Tuesday, August 18, 2020

विद्युत् प्राधिकरण ११ अर्ब नाफामा

https://www.karobardaily.com/news/development/35068

मंगलबार, भदौ २, २०७७

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष (२०७६-७७) मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको ३५ औं वार्षिककोत्सवका अवसरमा सोमबार दिइएको जानकारीअनुसार गत वर्ष ११ अर्ब ६ करोड रुपैयाँ कमाएर प्राधिकरण ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफामा गएको हो । सरकारले २०६७-६८ सम्मको सञ्चित घाटा करिब २७ अर्ब रुपैयाँ अपलेखन गरिदिएको थियो । तर, त्यसपछि २०७२-७३ सम्ममा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटामा गएको थियो ।
प्राधिकरणका अनुसार, २०७२-७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आवहरूमा निरन्तर नाफामा छ । प्राधिकरणले २०७३-७४ मा एक अर्ब ४७ करोड, २०७४-७५मा २ अर्ब ८५ करोड र २०७५-०७६ मा ९ अर्ब ८१ करोड मुनाफा कमाएको थियो । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ ।

वार्षिकोत्सवमा दिइएको जानकारी अनुसार गत वर्षसम्म विद्युत् चुहावट १५.२७ प्रतिशतमा झरेको छ । २०७२-०७३मा २५.७८ प्रतिशत विद्युत् चुहावट त्यसपछिका आवहरूमा निरन्तर घटाएर अहिले १५.२७ प्रतिशतमा झरेको हो । चुहावटलाई आव २०७३-७४मा २२.९, २०७४-७५ मा २०.४५, २०७५-७६ मा १५.३२ प्रतिशतमा झारिएको थियो । चार वर्षमा करिव ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तिय रुपमा करिव ८ अर्ब रुपैया फाइदा भएको र कुल चुहावटलाई १० प्रतिशतभन्दा पनि तल लग्ने योजना बनाएको कार्यकारी निर्देशक घिसिङले बताए ।
त्यसैगरी प्राधिकरण मुलुकभित्रको विद्युत् मागलाई आपूर्ति गर्नका लागि भारतबाट आयात गरिएको विद्युत्को अंश घटेको र नेपालबाट भारतर्फको निर्यात बढेको प्राधिकरणले जनाएको छ । गत वर्ष प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात भएको छ । ‘देश जतिबेला १४ घन्टासम्मको लोडसेडिङमा थियो, मुलुकभित्रको कुल विद्युत् खपतको करिब ३५ प्रतिशतविद्युत् भारतबाट आयात गर्नु पर्ने अवस्था रहेकोमा विद्युत् खपत करिव ८० प्रतिशतले बढ्दा पनि घटेर कुल उपलब्ध विद्युत्कोे २२ प्रतिशत मात्रै आयात भएको र चालु वर्षमा घटेर ५ देखि १० प्रतिशत मात्र आयातको अंश रहने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । प्राधिकरणका अनुसार, २०७२-७३ मा साढे ३१ लाख, २०७३-७४ मा २६ लाख ९० हजार, २०७४-७५ मा २९ लाख ४० हजार, २०७५-७४ मा ३ करोड ४७ लाख र २०७६-७७मा १० करोड ७० लाख युनिट ऊर्जा निर्यात गरिएको थियो ।
आर्थिक वर्ष २०७२-७३ मा वार्षिक विद्युत् खपत ३ अर्ब ७१ करोड ५८ लाख युनिट रहेकोमा २०७३-७४ को कुल विद्युत् खपत ४ अर्ब ७७ करोड ३८ लाख युनिट, २०७४-७५ मा ५ अर्ब ५५ करोड ७३ लाख युनिट, २०७५-७६ मा कुल खपत ६ अर्ब ३३ करोड ८१ लाख तथा २०७६-७७ को कुल खपत ६ अर्ब ५२ करोड ८७ लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारी निकायले सस्तोमा विद्यत उत्पादन गर्नुपर्ने बताउँदै प्रतिस्पर्धात्मक माध्यमबाट अघि बढ्न आग्रह गरे । विद्युत् प्राधिकरणले गर्व गर्न लायक सफलता हासिल गरेसँगै उपभोक्तालाई भरपर्दो विद्युत् आपूर्ति र विद्युतीकरण गर्न बाँकी करिब १० प्रतिशत घरपरिपरिवारमा विद्युत् सेवा पु¥याउन, विद्युत्मा आत्मानिर्भर बन्न र आगामी दिनमा बढी हुने विद्युत्लाई मुलुकभित्र खपत गर्नु र बाह्य बजारमा बिक्री गर्ने जस्ता चुनौती अझै बाँकी रहेको बताए । “हामीले बनाउनु पर्ने प्रसारण पूर्वाधार समयमा बनाउन नसक्दा कतिपय आयोजनाहरूको विद्युत् प्रणालीमा जोड्न नसकिएको गुनासो सुनिरहेका छौं, यसको समाधानका लागि प्रसारण लाइन आयोजना निर्माण सम्पन्न गरी राखिएका लक्ष्य पूरा गर्नुपर्छ,” उनले भने । उनले निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्ने र सबै बिजुली सरकारले किन्ने बताए । राष्टिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओलीले निर्माणाधीन आयोजना तोकिएकै समयमा र लागतमा सम्पन्न गर्न आग्रह गर्दै स्वदेशभित्रै बिजुली बजार निर्माणका लागि अघि बढ्नुपर्ने बताए । विद्युत् नियमका आयोगका अध्यक्ष दिल्लीबहादर सिंहले प्राधिकरणले गुणस्तरीय र नियमित विद्युत् सेवा आपूर्तिका लागि आगामी दिनमा अझै क्रियाशील बन्नु पर्ने बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले लोडसेडिङ अन्त्य गरी कमाएको छबिको निरन्तरताका लागि प्राधिकरण संस्थागत विकास योजनाअनुसार संचालन हुनुपर्ने, प्रणाली सुधार गरी स्वचालित बनाउने, खर्च कटौती गर्ने, ग्राहक सेवालाई सुधार गर्ने र अगामी दिनमा बढी हुने विद्युत्को व्यवस्थापन गर्न लाग्नु पर्ने बताए ।


No comments: