Saturday, April 29, 2017

जलविद्युत् निर्माणमा वन अवरोधको कुचक्र

     भीम गौतम  0 + -

समाचार प्रतिनिधि स्केच

काठमाडौः जलविद्युत् आयोजना निर्माणका लागि वन मन्त्रालयको स्वीकृति लिन मात्रै कम्तीमा साढे तीन वर्ष लाग्ने देखिएको छ ।
आयोजना निर्माणका लागि वन मन्त्रालय र मातहतका विभिन्न निकायको स्वीकृति लिन विभिन्न ८ निकायमा २३ पटकसम्म पुग्नुपर्ने अवस्था छ । वन मन्त्रालयको यो स्वीकृति प्रक्रियालाई प्रवद्र्धकहरूले भने कुचक्रको रूपमा व्याख्या गर्दछन् । आयोजना निर्माणका लागि वनको अवरोध मुख्य समस्या भएको अधिकांश प्रवद्र्धकहरूको अनुभव छ । 
लगानी बोर्डमार्फत भित्रने आयोजनाहरू मात्र नभइ नेपाल विद्युत् प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट लगानी हुने आयोजनामा जग्गा प्राप्ति तथा रुख कटानका लागि यतिधेरै समय लाग्ने देखिएको हो ।
जलविद्युत् आयोजनाका लागि वनबाट स्वीकृति र जग्गा भाडामा लिनका लागि विद्युत् विकास विभागमा निवेदन दिएर मन्त्रिपरिषद् हुँदै प्रवद्र्धकहरूसँग सम्झौता गर्नका लागि धेरै लामो समय लाग्ने कारण यसलाई जलविद्युत् विकासका लागि ठूलो अवरोधका रूपमा लिइन्छ ।
“वन मन्त्रालयबाट सार्वजनिक जग्गा प्राप्ति र रुख कटानका लागि लाग्ने प्रक्रियाको चक्र साह्रै लामो छ,” स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाई भन्छन्, “विद्युत् विकास विभागमा निवेदन दिएपछि समयमै प्रक्रिया अघि बढेमा मात्र पनि तीन वर्षभन्दा बढी समय लाग्ने अवस्था छ त्यसैले यसलाई छोट्याउनु जरुरी छ ।”
सबै प्रक्रिया सहज ढंगले अघि बढे पनि साढे तीन वर्ष लाग्ने वन मन्त्रालय स्वीकृतिको प्रक्रिया अघि बढाउन शक्तिको पहुँच नहुने र आर्थिक चलखेल गर्न नसक्ने प्रवद्र्धकका लागि ७ वर्षसम्म लागेको प्रवद्र्धकहरूको अनुभव छ ।
जलविद्युत् प्रवद्र्धकले विद्युत् विकास विभागमा निवेदन दिएपछि यसको पुनरावलोकन गर्न सामान्यता ३५ दिन लाग्ने गरेको छ । त्यसपछि ऊर्जा मन्त्रालय पुगेर त्यहाँ ऊर्जासचिव, सहसचिव र सिनियर डिभिजनल इन्जिनियरलगायत हुँदै पुनः विभाग फर्कन अर्को दुई महिना लाग्छ ।
फेरि विभागमा आएर त्यहाँ विभिन्न निकाय हुँदै वन मन्त्रालय, वातावरण मन्त्रालय र विज्ञसहितको संलग्नतामा नापी र मालपोत कार्यालयको जग्गाको पुर्जासहित प्रतिवेदन तयार गर्न अर्को दुई महिना लाग्छ ।
त्यो प्रतिवेदनलाई अन्तिम रूप दिन र पुनरावलोकन गर्न विभागमा अर्को दुई महिना लाग्छ । विभागबाट ऊर्जा मन्त्रालय पुगेपछि पुनरावलोकन गरेर वन मन्त्रालय पठाउन अर्को दुई महिना लाग्छ ।
वन मन्त्रालयमा सचिव, सहसचिव, उपसचिवलगायतका टेबुलमा पुगेर त्यो फाइल अघि बढ्न अर्को दुई महिना तथा मन्त्रालयबाट वन विभागमा गएर उद्यान विभाग, राष्ट्रिय निकुञ्ज लगायतका विभिन्न निकायबाट प्रक्रिया पुरा गर्न अर्को तीन महिना लाग्छ । वन विभागबाट वन कार्यालय पुगेर प्रक्रिया पूरा गरी इलाका वन कार्यालय पुग्न अर्को चार महिना लाग्ने गरेको प्रवद्र्धकहरू बताउँछन् । 
इलाका वनमा प्रतिवेदन पुनरावलोकन गर्नका लागि एक महिना लागेपछि सामुदायिक वनमा पुगेर बैठक बसी, साधारणसभामा सार्वजनिक सूचना जारी गरेर निर्णय गर्न अर्को दुई महिना लाग्ने गरेको छ ।
सामुदायिक वनबाट इलाका वनमा आएको फाइल अघि बढाउन एक महिना लाग्छ भने त्यहाँबाट जिल्ला वन कार्यालयमा आएर साईड भिजिट गरेर त्यसलाई स्वीकृति दिन अर्को तीन महिना लाग्छ ।
त्यसपछि वन विभागबाट वन मन्त्रालय पुग्न दुई महिना लागेको फाइल वन मन्त्रालयबाट मन्त्रिपरिषद् लैजान अर्को चार महिना लाग्ने गरेको प्रवद्र्धकहरू बताउँछन् । मन्त्रिपरिषद्बाट वन मन्त्रालयमा फिर्ता हुन दुई हप्ता लागेपछि फेरि वन मन्त्रालयले विभाग पठाउन अर्को दुई हप्ता लगाउँछ ।
वन विभागमा पुगेर विभाग तथा प्रवद्र्धकहरूबीच स्वीकृतिको सम्झौता हुन एक महिना लाग्ने तथा सम्झौता फाइल विभागबाट जिल्ला वन जान एक महिना तथा वनबाट इलाका दुई हप्ता र इलाकाबाट सामुदायिक वनमा पुगेर रुख काट्नका लागि टाँचा लगाउन अर्को चार महिना लाग्ने गर्छ । 
टाँचा लागेको प्रतिवेदन जिल्ला वन कार्यालय पुग्न दुई हप्ता लाग्ने तथा जिल्ला वनले रुख कटानका लागि आदेश दिन अर्को एक हप्ता लाग्ने गरेको छ ।
“यो त सामान्यतया प्रक्रिया अघि बढ्दाको अवस्था हो, फाइल पुग्ने सबै निकायलाई खुसी बनाउन नसके र सोर्सफोर्स नलगाए त ६ वर्षभन्दा बढी लाग्छ,” एक प्रवद्र्धकको गुनासो छ, “वन मन्त्रालयको कुचक्रको कारणले जलविद्युत् आयोजना निर्माणको गति सुस्त भएर प्रशस्त सम्भावना भएर जलविद्युत् उत्पादन एकदम कम भएको हो, मन्त्रीदेखि वन मन्त्रालयका तल्लो निकायसम्म खुसी पार्नुपर्ने यो चक्रनै जलविद्युत्को बाधक हो ।” 
ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरे भने विद्युत् विकास विभागमा रहेको वन र वातावरण मन्त्रालय तथा विज्ञसहितको पुनरावलोकन समितिले पुनरावलोकन गरेर ऊर्जा मन्त्रालयमार्फत वन मन्त्रालय पठाउने गरिएको बताउँछन् ।
स्विक्रितीको लागी लाग्ने समय तथा निकाय
विद्युत् विभाग– ५ महिना
ऊर्जा मन्त्रालय–४.५ महिना
वन मन्त्रालय– ६ महिना
वन विभाग–७.५ महिना
जिल्ला वन– ७.५ महिना
इलाका वन–३ महिना
सामुदायिक वन–६ महिना 
मन्त्री परिषद–२ हप्ता
जम्मा लाग्ने समय – ४० महिना (३ वर्ष आधा
“पहिलाभन्दा केही प्रक्रिया छोटो भएको छ, वन मन्त्रालय पुगेपछि प्रक्रिया अघि बढ्छ,” उनले भने, “विभिन्न प्रक्रिय पुरा गर्नुपर्ने कारणस्वीकृतिमा केही ढिला भने भएको छ ।”
ऊर्जा संकटकाल कार्ययोजनाले जग्गा लिजमा लिन र रुख कटानका लागि मन्त्रिपरिषद्मा जाने गरेकोमा मन्त्रीले समेत अधिकार लिएर आफैं गर्न पाउने व्यवस्था भए पनि हालसम्म त्यो कार्यान्वयन भएको छैन ।
इप्पानका अध्यक्ष गुरागार्इं विद्युत् विभागबाट प्रतिवेदन स्वीकृत भएपछि सिधै इलाका वन कार्यालयमा पठाएर प्रक्रिया अघि बढाउनेगरी अधिकार प्रत्यायोजन गरेमा लामो प्रक्रिया छोटिने बताउँछन् ।
“जलविद्युत् आयोजनामा मात्र होइन, सिँचाई र सडकले पनि यो झन्झट बेहोर्नुपरेको छ, यसलाई छोट्याउनुपर्छ,” उनी भन्छन्, “लिजमा लिने जग्गाबराबर अन्यन्त्र जलविद्युत् प्रवद्र्धकले खरिद  गर्नुपर्ने, कटान गरिएको रुखभन्दा दोब्बर रोप्नुपर्ने र ३० वर्षपछि सबै सरकारलाई फिर्ता हुने भएपछि यति धेरै लामो प्रक्रिया गर्दा जलविद्युत् आयोजना निर्माणमा समस्या छ ।”  
http://www.karobardaily.com/news/77214
 

रहेनन् ऊर्जाका पिता

     भीम गौतम   0 + -

समाचार प्रतिनिधि तस्बिर
काठमाडौः मुलुकको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको पत्ता लगाउने पहिलो व्यक्तित्व हरिमान श्रेष्ठको बिहीबार निधन भएको छ ।
८२ वर्षीय श्रेष्ठको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । श्रेष्ठले रुसको मस्को पावर इन्स्टिच्युटबाट सन् १९९६ मा ‘नेपालको जलविद्युत् सम्भाव्यता’ विषयमा विद्यावारिधी गरेका थिए । 
कम्प्युटर, सफ्टवेयर र क्यालेन्डरसमेत नभएको समयमा उनले गरेको अध्ययन अनुसन्धानलाई चुनौति दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आजसम्म कुनै अध्ययन भएको छैन ।
उनको यही अध्ययनलाई चुनौती दिने अर्को अनुसन्धान नभएकोले हरिमानलाई नेपालको जलविद्युत् क्षेत्रको पितासमेत भन्ने गरिन्छ । २.४ मेगावाटको पनौती जलविद्युत् केन्द्रबाट जलविद्युत् क्षेत्रमा सेवा सुरु गरेका हरिमानले ४० बर्षभन्दा बढी यस क्षेत्रमा योगदान पु-याएका थिए ।
उनी १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानीका साथै ६ हजार ४ सय ८० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको अध्ययनमा समेत सहभागी थिए । ऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युत् क्षेत्रको विकास श्रेष्ठले नै पत्ता लगाएको क्षमताको आधारमा अघि बढेको भन्दै यस क्षेत्रका लागि उनी अविस्मरणीय व्यक्तित्व रहेको बताए ।
“विद्यार्थीकालमा शोध गर्दा होस् वा विज्ञको रुपमा होस्, उहाँले जलविद्युत् क्षेत्रमा ठूलो योगदान दिनुभएको छ त्यसैले उहाँको व्यक्तित्व अविस्मरणीय छ,” मन्त्री शर्माले भने, “उहाँको योगदानलाई सँधै सम्झनेगरी राज्यले के गर्न सक्छ, यसबारे प्रधानमन्त्रीसँग छलफल गर्नेछु ।”
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पानका) अध्यक्ष शैलेन्द्र गुरागार्इं नेपालको जलविद्युत् क्षमताबारे पहिलोपटक पत्ता लगाएका कारण हरिमान नेपालको जलविद्युत् क्षेत्रको पिता नै भएको बताउँछन् ।
“क्यालकुलेटरसमेत राम्रो नभएको बेलामा नेपालको कुल जलविद्युत् क्षमता पत्ता लगाउनु र ५० बर्ष नाघ्दासमेत यसलाई चुनौती दिनेगरी अर्को अध्ययन हुन नसक्नु  र सबै निकायले यसैलाई आधिकारिक मान्नुले पनि उहाँको व्यक्तित्व अति उच्च थियो भन्न सकिन्छ” उनले भने ।
इप्पानका पूर्वअध्यक्ष खड्गबहादुर विष्ट विद्यार्थी हुँदासमेत नेपालका जलविद्युत् क्षेत्रका लागि महत्वपूर्ण कुरा पत्ता लगाउनुले उहाँ महान व्यक्ति हो भन्ने देखाएको बताउँछन् । 
जलविद्युत् क्षमता पत्ता लगाउनुको अलावा मुलुकभित्रै उत्पादन बढाएर बेच्नेभन्दा पनि स्वदेशमै खपत गर्नुपर्छ भन्ने स्वर्गीय श्रेष्ठको राष्ट्रवादी सोच र विचार सबैका लागि प्रेरणादायी भएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।
हालै हाइड्रो नेपालले जलविद्युत् क्षेत्रमा योगदान पुर्याएको भन्दै श्रेष्ठलाई एक्सिलेन्स अवार्डबाट सम्मान गरेको थियो । कार्यक्रममा उनले नेपालको जलविद्युत् उत्पादन बढाएर बेच्नेभन्दा स्वदेशमै खपत गरेर नेपाललाई धनी बनाउन सकिने भएकोले यसतर्फ लाग्न आग्रह गरेका थिए । 
http://www.karobardaily.com/news/77097

Wednesday, April 26, 2017

सोलारबाट घरघरमा उत्पादित बिजुली पनि केन्द्रीय ग्रीडमा

     भीम गौतम    0 + -

तस्विर : कारोबार
काठमाडौं: ऊर्जा मन्त्रालयले घरघरबाट सौर्य ऊर्जा (सोलार) निर्माण गरेर उत्पादित बिजुली पनि नेपाल विद्युत् प्राधिकरणलाई बेच्न सक्ने गरी कार्यविधि तयार गरेको छ । घरायसी, संस्थागत तथा व्यापारिक सोलार आयोजनाहरूबाट उत्पादित बिजुली केन्द्रीय ग्रीडसँग जोड्ने गरी मन्त्रालयले सौर्य ऊर्जा विकाससम्बन्धी कार्यविधि तयार पारेको हो । 
कार्यविधिमा गरिएको नेट मिटरिङको व्यवस्थाअनुसार घरघरमा सोलार राखेर दिउँसो बिजुली केन्द्रीय ग्रीडमा बेच्न सकिने र राति विद्युत् प्राधिकरणको बिजुलीको मूल्यमा समायोजन गरिने उल्लेख छ ।
ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा विज्ञहरू इन्द्रमान ताम्राकार र जगन्नाथ श्रेष्ठ तथा मन्त्रालयका कल्पमोहन सोती र प्राधिकरणका विजय चौधरी रहेको समितिले तयार पारेर ऊर्जा मन्त्रालयमा बुझाएको कार्यविधिमा घरायसी (रुफ टप) तथा संस्थागत सौर्य विकास ऊर्जालाई नेट मिटरिङको व्यवस्था गरी प्रसारण लाइनमा जोड्ने उल्लेख छ । 
  • घरायसी र संस्थागतमा नेट मिटरिङ
  • व्यापारिक उत्पादनमा पीपीए
  • अनुमतिपत्रको अवधि ३५ वर्ष
ऊर्जा मन्त्रालयमा बुझाइसकिएको उक्त प्रतिवेदन पुनरावलोकनका लागि मन्त्रालयले विद्युत् विकास विभाग, प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा पठाएको छ । पुनरावलोकनपछि मन्त्रिपरिषद्बाट पारित भएर कार्यान्वयनमा आउनेछ । 
राष्ट्रिय ऊर्जा संकटको अन्त्यका लागि परिपूरक स्रोतहरूको उपयोग गर्न उद्योग व्यवसाय तथा अन्य प्रतिष्ठानहरूमा रहेको दिउँसोको लोडलाई परिपूर्ति गर्न प्रोत्साहित गर्ने गरी कार्यविधि तयार गरिएको संयोजक चटौतले जानकारी दिए ।
“सोलारमार्फत उत्पादित बिजुली नेट मिटरिङ गर्ने गरी कार्यविधि तयार गरिएको छ । यसबाट घर–घरमा सोलारमार्फत उत्पादित बिजुली ग्रीडमा जोड्न सहज हुनेछ,” उनले भने ।
घरायसी तथा संस्थागत सोलार आयोजनाको नेट इनर्जी शून्यसम्म गणना गरिने अर्थात् दिउँसो प्राधिकरण केन्द्रीय ग्रीडमा उत्पादित बिजुली प्राधिकरणबाट लिएभन्दा बढी भएमा सम्बन्धित घरधनीले पैसा भने पाउनेछैनन् । प्राधिकरणले लिने महसुल भने बेचेको रकमबाट समायोजन गरिने कार्यविधिमा उल्लेख छ । 
५ सय वाटदेखि १० किलोवाटसम्म घरायसी, १० किलोवाटभन्दा माथिको संस्थागत तथा ५ सय किलोवाटमाथिका व्यापारिक सोलारलाई लक्षित गरी ल्याइएको कार्यविधिमा यसका लागि प्राधिकरणमा निवेदन दिनुपर्ने तथा सरकारले छुट तथा सुविधा दिने उल्लेख छ ।
एक मेगावाटभन्दा माथिका सोलारमा भने प्रवद्र्धकले विद्युत् विकास विभागमा निवेदन दिनुपर्नेछ र एक वर्षका लागि सर्वेक्षण अध्ययनका लागि समय दिइनेछ । एक वर्षभित्र नभएमा थप नवीकरण गर्न सकिने गरी बनाइएको कार्यविधिमा उत्पादन अनुमतिपत्र पाएको दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने तथा विशेष परिस्थितिमा मात्र एक वर्ष थप गर्न सकिने उल्लेख छ ।
कार्यविधिमा उत्पादित बिजुली विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) गरी किन्नुपर्नेछ । व्यापारिक आयोजनाबाट खरिद गरिने सोलार इनर्जीको दर निर्धारण गर्दा प्रतिफल १७ प्रतिशत हुनुपर्ने तथा प्रतियुनिट यसअघि तोकिएको ९.६१ पैसाभन्दा बढी नहुने कार्यविधिमा उल्लेख छ ।
३५ वर्षका लागि अनुमतिपत्र पाउने सोलार आयोजनाले समेत जलविद्युत् आयोजनासरह कर छुट, भन्सार छुट तथा भ्याट छुटलगायत सुविधा पाउने कार्यविधिमा उल्लेख छ ।
http://www.karobardaily.com/news/76970

Monday, April 24, 2017

पुनर्निर्माणको चर्चा बढी, उपलब्धि निराशाजनक

     भीम गौतम   0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौंः विनाशकारी भूकम्प गएको मंगलबार दुई वर्ष पूरा हुँदैछ । भूकम्पले हजारौं नेपालीको मृत्युसँगै लाखौंलाई घरबारबिहीन बनाए पनि दुई वर्ष बितिसक्दा समेत अधिकांश प्रभावितको पीडा भने उस्तै छ ।
भूकम्पपछि पुनर्निर्माणको चर्चा बढी नै भयो तर अहिलेसम्मको उपलब्धि भने शून्यप्रायः देखिएको छ । सरकारी अधिकारीहरू नै पुनर्निर्माणको काम सन्तोषजनक रुपमा अघि बढ्न नसकेको स्वीकार्छन् । 
भूकम्पबाट ३१ जिल्लामा करिब ९ हजारको ज्यान गएको थियो भने ८ लाख निजी घर र हजारौं सार्वजनिक भवनहरू क्षति भएका थिए । नर्निर्माणलाई प्रभावकारी रुपमा अघि बढाउन भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भए पनि यसको भूमिका प्रभावकारी हुन सकेको छैन ।
सरकार तथा प्रतिपक्ष सबैले एकअर्कालाई दोष दिए पनि सामान्य मानिसले अझै पालमा जीवन बिताउनुपर्ने वाध्यता छ । भूकम्पपछिको पुनर्निर्माणका लागि धेरै नीति, योजना, कार्यक्रम, कार्यविधि र नियमावली तथा बारम्बार यसको संशोधन भए पनि उपलब्धि भने एकदमै न्यून छ ।
प्राधिकरणका अनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ भूकम्पप्रभावित रहेकोमा १८ हजार ६ सयले आफैं निजी आवास बनाएका छन् भने सरकारले दिने तीन लाखमध्ये पहिलो किस्ताको अनुदान लिएका ५ लाख ४३ हजारमध्ये  ४९ हजार ६ सय १८ सयले मात्र घर निर्माण सुरु गरेका छन् । 
क्षेत्र            क्षति            सम्पन्न            निर्माणाधीन
निजी आवास    ६२६६९५    १८६३३        ४९६१८
पुरातात्विक सम्पदा        ७५०        २०            ९०
विद्यालय            ७९२३        १९४१            १०५१
खानेपानी            ७७४१        ३६३            १४६
सरकारी भवन        ६७५२        १२१            २२२
स्वास्थ्य संस्था             ६५०        २००            १७
स्रोतः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
प्राधिकरणका अनुसार पाँच वर्षभित्र पुनर्निर्माण गरिसक्ने लक्ष्य राखिएको छ भने त्यसका लागि ९ खर्ब ३८ अर्ब आवश्यक रहेको औंल्याइएको छ । भूकम्पलगत्तै सरकारले गरेको दाता सम्मेलनमा ४ खर्ब १० अर्ब प्रतिवद्धता जनाइए पनि राहत र उद्धारबाहेक ३ खर्ब ४३ अर्ब पुर्ननिर्माणका लागि प्रतिवद्धता आएकोमा हालसम्म ३ खर्ब ११ अर्बको सम्झौता भइसकेको छ ।
हालसम्म ३४ अर्ब मात्र खर्च भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल पुनर्निर्माणका लागि आवश्यक दुईतिहाई रकम अझै सरकारले जुटाउनुपर्ने अवस्था रहेको बताउँछन् । झन्झटिलो प्रक्रियालाई सरलीकरण गरेरै भए पनि पुनर्निर्माण अघि बढाउन लागिएको उनको भनाइ छ ।
“सिकाईको आधारमा पुनर्निर्माणलाई गति दिनका लागि अघि बढेका छौं, अहिलेका प्रक्रियाहरूलाई सहज बनाउनका लागि प्रयास अघि बढाइएको छ,” उनले भने, “जनशक्तिको अभाव, निर्माण सामग्रीको समस्या लगायतलाई हेरेर आवश्यक सहजीकरण गरिरहेका छांै ।”
प्राधिकरणका सचिव डा. सञ्जय शर्मा पुनर्निर्माणको काम असाध्यै चुनौतिपूर्ण रहेको र पुनर्निर्माणलाई गति दिन प्राविधिक जनशक्ति परिचालन, सहुलियत ऋणको व्यवस्थापनमा सक्रिय रहेको बताउँछन् ।
विगतबाट पाठ सिकेर प्राधिकरणले नीतिगत सुधारका प्रयास अघि बढाएको र आगामी दिनमा जीविकोपार्जनलाई दृष्टिगत गरेर अघि बढाउने लागेको प्राधिकरणका सह–सचिव एवं प्रवक्ता यमलाल भुषालले बताए । 
http://www.karobardaily.com/news/76918

संघीय ढाँचामा नयाँ विद्युत् ऐन

     भीम गौतम   0 + -

समाचार प्रतिनिधि स्केच
काठमाडौंःमुलुक संघीय मोडलमा गएसँगै नयाँ विद्युत् ऐनको मस्यौदा पनि रुपान्तरित व्यवस्थाअनुसार निर्माण गरिने भएको छ । ऊर्जा मन्त्रालयले संघीय ढाँचामा नयाँ विद्युत् ऐनको मस्यौदा बनाउन सुरु गरेको छ । मन्त्रालयले २०६५ मै तयार भएको विद्युत्् ऐनको मस्यौदालाई संशोधन गर्दै संघीय स्वरुप दिन लागेको हो । 
एक वर्षअघि तत्कालीन मन्त्रिपरिषद्ले पारित गरेको ऊर्जा संकटकाल कार्ययोजनामा ६ महिनाभित्र यो ऐन संसदमा पेश गर्ने उल्लेख थियो । मन्त्रालयले भने बल्ल ऐनको मस्यौदा निर्माणको काम अघि बढाउन लागेको छ ।  
ऊर्जाले कानुन महाशाखा प्रमुख कौशलचन्द्र सुवेदीको संयोजकत्वमा अर्थ र कानुन मन्त्रालयका प्रतिनिधिसमेत सदस्य रहने गरी समिति नै गठन गरेको छ ।
समितिले एक महिनाभित्र संघीयताको मर्मअनुकुल हुनेगरी नयाँ विद्युत् ऐनको मस्यौदा निर्माण गरेर मन्त्रालयमा पेश गर्ने तयारी रहेको संयोजक सुवेदीले जानकारी दिए ।
“देश संघीय ढाँचामा गइसकेकाले सोहीअनुसार हुनेगरी विद्युत् ऐनको मस्यौदा निर्माणको काम अघि बढाएका छौं,” उनले भने । उनका अनुसार ऐनमा संघीय व्यवस्थामा जलविद्युत् आयोजनाह्रूको निर्माण अर्थात उत्पादन, वितरण र प्रसारणलाइन निर्माणका लागि राजस्व बाँडफाँड लगायतबारे स्पष्ट सीमांकन गरिने छ ।
यसैगरी नेपाल विद्युत् प्राधिकरणको अहिलेको संगठनात्मक स्वरुपबारे पनि प्रष्ट गरिनेछ । हाल विद्युत् प्राधिकरणको खण्डीकरणबारे प्राधिकरण र ऊर्जा मन्त्रालयबीच असमझदारी देखिएको छ ।
मन्त्रालय उत्पादन, वितरण र प्रसारण समेटिने गरी खण्डीकरण गर्ने पक्षमा छ भने प्राधिकरणका कर्मचारीह्रूले यसको विरोध गर्दै आएका छन् । नयाँ मस्यौदामा नयाँ संविधानको व्यवस्थालाई आधार मानेर विस्तृत रुपमा विष्लेषण समेत गरिनेछ । 
झण्डै २५ वर्षअघि आएको विद्युत्् ऐन अहिलेको अवस्थामा असान्दर्भिक भइसके पनि नयाँ ऐन आउन सकेको छैन । २०६५ मै नयाँ विद्युत्् ऐनको मस्यौदा तयार गरे पनि संशोधनका केही बुँदामा विवाद आएको थियो ।
विवादपछि ऊर्जा मन्त्रालयमा आएको विधेयक अझै संसद् पुगेको छैन । समितिले सरोकारवालाह्रूसँग छलफल गरी तथा नयाँ संविधानमा भएको व्यवस्था र संघीयताको आधार मानेर मस्यौदा बनाउने तथा त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी संसदमा लगिने संयोजक सुवेदीले बताए ।
हाल जल तथा ऊर्जा आयोग सचिवालय समेतले जलस्रोत नीति निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । जलस्रोत नीति बनेपछि त्यसको आधारमा आउने ऐनपछि मात्र नयाँ विद्युत् ऐन बनाउन सहज हुनेछ ।
जलविद्युत्् प्रवद्र्धकहरू भने जलविद्युत्् क्षेत्रको मुख्य दस्तावेज मानिएको नयाँ विद्युत्् ऐन नआउँदा धेरै समस्या परेको भन्दै यसलाई चाँडो जारी गर्न जलस्रोत क्षेत्रका सरोकारवालाह्रूले माग गर्दै आएका छन् । 
जलविद्युत्् विकास नीति, २०५८ आएपछि तत्कालीन सरकारले विद्युत्् ऐन संशोधनको लागि प्रक्रिया अघि बढाएको थियो । तत्कालीन संसदको प्राकृतिक स्रोत साधन समितिले विद्युत्् ऐनको मस्यौदा तयार गरेको हो ।
यसअघि संसदको कृषि तथा जलस्रोत समितिले पटकपटक ऊर्जा मन्त्रालयलाई नयाँ विद्युत्् ऐन संसदीय समितिमा पेश गर्न निर्देशन दिएपनि सरकारले भने निर्देशन हालसम्म कार्यावयन गरेको छैन । 
http://www.karobardaily.com/news/76797

Thursday, April 20, 2017

पश्चिम सेतीमा चिनियाँ पक्षको अझै अलमल

    भीम गौतम  + -

तस्विर : कारोबार
काठमाडौंः पश्चिम सेती जलाशययुक्त विद्युत् आयोजना अघि बढाउन चिनियाँ कम्पनीले फेरि अलमल गरेको छ । माघ पहिलो साता नेपाल विद्युत्् प्राधिकरणसँग  संयुक्त विकास उपक्रम (जेभीए)मा प्रारम्भिक सम्झौता गरिसकेको प्रवद्र्धक चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनले प्रक्रिया अघि नबढाएर अलमल गरेको हो । 
प्राधिकरणले आफ्नो सञ्चालक समितिबाट जेभीए अनुमोदन गरे पनि चिनियाँ कम्पनीले हालसम्म शर्त पूरा गरेको छैन । यसअघि पटकपटक छलफल र वार्तामा तथा आधिकारिक रुपमा पत्र पठाएर बिजुली किन्ने लगायतका प्रतिवद्धता जनाए पनि फेरि चिनियाँ कम्पनीले यसबारे थप स्पष्ट हुन भन्दै पत्र पठाएको छ ।
लगानी बोर्डका सहसचिव एवं प्रवक्ता मधु भेटुवालले जेभीए गरिसके पनि कर्पोरेसनले थप स्पष्टता हुन जरुरी रहेको भन्दै पत्र पठाएको र सो पत्र विद्युत् प्राधिकरणमा पठाइएको जानकारी दिए । 
पत्रमा विद्युत् प्राधिकरणले गर्ने लगानी, विद्युत् खरिद सम्झौता (पीपीए) दरलगायतका विषउमा उल्लेख गरिएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बोर्डमार्फत पत्र आएको र यसबारे छलफल हुन बाँकी रहेको बताए । जेभीए कर्पोरेसनले अनुमोदन गर्नुपर्नेमा फेरि ‘हाइड्रोलोजी’ अध्ययन टोलीसमेत पठाएको छ ।
आयोजना निर्माणको काममा निरन्तर अलमल गर्दै आएकोे कम्पनीले फेरि अध्ययन गर्ने भएपछि आयोजना निर्माणको काम थप पछि धकेलिने देखिएको छ । प्राधिकरणका एक उच्च अधिकारीले प्राधिकरणले जेभीए गरेर धेरै कुराको ग्यारेन्टी गरे पनि चिनियाँ कम्पनीले आयोजनामा निरन्तर अलमल गरेर अन्योल सिर्जना गरेको बताए ।
“१६ वर्षसम्म स्मेकले अनुमतिपत्र लिएर आयोजना अघि बढाएन, फेरि चिनियाँ कम्पनीले पनि अलमल गरिरहेको छ । यसले आयोजनाको भविष्य अन्योल बन्दै गएको छ” ती अधिकारीले भने । कर्पोरेसन बोर्डले अनुमोदन गर्न ढिलाइ गरेपछि बोर्डले पत्र लेखे पनि अझ अस्पष्ट भएको भन्दै फेरि कर्पोरेसनलाई बोर्डलाई पत्र लेखेको छ ।
बोर्डले भने पटकपटक कर्पोरेसनले मागेको ग्यारेन्टीबारे पत्र पठाइसकेको छ । यसअघि    कर्पोरेसनले ७ सय ५० मेगावाटलाई घटाएर ६ सय मेगावाटमा झार्ने गरी प्राविधिक प्रतिवेदन तयार गरेको छ तर चिनियाँ कम्पनीले आयोजनाको क्षमताबारे प्रश्न गरेकोमा बोर्डले सुख्खायाममा ७ सय ५० मेगावाटमै बनाउनुपर्ने उत्तर पठाएको थियो ।
चिनियाँ कम्पनीले हालै प्रसारणलाइनको समस्याबारे प्रश्न उठाएकोमा आयोजनास्थलबाट कोहलपुरसम्म डबल सर्किटको ४ सय केभीको प्रसारणलाइन निर्माण गरिरहेको भन्दै यो सन् २०२१ सम्ममा निर्माण सम्पन्न हुने उल्लेख गरेको थियो । यस्तै, जग्गा प्राप्तिबारे प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले निर्धारण गरेर उपलब्ध गराउने, आयोजना विकास सम्झौता (पीडीए) गर्दा विद्युत्् खरिद सम्झौता (पीपीए)का सम्बन्धमा स्पष्ट हुने पत्र पठाएको थियो ।
२०६८ फागुनमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनीबीच भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एक वर्षभित्र संयुक्त कम्पनी स्थापना गर्ने उल्लेख थियो । सम्झौतामा संयुक्त कम्पनी स्थापना गरेर अक्टोबर २०१४ मा वित्तीय व्यवस्थापन गरी सोही वर्षको जुलाइबाट निर्माण सुरु गरेर डिसेम्बर २०१९ मा सम्पन्न गर्ने लक्ष्य थियो ।
तर जेभीए अनुमोदन नहुँदा आयोजनाको कुनै काम पनि अघि बढ्न सकेको छैन भने अझै वेष्ट सेती हाइड्रोपावर डेलभमेन्ट कम्पनी गठन कहिले हुने भन्ने टुंगो लागिसकेको छैन ।
http://www.karobardaily.com/news/76638

Wednesday, April 19, 2017

संघीय ढाँचामा आर्थिक नीति

    कारोबार संवाददाता    0 + -

तस्विर : कारोबार
काठमाडौंः सरकारले नयाँ आर्थिक नीति निर्माणको प्रक्रिया अन्तिम चरणमा पु-याएको छ । पर्यटन, ऊर्जा, पूर्वाधार र कृषिलाई नेपालको अर्थतन्त्र हाक्ने मुख्य क्षेत्रको रुपमा किटान गरेर नयाँ नीति निर्माण गरिएको हो । 
सातै प्रदेशमा पुगेर नेपालको आर्थिक नीति तर्जुमाका लागि सुझाव संकलन गरेको कार्यदलले यी चार क्षेत्रलाई मुख्य मानेर नीति निर्माण गरेको हो । अर्थ मन्त्रालयले पूर्वसभासद् हरि रोक्काको संयोजकत्वमा सुझाव समिति गठन गरेको छ ।
मंगलबार अर्थ मन्त्रालयले काठमाडौमा गरेको अन्तिम अन्तक्र्रियामा मन्त्रालयका सल्लाहकार प्रा. डा. पुन्यप्रसाद रेग्मीले एक महिनाभित्रै नयाँ नीतिका लागि कार्यदलले अन्तिम प्रतिवेदन दिने बताए ।
“एक साताभित्र कार्यदलले मुख्यमुख्य सुझाव अर्थ मन्त्रालयलाई दिनेछ र मन्त्रालयले यसलाई बजेटमा समेत सहभागी गराउने लक्ष्य राखेको छ,” उनले भने, “नयाँ संविधान अनुकुलको आर्थिक नीति भनेको एक महिनाभित्र कार्यदलले प्रतिवेदन दिएपछि अर्थ मन्त्रालयले अन्य काम अघि बढाउनेछ ।”
प्रदेशहरूमा छलफलको क्रममा राज्य, निजी र सहकारी क्षेत्रको योगदानबारे स्पष्ट हुनुपर्ने तथा कृषि, उद्योग र सेवाको विस्तारमा जोड दिनुपर्ने, संघीय ढाँचामा सन्तुलित वित्तीय व्यवस्थापन र लगानी, स्रोत साधनको बाँडफाँड गरिनुपर्ने सुझाव प्राप्त भएको छ ।
यस्तै, बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने, खाद्य सुरक्षा, सडक, रेलवे, हवाई सञ्जाल, सहरीकरण, शिक्षा, स्वास्थ्य, ऊर्जा, सूचनाप्रविधि लगायतका पूर्वाधार विकासमा जोड दिएको कार्यदल संयोजक रोक्काले जानकारी दिए । उनका अनुसार लगानीको प्राथमिकता र जनशक्ति व्यवस्थापनमा लगायतमा जोड दिइएको छ । 
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संघीय ढाँचामा आधारित भएर नीति निर्माण गर्न लागिएको बताए । मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन पनि नयाँ आर्थिक नीति आवश्यक परेको भन्दै उनले देशलाई ‘ब्रेक थु्र’ गर्ने गरी नयाँ नीति आवश्यक रहेको बताए ।
तीनवटै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक आर्थिक समृद्धिको दिशामा केन्द्रित हुने उनको तर्क छ । अर्थसचिव शान्तराज सुवेदीले संघीय ढाँचामा वित्तीय व्यवस्थापन गर्न कठिन रहेको र यसका लागि विशेष नीति आवश्यक रहेको बताए ।
दिगो र फराकिलो आर्थिक वृद्धिका लागि पनि नयाँ आर्थिक नीति तय गर्नुपरेको उनको भनाइ छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य डा. स्वर्णिम वाग्ले, पूर्वउपाध्यक्ष डा. शंकर शर्मा लगायतले देशको आर्थिक समृद्धिका लागि आर्थिक वृद्धिदर उच्च हुनेगरी कार्यक्रम अघि बढाउनुपर्ने बताए । उनीहरूले संघीय ढाँचामा गएको मुलुकमा दिगो विकास र आर्थिक समृद्धिलाई विशेष ध्यान दिनुपर्ने बताए ।  
http://www.karobardaily.com/news/76572

Tuesday, April 18, 2017

आगामी पाँच वर्ष ऊर्जाका लागि स्वर्णिम युग हुन्छ

 0 + -

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ। तस्विर: कारोबार
गत भदौ २९ मा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त ग-यो । २०२७ मंसिर १० मा रामेछापको बेथानमा जन्मिएका घिसिङ विगत २० वर्षदेखि विद्युत् प्राधिकरणमा कार्यरत छन् । कार्यकारी निर्देशकमा घिसिङ नियुक्त भएपछि गत तिहारको लक्ष्मी पूजापछि काठमाडांै उपत्यका र चैतपछि देशभर लोडसेडिङ भएको छैन ।
५ कक्षासम्म बेथानमै पढेका उनले ६ कक्षापछि काठमाडौं आएर बानेश्वरको अमर आदर्श बोर्डिङ हुँदै लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आईएस्सी गरेका हुन् । भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीएस्सी गरेका उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर गरेका छन् ।
एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका घिसिङकै कुशल व्यवस्थापन र नेतृत्वमा अहिलेको लोडसेडिङ अन्त्य भएको हो । सातौं तहको इन्जिनियरबाट २०५१ सालमा प्राधिकरणमा सेवा प्रवेश गरेका उनले झन्डै २० वर्ष प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन् ।
२०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष चिलिमे जलविद्युत् कम्पनीमा प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका उनी त्यसपछि राहुघाट जलविद्युत् आयोजनाका प्रमुख बनेका थिए । वर्षायाममा समेत दैनिक तीन–चार घण्टा लोडसेडिङ गरिरहेको प्राधिकरणले उनी कार्यकारी नियुक्त भएपछि देशलाई लोडसेडिङमुक्त बनाएको छ ।
लोडसेडिङ अन्त्य गर्नका लागि सञ्चालन–कलाको उपयोग गरेको र आगामी हिउँदका लागि प्राधिकरणले अहिले नै तयारी अघि बढाएको बताउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग कारोबारकर्मी भीम गौतमले गरेको कुराकानी : 
गत तिहारदेखि काठमाडांै उपत्यकामा र चैतदेखि मुलुकभर लोडसेडिङ हटाउन तपाईं सफल हुनुभएको छ । परीक्षणका रूपमा लोडसेडिङ हटाउन सुरु गर्दा सफल हुनेमा कत्तिको विश्वास थियो ? यो कसरी सम्भव हुन पुग्यो ? 
लोडसेडिङ अन्त्य गर्ने त हाम्रो योजना नै थियो । ऊर्जा मन्त्रालयले ल्याएको ३७ बुँदे कार्ययोजनामै थियो । त्यसलाई कार्यान्वयन तहमा लैजान हामीले व्यवस्थापन र प्राविधिक योजना बनायौं ।
हामीले लोडसेडिङ अन्त्य भयो भनेर घोषणा गरेनौं । लोडसेडिङ अन्त्यको अवस्थालाई निरन्तरता दिने कुरामा जोड दियौं । लोडसेडिङ घटाउने योजना सामूहिक अभियान थियो ।
यसलाई सामूहिक अभियानकै रूपमा रूपान्तरण ग¥यौं । यो हाम्रो सफलता हो । व्यक्तिगत हिसाबले लागेको भए यो सम्भव थिएन । सरकार, मन्त्रालय, विद्युत् प्राधिकरण र यहाँका कर्मचारीसहितको समूह बन्यो, यसमा जनताको साथ पनि पायौं । यही कारण हामी सफल भएका हौं ।
काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य रणनीतिक हिसाबले गरिएको हो । मुलुकभर एकैपटक लोडसेडिङ अन्त्य गर्न सकिँदैनथ्यो । काठमाडांैमा लोडसेडिङ अन्त्य गरेर त्यसको प्रतिक्रिया पनि खोजेका थियौं । हामी अन्त्य गर्छौं, तपार्इंहरू उपभोक्ताले के सहयोग गर्नुहुन्छ भनेर प्रतिक्रिया खोजेकोमा साथ पनि पायौं ।
साथ पाएकाले मागलाई धेरै बढ्न नदिन ठूलो सहयोग ग¥यो । आपूर्ति व्यवस्थापन कसरी गर्ने, पिकिङ अपरेसन (सञ्चालन) कसरी गर्ने, प्रसारण र वितरण कसरी गर्ने ? खिम्ती–ढल्केबर प्रसारणलाइन कसरी सञ्चालन गर्ने ? भनेर हामी रातदिन खट्यौं । यो नबनेको भए पनि लोडसेडिङ हटाउन असम्भव हुन्थ्यो ।
चपली सबस्टेसन समयमै नबनाएको भए पनि वितरणमा समस्या हुँदा काठमाडांैमा लोडसेडिङ गर्नैपर्ने अवस्था थियो । धेरै प्राविधिक पक्षको व्यवस्थापन गर्दै आयातलाई पनि अधिकतम रूपमा व्यवस्थापन गरेर यो अभियान सफल भयो । आयात मात्र थिएन, यसलाई सस्तोमा ल्याउने कुरा पनि मह-वपूर्ण थियो ।
विभिन्न पाँच नाकाबाट ३३ केभीमा विद्युत् आयात भइरहेको थियो, त्यसको कनेक्सन नेपालको लाइनसँग थिएन । २४ घण्टा आयात मात्र थियो । महँगो थियो । २४ घण्टा आयात गर्दा कति घाटा हुन्थ्यो ? हाम्रो बिजुली खेर जाने तर उताबाट २४ घण्टा आयात गर्नुपर्ने अवस्था थियो । सस्तो आयात गर्नका लागि के–के गर्नुपर्छ ? लोडसेडिङ नै गर्नुपर्दा पनि लोडसेडिङको प्राथमिकता के हो त ? कुन लोडलाई बढी प्राथमिकता दिने ?
कुन लोडमा कुन समयमा आपूर्ति गर्ने ? आदि त व्यवस्थापनको कुरा भयो नि । विद्युत् त जता प्रवाह ग-यो त्यतै जाने हो । ७० प्रतिशत चुहावट भएको ठाउँमा पनि चौबीसै घण्टा आपूर्ति गरिरहने अनि अन्य क्षेत्रमा लोडसेडिङ गरिरहने पनि हुन्छ ? यो न्यायोचित हुँदैन नि ! त्यसैले जहाँ बढी चुहावट छ त्यहीँ बढी लोडसेडिङ गर्नु उपयुक्त हुन्छ । अनि तराईतिर अलि–अलि लोडसेडिङ हुँदा पनि धेरै अनुभव गर्नुपरेन ।
अनुभव नहुने गरी र उनीहरूलाई नचाहिने बेलामा पानी भण्डार गर्नका लागि कहीं लोड काट्नुपर्ने हुन्थ्यो । कालीगण्डकीको पानी स्टोर गर्न कतैको लोड त काट्नुप¥यो नि । रातको लोड काटिदियो भने कसैलाई अनुभव पनि हुँदैन । पिक आवरमा पो काट्नु भएन !
 के माग र आपूर्तिको कुशल व्यवस्थापनकै कारण लोडसेडिङ हटाउन सफलता मिलेको हो ?
माग र आपूर्तिका साथै पूर्वाधारको व्यवस्थापन र अधिकतम क्षमतामा जलविद्युत् केन्द्रहरू सञ्चालन गर्न सकियो, त्यसकारण सफल भएका हौं । म यसलाई सञ्चालनको कला भन्छु ।
अपरेसनकै कारणले पनि दुई/तीन घण्टा त लोडसेडिङ तलमाथि गर्न सकिन्छ । कहाँ र कसरी सञ्चालनमा प्राथमिकता दिने ? हरेक घण्टा यसमा विशेष ध्यान दिनुपर्छ । गम्भीर छलफल गरेर यसलाई अघि बढायौं । लोडसेडिङमुक्त हुनुको मुख्य कुरा भनेको यस वर्ष पिकिङ अपरेसन भयो । मर्मत–सम्भारलाई अधिकतम व्यवस्थापन ग-यौं ।
यो नमिलाएको भए बर्बाद हुन्थ्यो । माग घटाउन जनचेतनाको काम अघि बढायौं । यसको आधारमा आपूर्ति ग-यौं । यो नै ठूलो सफलता हो । माग कम बनायौ, आपूर्तिलाई किफायती बनायौं । अपरेसन व्यवस्थापन भन्ने कुरा कला हो । यो हरेक सेकेन्डमा परिवर्तन हुन्छ । कतै लोड काट्दा पनि कताबाट तत्काल आपूर्ति गर्ने भन्ने कुरा मिलाउनुपर्छ । यसरी नै व्यवस्थापन गरेको हो । 
अहिले पनि औपचारिक रूपमा विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्यको घोषणा गरिसकेको छैन, आगामी वर्ष हुन्छ कि हुँदैन भन्ने अन्योल नै छ । अहिलेसम्मको अनुभवका आधारमा के भन्न सक्नुहुन्छ ? 
अहिले वैशाखको १०/१५ दिन व्यवस्थापनमा समस्या छ । जेठपछि त समस्या हुँदैन । आगामी हिउँदलाई लोडसेडिङमुक्त बनाउन अहिलेदेखि योजना बनाइरहेका छौं । आगामी हिउँदमा माग कतिमा सीमित बनाउने, चुहावट कति घटाउने, उत्पादन कति बढाउने, सौर्य ऊर्जा (सोलार) कति ल्याउने यी कुरामा अहिलेदेखि नै तयारी अघि बढाएका छौं । आगामी हिउँदमा यो वर्षभन्दा पनि धेरै राम्रो हुन्छ । सर्वसाधारणले अझ गुणस्तरीय र सुरक्षित विद्युत् सेवा पाउँनेछन् ।
भारतबाट आयातित बिजुली र पछिल्लो समयमा बढेको उत्पादनले पनि लोडसेडिङ अन्त्य भयो भनिन्छ, यसलाई तपार्इं कसरी विश्लेषण गर्नुहुन्छ ? 
आयात गरे पनि यसको व्यवस्थापन त गर्नुप-यो नि ! हिजो पनि त आयात थियो, तर किन व्यवस्थापन हुन सकेन त ? १ सय मेगावाट उत्पादन बढे पनि हिउँदमा त ३० मेगावाट मात्र हो । विद्युत् माग प्रक्षेपण त १५ सय ६० मेगावाट नै हो ।
यो मागलाई आपूर्ति गर्न के–के व्यवस्थापन गर्नुप-यो त ? अहिले माग घटाएर १२ सय मेगावाटको हाराहारीमा सीमित गर्नु पनि व्यवस्थापन नै हो । यो हाम्रो समूहको सफलता हो । विद्युत् प्राधिकरणको नेतृत्वले यो पनि हेर्नुप-यो । यसपालि हामीले सस्तोमा बिजुली आयात ग-यौं । १०÷१२ प्रतिशत आयात बढे पनि समग्रमा त बढेको छैन । पोहोर ४३ प्रतिशत आयात थियो भने यसपालि ३२ प्रतिशतमा झर्छ । 
के अब आयात घटाउन र उत्पादन बढाउँदै लैजानमा प्राधिकरण केन्द्रित भएको हो ? आरोप त आयातकै भरमा लोडसेडिङ अन्त्य भयो भन्ने छ नि ? 
मैले आयातले लोडसेडिङ घटाउन सहयोग नै गरेन भनेको होइन । आयातले धेरै सहयोग गरेको छ । आयातलाई पनि आवश्यकताका आधारमा बढाउँदै लैजानुपर्छ ।
प्रतियुनिट ३५ रुपैयाँ पर्ने डिजेल प्लान्ट ल्याएर पनि लोडसेडिङ घटाउने कुरा त सरकारले पटक–पटक भनिरहेकै हो नि । अहिले त सित्तैमा लोडसेडिङ अन्त्य भएको छ । बिनालगानी अन्त्य भएको छ । आयातलाई त्यसरी हेर्नु हुँदैन, आयातबाट सहयोग भएको छ । आयात गरेर राष्ट्रियता खत्तम ग-यो भन्ने कुरा होइन । आज जलविद्युत् आयोजना बनाएर आजै आउँछ ?
के यो सम्भव छ ? त्यो पनि आयात चार–पाँच महिनाका लागि मात्र हो ।  पिकमा मात्र चाहिने बिजुली कसले दिन्छ ? १० वर्ष वा २५ वर्षका लागि विद्युत् खरिद सम्झौता (पीपीए) गर भन्छ । चाहिएको बेला लिने भन्ने पनि हुन्छ र ? तर हामीले चाहेको बेला मात्र लिइरहेका छौं ।
यथार्थमा आयातले मात्र लोडसेडिङ अन्त्य भएको होइन । व्यवस्थापन नभएको भए सम्भव थिएन । आयातसहित सुुक्खायाममा हाम्रो उत्पादन ६ सय ५० मेगावाट मात्र हो । १३  सय मेगावाटको माग कसरी व्यवस्थापन हुन्छ ? अहिले एकदम कम लोडसेडिङ गरेर कतिपय ठाउँमा विद्युत् आपूर्तिको व्यवस्थापन गरियो ।
पछिल्लो समयमा विद्युत् प्राधिकरणको ध्यान उत्पादनतिर केन्द्रित भएको देखिन्छ । ठूला–ठूला आयोजना निर्माणका लागि प्राधिकरणले कम्पनीहरू दर्ता गरेको छ । तपाईंको विश्लेषणमा अब पाँच वर्षमा नेपालको विद्युत् उत्पादनको अवस्था कहाँ पुग्छ ? 
ऊर्जाका लागि आगामी पाँच वर्ष स्वर्णिम युग हुन्छ । ऊर्जाको योगदानका कारण पाँच वर्षमा नेपालको आर्थिक वृद्धिदर दुई डिजिट (१० प्रतिशतभन्दा माथि) पुग्छ । जनताले मागे अनुसार बिजुली सहजै पाउँछन् ।
बिजुली उत्पादन छैन भन्नुपर्ने दिन हुनेछैन । शतप्रतिशत जनतामा बिजुलीको पहुँच पुग्छ । जनताले गुणस्तरीय, भरपर्दो, न्यायोचित र सुरक्षित बिजुली पाउँछन् । विद्युत् सेवा प्रवाह पनि उत्कृष्ट हुन्छ ।
स्मार्ट ग्रिड, स्मार्ट मिटरमा हामी अघि बढ्छौं । डिजिटल टेक्नोलोजी हुन्छ । कम्तीमा तीन वर्षमा १२/१५ मेगावाट उत्पादन थप्ने कुरा गरेका छौं । पाँच वर्षमा २ हजार ५ सय मेगावाट उत्पादन थपिन्छ । अर्को १०÷१२ हजार मेगावाटको जलविद्युत् आयोजना निर्माणको काम सुरु हुन्छ ।
हाम्रो प्रसारणलाइन र वितरण प्रणाली ठूलो बन्छ । काठमाडौंको मात्र ५ सय मेगावाटभन्दा बढी बिजुली वितरण गर्न मिल्ने गरी वितरण प्रणाली बनाउँदै छौं । यो भनेको नेपालका लागि स्वर्णिम युग हो । 
अहिलेको अनुभवमा के–के कुरामा सरकारले गाँठो फुकाइदियो भने जलविद्युत् आयोजनाहरू निर्माणमा सहजता आउँछ ? 
सरकारले नीतिगत रूपमा गर्नुपर्ने धेरै कुराको सम्बोधन भएको छ । वनको समस्या तत्काल समाधान गर्न नसके प्रसारणलाइन र जलविद्युत् आयोजनाहरू बन्न गाह्रो छ ।
सबैभन्दा ठूलो समस्या वनकै हो । जंगल, जमिन, जग्गा प्राप्तिमा समस्या छ । जलको व्यवस्थापन हामीले नै गर्ने हो । जमिन र जंगल व्यवस्थापनको कुरा सरकारले तत्काल गर्नुपर्छ ।
जग्गा प्राप्तिको कुरा सरकारले नीतिगत रूपमै सम्बोधन गरिदिनुप-यो । यो संयुक्त प्रयास नै हो । नीतिगत रूपमा गर्दा भएन भने सरकारले हस्तक्षेप गर्नुप-यो । त्यसलाई सुरक्षा निकाय लगाएर पनि कार्यान्वयन गर्नुपर्छ । मैले धेरै समस्या देखेको छैन । अरू समस्या समाधान हुँदै जान्छन् ।
जनशक्ति व्यवस्थापन पनि बिस्तारै हुँदै जान्छ । मलाई यो ठूलो समस्या लाग्दैन । परियोजनाहरू निर्माण सकिँदै जाँदा जनशक्ति पनि थपिँदै जान्छ । माथिल्लो तामाकोसी र चिलिमेका आयोजना सकेपछि ३/४ सय अनुभवी उपलब्ध हुन्छन् ।
 
तामाकोसी निर्माण सम्पन्न भएपछि बिजुली बेच्ने कुरा पनि आएको छ, के त्यो सम्भव छ ? 
तामाकोसी आएपछि बेच्ने कुरा गरेको होइन । हामीसँग धेरै ऊर्जा हुने हुनाले त्यसलाई खपतै गर्ने हो । खपत भएन भने वर्षामा निश्चित ठाउँको बिजुली बेच्ने भन्दा पनि इनर्जी बैंकिङ गर्न सकिन्छ भनेको हो । सुक्खा याममा छिमेकी राष्ट्रबाट आयात गर्ने हो भने वर्षामा यताबाट पठाउने हो । 
अहिले घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफामा लैजाने कुरा अघि सार्नुभएको छ । प्राधिकरणको वित्तीय पुनर्संंरचनाको कुरा पनि आएको छ । विद्युत् प्राधिकरणको समग्र पुनर्संरचना कसरी गर्दै हुनुहुन्छ ? 
आर्थिक पुनर्संरचनाको प्रस्ताव तयार भएर यो छलफलको चरणमा छ । एउटा समितिले हेरिरहेको छ । चाँडै नै यसले अन्तिम रूप पाउला । यसले मात्र नाफामा जाने त होइन, नाफामा लैजाने कुरा धेरै पक्षमा निर्भर छ । आयात घटाउनुपर्छ, उत्पादन बढाउनुपर्छ अनि बिक्री पनि बढाउनुपर्छ ।
हाम्रो विद्युत् गृहहरू अधिकतम सञ्चालन गर्नुपर्छ । खपत बढाउनुपर्छ, खेर जान दिनु भएन । हरेक घण्टामा खेर जाने बिजुलीलाई अधिकतम उपयोग गर्नुप¥यो । यसको व्यवस्थापन गर्नुप¥यो नि ! व्यवस्थापन गर्न नसके एक दिनमै करोड घाटा लाग्छ । यी तमाम कुरा छन् । 
सरकारले सञ्चालन गरेका अधिकांश संस्था घाटामा छन् । कति त बन्द भइसके । अहिले विद्युत् प्राधिकरणका पुनर्संरचनाको कुरा आएको छ, कसरी गर्दै हुनुहन्छ ? के विद्युत् प्राधिकरणलाई सफल संस्थानका रूपमा लैजान सक्ने सम्भावना छ ? 
पुनर्संरचना भनेको एउटा नियमित प्रक्रिया हो । विद्युत् प्राधिकरणलाई किफायती रूपमा अघि बढाउनुपर्छ । अहिले जे–जेमा चुहावट भएको छ, त्यो प्राधिकरणले बेहोर्नुपर्ने अवस्था छ । अर्थमन्त्रालयले बेहोर्नुपर्छ भने कुरा हामीले गरिरहेका छौं ।
अब प्राधिकरणलाई सफल बनाउने गरी दक्षतापूर्ण तरिकाले सञ्चालन गर्नुपर्छ । यसका लागि पुनर्संरचना गर्नुपर्छ । अहिले ठूला जलविद्युत् आयोजनाहरू निर्माणका लागि कम्पनीहरू दर्ता भइसकेका छन् । अब तत्काल सञ्चालन हुन्छन् । इन्जिनियरिङ परामर्शदाता र विद्युत् व्यापार कम्पनी दर्ता भइसके ।
यसमा प्राधिकरणसहित सम्बन्धित निकायको शतप्रतिशत सेयर रहन्छ । तमोर, दूधकोसी, उत्तरगंगा, माथिल्लो अरुण, राहुघाट, मोदीलगायतका आयोजना निर्माणका लागि बनेका कम्पनीहरूमा भने जनताको पनि सेयर रहन्छ । यसमा अति विपन्न र सहिद परिवारलाई पनि सेयरको व्यवस्था गरिएको छ । 
विद्युत् प्राधिकरणको पुनर्संरचनाबारे प्राधिकरण, यहाँका कर्मचारी र ऊर्जा मन्त्रालयबीच असमझदारी देखिन्छ । कर्मचारीहरूलाई पुनर्संरचनाबारे जानकारी दिइएको छ कि छैन ? 
प्राधिकरणको पुनर्संरचनाको प्रक्रियामा सबै कर्मचारीलाई सँगसँगै लिएर जाने हो । सबै जना एकमत छन् । हामी छलफल गरेरै अघि बढ्छौं । यो प्राधिकरणको हितका लागि गर्ने हो ।
पुनर्संरचना भनेको प्राधिकरणलाई टुक्र्याउने होइन, यसलाई अझ बलियो बनाउने हो । यो प्राधिकरणलाई नाफामूलक संस्थाका रूपमा अघि बढाउन गर्न लागिएको हो । प्राधिकरणलाई अझ सक्षम, सशक्त र सक्षम बनाउनका लागि हो । यो खण्डीकरण गर्न वा टुक्र्याउन लागेको होइन । 
ऊर्जा मन्त्रालयले हालै संसद्मा नियमन आयोग विधेयक प्रस्तुत गरेको छ, यसलाई कसरी विश्लेषण गर्नुभएको छ ? यसले प्राधिकरणको काम–कारबाहीमा के असर गर्छ ? 
नियमन आयोगले आफ्नो दायरा स्पष्ट गरेको छ । यो आएपछि ऊर्जाक्षेत्रमा अझ राम्रो हुन्छ । प्राधिकरणले पनि नियमन आयोगको कुरा सुन्नुपर्ने हुन्छ, अरू प्रवद्र्धकहरूले पनि सुन्नुपर्छ । ऊर्जा क्षेत्रमा यो जरुरी निकाय हो ।
 
विगतमा पीपीए, प्रसारणलाइनको अभावमा बिजुली खेर जाने लगायतका समस्या थिए, के अब ती सबै समस्या समाधान भएका हुन् ? 
यी सबै नियमित प्रक्रिया हुन् । आजको अवस्थामा हामीले भनेर अनुसार नै पीपीए गरौंला । भोलिका दिनमा माग र आपूर्तिको परिदृश्य परिवर्तन हुन्छ । पीपीएको संरचना परिवर्तन हुन सक्छ । समय एउटै रहँदैन ।
भोलि खुला बजारमा जाने अवस्था पनि आउन सक्छ । अहिलेको अवस्थामा यही ठीक हो भनेर अघि बढेका छौं । टेक अर पे पीपीए (लिऊ र तिर) मा अघि बढेका छौं । भोलि परिदृश्य अर्को आउन सक्छ । यो अवस्थाअनुसार अघि बढ्नुपर्ने हुन्छ ।
http://www.karobardaily.com/news/76598

Sunday, April 16, 2017

पाँच बर्षभित्र २ खर्ब ११ अर्ब लगानी योजना


भीम गौतम
काठमाडौ,  २ बैशाख । नेपाल विद्युत प्राधिकरणले आगामी पाँच बर्षभित्र २ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँबराबर लगानी गर्ने योजना अघि सारेको छ । 
विद्युत प्राधिकरणले जलविद्युत उत्पादन, वितरण, प्र्रसारण, सहायक कम्पनी र संयुक्त कम्पनी तथा पुँजीगत गरी यति धेरै लगानी गर्ने महत्वकांक्षी योजना अघि सारेको हो । यो प्रस्ताव विद्युत प्राधिकरणले अर्थ मन्त्रालयमा समेत पेश गरिसकेको छ । उत्पादन र प्रसारण लाइन योजनाहरुलाई द्रुतगतिमा अघि बढाउन लागेको तथा वितरण प्रणालीलाई स्मार्ट प्रणालीमा लैजाने योजना बनाएको प्राधिकरणले संस्थालाई नाफामा लैजाने गरी पाँच बर्षभित्र ठूलो लगानी गर्न लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले उत्पादन वृद्धिका लागि ठूला योजनाहरुको निर्माण, नदी वेसिनको आधारमा प्रसारण लाइन निर्माणका साथै वितरण प्रणालीलाई आधुनिक बनाउनका लागि विशेष जोड दिइएको जानकारी दिए । 
विद्युत प्राधिकरणले आर्थिक बर्ष २०७३÷०७४ देखि २०७७÷०७८ सम्म विद्युत उत्पादनका लागि ३९ अर्ब ३१ करोड, प्रसारण लाइनतर्फ १ खर्ब ७ अर्ब ८९ करोड र वितरणतर्फ २९ अर्ब ३९ करोड रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ । त्यसैगरी सहायक कम्पनी र सहकार्यमा जलविद्युतमा ८ अर्ब ७८ करोड तथा पुँजीगततर्फ २६ अर्ब २६ करोड लगानी गर्ने योजना प्राधिकरणको छ । प्राधिकरणका अनुसार, उत्पादन, प्रसारण, वितरण, सहायक कम्पनी र पुँजीगत खर्चका लागि प्राधिकरणले चालु बर्षभित्र २५ अर्ब ६० करोड, आर्थिक बर्ष २०७४÷०७५ मा ३२ अर्ब ७६ करोड, २०७५÷०७६ मा ४० अर्ब ७० करोड, २०७६÷०७७ मा ५० अर्ब ३८ करोड र २०७७÷०७८ मा ६२ अर्ब २२ करोड लगानी गर्ने योजना प्राधिकरणको छ । 
प्राधिकरणले आफ्नो वित्तिय पुर्नसंरचना गरी घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजाने गरी अर्थ मन्त्रालयमा दोस्रो वित्तिय पुर्नसंरचना प्रस्ताव गरिसकेको छ । प्रस्तावमा विद्युत प्राधिकरणलाई व्यवसायमूलक संगठन बनाउने, सरकारको लगानीको प्रतिफल सुनिश्चित गर्ने, कार्य सञ्चालनस्तरमा सुधार गरी पूँजीगत लगानी बढाउने, आय वृद्धि तथा असान्र्भभिक खर्च कम गर्ने तथा विद्युत उत्पादन, प्रसारण र वितरणका तीनै पक्षमा सुधार ल्याउने लगायत प्रस्तावमा उल्लेख छ । चार बर्षमै ३७ अर्ब ६० करोड सञ्चिती घाटा पुगिसकेको विद्युत प्राधिकरणले वित्तिय अवस्था बलियो हुने र फाइदा जाने गरी प्रस्ताव अघि बढाएको जनाएको छ । यसबारे अर्थ मन्त्रालयले अध्ययन अघि बढाएपनि स्वीकृति दिईसकेको छैन । 
पाँच बर्षे लगानी योजना
क्षेत्र लगानी (अर्ब)
उत्पादन ३९.३१ 
प्रसारण १०७.८९
वितरण २९.३९ 
सहायक कम्पनी ८.७८
 पुँजीगत २६.२६
स्रोतः नेपाल विद्युत प्राधिकरण

http://www.karobardaily.com/news/76367

७६२ मेगावाटमै तमोर जलाशय बनाउन माग

भीम गौतम
काठमाडौ, २ बैशाख ।
सरकारी निकायले समन्वय नगर्दा ५ सय १० मेगावाट कम क्षमतामा निर्माण गर्ने गरी अघि बढेको तमोर जलाशययुक्त आयोजना ७ सय ६२ मेगावाटमै बनाउन माग गरिएको छ ।
उर्जा मन्त्रालयले तमोर जलाशययुक्त आयोजनालाई असर पर्ने गरी अन्य जलविद्युत आयोजनालाई सोही क्षेत्रमा अनुमतिपत्र (लाइसेन्स) दिएपछि तमोरको क्षमता घटाउन लागिएको भन्दै उनीहरुले पूर्ण क्षमतामा बनाउन माग गरेका हुन् । ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना पहिचान भएपछि पनि अन्य जलविद्युत आयोजनालाई लाइसेन्स दिएपछि हाल उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई २ सय ५२ मेगावाटको लाइसेन्स दिएपनि आयोजनाको अध्ययन कार्य अघि बढेको छैन । एमाले जल तथा उर्जा विभागका सदस्य एवं आयोजना प्रभावित क्षेत्रका बासिन्दा प्रकाश दुलाल तमोर जलाशयलाई ७ सय ६२ मेगावाटमै बनाउनुपर्ने बताउँछन् । ‘प्रदेश नम्बर १ को लागि सबैभन्दा महत्वपूर्ण मानिएको तमोर जलाशययुक्त आयोजना ७ सय ६२ मेगावाटमै बनाउनुपर्छ ।’–उनले भने–‘क्षमता घटाइए स्थानीयबासीलाई अस्वीकार्य छ, हामी आन्दोलन गर्न बाँध्य छौ ।’ उनले कानून त नमिल्ने भएमा मन्त्री परिषदमै लगेर भएपनि पूर्ण क्षमतामा तमोर बनाउनुपर्ने र यसका लागि उर्जा मन्त्रीले विशेष पहल गर्नुपर्ने उनको भनाई छ ।
विद्युत विभागले ३७ दशमलब ५ मेगावाटको काबेली ए र २१ दशमलब २ मेगावाटको लोअर हेवाखोला जलविद्युत आयोजनालाई लाइसेन्स दिएको छ । यही कारण देखाउँदै मन्त्रालयले विद्युत प्राधिकरणलाई २५२ मेगावाटमा बनाउन लाइसेन्स दिएको थियो तर विद्युत प्राधिकरणले सोही क्षमतामा बनाउँदा प्राविधिक रुपमा अयोग्य हुने प्रतिवेदननै सार्वजनिक गरिसकेको छ । प्राधिकरणको अध्ययन प्रतिवेदन अनुसार, सो क्षमतामै तमोर बनाउँदा तीन÷चार बर्षभित्र आयोजना बाँध वालुवाले भरिने छ । हालै तमोर जलाशययुक्त निर्माणका लागि कम्पनी दर्ता गरेको प्राधिकरणले ७ सय ६२ मेगावाटमै बनाउनका लागि विद्युत विकास विभागमा निवेदन समेत दिएको छ । विभागको फाइल उर्जा मन्त्रालयमा पुगेको छ । उर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता दिनेश घिमिरे प्रस्ताव आएको र यसबारे प्रकृया अघि बढेको बताउँछन् । ‘कानुन त एउटा जलविद्युत आयोजनाको लाइसेन्स दिएपछि त्यसलाई ओभरल्याप हुने गरी अर्कोलाई दिन पाइदैन ।’–उनले भने ।
प्राधिकरणले विभागसँग समुन्द्र सतहबाट ६ सय मिटर माथिसम्मको अर्थात ५३० मेगावाट बराबर विजुली उत्पादन गर्न सक्ने गरी लाइसेन्सका लागि निवेदन दिएकोमा विभागले काबेली ए डुब्ने भन्दै ४५० मिटर माथिसम्मका लागि मात्र १६ साउन २०७० मा लाइसेन्स दिएको थियो । सो अनुसार अध्ययन अघि बढाउँदा २ सय ५२ मेगावाट मात्र विद्युत उत्पादन हुने र वालुवाको कारण समस्या आउने अध्ययनको क्रममा देखिएपछि प्राधिकरणले अध्ययन गरेको थियो । अध्ययनले ५ सय ३० मेगावाटभन्दा बढी ७ सय ६२ मेगावाट उत्पादन हुन सक्ने देखाएको थियो । विस्तृत अध्ययनले आयोजनाको क्षमता ८ सय मेगावाट पुग्न सक्ने देखिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अधिकारीहरुले भने ७ सय ६२ मेगावाटनै विद्युत क्षमता हुने गरी सरकारले तमोरको लाइसेन्स दिनुपर्ने र काबेली ए लाई अहिले निर्माणमा जान दिएर भविष्यमा तमोर बन्न लागेमा सञ्चालन भएर बाँकी अवधिको मुनाफा तिरेर सरकारले काबेली र हेवा डुबाउने गरी अघि बढ्नुपर्ने तर्क गरेका छन् ।
पाँचथर र तेह्रथुम जिल्लाको दोसोधमा बन्ने आयोजनाबाट जम्मा १ सय २६ घरधुरीमात्र विष्थापित हुने तथा थोरै सामाजिक र वातावरण असर पर्ने हुनाले यो आयोजनालाई आकर्षक आयोजनाको रुपमा लिइएको छ । बार्षिक रुपमा ३३ सय ५४ गिगावाट हावर विद्युत उत्पादन गर्ने आयोजनाले हिउँदमा ११ सय गिगावाट हावर विजुली उत्पादन गर्ने अध्ययनले देखाएको छ । पुर्वाञ्चलनको लोडसेन्टरबाट नजिक रहेको सो आयोजनालाई १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनाभन्दा आकर्षक आयोजनाको रुपमा लिइन्छ । सन् १९८५ मा जाइकाले सो आयोजनाको पुर्व सम्भाव्यता अध्ययन गरेको थियो । सो प्रतिवेदन सरकारसँग भएपनि पछि जलाशयलाई असर गर्ने गरी अन्य जलविद्युतलाई लाइसेन्स दिइएको थियो ।
http://www.karobardaily.com/news/76381

२१ अर्ब लगानीमा १५७ मेगावाटका तीन आयोजना

    भीम गौतम   0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौः एमभी दुगड समूहले १ सय ५७ मेगावाट बराबरका तीन जलविद्युत् आयोजनाको निर्माण कार्य एकसाथ शुभारम्भ गरेको छ । ठूला घरानाले जलविद्युत् आयोजनाहरूमा न्यून लगानी गरेको भन्दै आलोचना भइरहेको बेला दुगड समूहले तीन जलविद्युत् आयोजनाको निर्माण एकसाथ शुभारम्म गरेको हो ।
नेपालमा निजी क्षेत्रमा यति ठूलो लगानीमा एकसाथ निर्माण सुरु भएको यो हालसम्मकै पहिलो हो । दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले आफ्नो समूहले ५ सय मेगावाट जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा समेत गरे ।
विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको तीनवटै आयोजना २०७७ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको समूहले जनाएको छ । कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले  शिलालेख अनावरण गरेर ७७ मेगावाटको लिखु–१, ५१ मेगावाटको लिखु–२ र २९ मेगावाटको लिखु ए आयोजना निर्माण शुभारम्भ भएको घोषणा गरे ।
ऊर्जासचिव अनुपकुमार उपाध्याय, पुनर्निर्माण प्राधिकरणका सचिव डा. सञ्जय शर्मा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी कार्यक्रममा मन्त्री शर्माले जलविद्युत्मा जनताको लगानी बढाउन ऊर्जा मन्त्रालय अघि बढेको बताउँदै जलविद्युत् उत्पादनलाई सरकारले विशेष प्राथमिकता दिएको बताए ।
रामेछाप र सोलुखुम्बुमा बन्ने तीन आयोजनाको कुल लागत २१ अर्ब रुपैयाँ छ । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी (इक्वीटी) रहेको छ । दुगडको सहायक कम्पनी पान हिमालय इनर्जी लिमीटेडद्वारा प्रवद्र्धित लिखु–१ को लागत ९ अर्ब २८ लागत रहेकोमा प्राइम बैकको नेतृत्वमा जलविद्युत् लगानी तथा विकास कम्पनीसहित आठ बैकले ६ अर्ब ९६  लगानी गरेका छन् ।
नुम्बुर हिमालयन हाइड्रोपावरद्वारा प्रवद्र्धित ५१ मेगावाटको लिखु–२ को लागत ६ अर्ब २ करोड ६० लाख रुपैयाँ रहेकोमा माच्छापुच्छ«े बैकको नेतृत्वमा ६ बैकले ४ अर्ब ५१ तथा ग्लोबल हाइड्रो पावर एसोसियटद्वारा प्रवद्र्धित २९ मेगावाटको लिखु ए को लागत ४ अर्ब ४४ करोड रहेकोमा लक्ष्मी बैकको नेतृत्वमा ५ बैकले ३ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेका छन् ।
कार्यक्रममा दुगड समूहका अध्यक्ष दुगडले उद्योग व्यापारी जलविद्युत् आयोजना बनाउन अनिच्छुक देखिए पनि आफूले लगानी बढाउन लागेको बताउँदै ५ सय मेगावाट आयोजना अघि बढाउन अमेरिकी लगानीकर्ताहरूसँग वार्ता भईरहेको जानकारी दिए । 
कुलमान र हरिमानलाई एक्सिलेन्स अवार्ड
हाइड्रो नेपालले नेपाल प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपालको जलविद्युत् क्षेत्रबारे अध्ययन गरेका हरिमान श्रेष्ठलाई एक्सिलेन्स अवार्डबाट सम्मानित गरेको छ ।
नेपालको जलविद्युत् क्षेत्रमा योगदान पु¥याएको भन्दै बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कुलमान र हरिमानलाई एक्सिलेन्स अवार्डद्वारा सम्मानित गरिएको हो । राष्ट्रिय योजना आयोग सदस्य डा. भारतेन्द्र मिश्र र ऊर्जासचिव अनुपकुमार उपाध्यायले उनीहरूलाई सम्मान गरे ।   
http://www.karobardaily.com/news/76267#.WPCYhV77VFo
 

लोडसेडिङमुक्त वर्ष

     भीम गौतम  0 + -

फाइल फोटो
०७३ सालका पछिल्ला ६ महिना काठमाडौं उपत्यकावासीले र गत १ चैतदेखि मुलुकभरिका बासिन्दाले लोडसेडिङ भोग्नुपरेन । विगत १० वर्षदेखि लोडसेडिङको चरम समस्या भोगिरहेका सर्वसाधारणको योभन्दा खुसी लाग्दो कुरा अरु हुने कुरै भएन ।
दैनिक १८ घण्टासम्म लोडसेडिङ गराएर नाम सुन्ने बित्तिक्कै नाक खुम्च्याउने संस्थाको रूपमा परिचित बनाएको प्राधिकरणको पहिचान पनि फेरिएको छ । पहिला कहिले बिजुली आउँछ भनेर लोडसेडिङ तालिका पल्टाउने सर्वसाधारण १० मिनेट बिजुली जाँदा पनि आश्चर्यमा पर्छन ।
 कार्यकारी निर्देशकको रूपमा विद्युत् प्राधिकरणमा नियुक्ति भएका कुलमानले गत तिहारको लक्ष्मी पूजाबाट परीक्षण रूपमा लोडसेडिङमुक्त अभियान सुरु गर्दा हिउँदभरि लोडसेडिङमुक्त बनाउन सकिन्छ कि सकिँदैन भन्ने पूर्ण विश्वास थिएन तर उनले यस्तो कुशल व्यवस्थापन गरे कि प्राधिकरणले कल्पना नै नगरेको हिउँदमा काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गराई छाडे र चैतदेखि सर्वसाधारणका लागि मुलुकबाटै लोडसेडिङ अन्त्य गरे ।
गत वर्षामा समेत लोडसेडिङ भोगेका सर्वसाधारणले भने नयाँ वर्ष ०७४ सालमा भने लोडसेडिङ भोग्नुपर्ने छैन । “लोडसेडिङमुक्त अभियानलाई ०७४ सालमा निरन्तरता दिनेछौं र अहिलेको भन्दा पनि सर्वसाधारणलाई गुणस्तरीय र भरपर्दो सेवा दिनका लागि विद्युत् प्राधिकरणको टिम सक्रिय हुनेछ ।” उनले भने, “नयाँ वर्षमा हामी विद्युत् उत्पादन बढाउन, प्रसारणलाइन निर्माण गर्न र वितरणलाई अझ प्रभावकारी बनाउन केन्द्रित हुनेछ ।”
 विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियता, जनताको साथ, प्रधानमन्त्रीदेखि ऊर्जामन्त्री, र ऊर्जा सचिवसम्मको बलियो सहयोगका कारण मुलुक लोडसेडिङमुक्त हुन सफल भएको उनको ठम्याइ छ । उत्पादन, वितरण र प्रसारणलाई अझ सशक्त बनाउनुका साथै स्मार्ट ग्रिड, स्मार्ट मिटर, जनताको समेत सेयर भएका ठूला आयोजनाहरूको निर्माणलगायत ०७४ सालमा अघि बढाउने उनको योजना छ ।
०७४ मै प्राधिकरण विद्युत् माग कम गर्नका लागि २ करोड एलईडी बल्भ वितरण गर्ने योजना पनि बनाएको छ । प्राधिकरणद्वारा निर्माणाधीन ३० मेगावाटको चमेलिया, १४ मेगावाटको कुलेखानी तेस्रो र ६० मेगावाटको त्रिुशली ३ ‘ए’ लाई दु्रतगतिमा निर्माण अघि बढाउने तथा ८ ठूला परियोजना सुरु गर्ने लक्ष्य राखिएको कार्यकारी निर्देशक घिसिङ बताउँछन् । प्राधिकरण कम्पनी गठन गरेर २ हजार ६४ मेगावाटका आठ जलविद्युत्् आयोजना कम्पनी मोडेलमा अघि बढाउन आठ वटाकै कम्पनी दर्ता गरिसकेको छ । 
    प्राधिकरणले ३३५ मेगावाटको माथिल्लो अरुण, ४० मेगावाटको राहुघाट ७६३ मेगावाटको तमोर, ३ सय मेगावाटका लागि उत्तरगंगा, ३ सय मेगावाटकै दूधकोसी, १८० मेगावाटको आँधीखोला, ८७ मेगावाटको तामाकोसी पाँचांै तथा ४२ र १८ मेगावाटका दुई मोदी जलविद्युत्् आयोजना अघि बढाउन कम्पनी दर्ता गरेको हो । 
     झण्डै १४ सय मेगावाटभन्दा बढी माग हुने तथा सो माग आपूर्तिका लागि धेरै चुनौती रहेको ठम्याई प्राधिकरणको रहे पनि चुहावट नियन्त्रण, विद्युत् किफायतीमा जनताको साथ तथा पिक आवरमा लोडसेडिङ गरेर बाँकी समेत उद्योगीलाई विद्युत् दिएर माग र आपूर्तिबीच सन्तुलन कायम गरेको थियो । विगतमा उद्योगधन्दाले धेरै लोडसेडिङ भोग्नु परेकोमा पिकवारको केही घण्टा बिजुली नदिएर बाँकी समयमा बिजुली पाएपछि उद्योगी व्यवसायी पनि खुसी छन् । 
    हाल १२ सय ५० मेगावाटको हाराहारीमा विद्युत् माग रहेको विद्युत् प्राधिकरणमा भारतबाट ३८० मेगावाट आयातसहित स्वदेशी उत्पादन समेत गरी ९ सय मेगावाट मात्र उपलब्ध छ । प्राधिकरणका अनुसार, अझै ३५० मेगावाट लोडसेडिङ छ । 
    गतवर्ष १३० मेगावाट बराबर उत्पादन बढेको र भारतबाट ४५ मेगावाट विद्युत् थप गरेको प्राधिकरण ०७४ मा ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रोसहित मेगावाट बराबर उत्पादन बढाउने लक्ष्य राखेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारी ०७४ सालमा ३१ आयोजना निर्माण सम्पन्न गरी २९० बराबर विद्युत् उत्पादन बढाउने लक्ष्य राखिएको बताउँछन् ।
उनका अनुसार, ०७४ भित्र २.८ मेगावाटको चेक खोला, ५.१ मेगावाटको अपरमाईसी, ११.२ मेगावाटको थापाखोला, ६ सय किलोवाटको ढुंग्रे जिरी, ४ मेगावाटको सार्दीखोला, ७.६ मेगावाट जोगमाई, ३ मेगावाटको मिदिम खोला, ३.७ मेगावाटको द्वारी खोला र ४ मेगावाटको पुवा खोला–१ आयोजनाको काम सम्पन्न हुने लक्ष्य राखिएको छ । 
    त्यसैगरी २५ मेगावाटको खानीखोला, २० मेगावाटको लोअर मोदी, १४.८ मेगावाटको अपर साञ्जेन, ४ मेगावाटको सभाखोला, २.५ मेगावाटको कोबेली बी १, २.१ मेगावाटको अपर पराजुली खोला, ४.२ मेगावाटको लोहोरे खोला, ५ मेगावाटको पिखुवाखोला, ४.९ मेगावाटको फावा खोला, १३ मेगावाटको माड्क्युखोला, १.५ मेगावाटको ठेउलेखोला र ६.४ मेगावाटको अपर मैलुङखोला ‘ए’ जलविद्युत् आयोजना ०७४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
त्यसैगरी ८.८ मेगावाटको रुदी खोला ‘ए’, ८ मेगावाटको साना क्यासकेट, ७ मेगावाटको मोलुङखोला, ४ मेगावाटको घलेम्दी खोला, ३.३ मेगावाटको कपडी खोला, २१.६ मेगावाटको तल्लो हेवा खोला र २२.२ मेगावाटको अपर चाकु खोला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 
http://www.karobardaily.com/news/76283#.WPChVwk6C_g.facebook