोतर्फ सहरी सौन्दर्यमा वृद्धि हुनेछ ।”
हाल देशभरबाट थप माग आइरहेको र करिब २० वटा नगरपालिकाबाट प्राप्त मागलार्ई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । जसमध्ये कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैंचा, धनुषाको जनकपुर, काठमाडौंको कीर्तिपुर, बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको विदुरलगायतका नगरपालिका रहेका छन् । प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकासँग प्रस्ताव माग गरेको छ ।
नगरपालिकाहरूको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुनेछन् । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्नेछ । नगरपालिकाहरूले आफै शत्प्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रकृया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।


‘उज्यालो र सरसफाइ सहर अभियान’
नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउने भएको छ ।
उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकासँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिने छ ।
यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेरजाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तार हटाउने, तारहरूलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाइने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान संघीय राजधानी काठमाडौं उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरि नै सञ्चालन गरिने छ ।
प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौंको रत्नपार्क र महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । दोस्रो चरणमा काठमाडौंका बाँकी रहेका ठाउँ, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढाइसकेको छ । विद्युत्को तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरूले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

No comments: