Tuesday, April 4, 2017

नलसिंह गाडका कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर


कारोबार संवाददाता
काठमाडौ, २० चैत्र
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङ गाड जलविद्युत विकास समितिका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि परामर्शदाता छनोट प्रकृयामा अनियमितता भएको भन्दै उनीहरुविरुद्ध आइतबार आयोगले विशेष अदालतमा कुँवर लगायतविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालीन सिनियर डिभिजनल इन्जिनियर  एवं बुढीगंगा जलविद्युत आयोजनाका प्रमुख सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईँ, उर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत विकास विभागका तत्कालीन कानून अधिकृत राजेशकुमार थापा र स्मेकका नेपाल प्रतिनिधी उदीपलाल श्रेष्ठविरुद्ध विशेष अदालतमा दायर गरेको अख्यितारका सहायक प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए । मुद्दा दायर गरेका कार्यकारी निर्देशक कुँवर लगायत ६ जना उर्जा मन्त्रालयले विकास समितिमार्फत अघि बढाएको ४ सय १० मेगावाटको नलसिंहगाढ जलविद्युत आयोजनाको परामर्शदाता छनोट प्रकृयामा सहभागी थिए । अख्यिारले मुद्दा दायर गर्ने वित्तिक्कै उनीहरु स्वत निलम्बनमा परेका छन् ।
अख्तियारले उनीविरुद्ध आफू अनुकुल बढी रकम कवोल गर्ने प्रस्तावलाई बढी अंक र कम अंक कवोल गर्नेलाई कम अंक दिई परामर्शदाता छनोट गरिएको उल्लेख गर्दै २७ करोड २४ लाख ९४ हजार हानी नोक्सानी पु¥याउने कार्य गरेको आरोप लगाएको छ । दायर मुद्दामा उनीहरुले भ्रष्टाचार ऐन बमोजिम भ्रष्टाचार कसुरको उद्योग गरेको भन्दै १३ करोड ६२ लाख २७ हजार जरीवाना र एक बर्ष कैद सजायको माग गरिएको छ ।
परामर्शदाताका प्रस्ताव गरेको एएफसीसहितको संयुक्त परामर्शदाता कम्पनीले भ्याटसहित एक अर्ब रुपैयाँमा काम गर्ने प्रस्ताव गरेकोमा त्योभन्दा झण्डै २७ करोड बढी कवोल गर्ने स्मेकसहितको संयुक्त परामर्शदाता कम्पनीलाई विकास समितिले छनोट गरेको थियो । विकास समितिले भने आर्थिक भन्दा पनि प्राविधिक आधारमा स्मेकसहितको संयुक्त कम्पनीलाई परामर्शदाता छनोट गरेको बताउँदै आएको थियो । संसदको सार्वजनिक लेखा समितिमा समेत परामर्शदाता छनोटमा अनियमितता भएको भन्दै सांसदहरुले अनुसन्धान अघि बढाएका थिए ।
जाजरकोटको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने आयोजना प्राधिकरण्ँको सहयोगमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)ले गरेको अध्ययनबाट छानिएका उत्कृष्ट १० मध्ये एक हो । १४०६ गेगावाट आवर विद्युत उत्पादन गर्ने गर्नेे आयोजनाको अहिलेको लागत करिब ७३७ मिलियन डलर अनुमानित छ । आयोजना पर किलोवाट लागत १७९९ डलर अनुमान गरिएको छ । १सय ५० घरधुरी विस्थापित हुने उक्त आयोजनामा ११२ किलोमिटर लामो ४४० केभीको डब्बल सर्किटको प्रशारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ । ६ किमि सुरुङ हु“दै निर्माण गर्नुपर्ने आयोजनाको ६९८ मिटर हेड छ ।






No comments: