Saturday, April 29, 2017

रहेनन् ऊर्जाका पिता

     भीम गौतम   0 + -

समाचार प्रतिनिधि तस्बिर
काठमाडौः मुलुकको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको पत्ता लगाउने पहिलो व्यक्तित्व हरिमान श्रेष्ठको बिहीबार निधन भएको छ ।
८२ वर्षीय श्रेष्ठको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । श्रेष्ठले रुसको मस्को पावर इन्स्टिच्युटबाट सन् १९९६ मा ‘नेपालको जलविद्युत् सम्भाव्यता’ विषयमा विद्यावारिधी गरेका थिए । 
कम्प्युटर, सफ्टवेयर र क्यालेन्डरसमेत नभएको समयमा उनले गरेको अध्ययन अनुसन्धानलाई चुनौति दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आजसम्म कुनै अध्ययन भएको छैन ।
उनको यही अध्ययनलाई चुनौती दिने अर्को अनुसन्धान नभएकोले हरिमानलाई नेपालको जलविद्युत् क्षेत्रको पितासमेत भन्ने गरिन्छ । २.४ मेगावाटको पनौती जलविद्युत् केन्द्रबाट जलविद्युत् क्षेत्रमा सेवा सुरु गरेका हरिमानले ४० बर्षभन्दा बढी यस क्षेत्रमा योगदान पु-याएका थिए ।
उनी १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानीका साथै ६ हजार ४ सय ८० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको अध्ययनमा समेत सहभागी थिए । ऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युत् क्षेत्रको विकास श्रेष्ठले नै पत्ता लगाएको क्षमताको आधारमा अघि बढेको भन्दै यस क्षेत्रका लागि उनी अविस्मरणीय व्यक्तित्व रहेको बताए ।
“विद्यार्थीकालमा शोध गर्दा होस् वा विज्ञको रुपमा होस्, उहाँले जलविद्युत् क्षेत्रमा ठूलो योगदान दिनुभएको छ त्यसैले उहाँको व्यक्तित्व अविस्मरणीय छ,” मन्त्री शर्माले भने, “उहाँको योगदानलाई सँधै सम्झनेगरी राज्यले के गर्न सक्छ, यसबारे प्रधानमन्त्रीसँग छलफल गर्नेछु ।”
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पानका) अध्यक्ष शैलेन्द्र गुरागार्इं नेपालको जलविद्युत् क्षमताबारे पहिलोपटक पत्ता लगाएका कारण हरिमान नेपालको जलविद्युत् क्षेत्रको पिता नै भएको बताउँछन् ।
“क्यालकुलेटरसमेत राम्रो नभएको बेलामा नेपालको कुल जलविद्युत् क्षमता पत्ता लगाउनु र ५० बर्ष नाघ्दासमेत यसलाई चुनौती दिनेगरी अर्को अध्ययन हुन नसक्नु  र सबै निकायले यसैलाई आधिकारिक मान्नुले पनि उहाँको व्यक्तित्व अति उच्च थियो भन्न सकिन्छ” उनले भने ।
इप्पानका पूर्वअध्यक्ष खड्गबहादुर विष्ट विद्यार्थी हुँदासमेत नेपालका जलविद्युत् क्षेत्रका लागि महत्वपूर्ण कुरा पत्ता लगाउनुले उहाँ महान व्यक्ति हो भन्ने देखाएको बताउँछन् । 
जलविद्युत् क्षमता पत्ता लगाउनुको अलावा मुलुकभित्रै उत्पादन बढाएर बेच्नेभन्दा पनि स्वदेशमै खपत गर्नुपर्छ भन्ने स्वर्गीय श्रेष्ठको राष्ट्रवादी सोच र विचार सबैका लागि प्रेरणादायी भएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।
हालै हाइड्रो नेपालले जलविद्युत् क्षेत्रमा योगदान पुर्याएको भन्दै श्रेष्ठलाई एक्सिलेन्स अवार्डबाट सम्मान गरेको थियो । कार्यक्रममा उनले नेपालको जलविद्युत् उत्पादन बढाएर बेच्नेभन्दा स्वदेशमै खपत गरेर नेपाललाई धनी बनाउन सकिने भएकोले यसतर्फ लाग्न आग्रह गरेका थिए । 
http://www.karobardaily.com/news/77097

No comments: