फाइल फोटो
०७३ सालका पछिल्ला ६ महिना काठमाडौं उपत्यकावासीले र गत १ चैतदेखि मुलुकभरिका बासिन्दाले लोडसेडिङ भोग्नुपरेन । विगत १० वर्षदेखि लोडसेडिङको चरम समस्या भोगिरहेका सर्वसाधारणको योभन्दा खुसी लाग्दो कुरा अरु हुने कुरै भएन ।
दैनिक १८ घण्टासम्म लोडसेडिङ गराएर नाम सुन्ने बित्तिक्कै नाक खुम्च्याउने संस्थाको रूपमा परिचित बनाएको प्राधिकरणको पहिचान पनि फेरिएको छ । पहिला कहिले बिजुली आउँछ भनेर लोडसेडिङ तालिका पल्टाउने सर्वसाधारण १० मिनेट बिजुली जाँदा पनि आश्चर्यमा पर्छन ।
कार्यकारी निर्देशकको रूपमा विद्युत् प्राधिकरणमा नियुक्ति भएका कुलमानले गत तिहारको लक्ष्मी पूजाबाट परीक्षण रूपमा लोडसेडिङमुक्त अभियान सुरु गर्दा हिउँदभरि लोडसेडिङमुक्त बनाउन सकिन्छ कि सकिँदैन भन्ने पूर्ण विश्वास थिएन तर उनले यस्तो कुशल व्यवस्थापन गरे कि प्राधिकरणले कल्पना नै नगरेको हिउँदमा काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गराई छाडे र चैतदेखि सर्वसाधारणका लागि मुलुकबाटै लोडसेडिङ अन्त्य गरे ।
गत वर्षामा समेत लोडसेडिङ भोगेका सर्वसाधारणले भने नयाँ वर्ष ०७४ सालमा भने लोडसेडिङ भोग्नुपर्ने छैन । “लोडसेडिङमुक्त अभियानलाई ०७४ सालमा निरन्तरता दिनेछौं र अहिलेको भन्दा पनि सर्वसाधारणलाई गुणस्तरीय र भरपर्दो सेवा दिनका लागि विद्युत् प्राधिकरणको टिम सक्रिय हुनेछ ।” उनले भने, “नयाँ वर्षमा हामी विद्युत् उत्पादन बढाउन, प्रसारणलाइन निर्माण गर्न र वितरणलाई अझ प्रभावकारी बनाउन केन्द्रित हुनेछ ।”
विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियता, जनताको साथ, प्रधानमन्त्रीदेखि ऊर्जामन्त्री, र ऊर्जा सचिवसम्मको बलियो सहयोगका कारण मुलुक लोडसेडिङमुक्त हुन सफल भएको उनको ठम्याइ छ । उत्पादन, वितरण र प्रसारणलाई अझ सशक्त बनाउनुका साथै स्मार्ट ग्रिड, स्मार्ट मिटर, जनताको समेत सेयर भएका ठूला आयोजनाहरूको निर्माणलगायत ०७४ सालमा अघि बढाउने उनको योजना छ ।
०७४ मै प्राधिकरण विद्युत् माग कम गर्नका लागि २ करोड एलईडी बल्भ वितरण गर्ने योजना पनि बनाएको छ । प्राधिकरणद्वारा निर्माणाधीन ३० मेगावाटको चमेलिया, १४ मेगावाटको कुलेखानी तेस्रो र ६० मेगावाटको त्रिुशली ३ ‘ए’ लाई दु्रतगतिमा निर्माण अघि बढाउने तथा ८ ठूला परियोजना सुरु गर्ने लक्ष्य राखिएको कार्यकारी निर्देशक घिसिङ बताउँछन् । प्राधिकरण कम्पनी गठन गरेर २ हजार ६४ मेगावाटका आठ जलविद्युत्् आयोजना कम्पनी मोडेलमा अघि बढाउन आठ वटाकै कम्पनी दर्ता गरिसकेको छ ।
प्राधिकरणले ३३५ मेगावाटको माथिल्लो अरुण, ४० मेगावाटको राहुघाट ७६३ मेगावाटको तमोर, ३ सय मेगावाटका लागि उत्तरगंगा, ३ सय मेगावाटकै दूधकोसी, १८० मेगावाटको आँधीखोला, ८७ मेगावाटको तामाकोसी पाँचांै तथा ४२ र १८ मेगावाटका दुई मोदी जलविद्युत्् आयोजना अघि बढाउन कम्पनी दर्ता गरेको हो ।
झण्डै १४ सय मेगावाटभन्दा बढी माग हुने तथा सो माग आपूर्तिका लागि धेरै चुनौती रहेको ठम्याई प्राधिकरणको रहे पनि चुहावट नियन्त्रण, विद्युत् किफायतीमा जनताको साथ तथा पिक आवरमा लोडसेडिङ गरेर बाँकी समेत उद्योगीलाई विद्युत् दिएर माग र आपूर्तिबीच सन्तुलन कायम गरेको थियो । विगतमा उद्योगधन्दाले धेरै लोडसेडिङ भोग्नु परेकोमा पिकवारको केही घण्टा बिजुली नदिएर बाँकी समयमा बिजुली पाएपछि उद्योगी व्यवसायी पनि खुसी छन् ।
हाल १२ सय ५० मेगावाटको हाराहारीमा विद्युत् माग रहेको विद्युत् प्राधिकरणमा भारतबाट ३८० मेगावाट आयातसहित स्वदेशी उत्पादन समेत गरी ९ सय मेगावाट मात्र उपलब्ध छ । प्राधिकरणका अनुसार, अझै ३५० मेगावाट लोडसेडिङ छ ।
गतवर्ष १३० मेगावाट बराबर उत्पादन बढेको र भारतबाट ४५ मेगावाट विद्युत् थप गरेको प्राधिकरण ०७४ मा ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रोसहित मेगावाट बराबर उत्पादन बढाउने लक्ष्य राखेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारी ०७४ सालमा ३१ आयोजना निर्माण सम्पन्न गरी २९० बराबर विद्युत् उत्पादन बढाउने लक्ष्य राखिएको बताउँछन् ।
उनका अनुसार, ०७४ भित्र २.८ मेगावाटको चेक खोला, ५.१ मेगावाटको अपरमाईसी, ११.२ मेगावाटको थापाखोला, ६ सय किलोवाटको ढुंग्रे जिरी, ४ मेगावाटको सार्दीखोला, ७.६ मेगावाट जोगमाई, ३ मेगावाटको मिदिम खोला, ३.७ मेगावाटको द्वारी खोला र ४ मेगावाटको पुवा खोला–१ आयोजनाको काम सम्पन्न हुने लक्ष्य राखिएको छ ।
त्यसैगरी २५ मेगावाटको खानीखोला, २० मेगावाटको लोअर मोदी, १४.८ मेगावाटको अपर साञ्जेन, ४ मेगावाटको सभाखोला, २.५ मेगावाटको कोबेली बी १, २.१ मेगावाटको अपर पराजुली खोला, ४.२ मेगावाटको लोहोरे खोला, ५ मेगावाटको पिखुवाखोला, ४.९ मेगावाटको फावा खोला, १३ मेगावाटको माड्क्युखोला, १.५ मेगावाटको ठेउलेखोला र ६.४ मेगावाटको अपर मैलुङखोला ‘ए’ जलविद्युत् आयोजना ०७४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
त्यसैगरी ८.८ मेगावाटको रुदी खोला ‘ए’, ८ मेगावाटको साना क्यासकेट, ७ मेगावाटको मोलुङखोला, ४ मेगावाटको घलेम्दी खोला, ३.३ मेगावाटको कपडी खोला, २१.६ मेगावाटको तल्लो हेवा खोला र २२.२ मेगावाटको अपर चाकु खोला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
http://www.karobardaily.com/news/76283#.WPChVwk6C_g.facebook
No comments:
Post a Comment