https://www.karobardaily.com/news/76465
भाद्र ९, २०७७ मंगलबार
पाँच वर्षअघि गएको भूकम्प पछिको पुर्ननिर्माणको क्रममा नेपालले हासिल गरेको अनुभव, अभ्यास र मोडेलबारे अनुभव बाँड्ने राष्ट्रिय परिसंवाद सुरु भएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको आयोजनामा भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्ने राष्ट्रिय परिसंवाद सोमबारदेखि सुरु भएको होतीन दिनसम्म चल्ने भर्चुअल परिसंवादमा नेपालको पुर्ननिर्माण तथा पुनस्र्थापनामा संलग्न विभिन्न निकाय एवं साझेदार, संघसंस्था, विज्ञ तथा व्यक्ति एउटै मञ्चमा आएर भूकम्पपछिको अवस्थाको समीक्षा गर्नेछन् । पुर्ननिर्माण र पुनस्र्थापनाका निजी आवास पुर्ननिर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत एवं सुशासनलगायतका ६ वटा विषयगत क्षेत्रहरुमा छलफल गर्नेछन् । परिसंवादमा ६० वटा शोधपत्र प्रस्तुत गर्न लागिएको छ ।
परिसंवादमा बोल्दै पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुर्ननिर्माण र पुर्नस्थापनामा नेपालले प्राप्त गरेको सफलता, सिकाई र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई समेत उपयोगी हुने बताए ।
पुर्ननिर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताउँदै उनले प्राधिकरण अनुभव र सिकाइको अभिलेखीकरणको प्रक्रियामा रहेको बताए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ९० प्रतिशतभन्दा बढी लाभग्राहीहरु पुर्ननिर्माण प्रक्रियामा प्रवेश गरिसकेको र ७ लाख ९० हजार लाभग्राहीले अनुदान सम्झौता गरेकोमा ६ लाख ३ हजार अर्थात् ७६ प्रतिशत लाभग्राहीले अनुदानको तेस्रो किस्ता लिइसकेको बताए ।
प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले परिसंवाद कार्यक्रमलाई पुर्ननिर्माण र पुर्नस्थापनाका क्रममा भएका कामको बारेमा व्यवस्थित छलफल गर्ने अवसरको रुपमा लिएको बताए ।
परिसंवादको पहिलो दिन निजी आवास पुर्ननिर्माणका विभिन्न आयाम समेटिएका १५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए ।
पहिलो सत्रमा निजी आवासको स्ट्रक्चरल इञ्जिनियरिङ तथा प्रबलीकरणका विषयमा लिभा श्रेष्ठ, डा. निकोला जिओर्दानो, निमा स्थापित र सन्तोष यादवले कार्यपत्रहरु प्रस्तुत गरेका थिए । त्यस्तै, दोस्रो सत्रमा ग्रामीण आवास पुर्ननिर्माण सम्बन्धमा प्रेम उपाध्याय सुवेदी, देवराज गौतम, गौरवकुमार पन्थी, डा. क्रेस्टिन रेगर र रुपलाल ऐडीले कार्यपत्र प्रस्तुत गरेका थिए । तेस्रो सत्रमा शहरी आवास पुर्ननिर्माण सम्बन्धमा डा. चन्द्रबहादुर श्रेष्ठ, सुवास घिमिरे, आस्था शिवाकोटी, डा. राजन सुवाल र मनिन्द्र मल्लले कार्यपत्र प्रस्तुत गरेका थिए ।
आगामी नोभेम्बरमा गर्ने भनि तय गरिएको नेपालको पुर्ननिर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको एक अंशको रुपमा यो परिसंवाद आयोजना गरिएको प्राधिकरणले जनाएको छ ।
No comments:
Post a Comment