Wednesday, February 27, 2019

अमेरिकी टिप्पणीप्रति चिनियाँ राजदूतको आपत्ति

बुधवार, फाल्गुन १५, २०७५
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्सबारे अमेरिकी उपसहायक रक्षामन्त्रीको टिप्पणीभित्र गुह्य स्वार्थ (हिडन इन्ट्रेस्ट) रहेको बताएकी छन् । मंगलबार ललितपुरमा सुरु भएको ‘बेल्ट एण्ड रोड इनिसिएटिभः नेपाल कनेक्टिङ द वल्र्ड, बेनिफिट एण्ड च्यालेन्ज’ विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि होटेल हिमालयमा पत्रकार सम्मेलन गरी यस्तो टिप्पणी गरेकी हुन् । 
नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटमा चीनले नेपालमा गरेको लगानीबारे प्रश्न उठाएका थिए । सञ्चारकर्मीसँगको कुराकानीमा पनि उनले चीनले अघि बढाएको अभियान नेपालको अभिरुचिभन्दा पनि चीनको स्वार्थमा रहेको टिप्पणी गरेको सार्वजनिक भएको थियो ।
अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन भाषणमै आपत्ति जनाएकी उनले पत्रकार सम्मेलनमा दशकौंदेखिको सम्बन्ध रहेको नेपालसँगको सम्बन्धलाई असर गर्ने गरी टिप्पणी आउनु गलत भएको बताइन् । “यस्तो टिप्पणी आउनुमा कुनै स्वार्थ लुकेको हुन सक्छ, यदि अमेरिका नेपाललाई सहयोग गर्न चाहन्छ भने लगानी गरोस् तर चीनबारे नकारात्मक टिप्पणी नगरोस्,” उनले भनिन्, “नेपाल–चीन भनेका हिमाल र नदीनाला जोडिएका छिमेकी देश हुन् । धेरै टाढा भएको देशले बोल्छ मात्र काम गर्दैन, दुई छिमेकीबीच अविश्वास पैदा हुने नकारात्मक टिकाटिप्पणी गर्नु हुँदैन ।” उनले चीनले आफ्नो स्वार्थ हेरेरभन्दा नेपाल सरकारले प्रस्तुत गरेका विकास आयोजनाहरुमा मात्र काम गर्ने गरेको बताउँदै चीन सदैव आफ्नो स्वार्थभन्दा पनि नेपाल र नेपाली जनताको स्वार्थका पक्षमा रहेको बताइन् । सडक, पूर्वाधार र विमानस्थललगायत संरचना निर्माणमा चीनले नेपाललाई सघाउँदै आएको उल्लेख गर्दे आफूलाई दक्षिण एसियाली मुलुकहरुको अवस्था राम्ररी थाहा भएको र यी देशलाई सघाउनका लागि चीन सदैव तत्पर रहेको उनको भनाइ थियो । चीन र भारतबीच भने असल सम्बन्ध विकसित हुँदै गएको उल्लेख गर्दै चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीचको भेटले अझ सम्बन्ध सुमधुर बनाएको र दुवै देशले लगानीमा पनि सहकार्य अघि बढाउन लागेको बताइन् । 
मंगलबारदेखि ललितपुरमा सुरु भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा भने राजदूत होउले कोसौँ टाढाको देशले नेपाल–चीनसम्बन्धबारे नकारात्मक टिप्पणी गर्नु अनुचित रहेको बताएकी हुन् । 
“नेपाल–चीन भनेका हिमाल र नदीनाला जोडिएका छिमेकी देश हुन् । कोषौं टाढा भएको देशले दुई छिमेकीबीच अविश्वास पैदा हुने नकारात्मक टीकाटिप्पणी गर्नु हुँदैन,” आक्रोश व्यक्त गर्दै उनले भनिन्, “चीनले आफ्नो स्वार्थ हेरेर भन्दा नेपाल सरकारले प्रस्तुत गरेका विकास आयोजनाहरुमा मात्र काम गर्ने गरेको छ ।” 
राजदूत होउले सडक, पूर्वाधार र विमानस्थल लगायत संरचना निर्माणमा चीनले नेपाललाई सघाउँदै आएको बताउँदै भर्खरै हस्तान्तरण गरिएको कलंकी कोटेश्वर खण्डको पनि स्मरण गरिन् । होउले नेपालका लागि चिनियाँ राजदूत हुनुभन्दा अगाडि दक्षिण एसियाली मुलुक हेर्ने जिम्मेवारी सम्हालिसकेकी थिइन् । 
“मलाई दक्षिण एसियाली मुलुकहरुको अवस्था राम्ररी थाहा छ । यी देश भर्खर विकासको चरणमा छन्,” उनले भनिन्, “यी देशलाई विकसित मुलुकबाट ठुला आयोजनाको आशा छ । अमेरिकाले यी देश र छिमेकीबारे टिप्पणी गर्नुभन्दा सहयोग बढाउनु राम्रो हुन्छ ।”
बेल्ट एन्ड रोड दूरगामी महत्वको
पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बेल्ट एन्ड रोड इनिसियटिभ्स परियोजना दूरगामी महत्वको भएको बताएका छन् । बेल्ट एण्ड रोड इनिसिएटिभ्सः नेपाल कनेक्टिङ द वल्र्ड, बेनिफिट एण्ड च्यालेन्ज’ विषयमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको मंगलबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले अभियानले पूर्वाधार विकाससँगै आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

No comments: