Sunday, August 2, 2020

माथिल्लो त्रिशूली–१ कात्तिकदेखि निर्माण हुने

https://www.karobardaily.com/news/development/34370

बुधवार, श्रावण १४, २०७७

अनुमतिपत्र (लाइसेन्स) लिएको १० वर्षपछि अर्थात आगामी कात्तिकदेखि २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण सुरु हुने भएको छ । सन् २०१२ मा कोरियन कम्पनीले आयोजनाको अनुमतिपत्र लिएपछि लामो समयसम्म विद्युत् खरिद सम्झौता (पीपीए) लगायतका लागि लामो संघर्ष गरेको यस आयोजना निर्माण कार्य आगामी कात्तिकदेखि सुरु हुने भएको हो । तीन कोरियन कम्पनी, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाली साझेदारसमेतको लगानीको नेपाल वाटर एण्ड इनर्जी डेलभपेन्ट कम्पनीले अन्र्तराष्ट्रिय नौ बैंक तथा वित्तीय संस्थाको ऋण लगानीमा निर्माण हुन लागेको हो । २०७७ सालको सुरु अर्थात वैशाखदेखि नै आयोजनाको निर्माण कार्य सुरु गर्ने भनेपनि कोरोना महामारी लगायतका कारणले वित्तीय व्यवस्थापन हुन नसकेपछि सुरु हुन सकेको छैन ।
कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीका अनुसार गत नोभेम्बर महिनामा नौ बैक तथा वित्त लगानी कम्पनीहरूसँग ऋण सम्झौता भए पनि हाल वित्तीय सम्झौताको प्रक्रिया अघि बढाएको र आगामी अक्टोबरभित्र सम्पन्न गरेर नोभेम्बरदेखि निर्माण सुरु गरिनेछ । हालसम्म निर्माणाधीन र निर्माण सम्पन्न भएका आयोजनामध्ये सो आयोजना सबैभन्दा बढी वैदेशिक लगानी भित्रिएको आयोजना हो । आयोजनाका लागि ४५३.२ मिलियन डलर अर्थात करिब ५० अर्ब लगानी भित्रिएको हो । आयोजनाका लागि आईएफसी, एसियाली विकास बैक, एसियाली पूर्वाधार लगानी बैक, कोरियाली निर्यात–आयात बैंक लगायतका नौ बैंक तथा वित्तीय संस्था तथा कम्पनीले लगानी गर्नका लागि ऋण लगानी सम्झौता गरिसकेका छन् । ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी रहेको आयोजनामा आईएफसीले १६ करोड १३ लाख, एडीबीले ६ करोड, एसियाली पूर्वाधार लगानी बैकको ३ करोड ९६ लाख, कोरियाली आयात निर्यात बैकको १० करोड र कोरियाली डेलभमेन्ट बैकको ३ करोड ८ लाख डलर लगानी गर्न लागेका छन् । त्यसैगरी सीडीसी ग्रुप पीएलसीले २ करोड १९ लाख, नेदरल्याण्ड डेलभमेन्ट फाइनान्स कम्पनीले १ करोड ४५ लाख, फ्रेन्च डेलभमेन्ट फाइनान्सियल इष्टिच्यूटसनले १ करोड १० लाख, तथा अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फण्डले १ करोड ३२ लाख डलर लगानी गर्न लागेका छन् । आयोजनामा स्वपुँजीतर्फ कोरियाली सरकारी कम्पनी कोरिया साउथ इष्ट पावर लिमिटेडेको ५२ प्रतिशतका साथै आईएफसीको १२ प्रतिशत तथा कोरियाली कम्पनी डालिम इष्डट्रिजको १६ प्रतिशत र क्यायो कन्स्ट्रक्सनको १० प्रतिशत सेयर रहने छ । त्यसैगरी नेपाली प्रवद्र्धक विकेश प्रधानांगको १० प्रतिशत सेयर रहेनछ । आयोजनाले १० प्रतिशत स्थानीयवासीलाई समेत सेयर लगानीको अवसर दिने बताएको छ ।

सन् २०२४ मा निर्माण सन्पन गर्ने लक्ष्य राखिएको आयोजनाबाट ३८.७५ प्रतिशत हिउँदमा सहित १ अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत्् उत्पादन हुने कम्पनीका अधिकारीले जानकारी दिए ।
माथिल्लो त्रिशूलीलाई पावर डिल अवार्ड
नेपालमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाले पावर डिल अफ द रियर अवार्ड पाउने भएको छ । सन् १९९९ मा स्थापना एसेट पब्लिसिङ एण्ड रिसर्च लिमीटेडले एसेट एसियन अवार्ड २०२० तर्फ आयोजनामा एकैपटक नौ वटा बैक तथा वित्तीय संस्थाको लगानी जुटाउन सफल भएको भन्दै सो अवार्ड दिने घोषणा गरेको हो । दक्षिण कोरियाली समूहको सहभागितामा नेपाल वाटर एण्ड इनर्जी डेलभपेन्ट कम्पनीले निर्माण गर्न लागेको आयोजनामा ४५३ मिलियन डलर अर्थात ५० अर्ब बराबरका विदेशी लगानीका लागि ऋण सम्झौता भैसकेको छ ।

No comments: