Friday, May 12, 2017

प्राधिकरणका कम्पनीमा सञ्चालक चयन

     कारोबार    0 + -


फाइल फोटो
काठमाडौँ:  नेपाल विद्युत् प्राधिकरणले कम्पनी मोडेलमा अघि बढाउन लागेका ८ ठूला जलविद्युत् आयोजनासहित १० कम्पनीमा सञ्चालक चयन गरेको छ । प्राधिकरणले सहायक कम्पनीको रुपमा गठन गरेका ती १० कम्पनीका लागि २-२ सञ्चालक सदस्यहरू तोकेको हो । 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको तर्फबाट सञ्चालक समिति तोकिएसँगै कम्पनीको काम अघि बढाउनका लागि बाटो खुलेको छ । 
यसअघि सर्वसाधारणको समेत सेयर रहने गरी प्राधिकरणले सहायक कम्पनीको रुपमा चिलिमे जलविद्युत् कम्पनी बनाएर आयोजना निर्माण गरिसकेको छ ।
माथिल्लो तामाकोसी आयोजना निर्माणको चरणमा रहेको बेला २ हजार ६४ मेगावाटका आठ जलविद्युत्् आयोजना कम्पनी मोडेलमा अघि बढाउने गरी प्राधिकरणले ती आयोजनाहरू तथा विद्युत् व्यापार कम्पनी र इन्जिनियरिङ  परामर्शदाताका लागि छुट्टाछुट्टै कम्पनी स्थापना गरेको छ । सबै कम्पनीको अध्यक्षमा प्राधिकरणका कार्यकारी निर्देशक रहने व्यवस्था गरिएको छ । 
प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारीले सबै कम्पनीमा प्राधिकरणको तर्फबाट २-२ सञ्चालक चयन गरिएको र बैठकले प्रबन्ध सञ्चालक (एमडी) नियुक्ति गरेर यसको संगठन निर्माणदेखि सञ्चालनका लागि आवश्यक सबै कार्य अघि बढाउने बताए । 
सबै कम्पनीमा जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादन कम्पनी लगायतबाट समेत १-१ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । 
जलविद्युत् कम्पनीहरूमा ३-३ तथा अन्य दुई कम्पनीमा ५-५ जना सञ्चालक सदस्य रहने व्यवस्था गरिएको छ । सबै कम्पनीमा सञ्चालक र प्रबन्धक सञ्चालक तोकिने सबै कर्मचारीको हालको विद्युत् प्राधिकरणमा रहेको जिम्मेवारी कायमै रहने प्राधिकरणले जनाएको छ ।
विद्युत् व्यापार (पावर ट्रेडिङ)मा जगदीश्वरमान सिंह र प्रवक्ता अधिकारी तथा इन्जिनियरिङ कम्पनीमा मोहनरत्न शाक्य र हितेन्द्रदेव शाक्यलाई सञ्चालक सदस्य तोकिएको छ । दुवै कम्पनीको बिहीबार बसेको बैठकले विद्युत् व्यापारको प्रबन्धक सञ्चालक (एमडी) मा अधिकारी र इन्जिनियरिङको एमडीमा हितेन्द्रदेवलाई चयन गरेको छ । 
माथिल्लो अरुण अघि बढाउन गठित अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी प्रसारण निर्देशनालयका राजीव शर्मा र विश्वध्वज जोशी तथा तामाकोशी पाँचौ कम्पनीमा मनोज सिलवाल र ज्ञानेन्द्रमान जोशीलाई सञ्चालक सदस्य तोकिएको छ ।  
दूधकोसीमा मोहनरत्न शाक्य र काँशेन्द्र यादव तथा मोदीमा सञ्जीवमान राजभण्डारी र सागरराज सिंह सुवाललाई सञ्चालक सदस्य तोकिएको छ । राहुघाटको रघुगंगा कम्पनीमा हरराज न्यौपाने र मणिकुमार काफ्ले उत्तरगंगामा जगदीश्वरमान सिंह र शिवबालक गिरी सञ्चालक भएका छन् । 
तमोर कम्पनीमा सुनिलकुमार ढुंगेल र गोपालकुमार लोहिया तथा आँधीखोलामा अनिल राजभण्डारी र पूर्णसुन्दर धौवडेललाई सञ्चालक सदस्य तोकिएको छ । 
व्यापार र इन्जिनियरिङबाहेकका अधिकांश कम्पनीमा समेत प्रबन्धक सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) तोकेर आयोजना निर्माणको कामलाई गति दिने प्राधिकरणले जनाएको छ । 
http://www.karobardaily.com/news/78001

No comments: