Wednesday, February 27, 2019

‘नेपाललाई संसारभर जोड्न बेल्ट एण्ड रोड कार्यान्वयन’

 बिहिवार, फाल्गुन १६, २०७५
नेपाललाई संसारभर जोड्न बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई अवसरको रुपमा लिएर कार्यान्वयन गर्न सरोकारवालाहरूले निष्कर्ष निकालेका छन् । दुई दिनसम्म राजधानीमा भएको बेल्ट एण्ड रोड इनिसिएटिभः नेपाल कनेक्टिङ द वल्र्ड, बेनिफिट एण्ड च्यालेन्ज’ विषयमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले यस्तो निष्कर्ष निकालेको हो । 
बुधबार सकिएको सम्मेलनमा बीआरआईमार्फत नेपाललाई एसिया, युरोप र अफ्रिकासम्म जोड्न सकिने बताउँदै यसलाई अवसरको रुपमा लिनुपर्ने विभिन्न विज्ञहरूले बताएका थिए । चीनबाट नेपाल हुँदै भारत–मंगोलिया–काजकिस्तान–जर्मनी, इटाली–अफ्रिकाको सोमालिया–साउथ अफ्रिकासम्म जोड्न सकिने बताउँदै विज्ञहरूले सरकारले यसलाई बलियो रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका थिए । बीआरआईले नेपाल लगायतका क्षेत्रलाई जोडर ट्रान्स हिमालय कोरिडोर प्रस्ताव गरेको छ । 
नेपालले केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी–भारत जोड्ने परियोजना बीआरआई अन्र्तगत अघि बढाउन लागेको छ । छलफलमा यो परियोजना तुरुन्तै अघि बढाउनुपर्नेमा जोड दिइएको थियो । “बीआरआईमार्फत संसारलाई जोड्न सकिने भएकोले यसलाई अवसरको रुपमा लिएर कार्यान्वयन गर्नुपर्नेमा सम्मेलनका अधिकांश वक्ताहरूको जोड थियो,” सम्मेलनका प्रस्तोता एवं यातायात विज्ञ आशिष गजुरेलले भने, “सम्मेलनले रोड सेफ्टी काउन्सिल गठन, यातायात व्यवस्थाका लागि ठोस कार्यक्रम र योजना निर्माण, सार्वजनिक यातायात प्राधिकरण गठन र यसको सक्रिय बनाउन पनि जोड दिएको छ ।”
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको सम्मेलनमा विकास समितिका सभापति कल्याणी खड्का, सांसदहरू योगेश भट्टराई, कर्ण थापा, डा. डीला संग्रौला, शिवजी यादव, कृष्णप्रसाद दाहालका साथै प्रदेश सांसदहरू चन्द्र लामा, लक्ष्मण लम्साल, रत्न ढकाल लगायत समेत सहभागी भएको र यसले नीति निर्माताहरूलाई समेत बीआरआई अघि बढाउनका लागि ध्यानाकर्षण गराएको उनले बताए । 
वेल्ट एण्ड रोड इन्टरनेसनल ट्रासपोर्ट एलायन्स (ब्रिटा) मूल आयोजना तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर सहआयोजना रहेको सो सम्मेलनमा ब्रिटाको बोर्ड सदस्य समेत रहेको नासा फाउण्डेसनको व्यवस्थापन र नेपाल अटोमोबाइल्स एशोसियसनको संयोजन, सडक बोर्ड नेपालको सहकार्य तथा नेपाल उद्योग परिसंघको समर्थन र चाइना हाइवे एण्ड ट्रासपोर्टेसन सोसाइटीको सहयोगमा सम्मेलन सुरु भएको छ । मित्रराष्ट्र चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोडसम्बन्धी सो अभियानको अन्तर्राष्ट्रिय सम्मेलनमा चीन, भारत, वेलायत, दक्षिण अफ्रिका, मलेसियालगायतका देशका प्रतिनिधिहरूको सहभागिता थियो । सम्मेलनको क्रममा नेपाल विथ बेल्ट एण्ड रोड इनिसिएटिभ, पूर्वाधार विकास, पर्यटन र व्यापार, सुरक्षित यातायात लगायतका विषयमा छलफल भएको थियो ।

No comments: