भीम गौतम
काठमाडौ, २ बैशाख । नेपाल विद्युत प्राधिकरणले आगामी पाँच बर्षभित्र २ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँबराबर लगानी गर्ने योजना अघि सारेको छ ।
विद्युत प्राधिकरणले जलविद्युत उत्पादन, वितरण, प्र्रसारण, सहायक कम्पनी र संयुक्त कम्पनी तथा पुँजीगत गरी यति धेरै लगानी गर्ने महत्वकांक्षी योजना अघि सारेको हो । यो प्रस्ताव विद्युत प्राधिकरणले अर्थ मन्त्रालयमा समेत पेश गरिसकेको छ । उत्पादन र प्रसारण लाइन योजनाहरुलाई द्रुतगतिमा अघि बढाउन लागेको तथा वितरण प्रणालीलाई स्मार्ट प्रणालीमा लैजाने योजना बनाएको प्राधिकरणले संस्थालाई नाफामा लैजाने गरी पाँच बर्षभित्र ठूलो लगानी गर्न लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले उत्पादन वृद्धिका लागि ठूला योजनाहरुको निर्माण, नदी वेसिनको आधारमा प्रसारण लाइन निर्माणका साथै वितरण प्रणालीलाई आधुनिक बनाउनका लागि विशेष जोड दिइएको जानकारी दिए ।
विद्युत प्राधिकरणले आर्थिक बर्ष २०७३÷०७४ देखि २०७७÷०७८ सम्म विद्युत उत्पादनका लागि ३९ अर्ब ३१ करोड, प्रसारण लाइनतर्फ १ खर्ब ७ अर्ब ८९ करोड र वितरणतर्फ २९ अर्ब ३९ करोड रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ । त्यसैगरी सहायक कम्पनी र सहकार्यमा जलविद्युतमा ८ अर्ब ७८ करोड तथा पुँजीगततर्फ २६ अर्ब २६ करोड लगानी गर्ने योजना प्राधिकरणको छ । प्राधिकरणका अनुसार, उत्पादन, प्रसारण, वितरण, सहायक कम्पनी र पुँजीगत खर्चका लागि प्राधिकरणले चालु बर्षभित्र २५ अर्ब ६० करोड, आर्थिक बर्ष २०७४÷०७५ मा ३२ अर्ब ७६ करोड, २०७५÷०७६ मा ४० अर्ब ७० करोड, २०७६÷०७७ मा ५० अर्ब ३८ करोड र २०७७÷०७८ मा ६२ अर्ब २२ करोड लगानी गर्ने योजना प्राधिकरणको छ ।
प्राधिकरणले आफ्नो वित्तिय पुर्नसंरचना गरी घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजाने गरी अर्थ मन्त्रालयमा दोस्रो वित्तिय पुर्नसंरचना प्रस्ताव गरिसकेको छ । प्रस्तावमा विद्युत प्राधिकरणलाई व्यवसायमूलक संगठन बनाउने, सरकारको लगानीको प्रतिफल सुनिश्चित गर्ने, कार्य सञ्चालनस्तरमा सुधार गरी पूँजीगत लगानी बढाउने, आय वृद्धि तथा असान्र्भभिक खर्च कम गर्ने तथा विद्युत उत्पादन, प्रसारण र वितरणका तीनै पक्षमा सुधार ल्याउने लगायत प्रस्तावमा उल्लेख छ । चार बर्षमै ३७ अर्ब ६० करोड सञ्चिती घाटा पुगिसकेको विद्युत प्राधिकरणले वित्तिय अवस्था बलियो हुने र फाइदा जाने गरी प्रस्ताव अघि बढाएको जनाएको छ । यसबारे अर्थ मन्त्रालयले अध्ययन अघि बढाएपनि स्वीकृति दिईसकेको छैन ।
पाँच बर्षे लगानी योजना
क्षेत्र लगानी (अर्ब)
उत्पादन ३९.३१
प्रसारण १०७.८९
वितरण २९.३९
सहायक कम्पनी ८.७८
पुँजीगत २६.२६
स्रोतः नेपाल विद्युत प्राधिकरण

No comments:
Post a Comment