Friday, February 15, 2019

पानीजहाज कार्यालय खुल्यो

http://karobardaily.com/news/development/16251
शुक्रवार, फाल्गुन ३, २०७५

नेपाल पानीजहाज (प्रमाणपत्र र रोजनामचा) ऐन २०२७ मा नेपाल पानीजहाज कार्यालय स्थापना गर्ने उल्लेख भए पनि त्यसको झण्डै ३८ वर्षपछि बिहीबार पानीजहाज कार्यालय स्थापना भएको छ । पानीजहाज कार्यालयको बिहीबार ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज पनि चाँडै सञ्चालनमा आउने बताए । एक वर्षअघि प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले नेपालमै पानीजहाज सञ्चालन गर्ने योजना अघि सारेका थिए । गत असार १५ मा संसद् बैठकमा उनले पुस १५÷१६ गतेसम्म पानीजहाज चल्ने ठोकुवा गर्दै टिकट काट्न तयार रहन पनि आह्वान गरेका थिए । तर, बल्ल यसका लागि प्रारम्भिक संरचना मानिएको पानीजहाज कार्यालय स्थापना भएको हो । कार्यालय स्थापना भएपनि यसका लागि रजिष्ट्रार नियुक्तिको भर्खर प्रक्रिया अघि बढेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार पानीजहाज सञ्चालनका लागि संशोधन गर्नुपर्ने पारवाहन सन्धिबारे वाणिज्य मन्त्रालयले काम अघि बढाएको छ । हाल कोसीको हनुमाननगर र गण्डकको सीमाना जोड्नेबारे सम्भाव्यता अध्ययन भइरहेको छ भने साहेबगञ्जतर्फको जलमार्गको विस्तृत अध्ययन भने मे २०१९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जल यातायात प्राधिकरण गठनका लागि भने यसको अवधारणापत्रमा मन्त्रीपरिषदले स्वीकृति दिइसकेको छ । भारतले गण्डकी नदीमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाइसकेको जानकारी आफूले पाएको प्रधानमन्त्री ओलीले बताए । भारतले नेपाली सीमा नजिकको त्रिवेणी घाटसम्मको गण्डकमा ३ सय किलोमिटर पानी जहाजको अध्ययन सकिएको छ ।


No comments: