https://www.karobardaily.com/news/development/35116
बुधवार, भदौ ३, २०७७
बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन
नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय बुटवल–गोरखपुर प्रसारण लाइन अन्तर्गत भारततर्फको खण्डमा नेपालले पहिलोपटक लगानी गर्ने भएको छ । १४० किलोमिटरको अन्तरदेशीय प्रसारणमध्ये भारततर्फको १२० किलोमिटर प्रसारण लाइन निर्माणका लागि बन्न संयुक्त कम्पनीका लागि नेपालले पहिलोपटक नेपाल विद्युत् प्राधिकरणमार्फत लगानी गर्न लागेको हो ।
नेपालले विदेशमा गएर वैदेशिक लगानी हालसम्म लगानी नगरेकोमा पहिलोपटक यसरी लगानी हुन लागेको हो । विद्युत् प्राधिकरण सञ्चालन समितिले भारतको खण्डतर्फ स्वपुँजीमा लगानी गर्ने निर्णय गरेको र वैदेशिक लगानी गर्नुपर्ने भएकोले मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने भएकोले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमार्फत पठाउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । भारतको नीति आयोगले भने भारततर्फको खण्ड निर्माणका लागि स्वीकृति दिईसकेको छ
असोज अन्तिम साता भएको ऊर्जा व्यापार सम्झौता (पीटीए)मा गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) ले व्यवस्थापनको ढाँचा (मोडालिटी) मा सहमति गर्दै नेपालले २० प्रतिशत स्वपुँजी (इक्विटी)मध्ये ५० प्रतिशत र भारतले ५० प्रतिशत लगानी गर्ने सम्झौता भैसकेको छ । नेपालतर्फको २० किलोमिटर भने विद्युत् प्राधिकरणले एक रूपमा बनाउनेछ । प्राधिकरणका अनुसार सो अन्तरदेशीय प्रशारणलाइनमा भारततर्फ १२० किलोमिटरका लागि सन् २०१६ को अध्ययनले ५ अर्ब १५ करोड भारतीय रुपैयाँ लाग्ने देखाएको छ । त्यसैगरी नेपालतर्फको २० किलोमिटर प्रशारणलाइनका लागि भने २ अर्ब ५ करोड भारतीय रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ । ८० प्रतिशत ऋण लिएर निर्माण गर्न लागिएको भारतर्फको खण्डका लागि नेपालले स्वपुँजीवापत एक अर्ब बराबरको लगानी गर्न लागेको छ ।
मन्त्रिपरिषद्को स्वीकृतिपछि संयुक्त कम्पनी निर्माण हुनेछ भने सो आधारमा निर्माण प्रकृया अघि बढ्नेछ । । संयुक्त कम्पनी बनेपछि निर्माणको प्रक्रिया अघि बढाएर तीन बर्षभित्र पुरा गर्ने लक्ष्य राखिएको छ । दोस्रो अन्तरदेशीय प्रसारण लाइनमा पनि २५ वर्षसम्मको एकल क्यापासिटी बुकिङ नेपालले गर्नेछ । २५ वर्षपछि भारततर्फको प्रसारण लाइनमा नेपालको पनि लगानी भएकोले त्यो लाइन कसरी सञ्चालन हुन्छ भने अझै अन्योल छ ।
दुई देशबीच पहिलो ढल्केबर–मुज्जफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण भैसकेको छ भने दुवै देशबीच ११ अन्तरदेशीय प्रसारण लाइन पहिचान भइसकेका छन् । सन् २०३५ भित्र २४ हजार ५ सय मेगावाट विद्युत्् व्यापार गर्नका लागि भन्दै दुई देशबीच अन्तरदेशीय प्रसारण लाइनको गुरुयोजना बनिसकेको छ । अमेरिकी सरकारले नेपालको ऊर्जा र सडक मर्मतका लागि दिन लागेको ५ सय मिलियन डलरको अनुदानमा समेत न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारणको निर्माणको सुनिश्चिततालाई सर्तको रूपमा लिइएको छ ।

No comments:
Post a Comment