Monday, April 10, 2017

विद्युतीय दुर्घटनामा १०९ को मृत्यु, ८ करोड क्षतिपूर्ति

   कारोबार संवाददाता    0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं: सावधानी नअपनाउँदा पछिल्लो साढे ५ वर्षमा मात्र विद्युतीय दुर्घटनामा १०९ भन्दा बढीले ज्यान गुमाएका छन् । 
नेपाल विद्युत् प्राधिकरणका अनुसार, हेटांैडा र नेपालगन्ज क्षेत्रीय कार्यालयबाहेकका अन्य ६ क्षेत्रीय कार्यालयमा मात्र २०६८ असारपछि मात्र विद्युतीय दुर्घटनामा परी यति धेरैले ज्यान गुमाएका हुन् ।
प्राधिकरणका अनुसार, यस अवधिमा ३८३ दुर्घटना भई प्राधिकरणले ८ करोड १७ लाख २१ हजार क्षतिपूर्ति तिर्नुपरेको प्राधिकरण काठमाडौं क्षेत्रीय कार्यालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, सबैभन्दा बढी काठमाडौं क्षेत्रीय कार्यालयमा ६७ को विद्युतीय दुर्घटनामा मृत्यु भएको छ भने सबैभन्दा बढी दुर्घटना सिन्धुपाल्चोकमा भएको छ । 
१४७ दुर्घटना भएको काठमाडौं क्षेत्रीय कार्यालयले मात्र ४ करोड १८ लाख २० हजार क्षतिपूर्ति तिरेको छ भने पोखराले २० लाख, बुटवलले १ करोड १७ लाख ९० हजार, विराटनगरले २८ लाख ५५ हजार, जनकपुरले १ करोड २२ लाख ७६ हजार र अत्तरिया क्षेत्रीय कार्यालयले ३५ लाख ४५ हजार क्षतिपूर्ति तिरेको प्राधिकरणले जनाएको छ । हटौंडा र नेपालगन्जको भने प्रतिवेदन तयार नभएको प्राधिकरणले जनाएको छ । 
विद्युत् प्राधिकरणकै कर्मचारीले सावधानी नअपनाउँदा, विद्युत् वितरण प्रणाली व्यवस्थित नहुँदा र उपभोक्तासमेत सजग नहुँदा विद्युतीय दुर्घटना बढेको देखिएको छ ।
विद्युत् सुरक्षाबारे प्रतिवेदन पेश गर्दै निर्देशक श्रेष्ठले घर–घरमा हाई भोल्टेज पुगी बत्तीको स्विच छुने व्यक्ति विद्युत् दुर्घटनामा परी मानवीय क्षति भएको, गुडिरहेको यात्रुबाहक बसमा ११ केभीको तार छुन पुगी बसमा सवार यात्रुलाई करेन्ट लागेको, एलटी लाइन मर्मत गर्न ट्रान्सफर्मरको ११ केभी लाइन काटी एलटी पोलमा चढी काम गर्दा प्राविधिकलाई इलेक्टिक शक लागेको लगायतका कारणले दुर्घटना बढेको उल्लेख गरे ।
हावाहुरी, चट्याङ, वर्षालगायतका प्राकृतिक प्रकोप, पोलहरू जीर्ण, तारको आकार कम क्षमताको, बाँस र रुखमा लाइन छुनेलगायतका जीर्ण वितरण प्रणाली, स्ट्यान्डर्ड नम्र्स र मापदण्डविपरीतको विद्युत्लाइन निर्माण र विस्तार कार्य हुनुले पनि दुर्घटना हुने गरेको छ ।
निर्देशक श्रेष्ठले बिजुलीको तारमा लुगा सुकाउने गरेको, कतिपय ठाउँमा रुखलाई पोल बनाएर हाँगा पलाएपछि काट्नेजस्ता असावधानीले पनि दुर्घटना बढेको बताए । 
विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिक इन्जिनियर्स नेपाल (सिन) ले संयुक्त रूपमा विद्युत् सुरक्षा दिवसबारे गरेको छलफलमा उनले जनशक्ति व्यवस्थापन, वितरण प्रणाली सदृढीकरण, स्ट्यान्डर्ड नम्र्स तथा गुणस्तरीय लाइन सामग्री, जनचेतना फैलाउने र सुरक्षात्मक उपायहरू, शारीरिक र मानसिक रूपमा दुरुस्त भएर मात्र कार्य गर्ने, सजगता अपनाउने, हेलमेट, जुत्ता, सेफ्टी बेल्ट अनिवार्य रूपमा प्रयोग गर्ने लगायतमार्फत विद्युतीय दुर्घटना कम गर्न सकिने बताए ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रणाली सुदुढीकरणमार्फत प्राविधिक कर्मचारीले प्रणाली सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए । 
मन्त्रीसहित प्रभावफेरी 
विद्युत् सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग, देश विकास र संवृद्धिमा सहयोग भन्ने नाराका साथै विद्युत् सुरक्षा दिवस मनाइएको छ । विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिक इन्जिनियर्स नेपाल (सिन) ले संयुक्त रूपमा प्रभातफेरीसहित दिवस मनाएको हो ।
ऊर्जामन्त्री जनार्दन शर्मा, राज्यमन्त्री सत्यनारायण भगत, ऊर्जासचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय, सहिदगेट, न्युरोड, जमल, घण्टाघर हुँदै केन्द्रीय कार्यालयसम्म प्रभातफेरी भएको थियो ।
विद्युत् सुरक्षाबारे जनचेतना जगाउन आयोजित प्रभातफेरी सकिएपछि कार्यक्रममा बोल्दै ऊर्जामन्त्री शर्माले विद्युत् सुरक्षाका लागि सरकारले नीति ल्याउनका लागि पहल गर्ने बताए । उनले चुहावट नियन्त्रणमा समेत विशेष जोड दिएको बताए । 
प्रभातफेरीपछि विद्युत् सुरक्षा, चुहावट र ऊर्जा दक्षताबारे अन्तरक्रिया भएको थियो । कार्यक्रममा विद्युत् प्राधिकरणका निर्देशक दीर्घायु श्रेष्ठले सुरक्षा, बज्रभूषण चौधरीले चुहावट र ऊर्जा दक्षता विज्ञ राजी थापाले ऊर्जा दक्षताको फाइदाबारे कार्यपत्र प्रश्तुत गरेका थिए ।
कार्यक्रममा प्राधिकरणकाकार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रणबाट वार्षिक २ अर्ब ५० करोड रुपैयाँ बचाउन सक्ने बताउँदै सुरक्षा सावधानी अपनाउन तल्लोस्तरसम्म जनचेतना पु¥याउनुपर्ने बताए । 
http://www.karobardaily.com/news/75993

No comments: