Tuesday, May 30, 2017

विद्युत् उत्पादनमा सँधै अस्थिर योजना

    भीम गौतम    0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौंः एक दशकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका जलस्रोतमन्त्री विष्णु पौडेलले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेका थिए ।
केही महिनाअघि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले  ‘१० वर्षमा १० हजार मेगावाट’ विषयमा गरेको पावर समिटमा प्रधानमन्त्री दाहालले अफ्नो घोषणा स्मरण गरेका थिए ।
झण्डै एक सय वर्षमा ७ सय ५० मेगावाट रहेको विद्युत् उत्पादन क्षमतालाई बढाएर १० वर्षमा १० हजार ७ सय ५० मेगावाट बढाउने पहिलो प्रधानमन्त्रीकालको योजना असफल भयो । विद्युत प्राधिकरणका अनुसार यो १० वर्षमा २ सय ६० मेगावाट मात्रै उत्पादन भयो । 
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पनि २०७३÷०७४ को बजेटमा १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा दोहो-याए ।
यसका लागि न कुनै कार्ययोजना थियो, न काम गर्ने इच्छाशक्ति नै । जनताले सरकारको योजनालाई ‘हावादारी’ भनिरहेका बेला सस्तो लोकप्रियताका लागि यस्ता घोषणा गर्ने क्रम भने अझै रोकिएको छैन ।
सोमबारको बजेटमा ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरिएको छ । काठमाडौं लगायतका केही सहरमा लोडसेडिङ अन्त्य गरेर ख्याती कमाएको यो सरकारले गरेको घोषणा विगतको भन्दा सुन्नलायक भए पनि पत्याउने आधार भने देखिएको छैन ।  
ऊर्जामन्त्री जनार्दन शर्मा पहिलेका घोषणा पुरानो भइसकेकाले समयको मागको आधारमा नयाँ घोषणा गरिएको र उत्पादन भइछाड्ने बताउँछन् ।  “समयमै उत्पादन हुने गरी अहिलेको आवश्यकताको आधारमा नयाँ उत्पादन लक्ष्य ल्याएका हौं,” उनले भने, “नेपालमा भएको व्यापार घाटा घटाउने, ग्यास, पेट्रोलियम पदार्थको विष्थापन गर्न र लाखौ युवालाई रोजगारी दिनको लागि यो उत्पादन आवश्यक छ ।”
ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरे पनि ८ हजार मेगावाट जलाशययुक्त आयोजना र बाँकी पिकिङ नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाहरू निर्माण गर्ने गरी ७ वर्षमा १७ हजार मेगावाट उत्पादनको लक्ष्य राखिएको बताउँछन् ।
“कुन वर्षमा कति विद्युत् उत्पादन गर्ने भनेर लक्ष्य तय गर्न बाँकी छ तर ८ हजार मेगावाटका जलाशययुक्त आयोजनासहित १७ हजार मेगावाट उत्पादन सम्भव छ, विद्युत् उत्पादन कम्पनी र विद्युत् प्राधिकरणले पनि ठूला आयोजनाहरू निर्माणको काम अघि बढाउन लागेको छ,” उनी भन्छन् ।
विज्ञहरू भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना मात्रै रहेको तथा बाँकी जलाशयको डीपीआर, वित्तिय व्यवस्थापनलगायत सम्पन्न गरेर आठ वर्षभित्र यति धेरै उत्पादन गर्न असम्भव जस्तै रहेको बताउँछन् । यो घोषणालाई विगतमा ऊर्जामन्त्रीहरूको जस्तै सस्तो लोकप्रियताका लागि नयाँ नारा भएको उनीहरूको तर्क छ । 
विगतमा जलविद्युत्को संकट रहेकोमा त्यसलाई सम्बोधनका लागि नयाँ नारा दिएर लोकप्रियता बढाउन खोज्ने प्रवृत्ति जलविद्युत् क्षेत्रका लागि नौलो होइन । २०६४ मा ज्ञानेन्द्रबहादुर कार्की जलस्रोतमन्त्री हुँदा १०  वर्षमा ५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने कार्यक्रम ल्याइयो ।
कुन वर्ष कति उत्पादनको घोषणा ?
साल    वर्षमा    उत्पादन (मेगावाट) 
२०६४    १०    ५ हजार
२०६५        १०    १० हजार
२०६६    २०    २५ हजार
२०७२        १०    १० हजार
२०७४    ७    १७ हजार
स्रोतः ऊर्जा मन्त्रालय
त्यसको एक दशकमा उत्पादन ३ सय मेगावाटबाट बढेन । २०६६ मा त झन् ऊर्जामन्त्री डा. प्रकाशशरण महतले २० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादनको घोषणा गरे । यस्तै, झलनाथ खनाल प्रधानमन्त्री तथा भरतमोहन अधिकारीले ऊर्जा मन्त्रालय सम्हालेका बेला ऊर्जा संकटकाल घोषणा गर्दै नयाँ योजना ल्याइए पनि उपलब्धि शून्य बराबर रह्यो ।
यस्तै, डा. बाबुराम भट्टराई प्रधानमन्त्री र पोष्टबहादुर बोगटी ऊर्जामन्त्री भएपछि पुनः लोडसेडिङ न्यूनीकरण कार्ययोजना ल्याइयो । सुशील कोइराला प्रधानमन्त्री र ऊर्जामन्त्री राधा ज्ञवाली भएका बेलामा पनि तीन वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने योजना ल्याइएको थियो ।
लोकप्रियताका लागि सरकारैपिच्छे हजारौ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि उत्पादनको अवस्था कमजोर हुनुमा सरकारी प्रवृत्तिलाई कारक देखिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाई वर्षैपिच्छे लोकप्रियताका लागि नयाँ र खोक्रो कार्यक्रम ल्याउनुभन्दा कार्यान्वयन गर्नेखालका योजना र कार्यक्रम ल्याउनुपर्ने बताउँछन् ।
“८३ हजारदेखि २ लाख मेगावाटसम्म विद्युत् उत्पादनको सम्भावना छ तर एउटै पार्टीका मन्त्री हुँदा पनि फरकफरक उत्पादनको लक्ष्यसहित कार्यक्रम आउनु बिडम्बना हो,” गुरागाईं भन्छन् । 
http://www.karobardaily.com/news/79261

ऊर्जामा साढे ६२ अर्ब बजेट



७ बर्षमा १७ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य
–जलविद्युत लगानीमा जनताको सहभागिता
–कर्मचारीको लगानीमा ५ सय मेगावाट
–बुढीगण्डकीलाई १० अर्ब १७ करोड
–प्रसारण लाइन पीपीपी मोडेलमा
–बुटबल–गोरखपुर प्रसारण लाइन आगामी बर्षदेखि
–नौ ठूला आयोजना निर्माण
–भुमिगत वितरण प्रणाली
–स्मार्ट मिटर र ग्रीड
–पुरानो छोडेर नयाँ योजनाः ऊर्जा मन्त्री
–लोकप्रियताका लागि नयाँः गुरागाई
–निजी क्षेत्रलाई प्रोत्साहन गरिएनःप्रधान
भीम गौतम
काठमाण्डौ, १५ जेठ ।
उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले ऊजा क्षेत्र का लागि ६२ अर्ब ४७ करोड रुपैयाँ बजेट सार्वजनिक गरेका छन् ।
आगामी ७ बर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित सोमबार अर्थ मन्त्री महराले आगामी बर्षका लागि सरकारले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेका हुन् । चालु बर्षमा ५० अर्ब बराबर बजेट रहेकोमा आगामी बर्षका लागि भने झण्डै साढे १२ अर्ब बजेट बढेको छ । ऊर्जा मन्त्रालयले ९९ अर्ब माग गरेपनि मन्त्रालयलाई ४९ अर्बको सिलिङ दिइएको थियो । ऊर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता दिनेश घिमिरेले मागे अनुसार बजेट नपाएपनि सिलिङभन्दा झण्डै १३ अर्ब बढी विनियोजन गरिएको बताए ।
अघिल्लो बर्षको बजेटमा चालु बर्षका लागि सरकारले १० बर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहित बजेट प्रश्तुत गरेकोमा यस बर्ष फेरि ७ बर्षभित्र १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य बजेटमा उल्लेख छ । उज्यालो नेपाल अभियान अन्र्तगत नेपालको पानी, जनताको लगानी कार्यक्रममार्फत राखिएको यो लक्ष्य पुर्तिका लागि संघ, प्रदेश र स्थानीय सरकारसहित  विदेशमा श्रम गरिरहेका युवाहरु एवं जनआन्दोलनका योद्धा र घाइतेहरुका साथै आम नेपालीलाई आयोजनाको निर्माणका लागि लगानीमा सहभागिता गराइने उल्लेख छ । बजेटमा  सार्वजनिक संस्थाहरुको पुँजी तथा वैदेशिक लगानीको माध्यमबाट विद्युत क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर बनाइने पनि घोषणा गरिएको छ । आवासीय प्रयोग तथा उद्योग क्षेत्रको माग पूरा गर्न, खाना पकाउने ग्याँस विष्थापन तथा विद्युत यातायातको विकास गर्न आवश्यक विद्युत शक्ति उत्पादन र वितरण गरी पेट्रोलियम पदार्थको परनिर्भता न्यून गरिने बजेटमा उल्लेख छ ।
नेपालमा जलविद्युत उत्पादन सुरु भएको १ सय ६ बर्षको अवधिमा नौ सय मेगावाट मात्र विद्युत उत्पादन हुन सकेकोमा सात बर्षभित्रै यति धेरै उत्पादन गर्ने लक्ष्यलाई महत्वकांक्षी रुपमा हेरिएको छ । सरकारनै पिच्छे लोकप्रियताका लागि जलविद्युत उत्पादनको नयाँ नयाँ लक्ष्य ल्याउने भन्दै सरकारको आलोचना पनि हुँदै आएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपपान) का अध्यक्ष शैलेन्द्र गुरागाई बर्षैपिच्छे लोकप्रियताका लागि नयाँ र खोक्रो कार्यक्रम ल्याउनुभन्दा कार्यान्वयन गरि ल्याउनुपर्ने बताउँछन् । ‘८३ हजारदेखि २ लाख मेगावाटसम्म नेपालमा विद्युत उत्पादनको सम्भावना छ तर एउटै पार्टीका मन्त्री हुँदा पनि फरक फरक उत्पादनको लक्ष्यसहित कार्यक्रम आउनु बिडम्बना हो ।’–उनले भने–‘विनियोजित बजेट पाउनका लागि अर्थ मन्त्रालयमा भीख माग्नुपर्ने प्रवृत्तिले अन्त्य गरेर सिधै मन्त्रालय र विद्युत प्राधिकरणलाई देख्ने गरी व्यवस्था गर्नुपर्छ ।’ ऊर्जा मन्त्री जनार्दन शर्मा भने पहिलाको लक्ष्य पुरानो भैसकेकोले नयाँ ल्याएको दाबी गर्छन । ‘१० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य पुरानो भैसक्यो, यो लक्ष्य पुरा हुने गरी ल्याएका हौ ।’–उनले भने–‘नेपालमा भएको व्यापार घाटा घटाउने, ग्याँस, पेट्रोलियम पदार्थको विष्थापन गर्न र लाखौ युवालाई रोजगारी दिन यो लक्ष्य उपयुक्र्त छ ।’
जलविद्युत उत्पादन, प्रसारण र वितरणलाई विशेष महत्व दिइएको बजेटमा निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, शिक्षक लगायतका राष्ट्रसेवक कर्मचारीहरुको लगानीमा कम्तीमा ५ सय मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण कार्य सुरु गरिने उल्लेख छ । माथिल्लो तामाकोशी आगामी बर्षभित्र सम्पन्न गर्ने घोषणा गर्दे सो आयोजनाका ५० करोड तथा चीनीयाँ कम्पनीलाई निर्माणका लागि जिम्मा दिन लागिएको बुढीगण्डकीको मुआब्जा वितरणका लागि १० अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ । आयोजना आयोजनाको मुआब्जा तथा पुर्नस्थापनाका लागि ५३ अर्ब आवश्यक पर्ने बुढीगण्डकीले जनाएको छ ।
आगामी बर्षमा चमेलिया र कुलेखानी तेस्रोको निर्माण सम्पन्न गर्ने उल्लेख गर्दै बजेटमा जलविद्युत उत्पादनमा स्वदेशी निजी लगानी आकर्षित गर्न पिकिङ तथा जलाशययुक्त आयोजनाहरुको लागि नयाँ विद्युत खरिद दर लागु गरिने घोषणा गरिएको छ । बजेटमा नलसिंह गाड, भेरी–१, जगदुल्ला, उत्तरगंगा, नौमुरे, सुनकोशी २ र ३, दुधकोशी, तमोर लगायतका जलाशययुक्त तथा पिकिङ परियोजनाहरुलाई एक साथ अघि बढाइने पनि घोषणा गरिएको छ । पम्प स्टोरेज प्रकृतिका जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरिने उल्लेख गर्दै बजेटमा सरकारले सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा प्रसारण लाइन निर्माण का लागि कार्यविधि तयार गरिने तथा ढल्केबर–मुजफपुर अन्तरदेशीय प्रसारण लाइनको ढल्केबर सवस्टेशन ४०० केभी क्षमता पुर्याइने घोषणा गरिएको छ । यस अघि यसको क्षमता २२० केभीको छ । त्यसैगरी प्रस्तावित दोस्रो अन्तरदेशीय बुटबल–गोरखपुर ४०० केभी प्रसारण लाइन आगामी बर्षदेखि निर्माण सुरु गर्ने घोषणा पनि गरिएको छ । बजेटमा निर्माणाधीन हेटौडा–ढल्केबर–दुहबी प्रसारण लाइनलाई ४०० केभी क्षमतामा स्तोन्नति गरी दुई बर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।
विद्युत चुहावट अभियानकै रुपमा अघि बढाइने उल्लेख गर्दै सार्वजनिक बजेटमा काठमाडौ उपत्यकाका केही सहरमा भूमिगत वितरण प्रणालीका साथै वितरण प्रणालीलाई सुदुढ तुल्याउन स्मार्ट मिटर र ग्रीडको काम अघि बढाइने उल्लेख छ ।
सरकारले ऊर्जा क्षेत्रको बजेट बढाएपनि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी नल्याएको भन्दै निजी क्षेत्रका प्रवद्र्धकहरुले आलोचना गरेका छन् । इपपान अध्यक्ष गुरागाई चालु बर्षमा दुई सय मेगावाट विद्युत थप गर्न निजी क्षेत्र सफल भएपनि हाल ३ हजार मेगावाट विद्युत उत्पादन गरिरहेको निजी क्षेत्रलाई प्रोत्साहन दिने गरी बजेट नआएको तर्क गर्छन् । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान पनि निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी बजेट नआएको बताउँछन् । ‘नेपाली लगानीकर्ताले बनाउने साना आयोजनाहरुलाई प्रवद्र्धन गर्ने गरी बजेट आएन ।’–उनले भने–‘अहिलेको कर्मचारीतन्त्रबाट १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य हासिल सम्भव छैन, अहिले दिइएको विद्युत खरिद दरको सट्टा निजी क्षेत्रलाई लगानीको प्रतिफल सुनिश्चित हुने तथा वैदेशिक लगानी भित्र्ने गरी योजना ल्याउनुपर्दथ्यो ।’ उनको प्रतिफलको आधारमा निजी क्षेत्रले जलविद्युतमा लगानी गर्न असम्भव जस्ते रहेको उनको भनाई छ ।





Monday, May 29, 2017

पुनर्निर्माणका लागि साढे १ खर्ब

    कारोबार संवाददाता   

समाचार प्रतिनिधि तस्विर
काठमाडौं : सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब १८ करोड बराबरको बजेट विनियोजन गरेको छ । संघीयता कार्यान्वयनपछिको दोस्रो प्राथमिकतामा पुनर्निर्माणलाई समावेश गर्दै सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले बजेट विनियोजन गरेका हुन् ।
पाँच वर्षभित्र पुनर्निर्माण सक्ने गरी करिब ९ खर्ब ३८ अर्ब बजेट अनुमान गरिएको छ । यसको तुलनामा यो निकै नै कम बजेट हो । सार्वजनिक बजेटमा पुनर्निर्माणको बजेट कार्यान्वयनमा देखिएको समस्या नदोहोरिने गरी प्रक्रिया सरलीकरण गरिएको उल्लेख छ ।
बजेटमा भूकम्प प्रभावितको निजी आवास निर्माणका लागि वितरण गर्न लागिएको दोस्रो र तेस्रो किस्ता वितरण कार्यलाई तीव्रता दिइने छ । क्षतिग्रस्त पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गर्दै सम्पदाहरूको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने तथा परम्परागत तथा स्थानीय सामग्रीको उपयोग गरी पुनर्निर्माणमा जोड दिइएको छ । 
बजेटमा पहिचान भइसकेका जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित स्थानान्तरण गरी एकीकृत बस्तीको विकास गर्नुका साथै यस्ता बस्तीहरूमा खानेपानी, सडक, विद्यालय, स्वास्थ्य चौकी, सरसफाइ लगायतका आधारभूत पूर्वाधार निर्माण गरिने उल्लेख छ । भुकम्पबाट क्षतिग्रस्त शैक्षिक तथा स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने समेत बजेटमा उल्लेख गरिएको छ । 
http://www.karobardaily.com/news/79220
    

Sunday, May 28, 2017

हजार मेगावाटका चार ठूला आयोजना अघि बढाइँदै

    भीम गौतम   0 + -

फाइल फोटो
काठमाडौँ: विद्युत् उत्पादन कम्पनीले चार ठूला जलविद्युत् आयोजना अघि बढाउने भएको छ । ठूला तथा जलाशययुक्त आयोजना निर्माणका लागि सरकारले गठन गरेको विद्युत् कम्पनीले चार ठूला आयोजना अघि बढाउने भएको हो ।
चार ठूला आयोजना अघि बढाउने गरी २ हजार १ मेगावाटका चार ठूला आयोजना अघि बढाउन कम्पनीले सर्वेक्षण अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा  आवेदन दिइसकेको छ । 
विद्युत् विकास विभागका सूचना अधिकारी बाबुराजा अधिकारीका अनुसार कम्पनीले ६ सय १७ मेगावाटको ठूलो भेरी, ४ सय ५० मेगावाटको किमाथांका अरुण, ३ सय ७ मेगावाटको जगडुल्ला र ६ सय २७ मेगावाटको लोअर अरुण जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र (लाइसेन्स)का लागि निवेदन दिएको छ । 
“विद्युत् उत्पादन कम्पनीले विकास गर्ने गरी चार ठूला आयोजना निर्माणका लागि आवेदन आएको छ,” उनले भने । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तले चार ठूला आयोजना अघि बढाउन विभागमा आवेदन दिइएको जानकारी दिँदै लाइसेन्स पाएपछि आयोजनाको काम अघि बढ्ने बताए । कम्पनीले ६ सय ८८ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजनामा समेत १० प्रतिशत सेयर लगानी गर्न लागेको जनाएको छ ।
गत पुसमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेपछि कम्पनीले बल्ल ठूला आयोजना निर्माणको काम अघि बढाउन लागेको हो । अधिकृत पुँजी २० अर्ब, जारी पुँजी १० अर्ब र चुक्तापुँजी २ अर्ब रहने गरी कम्पनीले जलाशययुक्त र ठूला आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ ।
मन्त्रिपरिषद्बाट हालै १२ सय मेगावाटको बूढीगण्डकी र ४ सय १० मेगावाटको नलसिंहगाढ जलाशययुक्त आयोजनालाई हाल रहेको बूढीगण्डकी विकास समितिलाई खारेज गरेर कम्पनी मोडेलमा लैजाने निर्णय भएको थियो । 
दुवै आयोजना समेत विद्युत् उत्पादनमार्फत अघि बढाउने तयारी भएपनि पछिल्लो समय बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने अर्को निर्णय भएको छ । विद्युत् प्राधिकरणको पुर्नसंरचना गरी उत्पादन, वितरण र प्रसारण निर्माणको काम छुट्टाछुट्टै गर्ने गरी उर्जा मन्त्रालयले प्रक्रिया अघि बढाएकोमा गत मंसिरमा मात्र कम्पनी स्थापना गरेको थियो । 
गत पुसमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेपछि कम्पनीले बल्ल ठूला आयोजना निर्माणको काम अघि बढाउन लागेको हो । अधिकृत पुँजी २० अर्ब, जारी पुँजी १० अर्ब र चुक्तापुँजी २ अर्ब रहने गरी कम्पनीले जलाशययुक्त र ठूला आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ ।
कम्पनीमा ऊर्जा मन्त्रालयसहित अर्थ, कानुन तथा संसदीय मामिला मन्त्रालय, प्राधिकरण, जलविद्युत् लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान, कर्मचारी सञ्चय कोष र नेपाल दूरसञ्चार कम्पनीको सेयर स्वामित्व रहने छ । 
प्रस्तावित आयोजनाको क्षमता (मेगावाटमा)
ठूलो भेरी                 ६१७ 
किमाथांका अरुण      ४५० 
जगडुल्ला                ३०७
तल्लो अरुण             ६२७
स्रोतः विद्युत् विकास विभाग
http://www.karobardaily.com/news/79058

प्राधिकरणलाई नाफामा लैजाने योजनामा अर्थको ‘अवरोध’

    भीम गौतम   0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं: निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने योजना अर्थ मन्त्रालयको असहयोगका कारण सफल नहुने देखिएको छ । घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानेगरी अर्थ मन्त्रालयमा गरेको दोस्रो वित्तीय पुनर्संरचना प्रस्तावमध्ये अधिकांशलाई स्वीकृति नदिएपछि यस्तो अवस्था देखिएको हो । 
आव २०६७/०६८ मा सरकारले विद्युत् प्राधिकरणको २७ अर्ब अपलेखन गरिएपछिको चार वर्षमा मात्र ३७ अर्ब ६० करोड सञ्चित घाटा पुगेको प्राधिकरणले चालू वर्षदेखि नै प्राधिकरणलाई नाफामा लैजानसक्ने भन्दै प्रस्ताव गरेको थियो । तर, अधिकांश प्रस्तावलाई अर्थले स्वीकृत नदिएपछि प्राधिकरणलाई नाफामा लैजान असहज देखिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्थ मन्त्रालयमा पेश गरेका प्रस्तावमध्ये केहीमा सकारात्मक निर्णय गरिएको र यही आधारमा नाफामा लैजान गाह्रो रहेको बताए । “प्रस्तावमध्ये सरकारले दिने ऋणको व्याजदरमा ८ प्रतिशत रहेकोमा पाँच प्रतिशतमा झारिएको छ,” उनले भने, “यसले एक अर्बजति ब्याज घटाउँछ, त्योबाहेक अन्य छलफलकै चरणमा रहेकोले हुनसक्छ, खास निर्णय आएको छैन ।”
तर प्राधिकरणका उच्च अधिकारीहरूले भने २० बुँदा समेटेर प्राधिकरणले तयार गरेको प्रस्तावमध्ये अधिकांशलाई अर्थले स्वीकृति नदिएपछि कार्यकारी निर्देशक कुलमानको प्राधिकरणलाई नाफामा लैजाने योजना सफल हुन कठिन देखिएको छ ।
“पाँच वर्षभित्र घाटामा रहेको विद्युत् प्राधिकरणलाई नाफामा लैजाने योजनासहितको प्रस्ताव थियो तर अर्थ मन्त्रालय यो योजनामा अवरोध बन्यो, अधिकांशलाई स्वीकृति दिएन,” उनले भने । अर्थसचिव शान्तराज सुवेदीले भने प्राधिकरणले गरेको प्रस्ताव स्वीकृत गरेर उर्जा मन्त्रालय पठाएको जानकारी दिए ।
“प्राधिकरणले दिएको प्रस्ताव स्वीकृत गरेर पठाएका छौ, अर्थले विद्युत् प्राधिकरणको काममा अवरोध गर्ने र पैसा नदिने कुरा हुँदैन,” उनले भने, “त्यस्तो हुन दिएका छैनौं, सहयोग नै गरेका छौं ।”
मन्त्रालयले हाल ५० अर्ब सेयर पुँजी रहेको विद्युत् प्राधिकरणलाई १ खर्ब २५ अर्ब रुपैयाँ पु¥याउने, महाकाली सम्झौताअनुसार भारतले नेपाललाई वार्षिक रुपमा दिने ७ करोड युनिट बराबरको विद्युत् सरकारसँग ५.४१ पैसामा खरिद गरेकोमा यसबाापत प्राधिकरणले भुक्तानी दिन बाँकी ३ अर्बलाई सेयर पुँजीमा परिणत गर्न स्वीकृति दिएको छ ।
ब्याजदर पाँच प्रतिशतमा झार्नेसहित यी स्वीकृत प्रस्ताव मंगलबारको मन्त्रिपरिषद्ले पारित समेत गरिसकेको छ । प्राधिकरणले हालसम्मको ३७ अर्ब घाटा अपलेखन गर्न र भारतबाट विद्युत् खरिदमा भएको नोक्सानीको शोधभर्ना गर्न प्रस्ताव गरेको थियो तर अर्थले स्वीकृति दिएन ।
अघिल्लो वर्षको भदौमा मन्त्री परिषद्द्वारा पारित उर्जा संकटकाल कार्ययोजनामा समेत विद्युत् खरिद गर्द भएको मूल्यान्तर शोधभर्ना गरिने उल्लेख छ । प्राधिकरणका अनुसार, गत वर्ष र हालसम्म गरी ५ अर्ब सरकारले शोधभर्ना गर्न बाँकी छ । 
http://www.karobardaily.com/news/78960

Wednesday, May 24, 2017

बूढीगण्डकी चिनियाँ कम्पनीलाई

    भीम गौतम   0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौः सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलाशयुक्त जलविद्युत्् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ ।
स्वदेशी लगानीमै निर्माण गर्न गत वर्षदेखि पुँजी समेत जुटाइँदै आएका बेला सरकारले आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको हो ।मंगलबारको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको हो । 
मन्त्रिपरिषद्ले यसका लागि समझदारी गर्नका लागि स्वीकृत समेत दिएको छ । स्वीकृतिपछि ऊर्जा मन्त्रालयले चिनियाँ कम्पनीसँग थप छलफल गरेर सम्झौता गर्नेछ । एक महिनाअघि मन्त्रिपरिषद्ले विकास समितिमार्फत अघि बढाएको बूढीगण्डकीलाई कम्पनी मोडेलमा अघि बढाउने निर्णय गरे पनि अहिले चिनियाँ कम्पनीलाई जिम्मा लगाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा त्यहाँको सरकारले बूढीगण्डकी गेजुवालाई दिन अनुरोध गरेको थियो भने गेजुवाले गत साउनमा ऊर्जा मन्त्रालयमा आशयपत्र पेश गरेको थियो ।
इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्नेगरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरिएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए ।
उनका अनुसार बूढीगण्डकी निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) ले पाएको छ । गेजुवा विद्युत्् प्राधिकरणद्वारा निर्माणाधीन ६० मेगावाटको त्रिशुली ३ ए र ३० मेगावाटको चमेलिया जलविद्युत्् आयोजनाको ठेकेदार कम्पनी पनि हो ।
त्रिशुली ३ ए को क्षमता ६० मेगावाटबाट बढाएर ९० मेगावाट बढाउने प्रयासको क्रममा यो कम्पनी विवादमा तानिएको थियो ।  नेपालमा पहिलोपटक इपीसीएफ मोडेलमा जलविद्युत् आयोजना निर्माणको जिम्मा दिन लागिएको छ ।
इपीसीएफ मोडल आफैंले लगानी जुटाउनेदेखि इन्जिनियरिङ, खरिद, निर्माण र लगानीको जिम्मा दिनेगरी बनाउने मोडल हो । आयोजना निर्माणपछि यसको आयबाट नै गेजुवालाई नेपाल सरकारले ऋण तिर्ने ऊर्जा मन्त्रालयले जनाएको छ । 
ऐलानी र गुठीका जग्गालाई समेत मुआब्जा
मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलाशययुक्त आयोजना प्रभावित क्षेत्रको ऐलानी र गुठीको जग्गामा बसोबास गर्ने प्रभावितहरूलाई मुआब्जा दिनका लागि स्वीकृति दिएको छ ।
अन्य क्षेत्रमा जग्गा नभइ पुस्तौंदेखि ऐलानी र गुठीको जग्गामा प्रभावित क्षेत्रमा बसोबास गर्नेहरूलाई मन्त्रिपरिषद्ले मुआब्जा दिनका लागि स्वीकृति दिएको हो । ऊर्जामन्त्री शर्माले ऐलानी र गुठीको जग्गामा बस्नेहरूलाई समेत मुआब्जा दिनका लागि मन्त्रिपरिषदले निर्णय गरेको जानकारी दिए ।
मन्त्रिपरिषद्को स्वीकृतिपछि अब बूढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाईले प्रभावित क्षेत्रका गुठी र ऐलानी जग्गामा बस्नेहरूको लागि मुआब्जाका लागि आह्वान गरिने र आवेदनको आधारमा मुआब्जा वितरण गरिने जानकारी दिए । 
प्राधिकरणको पुँजी बढ्यो, ब्याजदर घट्यो
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको पुँजी वृद्धि गर्नुका साथ सरकारले दिने ऋणको व्याददर घटाउने निर्णय गरेको छ । प्राधिकरणको अधिकृत पुँजी ५० अर्ब रूपैयाँ रहेकोमा बढाएर १ खर्ब २५ अर्ब निर्णय मन्त्रिपरिषदले गरेको हो ।
प्राधिकरणले अर्थ मन्त्रालयमा पेश गरेको दोस्रो आर्थिक पुनःसंरचनाको प्रस्तावमध्ये केही बुँदामा स्वीकृति दिएपछि उर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।
त्यसैगरी सरकारबाट प्राप्त हुने ऋणको ब्याजदर ८ प्रतिशत रहेकोमा ५ प्रतिशतमा कायम गर्ने निर्णय पनि गरेको छ । हाल यस्तो सरकारको ऋण २९ अर्ब ८२ करोड छ । ब्याजदर घटेपछि वार्षिक प्राधिकरणलाई एक अर्बभन्दा बढी घाटा कम हुनेछ । 
http://www.karobardaily.com/news/78825

कर्मचारी सञ्चय कोषले ६८० मेगावाटको कर्णाली जलविद्युत् बनाउँदै

फाइल फोटो

कर्णाली जलविद्युत् बनाउन ८० अर्ब लाग्ने

काठमाडौँ: सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । 
ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई आज सो आयोजना अगाडि बढाउने अनुमति प्रदान गरेको हो । 
ऊर्जा मन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कोषका प्रशासक कृष्णप्रसाद आचार्यलाई ‘बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड’ को विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्रदान गरेका हुन् । 
सुर्खेत जिल्लाको विद्यापुर, बेतान, छाप्रे, गुटु र विजौरा गाविस तथा सेती अञ्चल अछाम जिल्लाको ढुङ्गा चाल्ना, नारायणपुर, तुर्माखाड, गाविस एवम् कैलाली जिल्लाको सुगरखालमा अवस्थित रहनेगरी कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना अगाडि बढाउने गरी अनुमति दिइएको हो । 
पहिलो दुई वर्ष सर्वेक्षणको काम सम्पन्न गर्ने र पाँच वर्षभित्र निर्माण सुरु गर्ने तयारी गरिएको छ । नेपाल सरकारको लगानीमा हालसम्म अगाडि बढिरहेका माथिल्लो तामाकोसी जलविद्युत् आयोजनापछि कोषले अगाडि बढाउन लागेको यो आयोजना नै सबैभन्दा ठूलो आयोजना हो । 
प्रविधिसमेत नेपालकै प्रयोग गरी नेपाली लगानीमा नै अगाडि बढाउन लागिएको आयोजनामा निजामती नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका करिब छ लाख सञ्चयकर्तालाई नै लगानी गर्ने अवसर प्रदान गरिनेछ । 
कोषले वार्षिक मुनाफाबाट सञ्चयकर्तालाई प्रदान गर्ने मुनाफा नदिइ जलविद्युत् आयोजनामा नै लगानी गर्ने योजनाअनुसार बेतन कणाली सञ्चयकर्ता जलविद्युत् आयोजना अगाडि बढाउन लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ । 
आर्थिक वर्ष २०७२-७३ मा कोषले कमाएको एक अर्ब ६० करोडमध्ये पहिलो चरणमा एक अर्ब २९ करोड रकम सो आयोजनामा लगानी गरिनेछ । आयोजनाको औसत लागत ८० अर्ब हुनेछ । कोषले सञ्चयकर्तालाई मुनाफा प्रदान नगरी जलविद्युत् आयोजना लगानी गर्ने सोचअनुसार नै प्रक्रिया अगाडि बढाइएको प्रशासक आचार्यको भनाइ छ । 
आयोजनामा कोषमा सञ्चयकर्तालाई कुल लगानीको ४० प्रतिशत सेयर दिइनेछ भने कोष आफैँले १५ प्रतिशत सेयर राख्नेछ । नेपाल विद्युत् प्राधिकरणलाई १५ प्रतिशत, जलविद्युत् उत्पादन कम्पनीलाई १० प्रतिशत, स्थानीयवासीलाई १० र आम नागरिकलाई १५ प्रतिशत सेयर दिने गरी कम्पनीको सेयर संरचना तयार गरिएको छ । 
पहिलो चरणमा २० अर्ब अधिकृत पुँजी राखेर कोषले आयोजना अगाडि बढाउनेछ । कुल १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनालाई सहयोग पुग्नेगरी आयोजना अगाडि बढाउने ऊर्जाको तयारी छ । प्रारम्भिक रुपमा अध्ययन भइसकेको आयोजनाको प्राविधिक तथा अन्य काम सँगसँगै अगाडि बढाइने भएको छ । 
आर्थिक वर्ष २०७२-७३ मा कोषले कमाएको एक अर्ब ६० करोडमध्ये पहिलो चरणमा एक अर्ब २९ करोड रकम सो आयोजनामा लगानी गरिनेछ । आयोजनाको औसत लागत ८० अर्ब हुनेछ । कोषले सञ्चयकर्तालाई मुनाफा प्रदान नगरी जलविद्युत् आयोजना लगानी गर्ने सोचअनुसार नै प्रक्रिया अगाडि बढाइएको प्रशासक आचार्यको भनाइ छ । 
कोषसँग हाल दुई खर्ब ५० अर्ब रकम रहेको छ । ऊर्जामन्त्री शर्माले नेपाली स्रोत र साधनमा नै अगाडि बढाउन लागिएको आयोजनाको काम तत्काल सुरु गर्न आग्रह गर्दै थप सहजीकरण गर्न मन्त्रालयका कर्मचारीलाई आवश्यक निर्देशन दिए । 
ऊर्जा सचिव उपाध्यायले माथिल्लो तामाकोसीपछि नेपाली स्रोत र साधनमा अगाडि बढाउन लागिएको आयोजना नै यो पहिलो भएको भन्दै सबै प्रकारको सहयोग उपलब्ध गराइने बताएका छन् । 
कोषका प्रशासक आचार्यले नेपालको जलविद्युत् क्षेत्रमा नौलो आयाम थप्ने लक्ष्यका साथ जलविद्युत् आयोजना निर्माणमा आफूहरुले हाल हाल्न लागेको बताए । 
विसं १९९१ बाट सुरु भएको सञ्चय कोष व्यवस्था विसं २०१९ मा कर्मचारी सञ्चय कोषका रूपमा अलग्गै ऐनद्वारा स्थापित हुँदा तत्कालीन सैनिक द्रव्य कोषबाट ३७ लाख कोष प्राप्त गरेको थियो । 
आर्थिक वर्ष २०६४-६५ मा कोष, नेपाल विद्युत् प्राधिकरण र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबीच समझदारी भई ४५६ मेगावाट विद्युत् उत्पादनका लागि कोषले रु १० अर्ब कर्जा प्रवाह गर्ने निर्णय भयो । यसअनुरूप आर्थिक वर्ष २०६८-६९ देखि कर्जा प्रवाह भइरहेको छ । 
यस जलविद्युत् आयोजनामा कोषले आफ्ना सञ्चयकर्ताका लागि १७ दशमलव २८ प्रतिशत सेयर सुनिश्चित गरी करिब एक अर्ब ८३ करोड रकम सञ्चयकर्ताबाट उठाई परियोजनामा लगानी गरेको छ ।
http://www.karobardaily.com/news/78677

Monday, May 22, 2017

आर्थिक पुनर्संरचना नभए प्राधिकरणलाई साढे १८ अर्ब घाटा

     भीम गौतम    0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौः नेपाल विद्युत् प्राधिकरणको समयमै आर्थिक पुनर्संरचना नगरिए आगामी पाँच वर्षमा साढे १८ अर्ब घाटा हुने प्रक्षेपण गरिएको छ ।
प्राधिकरणले आफ्नो वित्तीय पुनर्संरचना गरी घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान अर्थ मन्त्रालयमा पेश गरेको दोस्रो वित्तीय पुनर्संरचना प्रस्ताव अघि नबढे १८ अर्ब ६४ करोड घाटा पुग्ने प्रक्षेपण गरिएको हो । पुनर्संरचना गर्ने हो भने घाटामा जाने विद्युत् प्राधिकरणलाई पाँच वर्षमै ७ अर्ब ६० करोड रुपैयाँ बराबर नाफामा लैजान सकिने उल्लेख छ । 
आर्थिक वर्ष २०६७/०६८ मा सरकारले विद्युत् प्राधिकरणको २७ अर्ब नोक्सानी अपलेखन गरेकोमा त्यसपछिको चार वर्षमा मात्र ३७ अर्ब ६० करोड सञ्चिती घाटा पुगिसकेको छ ।   
आगामी पाँच वर्षभित्र २ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँबराबर लगानी गर्ने योजना बनाएको प्राधिकरणले प्रस्ताव अघि बढ्न नसके पाँच वर्षभित्र ७ अर्ब ६४ करोड नाफामा पुग्ने उल्लेख छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नाफामा लैजाने गरी अर्थ मन्त्रालयमा पेश गरिएको जानकारी दिए ।
प्राधिकरणले आर्थिक वर्ष २०७३/०७४ देखि २०७७/०७८ सम्म घाटा नै घाटा र पुनर्संरचना प्रस्ताव अघि बढेमा सुरुकै वर्षदेखि नाफामा जाने उल्लेख छ ।
गत असोजमै अर्थ मन्त्रालयमा आर्थिक प्रस्ताव पेश गरेकोमा हालै मन्त्रालयले यसको पुनरावलोकन गर्न एक महिनाअघि मात्र अर्थ मन्त्रालय समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेको छ । महाशाखा प्रमुख गणेशदत्त पाण्डेले भने प्राधिकरणले पेश गरेको प्रस्तावबारे छलफल अघि बढेको र अन्तिम चरणमा पुगेको बताएका छन् । 
पुनर्संरचना नगरिए प्रस्तावमा आर्थिक वर्ष २०७३/०७४ मा प्राधिकरणको घाटा ७ अर्ब ९७ करोड हुने उल्लेख छ । त्यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा ६ अर्ब २ करोड, २०७५/०७६ मा २९ करोड, २०७६/०७७ मा १ अर्ब ६६  करोड र २०७७/०७८ मा पनि २ अर्ब ६९ करोड लगानी घाटा पुग्ने उल्लेख छ ।
आर्थिक पुनर्संरचना प्रस्ताव पारित भएमा भने चालू वर्षमै १ अर्ब ७ करोड नाफा हुने प्रस्तावमा उल्लेख छ । प्रस्तावका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब ५८ करोड, २०७५/०७६ मा ३ अर्ब १४ करोड, २०७६/०७७ मा १ अर्ब ३५  करोड र २०७७/०७८ मा पनि ५० करोड नाफा हुनेछ । 
प्राधिकरणले जलविद्युत् उत्पादन, वितरण, प्रसारण, सहायक कम्पनी र संयुक्त कम्पनी तथा पुँजीगत गरी २ खर्ब ११ करोड लगानी गर्न सकेमा नाफामा लैजान सकिने उल्लेख छ । पुनर्संरचना भएमा चालू वर्षमा ९ अर्ब ४ करोड फाइदा हुनसक्ने उल्लेख गरे पनि काम भने अघि बढेको छैन ।
पुनर्संरचनाबाट आगामी २०७४/०७५ मा ७ अर्ब ६० करोडका साथै तीनवटै वर्षमा २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ मा ४ अर्ब ७८ करोड १० लाख रुपैयाँ समायोजन गरेर नाफामा लैजान सकिने प्राधिकरणको दाबी छ ।   
http://www.karobardaily.com/news/78505
 

जोखिमयुक्त बस्तीका भूकम्प प्रभावितलाई एकीकृत बस्ती

     कारोबार संवाददाता   0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त भूकम्प अतिप्रभावित ५ जिल्लाका प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न एकीकृत वस्ती विकासको प्रक्रिया सुरु गरेको छ ।
एकीकृत बस्ती विकास लागि सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयार गर्न तथा पूर्वाधार निर्माण कार्यका लागि अन्य संघसंस्था÷निकायको सहयोग लिई बस्ती विकास गर्ने कार्यक्रम अघि बढाउने प्राधिकरणको निर्णयसँगै एकीकृत बस्ती विकासको प्रक्रिया अघि बढेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको प्राधिकरणको ६४आंै कार्यकारी समितिको बैठकले प्राधिकरण र भूगर्वविद्सहितको टोलीले जोखिमयुक्त भनी पहिचान गरेका गोरखाको केरांैजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्डे, नुवाकोटको उर्लेनी र दोलखाको बेसीम्पामा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । 
जोखिमयुक्त बस्ती रहेको जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको समितिले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि सुरक्षित जग्गाको छनोट गर्ने प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।
“सुरक्षित स्थानमा सर्न चाहने प्रभावितसँग परामर्श गरी समितिले एकीकृत बस्ती विकासका लागि उपयुक्त जग्गा छनोट गर्ने र त्यस्तो जग्गामा पूर्वाधार निर्माणका लागि सरकारले आवश्यक प्रबन्ध मिलाउँछ,” उनले भने ।
एकीकृत बस्ती विकासका लागि सडक, खानेपानी, विद्युतीकरण, नदी नियन्त्रण, जग्गा प्राप्तिजस्ता पूर्वाधार निर्माणको विषयलाई समेत सरकारी तवरबाट सम्बोधन गर्ने गरी अघि बढ्छौं,” उनले भने, “उक्त कार्यका लागि अन्य संघ–संस्था वा निकायको पनि सहयोग लिई दोहोरो नपर्ने गरी एकीकृत बस्ती विकास गर्ने कार्यक्रम अघि बढाउने निर्णय भएको हो ।” 
प्राधिकरणले जोखिमयुक्त भनी हालसम्म पहिचान भएका ११२ स्थानमध्ये पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा अतिप्रभावित ५ जिल्लाका बस्तीलाई स्थानान्तरण गर्ने प्रक्रिया थालिएको जनाएको छ । 
http://www.karobardaily.com/news/78690

Wednesday, May 17, 2017

चीनले ऋण नथप्दा त्रिशुली ३ ए अन्योलमा

     भीम गौतम   0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौंः चीनको आयात–निर्यात (एक्जिम) बैंकले निर्माणाधीन माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको ऋण अवधि नथप्दा आयोजना निर्माणमा अन्योल बढेको छ ।  
नेपाल विद्युत् प्राधिकरणले एक्जिम बंैकको सहयोगमा निर्माण गरिरहेको ६० मेगावाटको यो आयोजनाका लागि ऋणको अवधि नाघ्दा आयोजना निर्माणमा अन्योल बढेको हो ।
झण्डै एक वर्षअघि (जुन २०१६) एक्जिम बैकको ऋण अवधि सकिएको थियो । ऋण अवधि सकिनुअघि नै नेपाल विद्युत् प्राधिकरणले ऊर्जा र अर्थ मन्त्रालयलय हुँदै ऋणको म्याद थप्नका लागि अनुरोध गरेको थियो । तर, एक्जिम बैंकले अझै थपेको भने छैन ।
“ऋणको अवधि विस्तार नगर्दा आयोजना निर्माणमा अन्योलता बढेको छ,” आयोजना प्रमुख फणिन्द्र जोशीले भने, “यसकै कारणले ठेकेदार कम्पनीहरूलाई समयमै भुक्तानी दिन नसक्दा आयोजना निर्माण सुस्त रूपमा अघि बढेको छ ।” 
भूकम्प लगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको भन्दै विद्युत् प्राधिकरणले ऋणको अवधि समेत थप्नका लागि अनुरोध गरेको छ । अर्थ मन्त्रालयले एक्जिम बैंकलाई पाँच वर्षका लागि म्याद थप्न अनुरोध गरेको छ ।
तर, अर्थ मन्त्रालयले पटकपटक यसबारे प्रत्रिया अघि बढाएर चिनियाँ पक्षलाई आग्रह गर्दा पनि म्याद थप नभएपछि समस्या भएको छ । समयमै भुक्तानी गर्न नसक्दा चिनियाँ ठेकेदार कम्पनी सीडब्ल्यूले निर्माण गरिरहेको प्रसारण लाइनको काम सुस्त गतिमा अघि बढेको छ ।
आयोजनाका अनुसार, करिब १५ करोड रूपैयाँ ठेकेदार कम्पनीलाई दिन बाँकी छ । काठमाडौसँग जोड्ने ४५ किलोमिटर लामो प्रसाारण लाइनका लागि आवश्यक सामान र उपकरणहरू ल्याउनका लागि भन्दै ठेकेदार कम्पनीले पटकपटक भुक्तानी मागे पनि आयोजनाले दिन सकेको छैन भने सिभिलतर्फको ठेकेदार कम्पनीले आयोजनाको निर्माण कार्यमा सुस्तता ल्याएको छ ।
प्राधिकरणले सिभिल ठेकेदारको म्याद २० अप्रिल २०१९ सम्म थपिसकेको छ । आयोजना प्रमुख जोशी छिट्टै बर्षा सुरु हुने र वर्षाअघि नै आयोजना अघि बढाउनका लागि क्याम्पको निर्माण गरिसक्नुपर्ने, सिमेन्ट र छड वर्षालाई समेत पुग्नेगरी ल्याउनुपर्ने भए पनि भुक्तानी गर्न नसक्दा समस्या परेको बताउँछन् ।
“आयोजनाको निर्माण कार्यले नै सुस्तता लिन थालेको छ, चाँडै लगानीको व्यवस्था भएन भने आयोजनाको सम्पन्न गर्ने विधि अझै ढिलाइ हुनेछ,” उनले भने । पटकपटक म्याद थप्दै आएको आयोजनाले अप्रिल २०१९ भित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । 
७ सय ९४ आरएमबी अर्थात करिब साढे १२ अर्ब लगानीको प्रतिवद्धता गरेको एक्जिम बैकले आयोजना र प्रसाारण लाइनका लागि करिब ५० प्रतिशत ऋण दिईसकेको छ भने ५० प्रतिशत अझै लगानी गर्न बाँकी छ ।
भूकम्पले आयोजनाको पहुँच सडकका साथै बाँधमा ठुलो क्षति पु-याएपछि आयोजनाको काम झण्डै डेढ बर्ष ढिला भएको थियो ।  आयोजनाको प्रवेशमार्ग खुलाउन र बाँधको दायाँ र बाँया दुवैतर्फको ठूलो पहिरो व्यवस्थापनको जिम्मा सरकारले नेपाली सेनलााई दिएको थियो । 
२०७३ असार १५ गतेसम्म अर्थात २०१६ को जुन ३० सम्म सम्पन्न हुनेगरी आयोजनाको दोस्रो पटक म्याद थपिएकोमा फेरि तेस्रोपटक थपिएको छ तर फेरि आयोजनाको काममा सुस्त भएको आयोजनाका अधिकारीहरू नै बताउँछन् ।
 चीनको आर्थिक सहयोगमा तथा सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चिनियाँ कम्पनीनै संलग्न भएपनि चीनको एक्जिम बैकले अर्थ मन्त्रालयले गरेको अनुरोधलाई बेवास्ता गर्दै म्याद नथपेपछि आयोजना निर्माणमा समस्या थपिएको हो ।
सन् २०११ मा ३५ महिनामा काम सम्पन्न गर्ने गरी चाइना गेजुवासँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्र्याक्ट (ईपीसी) प्रारूपमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
पछि २६ महिना म्याद थपेर ०७३ असार १५ मा सम्पन्न गर्ने म्याद थपिएको थियो । नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
http://www.karobardaily.com/news/78340

Tuesday, May 16, 2017

चमेलिया संरचनाहरूको परीक्षणअघि बढ्यो

    भीम गौतम    + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माण भइरहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले निर्माण सम्पन्न गरिएका संरचनाहरूको परीक्षण अघि बढाएको छ । 
दार्चुलामा निर्माण भइरहेको चमेलिया जलविद्युत् आयोजनाले बल्ल निर्माण सम्पन्न संरचनाहरूको परीक्षण अघि बढाएको हो । २०६४ सालमा निर्माण सुरु गरेर २०६८ सालमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाको संरचनाहरू परीक्षण सुरु भएसँगै चमेलिया जलविद्युत् आयोजना सम्पन्न हुने अन्तिम अवस्थामा पुगेको देखिएको छ ।
आयोजनाको बाँधको संरचनाहरूको परीक्षण सकिसकेको आयोजनाले हाल डिसेन्डिङ वेसिन (बालुव थिग्राउने पोखरी)को परीक्षण गरिरहेको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए ।
 “रेडियल गेट, इन्टेक, स्टक प्लगलगायतको परीक्षण सकेर अहिले डिसेन्डिङ मेसिनको परीक्षण गरिरहेका छौ ।” उनले भने, “बाँध परीक्षणको क्रममा चुहावट नदेखिएपछि अन्य संरचनाको परीक्षण अघि बढाएका छौ ।” उनका अनुसार, “बाँधमा बिहान र बेलुका ३÷३ घण्टा पिक लोड दिन सक्ने ६ लाख १० हजार लिटर पानी जलाशय गर्न सक्ने क्षमता छ ।”
बाँध परीक्षण सफल भएसँगै आयोजनाले आगामी २१ मे अर्थात् ६ जेठदेखि ड्राई परीक्षणसमेत गर्न लागेको छ । १ जेठदेखि सुरु गर्ने लक्ष्य राखे पनि कोरियन प्राविधिकहरू आउन ढिला भएपछि ५ दिन सारिएको प्रमुख दाहालले जानकारी दिए ।
ड्राई टेस्टको क्रममा निर्माण पूरा भएका सबै उपकरणहरू ठीक अवस्थामा भए नभएकोबारे परीक्षण हुनेछन् । “आगामी सेक्टेम्बरमा वेट परीक्षण सकेपछि आगामी डिसेम्बरदेखि निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ, सुरुङ परीक्षण पनि सफल भएपछि उत्पादनको लागि तयार छ भन्ने संकेत हो,” उनले भने । 
आयोजनाका अनुसार, ४.०६ किमि लामो सुरुङ खन्नका लागि तीन वटा अडिट टनेल निर्माण गरिएकोमा अडिट नम्बर १ लाई बन्द गर्ने कार्य भइरहेको छ भने अडिट नम्बर २ को कामअघि बढ्न लागेको छ । अहिले अडिट नम्बर ३ मा रक ट्रयाक गर्ने कार्यअघि बढेको आयोजनाले जनाएको छ । प्रमुख दाहालका अनुसार, हालसम्म आयोजनाको ९८.५ प्रतिशत काम पूरा भइसकेको छ । 
आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले निर्माण गरिरहेको आयोजनाको सुरुको लागत ८ अर्ब ५४ लाख रहेकोमा बढेर १५ अर्ब पुगिसकेको छ ।
टनेलमा स्वीजिङ (साँघुरिने) समस्या आएपछि यसमा आएको भेरियसनबारे ससदको सार्वजनिक लेखा समितिले अनियमितता भएको भदै काम रोक्न निर्देशन दिएपछि झण्डै एक वर्षभन्दा बढी निर्माण कार्य रोकिएको थियो । 
http://www.karobardaily.com/news/78286

Friday, May 12, 2017

प्राधिकरणका कम्पनीमा सञ्चालक चयन

     कारोबार    0 + -


फाइल फोटो
काठमाडौँ:  नेपाल विद्युत् प्राधिकरणले कम्पनी मोडेलमा अघि बढाउन लागेका ८ ठूला जलविद्युत् आयोजनासहित १० कम्पनीमा सञ्चालक चयन गरेको छ । प्राधिकरणले सहायक कम्पनीको रुपमा गठन गरेका ती १० कम्पनीका लागि २-२ सञ्चालक सदस्यहरू तोकेको हो । 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको तर्फबाट सञ्चालक समिति तोकिएसँगै कम्पनीको काम अघि बढाउनका लागि बाटो खुलेको छ । 
यसअघि सर्वसाधारणको समेत सेयर रहने गरी प्राधिकरणले सहायक कम्पनीको रुपमा चिलिमे जलविद्युत् कम्पनी बनाएर आयोजना निर्माण गरिसकेको छ ।
माथिल्लो तामाकोसी आयोजना निर्माणको चरणमा रहेको बेला २ हजार ६४ मेगावाटका आठ जलविद्युत्् आयोजना कम्पनी मोडेलमा अघि बढाउने गरी प्राधिकरणले ती आयोजनाहरू तथा विद्युत् व्यापार कम्पनी र इन्जिनियरिङ  परामर्शदाताका लागि छुट्टाछुट्टै कम्पनी स्थापना गरेको छ । सबै कम्पनीको अध्यक्षमा प्राधिकरणका कार्यकारी निर्देशक रहने व्यवस्था गरिएको छ । 
प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारीले सबै कम्पनीमा प्राधिकरणको तर्फबाट २-२ सञ्चालक चयन गरिएको र बैठकले प्रबन्ध सञ्चालक (एमडी) नियुक्ति गरेर यसको संगठन निर्माणदेखि सञ्चालनका लागि आवश्यक सबै कार्य अघि बढाउने बताए । 
सबै कम्पनीमा जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादन कम्पनी लगायतबाट समेत १-१ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । 
जलविद्युत् कम्पनीहरूमा ३-३ तथा अन्य दुई कम्पनीमा ५-५ जना सञ्चालक सदस्य रहने व्यवस्था गरिएको छ । सबै कम्पनीमा सञ्चालक र प्रबन्धक सञ्चालक तोकिने सबै कर्मचारीको हालको विद्युत् प्राधिकरणमा रहेको जिम्मेवारी कायमै रहने प्राधिकरणले जनाएको छ ।
विद्युत् व्यापार (पावर ट्रेडिङ)मा जगदीश्वरमान सिंह र प्रवक्ता अधिकारी तथा इन्जिनियरिङ कम्पनीमा मोहनरत्न शाक्य र हितेन्द्रदेव शाक्यलाई सञ्चालक सदस्य तोकिएको छ । दुवै कम्पनीको बिहीबार बसेको बैठकले विद्युत् व्यापारको प्रबन्धक सञ्चालक (एमडी) मा अधिकारी र इन्जिनियरिङको एमडीमा हितेन्द्रदेवलाई चयन गरेको छ । 
माथिल्लो अरुण अघि बढाउन गठित अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी प्रसारण निर्देशनालयका राजीव शर्मा र विश्वध्वज जोशी तथा तामाकोशी पाँचौ कम्पनीमा मनोज सिलवाल र ज्ञानेन्द्रमान जोशीलाई सञ्चालक सदस्य तोकिएको छ ।  
दूधकोसीमा मोहनरत्न शाक्य र काँशेन्द्र यादव तथा मोदीमा सञ्जीवमान राजभण्डारी र सागरराज सिंह सुवाललाई सञ्चालक सदस्य तोकिएको छ । राहुघाटको रघुगंगा कम्पनीमा हरराज न्यौपाने र मणिकुमार काफ्ले उत्तरगंगामा जगदीश्वरमान सिंह र शिवबालक गिरी सञ्चालक भएका छन् । 
तमोर कम्पनीमा सुनिलकुमार ढुंगेल र गोपालकुमार लोहिया तथा आँधीखोलामा अनिल राजभण्डारी र पूर्णसुन्दर धौवडेललाई सञ्चालक सदस्य तोकिएको छ । 
व्यापार र इन्जिनियरिङबाहेकका अधिकांश कम्पनीमा समेत प्रबन्धक सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) तोकेर आयोजना निर्माणको कामलाई गति दिने प्राधिकरणले जनाएको छ । 
http://www.karobardaily.com/news/78001

Wednesday, May 10, 2017

जलाशययुक्त बूढीगण्डकीलाई साढे ६ अर्ब मात्रै

     भीम गौतम    0 + -

समाचार प्रतिनिधि तस्बिर
काठमाडौँ: मुलुकको ऊर्जा व्यवस्थापनका लागि निकै महत्वपूर्ण मानिएको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा न्यून बजेट प्रस्ताव गरेको छ । १२ सय मेगावाटको बूढीगण्डकी आयोजनालाई सरकारले साढे ६ अर्ब रुपैयाँ मात्रै बजेट प्रस्ताव गरेको छ । 
वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापनाका लागि मात्र ५८ अर्ब रुपैयाँ लाग्ने आयोजनाका लागि अर्थ मन्त्रालयले दिएको सिलिङको आधारमा ऊर्जा मन्त्रालयले आगामी वर्षका लागि जम्मा ६ अर्ब ५ करोड रुपैयाँ बराबरको सिलिङ दिएको हो । करिब ४२ अर्ब मुआब्जा वितरणका लागि मात्र लाग्नेमा चालू वर्षमा सरकारले ५ अर्ब रुपैयाँ छुट्याएको छ  । 
आगामी वर्षमा मुआब्जा वितरण गरिसक्ने, पुर्नबास तथा पुर्नस्थापनाको काम अघि बढाउने तथा प्रभावित क्षेत्रमा रिङरोडको योजना अघि बढाउने लक्ष्य राखिएको छ । 
बूढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना एकाइका संयोजक कृष्णबहादुर कार्कीका अनुसार आगामी आवभित्र प्रभावितलाई मुआब्जा वितरण गरिसक्ने, पुनर्वास तथा पुनस्र्थापनाको काम अघि बढाउने तथा हाल सर्भे भइरहेको क्षेत्र वरिपरि २ सय ५० किलोमिटर लामो रिङरोड निर्माण थाल्ने लक्ष्य छ । “परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यसका लागि झण्डै ५८ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ, अहिले सिलिङ साढे ६ अर्ब मात्रै छ,” उनले भने ।  
सरकारले भने राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनामा बजेटको अभाव हुन नदिने दावी गरेको छ । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले बूढीगण्डकी निर्माणमा कुनै समस्या नहुने बताए । 
वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापनाका लागि मात्र चालू वर्ष ५८ अर्ब रुपैयाँ लाग्ने आयोजनाका लागि ऊर्जा मन्त्रालयले जम्मा ६ अर्ब ५ करोड रुपैयाँको सिलिङ पाएको छ । 
“अहिले बजेट सिलिङ कम भए पनि बूढीगण्डकी अघि बढाउन कुनै समस्या हुँदैन,” उनले भने, “अर्थ मन्त्रालयले बजेट दिन्छ, यसमा अभाव हुँदैन ।”
आगामी वर्षदेखि नै सरकारले बूढीगण्डकी आयोजनाको निर्माण अघि बढाउने लक्ष्य राखे पनि मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापनाको काम सम्पन्न नगरी अघि बढाउन कठिन छ । 
“मुआब्जालाई मात्र ३७ अर्ब चाहिएको छ, पुनर्वास तथा पुनस्र्थापना, रिङरोड बनाउनका लागि अर्को २०-२१ आवश्यक छ, तर बजेटको सिलिङले आगामी वर्षदेखि बूढीगण्डकी निर्माण अघि बढाउने पक्षमा सरकार छैन भन्ने देखिएको छ,” आयोजना स्रोतले भन्यो, “अहिलेको सिलिङको आधारमा आगामी योजनाहरू अघि बढाउन कठिन हुन्छ, अर्थ मन्त्रालयले बारम्बार न्यून बजेट दिने प्रवृत्तिले गर्दा गाह्रो छ ।”
बूढीगण्डकी आयोजनाका अनुसार, आयोजनाबाट ३ हजार ५ सय ६० घरधुरी विस्थापित हुने भएकोले उनीहरूलाई पुनस्र्थापना र पुनर्वास गर्न लागिएको छ । आगामी वर्षदेखि यसका लागि जग्गा अधिग्रहण लगायतका कार्य अघि बढाउन लागिएको छ । आयोजनाले पुनर्वास-पुनस्र्थापनाका लागि ४४ स्थानको अध्ययन गरेकोमा १५ स्थान उपयुक्त हुने देखिए पनि यसबारे स्पष्ट निर्णय भएको छैन । 
त्यसैगरी रिङरोड निर्माणका लागि सर्भेको कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाले गोर्खाको आरुघाट र आरखेत तथा धादिङको खहरेको मुआब्जा निर्धारण गर्न बाँकी रहे पनि गोर्खा र धादिङका प्रभावित क्षेत्रमा मुआब्जा वितरणको कार्य अघि बढाइसकेको छ । 
संयोजक कार्कीका अनुसार दुवै जिलामा ५८ हजार १ सय ५३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ भने यसका लागि ४२ अर्ब मुआब्जा चाहिनेमा चालू वर्षमा ५ अर्ब बजेट बिनियोजन गरेकोमा हालसम्म दुई अर्ब रुपैयाँ बराबरको मुआब्जा वितरण गरिसकिएको छ । 
विकास समितिमार्फत अघि बढेको बूढीगण्डकी जलविद्युत आयोजना कम्पनी मोडेलमा अघि बढाउन मन्त्रिपरिषद्ले हालै स्वीकृति दिएको छ । कम्पनी मोडेलमा अघि बढाउँदा तुलनात्मक रूपमा छिटो आयोजना अघि बढ्ने भए पनि यसको वित्तीय व्यवस्थापनदेखि निर्माणबारे ठोस कार्य भने अघि बढ्न सकेको छैन ।
आफ्नै बिजुलीमा आत्मनिर्भर हुनका लागि ठूला जलाशययुक्त आयोजना बनाउनुपर्ने र यसका लागि बूढीगण्डकीलाई लोडसेन्टरको आधारमा उपयुक्त आयोजनाको रूपमा लिइएको छ ।  
http://www.karobardaily.com/news/77860

Monday, May 8, 2017

भूकम्प प्रभावित सुकुम्बासीलाई जग्गा किन्‍न २ लाख

    भीम गौतम   0 + -

फाइल फोटो

जोखिमयुक्तबस्ती प्रभावितलाई पनि २ लाख

काठमाडौँ: सरकारले भूकम्प प्रभावित सुकुम्बासीलाई जग्गा खरिद गर्नका लागि थप दुई लाख रुपैयाँ दिने प्रक्रिया अघि बढाएको छ । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिले पारित गरी सार्वजनिक क्षेत्रमा बसेका सुकुम्बासीलाई जग्गा खरिद गर्न थप दुई लाख दिने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएसँगै यो प्रक्रिया अघि बढेको हो । 
भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि संशोधन गर्दै प्राधिकरणले आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गामा बसेका तथा जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा सर्न चाहने भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानका लागि थप रकम दिने प्रस्ताव अघि बढाएको थियो । 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल जग्गाविहीन प्रभावितलाई थप रकम दिनेबारे प्रक्रिया अघि बढाएका थिए । 
    
२१ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो संशोधन कार्यविधि २०७४ लाई स्वीकृत गरेपछि अब उनीहरूले सरकारले दिने अनुदान तीन लाखबाहेक थप दुई लाख पाउने प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुसालले जानकारी दिए । 
संशोधनअघिको कार्यविधिमा सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर क्षति भएकोमा त्यस्ता घर पुनर्निर्माण वा प्रवलीकरणका लागि अनुदान नदिने व्यवस्था थियो
भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि संशोधन गर्दै प्राधिकरणले आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गामा बसेका तथा जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा सर्न चाहने भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानका लागि थप रकम दिने प्रस्ताव अघि बढाएको थियो । 
त्यस्तै कार्यविधि पारित भएसँगै ११२ वटा जोखिमयुक्त बस्तीका २७ सय ५१ घरधुरी सुरक्षित स्थानमा सर्न बाटो खुलेको पनि प्रवक्ता भुसालले जानकारी दिए । 
उनीहरूले समेत अनुदानबाहेक थप दुई लाख जग्गा खरिदका लागि पाउनेछन् ।  जोखिमयुक्त बस्तीबाट अन्यत्र सर्न चाहने प्रभावितले सोही जिल्ला वा सिमाना जोडिएको प्रभावित जिल्लाको सुरक्षित स्थान छनोट गर्नुपर्नेछ । 
यस्तै स्वीकृत कार्यविधि अनुसार अनुदान सम्झौता हुनु अगावै घरधनी स्वयंले घर निर्माण गरिसकेको र चेकजाँच गर्दा त्यो भूकम्प प्रतिरोधी भए त्यस्ता लाभग्राहीलाई एकमुष्ठ तीन लाख रुपैयाँ अनुदान पाउने छन् ।  
उक्त कार्यविधिमा २०७२ साल वैशाख १२ गते अगावै सम्बन्धित मालपोत कार्यालयमा अंशबन्डा कागज पारित गरेका घर परिवारलाई छुट्टै घर परिवारमा गणना गरी अनुदान रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ । 
तर अंशबण्डा कागज अड्डाबाट पारित नगरेको भए पनि २०७२ वैशाख १२ गते अगावै मानो छुट्टिई अलग घर बनाई बसेका र केन्द्रीय तथ्याकं विभाद्वारा भूकम्प प्रभावित लगत संकलन कार्यक्रमअन्तर्गत संकलन गरिएको तथ्यांकमा परेको र छुट्टी भिन्न भई अलग अलग घर बनाई बसोबास गरेको अवस्थामा स्थानीय गाउँपालिका वा नपा प्रमुख वा निजले तोकेको कर्मचारीको रोहबरमा हुने सर्जिमनको आधारमा पुष्टि भएमा उनीहरूले पनि अनुदान पाउनेछन् । 
त्यसैगरी प्रवलीकरण गर्नका लागि एक लाख अनुदान गर्ने सम्झौता भए पनि सो क्रममा घर भत्किए वा भत्काउन पर्ने भएमा त्यस्तो घरधनी लाभग्राहीलाई पुनर्निर्माणको वर्गमा राखी तीन लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराइने समेत कार्यविधिले व्यवस्था गरेको छ ।
तर प्रवलीकरण सम्झौता गरी प्रवलीकरण नगरेमा वा भूकम्प प्रतिरोधी प्रविधि अनुरुप नगरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने समेत संशोधित कार्यविधिले व्यवस्था गरेको छ । 
कार्यविधि अनुसार, अब सार्वजनिक जग्गा, सरकारी र वन क्षेत्रबाहेक विभिन्न किसिमका गुठी, विर्ता र गुठी, अधिनस्थ जग्गा, मोही लागेको जग्गा, स्वबासी, वेनिस्सा, गाउँ ब्लक, कोदाली, आँकडा, बिटौरी, उखडासमेतका जग्गामा भई घर क्षति भएका प्रभावितहरूले जग्गाको भोगसम्बन्धी कुनै निस्सा, रसिद वा पुर्जी नभएको अवस्थामा स्थानीय निकायले गरेको सिफारिस र दुई जना संधियारबाट सर्जमिन मुचुल्काको आधारमा अनुदान सम्झौता गर्न सकिने व्यवस्था गरिएको छ । 
प्राधिकरणसँग यस्ता प्रभावित कति छन् भनेर ऐकिन तथ्यांक नभए पनि अब प्रभावित जिल्लाबाट यस्तो समस्या भोगेका प्रभावितका लागि प्रक्रिया अघि बढाइने प्रवक्ता भुसालले जानकारी दिए । 
http://www.karobardaily.com/news/77817